बाँके : दशैं लक्षित सुरक्षा सतर्कता

जिल्ला सुरक्षा समिति बाँकेले आसन्न दशैंलाई लक्षित गर्दै आफ्ना सबै सुरक्षा अंगहरुलाई सतर्क बनाएको छ । त्यसक्रममा बाँके प्रहरीले सुरक्षा परिचालनलाई रणनीतिक ढंगले उच्च बनाएको जनाएको छ । ‘सुरक्षा योजना बनाएर सोही अनुसार परिचालन भैरहेको छ’, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अरुण पौडेलले दैनिक नेपालगन्जसँग भने, ‘गस्ती, पिकेट, पेट्रोलिङदेखि नागरिक सुरक्षा कक्ष स्थापना गरेर जनतालाई सतर्क बनाउने कामसम्म भैरहेको छ ।’

 

 

गत साता भारतसँगको सीमानाका जमुनाहमा नागरिक सहायता कक्ष स्थापना गरेको नेपाल प्रहरीले आज आइतबार नेपालगन्ज बसपार्कमा अर्काे यात्रु सहायता कक्ष स्थापना गर्दैछ । सशस्त्र प्रहरीदेखि ट्राफिक प्रहरीसम्मले पनि नागरिकको सहजताका लागि त्यसखालका यूनिटहरु परिचालन गरेको जनाएका छन् । ‘राजमार्ग गस्तीलाई पनि प्राथमिकतामा राखिएको छ’, शुक्रबारदेखि नेपालगन्ज विमानस्थल क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरेको बाँके प्रहरीले भनेको छ, ‘कुनै पनि किसिमबाट नागरिकलाई असुरक्षा उत्पन्न हुने गतिविधिलाई हामी निरुत्साहित गर्दै अगाडि बढिरहेका छौं ।’

 

 

बसपार्कमा स्थापना गर्ने यात्रु सहायता कक्षले नागरिकका समस्या बुझ्ने र ठगी रोक्नमा सहजीकरण गर्नेछ । ‘त्यसबाहेक साधा पोशाकमा पनि प्रहरी परिचालन गरिएको छ’, सार्वजनिक सवारीसाधनमा ठगी रोक्न नियमित जाँच भैरहेको जानकारी दिंदै प्रहरी उपरीक्षक पौडेलले भने, ‘कोहलपुरमा पनि यात्रु सहायता कक्ष स्थापना गरिंदैछ ।’
गैरकानुनी काम गर्नेलाई कानुनी दायरामा ल्याउनेदेखि आवश्यकता अनुसार, यातायात कर्मचारी तथा सञ्चालकहरुसँग समन्वय गरी यात्रुका चापका आधारमा थप गाडी समेतको व्यवस्था गरिने प्रहरी प्रमुख पौडेलले जानकारी दिए ।

 

 

समग्र सुरक्षा व्यवस्थामा नियमित गस्ती र चेकजाँच पनि बढाइएको छ । सुरक्षा स्रोतका अनुसार, नेपाल–भारत सीमानामा संयुक्त गस्तीलाई तिव्र पारिएको छ । ‘भारतीय प्रहरी, एसएसबी र त्यहाँका यातायात कर्मचारी समेतसँग कुराकानी गरी कुनैपनि नेपाली यात्रुले ठगिनु नपरोस् भन्ने कुरामा सतर्कता अपनाइएको छ’, प्रहरी उपरीक्षक पौडेलले भने । चेकजाँचका नाममा भारत तिर होस् वा नेपालतिर यात्रुलाई अनावश्यक सताउने काम रोक्न पहल गरिएको छ । ‘नेपाल तर्फ त्यस्तो खालको कुनै समस्या छैन’, पौडेलले भने, ‘भारततर्फ पनि नहोस् भन्नका लागि निरन्तर समन्वय गरिएको छ ।’ नेपालतर्फ कुनै त्यसखालको हरकत भएको पाइए प्रहरीले कसैलाई बाँकी नछाड्ने प्रहरी उपरीक्षक पौडेलको भनाइ छ ।

 
बाँके प्रहरीले सहर केन्द्रित मात्र नभई गाउँ र दुरदराजका बस्तीमा समेत गतिविधि तिव्र पारेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । खासगरी राप्तीपारी र सीमावर्ती बस्तीहरुलाई सुरक्षा निगरानी अझ बढी चुस्त बनाइएको प्रहरीको भनाइ छ ।

 

‘पर्व लक्षित मदिरा’ विरुद्ध कारवाही

दशैं तिहार नजिकिँदै गर्दा पर्वका लागि भण्डारण र उत्पादन भइरहेको घरेलु मदिरा विरुद्ध प्रहरी कारवाही अघि सरेको छ । वडा प्रहरी कार्यालय नेपालगन्जले लागु गरेको पर्व विशेष सुरक्षा योजना अन्तर्गत घरेलु मदिरा उत्पादन बिक्री वितरण विरुद्ध कडाई थालिएको हो । ‘मदिरा सेवन गरेकै कारण घरेलु हिंसा देखि ठूला अपराधसम्म हुने गरेको पाइयो’, दैनिक नेपालगन्ज संग कुरा गर्दै वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक नारायण डाँगीले भने, ‘पर्वमा कुनै प्रकारको असुरक्षा र हिंसा नहोस भन्ने उद्देश्यले घरेलु मदिरा विरुद्ध कडाई गरिएको हो ।’

 
प्रहरीले शनिवार विहानको समयमा नेपालगन्ज वडा नं.२ मा घरेलु मदिरा उत्पादन तथा भण्डारण भइरहेको सूचनाको आधारमा गरिएको कारवाहीमा १ हजार ६ सय ६० लिटर घरेलु मदिरा बरामद गरिएको इन्चार्ज डाँगीले बताए । मदिरा सहित भण्डारण तथा उत्पादन गर्ने भाँडा र सामाग्री, मदिरा उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ ७ केजी बरामद गरेर नष्ट गरिएको उनले जानकारी दिए ।

 
यसअघि नेपालगन्ज वडा नं.६ फुल्टेक्रामा गरिएको कारवाहीमा समेत ठूलो परिमाणमा घरेलु मदिरा र उत्पादन सामाग्रीहरु नष्ट गरेको वडा प्रहरीले अहिले पर्व लक्षित विशेष सुरक्षा योजना संचालन गरिरहेको छ ।
पर्वलाई लक्षित गरि ट्राफिक प्रहरीको समन्वयमा वडा प्रहरी कार्यालयले राति १० बजे पछि संयुक्त रुपमा मादक पदार्थ सेवनको चेकजाँच लगायतको सुरक्षा योजना संचालन गर्दै आएको इन्चार्ज डाँगीले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया