हेमकार हत्याकाण्ड : भारतीय नागरिकलाई लखनउबाट नेपाली प्रहरीले पक्राउ गरेको भन्दै भारतमा हंगामा

नेपालगन्ज सदरलाइनका सुन व्यापारी दिपक हेमकारको परिवार नै सखाप हुनेगरी १३ बर्षअघि भएको हत्याकाण्डका अभियुक्त एक जना भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेपछि भारतमा ‘हंगामा’ मच्चाइएको छ ।
भारतीय मिडियाले घटनालाई आफु अनुकुल व्याख्या गर्दै नेपाल प्रहरीको कानुनी कारवाही माथि प्रश्न उठाउँदै ‘हंगामा’ गरेको हो । भारत उत्तरप्रदेशको राजधानी लखनउ प्रियदर्शनी कलोनीमा बस्दै आएका किशोरीलाल सोनीलाई नेपाल प्रहरीले गत शनिबार भारतबाट सुन कारोबारका लागि नेपाल प्रवेश गर्दैगर्दा पक्राउ गरेका विवरण सार्वजनिक गरेको थियो ।

 

 
भारतीय सञ्चारमाध्यमले भने त्यसको एकदिन अगाडि अर्थात् शुक्रबार प्रिय दर्शनी कलोनी नजिकबाटै उनलाई ‘अपहरण शैलीमा नियन्त्रणमा लिइएको’ दाबी गरेका छन् । ‘परिवारबाट किशोरीलाल बेपत्ता भएको उजुरी परेको छ’, प्रहरी अधिकारी हरेन्द्र कुमारलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले भनेका छन्, ‘हामीलाई नेपाल प्रहरीले यहाँ आएर किशोरीलाई पक्राउ गरेर लगेको भन्ने कुनै जानकारी प्राप्त भएको छैन ।’

स्पेशल रिपोर्ट | 6 अक्टूबर, 2018 | 11:30 AM

स्पेशल रिपोर्ट | 6 अक्टूबर, 2018 | 11:30 AM

Posted by Khabar IndiaTV on Saturday, October 6, 2018

खासगरी भारतीय टेलिभिजनहरुले सिसिटिभीको एउटा फुटेजलाई किशोरीलालको अपहरण शैलीमा नेपाल प्रहरीले पक्राउ गरेको दृश्य भन्दै ‘हंगामा’ गरेपछि भारतीय प्रहरी बढी दबाबमा परेको स्थानीय सञ्चारकर्मीहरुले जानकारी दिएका छन् । ‘यो गर्नुमा उनका छोरा विकास सोनीले ठूलो मेहनत गरेका छन्’, स्थानीय सञ्चारकर्मीले दैनिक नेपालगन्जसँगको सम्पर्कमा भने, ‘बाँकी सत्यतथ्य के हो भन्ने कुरा बुझ्ने भन्दा पनि हल्ला भने निकै बढी भैरहेको छ ।’

 
यता नेपाल प्रहरीले भारतीय सञ्चारमाध्यमको हल्लालाई ‘वाहियात’ भनेको छ । ‘उनीहरु के भनिरहेका छन् हाम्रो सवाल होइन, हामी आरोपीलाई नेपालकै टेरिटोरीबाट पक्राउ गरेका हौं’, आरोपी किशोरीलाल बारे सघन अनुसन्धान भैरहेको जानकारी दिंदै बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अरुण पौडेलले दैनिक नेपालगन्जसँग भने । प्रहरी उपरीक्षक पौडेलका अनुसार, घटनासँग जोडिएका हरेक पक्षसँग अनुसन्धान गर्ने काम भैरहेको छ ।

 
घटनालाई लिएर प्रहरीले किटानी जाहेरीकर्ता अधिवक्ता बलराम हेमकारसँग पनि बयान लिएको छ । सम्बद्ध स्रोतका अनुसार, न्यू दिप ज्वैलर्सका सञ्चालक दिपकका सहोदर काका अधिवक्ता बलराम हेमकारले आफ्ना दाजु जगदेव हेमकार, आमा गुलाबदेवी लगायत ५ जनाको नृशंस हत्यामा दिपकका सहोदर ससुरा किशोरीलालको संलग्नता आशंका गर्दै किटानी जाहेरी गरेका थिए ।

 
तत्कालीन प्रहरीले किशोरीलाल विरुद्धको किटानी जाहेरी समेत लिन अस्वीकार गरेपछि हुलाक मार्फत जाहेरी पठाइएको अधिवक्ता हेमकारले बताउँदै आएका छन् । बाँकेमा प्रहरी प्रमुखको कमाण्ड सम्हाले लगत्तै प्रहरी उपरीक्षक पौडेलले १३ बर्ष अघिको रहस्यमय हत्याकाण्डको पर्दा उर्घान लागिपरेका हुन् ।

 

 
‘यो घटनाको सही तहकिकात हुन सके देशैभरी नेपाल प्रहरी प्रतिको विश्वास बढ्ने निश्चित छ’, नेपालगन्जलाई स्तब्ध पार्ने गरी भएको हेमकार परिवार हत्याकाण्डका पीडित समेत रहेका अधिवक्ता हेमकारले दैनिक नेपालगन्जसँग भने, ‘प्रहरीले कुनै पनि दबाब र प्रभावमा नपरेर अनुसन्धानलाई अञ्जाम दिने र अपराधीलाई कानुनको दायरामा ल्याउने काम गर्नुपर्छ ।’

 

 
२०६२ फागुन २३ गते राती तत्कालीन नेपालगन्ज–१५ सदरलाइन स्थित न्यू दिप ज्वैलर्समा सुतेकै अवस्थामा एक जना कामदार सहित परिवारका ५ जनाको घाँटी रेटेर हत्या भएको थियो । अत्यन्तै चलाखीपूर्ण उक्त घटनामा संलग्नहरुको सुइकोसम्म प्रहरीले सार्वजनिक गर्न सकेको थिएन । घटनाको दुई बर्षभित्रै परिवारकी एकमात्र जीवित सदस्य दिपककी धर्मपत्नि दिपा सोनीले करोडौं सम्पत्ति कौडीको भाउमा बेचेर माइत भारत उत्तरप्रदेशको सीतापुर फर्किएकी थिइन् । त्यसको केही समयमै दोस्रो बिहे गरेकी दिपा बाबु किशोरीलालसँगै राजधानी लखनउ बस्दै आएकी छन् ।

प्रतिक्रिया

प्रतिक्रिया