भेरी अञ्चल अस्पतालमा दुई बर्ष अघि भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा उपर विशेष अदालतले बिहीबार फैसला गर्दै आरोपी सबैलाई सफाई दिएको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र न्यायाधीश नारायणप्रसाद पोखरेलको इजलासले तत्कालीन भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर सुवेदी सहितका चार जनाको एउटा मुद्दा र हाउस किपर शोभा पौडेल सहितको अर्को मुद्दामा सबै ओरोपीलाई सफाई दिएको हो ।
अख्तियारले अनियमितताको मुद्दामा २०७३ भदौं २६ गते भेरी अञ्चल अस्पतालका तत्कालीन लेखा अधिकृत पदम बहादुर जिसी सहित चार जना विरुद्ध र २०७४ बैशाख १२ मा डा. सुवेदी सहित ७ जनालाई विभिन्न आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । ‘सबै मुद्दामा आरोपीलाई अदालतले सफाई दिएको छ’, डा. सुवेदी सहितका पक्षमा बहस गरेका अधिवक्ता सुरेश पौडेलले दैनिक नेपालगन्जसँग भने, ‘अख्तियारले लगाएको भ्रष्टाचार मुद्दामा आरोपी सबैलाई सम्मानित अदालतले सफाई दिएको छ ।’
अख्तियारले डा. सुवेदी, लेखा अधिकृत जिसी, लेखापाल मनिराम बर्मा र स्टोर प्रमुख माधव ज्ञवालीलाई विभिन्न अभियोग पत्रसहित मुद्दा दायर गरेको थियो । त्यस्तै, हाउस किपर शोभा पौडेल, स्टाफ नर्स हरिकला केसी, जाजरकोटका दुई जना कर्मचारी सहित डा. सुवेदी, जिसी, बर्मा र ज्ञवालीलाई छुट्टै अर्को मुद्दा पनि दायर गर्दै अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा बिहीबार फैसला आएको हो ।
भ्रमणभत्ता देखि आमा सुरक्षा कार्यक्रममा अनियमितता भएको सामाजिक सुरक्षा, स्टोर शाखा, पोषण पुनस्र्थापना गृहमा समेत भ्रष्टाचार भएको अख्तियारको आरोप थियो । अख्तियारले दर्ता गरेको आरोपपत्रमा पीताम्बर सुवेदी रु ४२ लाख ११ हजार, पद्मबहादुर जिसी रु ८७ हजार, मनिराम वर्मालाई रु ८२ लाख तीन हजार ८१६ र माधवप्रसाद ज्ञवालीलाई रु २१ लाख दुई हजार १५२ रकम हिनामिना उल्लेख गरेको थियो । ‘अख्तियारले दाबी गरेअनुसारको प्रमाण पुग्न नसक्दा सबैले सफाई पाएका छन्’, अधिवक्ता पौडेलले भने, ‘अख्तियारले आशंकाका भरमा मुद्दा हालेको कुरा अदालतको फैसलाबाट प्रष्ट भएको छ ।’
अधिवक्ता पौडेलसँगै डा. सुवेदी सहितको पक्षमा अर्का अधिवक्ता गोपाल कृष्ण घिमिरेले बहस गरेका थिए । ‘फैसलासँगै उहाँहरुको निलम्बन फुकुवा भएको छ’, पौडेलले डा. सुवेदी सहितका कर्मचारीहरु पुनः काममा फर्किन सक्ने व्यवस्था जानकारी गराउँदै भने, ‘अख्तियारले पुनरावलोकनका लागि सर्वोच्चमा जान सक्ने व्यवस्था भएपनि निलम्बन फुकुवा भएपछि सबै काममा जान सक्नुहुनेछ ।’
सफाई पाएकाहरु मध्ये लेखा अधिकृत जिसी र लेखापाल बर्मा सेवा निवृत्त भैसकेका छन् । ‘मन्त्रालयबाट पत्र प्राप्त भएपछि म अस्पतालमा काम सुचारु गर्छु’, वरिष्ठ बालरोग विशेषज्ञ डा. सुवेदीले अदालतबाट न्याय पाएको प्रतिक्रिया दिंदै भने, ‘सेवामा फर्कन्छु ।’