सरकारले रोकेपछि भन्सारमा थन्कियो चिनी

नेपालगन्ज/समाचारदाता

 
नेपाली चिनी उत्पादक उद्योगहरुको दबाबका कारण सीमापारीबाट आउने कोटा लगाइएपछि हजारौं किलो चिनी बोकेका ट्रकहरु नेपालगन्ज भन्सार कार्यालयमा थन्किएका छन् । नेपालीहरुको मुख्य पर्व दशैं नजिकिंदै गर्दा चिनीको माग बढेपछि आयात गरिएको हजारौं किलो चिनी भन्सारमा थन्किएको हो । ‘यसले व्यापारीलाई घाटा मात्रै भएन बजारमा चिनी तस्करी बढ्ने सम्भावना देखा परेको छ’, नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका नेपाल, खाद्य तथा किराना व्यवसायी संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले भने ।

 
नेपालगन्ज भन्सार कार्यालयले भने नेपालको उत्पादनले धान्न सक्ने बाहेकको चिनीमात्र आयात गर्ने सरकारी नीति परिपत्रका रुपमा आएको जनाएको छ । ‘मन्त्रालयको कोटा सिफारिस विना अब चिनी नेपालगन्ज भन्सार क्रस हुँदैन’, नेपालगन्ज भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले दैनिक नेपालगन्जसँग भने, ‘६ ट्रक चिनी भन्सारमा रोकिएको छ ।’ श्रेष्ठले मन्त्रालयको सिफारिस विना चिनीको भन्सार गर्न नसकिने प्रष्ट पार्दै भने, ‘भन्सार विना चिनी नेपाल पस्न पाउँदैन ।’

 

 
व्यवसायीहरुले भने पर्व नजिकिंदै गर्दा बजारको माग धान्न नसकेर आयात गरेको बताएका छन् । ‘नेपाली चिनीले धान्ने भए बाहिरबाट ल्याउन जरुरी थिएन’, व्यवसायीहरुलाई उद्धृत गर्दै मन्सुरीले दैनिक नेपालगन्जसँग भने, ‘यसरी अन्धाधुन्ध आयात रोकिंदा तस्करी बढ्ने र मूल्य वृद्धिको जोखिम रहन्छ ।’ उनले यसैसाता मात्रै ६५ प्रतिकिलो थोक मूल्य रहेको चिनी ७० पुगिसकेको पाइएको जानकारी पनि दिए ।

 

 
सरकारले अत्यावश्यक चिनीका लागि नेशनल टे«डिङ्गलाई आयातको जिम्मा दिने र उसको पहुँच नभएको ठाउँमा मात्र व्यवसायीहरुलाई आयात सिफारिस दिने बताइएको छ । ‘यसले खुला बजार प्रतिस्पर्धालाई कुण्ठित गर्छ’, संघका वरिष्ठ उपाध्यक्ष मन्सुरीले सरकारले नै सिण्डिकेट लगाउन खोजेको टिप्पणी गर्दै भने ।

 

 
नेपालगन्ज भन्सार कार्यालयले भने सरकारी परिपत्र भन्दा अगाडि आएका चिनी भन्सार गरिएको जनाएको छ । व्यापारीहरुले सरकारको निर्णय अघि नै चिनी खरिद गरिसकिएको र उक्त चिनी भन्सारमा रोकिएपछि ठूलो नोक्सानी व्यहोर्नु परेको गुनासो गरेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया