१३ बर्षपछि खुल्ला त हेमराज परिवार हत्याको रहस्य ?

भनिन्छ, कानुनका हात लामा हुन्छन् । झण्डै डेढ दशकपछि बाँके प्रहरीले हात पारेको ‘सुराग’बाट त्यो भनाइ सत्य नजिक देखा परेको छ । बाँके प्रहरीले १३ बर्षअघि परिवार नै समाप्त पार्ने गरी भएको एउटा हत्याकाण्डको फाइल ‘ओपन’ मात्र गरेको छैन, हत्यामा मुख्य योजनाकारको आशंका राखिएका व्यक्तिलाई पक्राउ गरेको छ ।

 

 
१३ बर्षअघि नेपालगन्ज सदरलाइन स्थित न्यू दिप ज्वैलर्समा भएको सामूहिक हत्याकाण्डका योजनाकारको आशंकामा एक जना भारतीय नागरिकलाई बाँके प्रहरीले पक्राउ गरेको हो । ‘उक्त हत्याकाण्डका प्रमुख योजनाकार यिनै व्यक्ति हुन् भन्ने कुरामा धेरै प्रमाण र परिस्थितिहरु बोलेका छन्’, अभियुक्त भारत उत्तरप्रदेश सितापुर जिल्ला विशवां बजारका ६५ बर्षीय किशोरीलाल सोनीलाई आइतबार सार्वजनिक गर्दै बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अरुण पौडेलले भने । प्रहरी उपरीक्षक पौडेलका अनुसार, कारोबारको सिलसिलामा नेपाल प्रवेश गरेको अवस्थामा नेपालगन्ज–१५ बाट शनिबार विहान सोनीलाई पक्राउ गरिएको हो । अभियुक्त सोनी सुन कारोबारी रहेको र कारोबारकै सिलसिलामा उनी नेपाल आएको आशंका प्रहरीको छ । यद्यपि, भारतमा समेत हत्या आरोपमा कानुनी कारवाहीसँग जुधिरहेका सोनीलाई नेपाल प्रहरीले लामो समयदेखि निगरानीमा राखेको बताइएको छ ।
साविकको नेपालगन्ज–१५ सदरलाइन स्थित न्यू दिप ज्वैलर्सका सञ्चालक हेमकार परिवारको २०६२ फागुन २३ गते सामूहिक हत्या भएको थियो । सञ्चालक दिपक हेमकार समेत ५ जनाको घाँटी रेटेर भएको नृशंश हत्याकाण्डको अपराधी फेला नपर्दा नेपालगन्जमा त्रासको अवस्था रहँदै आएको थियो । सुरक्षा व्यवस्था कडा मात्रै होइन रातमा कफ्र्युको बेला भएको उक्त काण्डमा संलग्न अपराधीलाई लामो समयसम्म पक्राउ नगर्दा प्रहरीप्रतिको विश्वास समेत कमजोर भएको थियो ।

 

 
न्यू दिप ज्वैलर्सका सञ्चालक ३२ बर्षीय दिपक हेमकार, उनका बुबा ६२ बर्षीय जगदेव हेमकार, आमा ४५ बर्षीया सितादेवी, हजुरआमा ८२ बर्षीया गुलाबदेवी र कामदार खासकुश्मा–१ कुसुमका १५ बर्षीय रामशनीश्चर चौधरीको सुतेकै विछौनामै घाँटी रेटिएको अवस्थामा फेला परेको थियो । हत्या अभियुक्तका रुपमा प्रहरीले सार्वजनिक गरेका किशोरीलाल सोनी दिपकका सहोदर ससुरा हुन् । उक्त सामूहिक हत्याकाण्डमा हेमकार परिवारकी बुहारी दिपा मात्र माइत बसेका कारण जीवित थिइन् ।

 

 
बिहेको २ बर्षपछि भएको हत्याकाण्डमा श्रीमतिमात्र जीवित भएपछि धेरैले माइतीप्रति आशंका गरेका थिए । हत्या लगत्तै करोडौंको सम्पत्ति ‘कौडीको भाउ’मा बिक्री गरेर भारत फर्किएकी दिपाको सम्पूर्ण कारोबारमा उनका बाबु किशोरीलाल प्रत्यक्ष संलग्न थिए । ‘आर्थिक अभिष्टले सामूहिक हत्याकाण्डको रणनीति बनाइएको प्रारम्भिक अध्ययनबाट खुलेको छ’, अनुसन्धान जारी रहेकाले धेरै कुरा खुल्दै जाने तर्क गर्दै बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक पौडेलले दैनिक नेपालगन्जसँग भने, ‘धेरै पुरानो घटना भएकाले प्रमाण र परिस्थिति सबै एकिन गरेर अपराधको चुरोसम्म पुगिनेछ ।’

 

 
प्रहरीको अनुसन्धान विभाग सिआइबीमा रहँदा नसुल्झिएका अपराधिक घटनामध्ये प्रहरीलाई चुनौति बन्दै आएको हेमकार हत्याकाण्ड प्रहरी उपरीक्षक पौडेलको निशानामा थियो । संयोगले बाँके प्रहरी प्रमुखको जिम्मेवारीमा आए लगत्तै निरन्तर अनुसन्धानमा लागेका पौडेलले झण्डै डेढ महिना नबित्दै घटनाको जरो समात्न पुगेका हुन् । ‘अहिले नै धेरै बोली नहालौं’, प्रहरी उपरीक्षक पौडेलले पत्रकार सम्मेलनमा भने, ‘रहस्यमय मानिंदै आएको यो घटनाको चुरोसम्म अब चाहीँ पुगेरै छाडिनेछ ।’

 

 
आइतबार पत्रकार सामू सार्वजनिक गरिएका सोनीलाई प्रहरीले अदालत पुर्याएपछि मात्रै घटना बाहिर ल्याएको हो । पटकपटकका प्रहरी प्रमुख र प्रहरीका उच्च अधिकारीहरु घटनाको नजिक पुगेको भन्दै आश्वस्त पार्दै आएपनि कसैले परिणाम दिन सकेको थिएन । करोडौं नेपाली सम्पत्ति शंकास्पद ढंगले बाहिरिंदा पनि कतिपय सरकारी अधिकारीहरुको संलग्नताको आशंका सञ्चारमाध्यमले बाहिर ल्याएको थियो । हेमकार परिवारले पटकपटक घटनाको छिनोफानो नहुञ्जेल सम्पत्ति बेचबिखन गर्न रोक लगाउनु पर्ने आवाज उठाएपनि कसैले सुनुवाई गरेको थिएन ।
दिपा र उनका बाबुको सक्रियतामा करोडौंको सम्पत्ति झण्डै करोडमा बेचिएको थियो भने कयौं सर्वसाधारणले धरौटी राखेका सुनहरु समेत भारत लगिएको थियो । ‘बिहे नै योजनाबद्ध रुपमा भएको’ कतिपयको आशंकामा यतिबेला थप बल पुगेको छ । त्यतिबेलै स्थानीयहरुले दाबी गर्दै आएका थिए, ‘केही महिनाकी गर्भवति दिपाले गर्भपतनका लागि दबाब दिएकी थिइन् ।’ सोही विवाद साम्य पार्न श्रीमति लिएर ससुराली पुगेका दिपक एक्लै फर्किएको भोलिपल्ट नै परिवार नै सखाप पारिएको थियो । हत्याकाण्डमा घरमा रहेको सुगा समेतको घाँटी रेटिएको थियो ।

 

 
‘घटनामा अनुसन्धानको दायराभित्र अरु मानिसहरु पनि आउन सक्नेछन्’, सिआइबीदेखि नै घटनाबारे नजिकबाट अध्ययन गरिरहेका प्रहरी उपरीक्षक पौडेलले घटनाको निष्कर्षमा आफु पुगेरै छाड्ने प्रतिबद्धता जनाउँदै भने ।
सीतापुर बिशवां बजारमा रहँदै आएका सोनी हत्यापछि लगिएको सम्पत्तिबाट उत्तरप्रदेशको राजधानी लखनउ प्रिय दर्शनी कलोनीमा बस्दै आएका थिए । प्रहरीले घटनाबारे गम्भीर अनुसन्धान चलिरहेकाले आफुलाई थाहा भएका सूचनाहरु दिएर सहयोग गर्न अपिल पनि गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया