सवा अर्ब नाघ्यो वेष्टर्नको कारोबार

आज वेष्टर्नको नवौं बार्षिक साधारणसभा

 
आज शनिबार नवौं बार्षिक साधारणसभा आयोजना गर्न लागिरहेको वेष्टर्न बचत तथा ऋण सहकारी संस्थाले पछिल्लो आर्थिक बर्षमा आफ्नो कारोबार सवा अर्ब नघाएको छ ।

 
‘यो हाम्रो आपसी एकता र इमान्दारिताको प्रतिफल हो’, संस्थाका अध्यक्ष इश्वर पोखरेलले दैनिक नेपालगन्जसँग भने, ‘सहकारीले राम्ररी कारोबार गर्न जान्ने हो भने कुनै कमर्सियल बैंक भन्दा कम काम गर्नु पर्दैन ।’ उनको भनाइ छ, ‘सहकारीले हतियार र लागुऔषध बाहेकका सबै कारोबार निर्धक्कसँग गर्न सक्छ ।’ वेष्टर्नले सहकारीको नियम कानुनको परिधिभित्रै रहेर इमान्दारितापूर्वक विश्वास आर्जन गरेकाले नै सफलताको दिशामा अगाडि बढेको अध्यक्ष पोखरेलको भनाइ छ ।

 
२०६७ साउन ११ गते २५ जना सेयरधनीबाट सुरु गरिएको वेष्टर्नमा यतिबेला १ हजार बढी शेयर सदस्य पुगिसकेका छन् । संस्थाका प्रबन्धक थानिश्वर पाण्डेय भन्छन्, ‘शेयरपूँजी ४ करोड ३७ लाख ७२ हजार पुर्याइएको छ ।’
पछिल्लो आर्थिक बर्ष ९० करोड ९१ लाख ५० हजार बढी निक्षेप संकलन गर्न सफल वेष्टर्नले ८३ करोड ५८ लाख ३६ हजार बढी सहजै फिर्ता पनि गरेको छ ।

 
‘अघिल्लो बर्षको तुलनामा यो ४७.३६ प्रतिशतले बचत वृद्धि हो’, प्रबन्धक पाण्डेय भन्छन्, ‘३५ करोड २ लाख बढी रकम लगानी गरेर ४५ लाख बढी रकम मुनाफा गर्न संस्था सफल भएको छ ।’ पाण्डेयका अनुसार, मुनाफा वृद्धि पनि अघिल्लो आर्थिक बर्षको तुलनामा ६३.९३ प्रतिशत दिन संस्था सफल छ ।


ऋणि विमा मार्फत लगानी सुरक्षित गर्दै अगाडि बढेको सहकारीले लगानी सुरक्षाका लागि चेक धितो लिने गरेको सहायक प्रबन्धक समेत रहेका ऋण प्रमुख श्रीधर पौडेलले जानकारी दिए । ‘सबै तिरबाट ऋण लिने व्यक्तिको पहिचान गरी त्यस्तालाई निरुत्साहित गरेर अगाडि बढ्नुपर्छ’, सहायक प्रबन्धक पौडेलले दैनिक नेपालगन्जसँग भने, ‘व्यापारीको प्रकृति हेरेर धान्न सक्ने गरी लगानी गर्न सके डुब्ने अवस्था हुँदैन ।’

 
चार बर्षदेखि वेष्टर्नमा कार्यरत पौडेलले आफ्नो ६ बर्षे सहकारी अनुभव सुनाउँदै भने, ‘हामी लगानीको सवालमा निकै संवेदनशील छौं ।’ संस्थाले नेपालगन्जमै पहिलो पटक पल्स एनालाइसिस तालिम लिएर कार्यान्वयनमा ल्याएको जानकारी दिंदै प्रबन्धक पाण्डेयले संरक्षित पूँजीकोष वितरण गर्ने पनि वेष्टर्न नेपालगन्जमा सम्भवत पहिलो भएको दाबी गरे ।

 
‘व्यवसायिक कर्जादेखि घर कर्जासम्मका विभिन्न लगानीका प्राथमिकता निर्धारण गरेर आन्तरिक तथा संस्थागत कर्जादेखि वैदेशिक रोजगारीसम्मका कर्जा प्रवाह गरिरहेका छौं’, प्रबन्धक पाण्डेयले भने । ‘एकका लागि अनेक र अनेकका लागि वेष्टर्न’ त्यसैले त हाम्रो नारा हो, अध्यक्ष पोखरेलले शनिबार आयोजना हुने साधारणसभामार्फत केही नयाँ योजना अघि सारेर व्यवसायिक विकास तर्फ अघि बढ्न लागेको जानकारी दिंदै भने ।

 
अध्यक्ष पोखरेलको नेतृत्वमा निरज गौतम उपाध्यक्ष, इश्वरी ज्ञवाली सचिव र अजय कुमार शर्मा कोषाध्यक्ष छन् । श्याम बहादुर केसी, गिरिराज पौडेल, कोशलराज नेपाल सञ्चालक सदस्य रहेको वेष्टर्नमा केशव कुमार शर्मा सल्लाहकार र प्रल्हाद बहादुर कार्कीलाई कानुनी सल्लाहकार बनाइएको छ ।

 
अध्यक्ष पोखरेलका अनुसार, मित्रलाल शर्मा संयोजक, श्रीवास अधिकारी र प्रदिपकुमार शर्मा सदस्य रहेको लेखा सुपरिवेक्षण समिति, प्रकाश लामिछाने संयोजक रहेको शिक्षा तथा तालिम उपसमिति संस्थागत विकासमा सक्रिय छ । शिक्षा तथा तालिममा ऋषिराम सापकोटा, शशी स्वाँर र जमुना रेग्मी सदस्य छन् भने अजय कुमार शर्माको संयोजकत्वमा नारायण दत्त ढकाल र दुर्गा प्रसाद भण्डारी सदस्य रहेको उपसमिति सक्रिय रहेको अध्यक्ष पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया