आज विश्व पर्यटन दिवस, विशेष छुटको व्यवस्था

पर्यटकको वृद्धिसँगै बाँकेमा पूर्वाधारका लागि करोडौं लगानी भैरहेको छ । होटल एशोसिएसन नेपाल (हान) प्रदेश ५ अन्तर्गत नेपालगन्जमा संगठित व्यवसायीहरुले पूर्वाधारमा करोडौं लगानी गरिरहेका हुन् ।
‘पछिल्ला बर्ष भारतीय पर्यटकहरुको संख्या बढ्दै गैरहेको छ’, हानका उपाध्यक्ष देवानन्द अर्यालले दैनिक नेपालगन्जसँग भने, ‘तर, तुलनात्मक रुपमा तेस्रो मुलुकका पर्यटकहरु भने नेपाल आउने क्रम घट्दो देखिएको छ ।’ अर्यालका अनुसार, पछिल्ला दिनमा मिशिनरी पर्यटन (धर्म प्रचारक) भने बढ्दै गएका छन् ।

 
५० करोड बढी लगानीका झण्डै आधा दर्जन होटल नेपालगन्ज र यसको सेरोफेरोमा सञ्चालनमा आइसकेका छन् । कतिपय थप लगानी गर्दैपनि छन् भने थप होटलहरु सञ्चालनका लागि कसरत पनि भैरहेका छन् । ‘पर्यटन क्षेत्रका लागि यो चुनौतिसँगै अवसर पनि हो’, हानका उपाध्यक्ष अर्यालले भने, ‘यो अवस्था देशैभरी छ ।’ अर्यालले मुलुकका ठूला प्राय सबै सहरहरु अत्याधुनिक सुविधा सहितका होटलहरुले भरिन थालेको जानकारी दिंदै भने, ‘पछिल्ला केही बर्षयता मात्रै लगानीका दृष्टिले पर्यटन व्यवसायमा ४ सय प्रतिशत लगानी बढेको छ ।’

 
चिनियाँ पर्यटकहरु पनि नेपाल आउने क्रम बढ्दो छ । ‘तर, खर्चका दृष्टिले नेपालगन्जलाई फाइदा गर्ने पर्यटक भने चिनियाँ होइनन्’, अर्यालले भारतीय पर्यटकहरु तुलनात्मक रुपमा बढ्दै जानु सुखद् पक्ष भएको जानकारी दिंदै भने । कतिपय होटल व्यवसायीहरुले पर्यटन व्यवसायसँग सहकार्य गरी प्याकेजमा आन्तरिक पर्यटक समेतलाई बढावा दिन थालेका छन् ।

 
सुविधासँगै लगानी र पूर्वाधारमा बढ्दै गएको लगानीले मुलुक पर्यटनको विकासका लागि तम्तयार अवस्थामा उभिएको देखिन्छ । ‘त्यसका लागि आवश्यक अन्तरक्रिया र सम्भावित पर्यटकीय विकासको पूर्वाधारका लागि संगठित प्रयास पर्नु पर्छ’, हानका उपाध्यक्ष अर्यालले भने । उनले पूर्वाधारसँगै सुविधा र सेवा सुधारमा सबैको ध्यान पुग्नुपर्ने बताए ।
आज विशेष छुट

नेपालगन्जका तारे होटलहरुमा आज विशेष छुटको व्यवस्था गरिएको छ । विश्व पर्यटन दिवसको अवसर पारेर आन्तरिक पर्यटकहरुका लागि विशेष सुविधा दिने निर्णय गरिएको हो । होटल एशोसिएसन अफ नेपाल (हान) सम्बद्ध होटलहरुले आन्तरिक पर्यटकहरुका लागि छुट दिने निर्णय गरेका हुन् । ‘यो निर्णयबाट आन्तरिक पर्यटकहरुले ठूलो लाभ उठाउन सक्नेछन्’, हानका उपाध्यक्ष समेत रहेका होटल सेन्ट्रल प्लाजा कोहलपुरका प्रबन्ध निर्देशक देवानन्द अर्यालले जानकारी दिए ।

 
सिद्धार्थ विजनेश अफ हस्पिटालिटीका निर्देशक केशव न्यौपानेले नेपालगन्जमा हानका सदस्य होटल तथा रेष्टुरेन्टले आन्तरिक पर्यटकहरुका लागि लक्षित गरेर सुविधा दिइएको जानकारी दिए । ‘फुडमा २५ प्रतिशत र वेभरेजमा १० प्रतिशत कम्तिमा छुट दिनका लागि निर्णय गरिसकेका छौं’, हानका महासचिव समेत रहेका होटल सिद्धार्थका निर्देशक न्यौपानेले भने ।

 
नेपालगन्जमा ठूलो लगानीमा सञ्चालित तारे होटलहरु हानमा संगठित छन् । ‘सामान्य मूल्यमा स्तरीय सेवा लिन पाउने यो एउटा महत्वपूर्ण अवसर हो’, होटल सेन्ट्रल प्लाजाका प्रबन्ध निर्देशक समेत रहेका हानका उपाध्यक्ष अर्यालले भने ।

 
सेन्ट्रल प्लाजा, सिद्धार्थ, सोल्टी, सिग्नेट, कल्पतरु, स्नेहा लगायतका तारे होटलहरुले स्थानीय सेवाग्राहीलाई मध्यनजर विशेष छुट व्यवस्था गरेका हुन् । उनीहरुले विश्व पर्यटन दिवसको अवसर पारेर दिनभर फुड एण्ड बेभरेजमा सहुलियत घोषणा गरेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया