नेपालबाट नियमित आपूर्ति नहुँदा समस्या : प्राधिकरण
नेपालगन्जको चर्को गर्मी अझै कमी भएको छैन । मंगलबार पनि नेपालगन्जको तापक्रम ३५.८ डिग्री सेल्सियससम्म पुग्यो । चर्को गर्मीकै कारण होला नेपालगन्जमा विद्युत अनियमित हुने बित्तिकै प्रतिक्रियाहरु सुरु भइहाल्छ ।
नेपालगन्जका लागि नेपाल र भारत दुवैतर्फबाट विद्युत आपूर्ति हुने गरेको छ । गत आइतबारदेखि राष्ट्रिय प्रसारणबाट नेपालगन्जका लागि विद्युत आपूर्ति अनियमित भएपछि लोडसेडिङ सुरु भएको छ । ‘विद्युत आउने र जाने समय नै निश्चित छैन’, रुस्तम अली भन्छन् ।
नेपालको हालसम्मै ठूलो जलविद्युत् परियोजना कालीगण्डकी जलविद्युत् आयोजनाको मर्मत सुरु भएपछि राष्ट्रिय प्रसारणबाट नेपालगन्जका लागि आपूर्ति हुने विद्युत अनियमित हुँदा लोडसेडिङ भैरहेको नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख रामदुलार यादवले जानकारी दिएका छन् । हाल नेपालगन्जका लागि नेपालबाट ६ मेगावाटसम्म विद्युत आपूर्ति हुँदै आएको थियो । ‘भारतबाट आउने विद्युतले मात्रै नेपालगन्जको माग पूरा गर्न सक्ने अवस्था छैन’, वितरण केन्द्र प्रमुख यादव भन्छन्, ‘आइतबारसम्म विद्युत नियमित हुने केन्द्रबाट जानकारी आएको छ ।’
हाल नेपालगन्जमा कति समय लोडसेडिङ हुन्छ भन्ने एकिन साथ वितरण केन्द्रले जानकारी दिन सकेको छैन । ‘नेपालबाट आउने विद्युतको एकिन नभएकाले लोडसेडिङको समय तोक्न सक्ने अवस्था छैन’, वितरण केन्द्र भन्छ । नेपालगन्जमा हाल २२ मेगावाट सम्म विद्युत खपत हुन सकने अवस्था रहेको प्राधिकरणले जानकारी दिएको छ । ‘१० मेगावाट नियमित रुपमा भारतबाट आइरहेको छ’, वितरण केन्द्र प्रमुख दुलार भन्छन्, ‘नेपाल र भारत मध्ये कुनै ठाउँबाट कम विद्युत प्राप्त हुने बित्तिकै नेपालगन्जमा समस्या देखिन्छ ।’
कालिगण्डकीमा मर्मत सुरु भएपछि राष्ट्रिय प्रसारणले नेपालगन्ज, बर्दिया र कोहलपुरमा मिलाएर लोडसेडिङ गर्ने गरेको छ । मर्मतका कारण विद्युत आपूर्तिमा समस्या देखिएपछि मंगलबार प्राधिकरणका कार्यकारी निर्देशक, सञ्चालक समितिका सदस्य र प्राविधिक टोलीले आयोजनास्थलको निरीक्षण गरेको छ ।
मर्मत आगामी कात्तिक ६ गतेसम्म चल्ने छ । तोकिएको समयभित्र मर्मत सम्पन्न गरे एक दिन भए पनि थप घाटा ब्योहोर्नु नपर्ने सोचाइमा प्राधिकरण रहेको छ । कूल १४४ मेगावाट क्षमताको सो आयोजना बन्द हुँदा दैनिक रु तीन करोड ५० लाख घाटा हुने भएकाले एक दिन भए पनि चाँडो मर्मत सक्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिएका छन् । मर्मतको बारेमा जानकारी लिन आयोजनास्थल पुग्नुभएका कार्यकारी निर्देशक घिसिङ र प्राधिकरण सञ्चालक समितिका सदस्यले एक दिन भए पनि चाँडो मर्मत सक्न मर्मत कार्यमा संलग्न प्राविधिक तथा कर्मचारीलाई आग्रह गरे ।
हाल आयोजना पूर्णरुपमा बन्द गरिएको छ । यस्तै यही असोज १२ गतेदेखि आयोजनाको एउटा विद्युत् उत्पादन युनिट बन्द गरिने छ भने २५ दिनपछि पुनः तीनवटै युनिट मर्मत गरी बन्द गरिनेछ । आयोजनामा कूल ४८ मेगावाट क्षमताका तीनवटा विद्युत् उत्पादन युनिट रहेको छ । विशेष गरी आयोजनाको दोस्रो विद्युत् उत्पादन युनिट मर्मतका लागि सबैभन्दा बढी अर्थात् २५ दिन लाग्ने छ ।
देशकै ठूलो आयोजना बन्द गर्नुपर्दा औद्योगिक करिडोरमा विद्युत् प्रवाह कम हुन पुगेको छ । घरायसी ग्राहकका लागि भने कुनै पनि असर नपर्ने भए पनि औद्योगिक ग्राहकलाई भने आयोजना बन्द हुँदा समस्या पर्नेछ । आयोजनामा प्रयोग भएको जापानको तोसिबा कम्पनीको विद्युत् उत्पादन गर्ने उपकरणको ‘वारेन्टी’ सकिन लागेकाले मर्मत गर्नुपर्ने बाध्यता आइलागेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । यही असोज ७ गतेदेखि नै मर्मत सुरु भएको हो, १४ गतेसम्म ‘वारेन्टी’को अवधि थियो । सो अवधिमा नै मर्मत गर्दा प्राधिकरणले कुनै खर्च व्योहोर्नु पर्दैन, सो अवधिभन्दा पछाडि भएको भए प्राधिकरण आफँैले मर्मत गर्नुपर्ने भएकाले हतार गरिएको प्राधिकरणको भनाइ छ ।
हिउँदको समयमा मर्मत गर्दा देशव्यापीरुपमा नै विद्युत् उपलब्ध गराउन समस्या पर्ने भएकाले वर्षाको समयमा नै आयोजना बन्द गरेर मर्मत थालिएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । विशेष गरी विद्युत् उत्पादन गर्ने मेशिनको भल्भमा समस्या देखिएको थियो । मर्मतका लागि नेपाली प्राविधिक टोली र जापानी प्राविधिकसमेत संलग्न रहेका छन् ।