नेपालगन्जमा कागज अभाव, समस्यामा प्रेस व्यवसायी

तीन महिनादेखि कागज अभाव हुँदा समस्यामा कागज तथा प्रेस व्यवसायी

नेपालगन्जमा कागजको अभाव हुँदा छपाखाना तथा कागज व्यवसाय धराशयी हुँदै गएको छ । बढ्दो माग र सीमित उत्पादकका कारण कागजको चरम अभाव भएको प्रेस तथा कागज व्यवसायीहरु बताउँछन् । रंगीन कागज नहुँदा छपाईको अर्डर लिन नै समस्या हुने गरेको प्रेस सञ्चालकहरुको भनाइ छ ।
नेपालमा ५÷६ वटा कागज उत्पादक रहेका छन् । ती मध्ये ठूलो कागज उद्योग एभरेष्टले रंगीन कागज उत्पादन नगर्दा समस्या भएको कागज व्यवसायीहरु बताउँछन् । जनक शिक्षाको टेण्डर पाएपछि एभरेष्टले गुणस्तरीय सेतो कागजको मात्रै उत्पादन बढायो त्यसैले रंगीन कागजको अभाव भएको हो’ पेपर सप्लायर्सहरु भन्छन् । ठूलो उद्योगले पर्याप्त रंगीन कागज नबनाएपछि अन्यले माग थेग्ने अवस्था नरहेको अनमोल पेपर सप्लायर्सका सञ्चालक सचिन थापा बताउँछन् ।
गत असारदेखि कागज अभाव ४८ ग्रामका रंगीन पेपर अभाव हुन लागेको हो । ‘अब त नेपाली रंगीन कागज नेपालगन्जमा पाउनै छाडेको छ’, जय बागेश्वरी अफसेट प्रेसका सञ्चालक पूर्णलाल चुकेले भने, ‘यसले व्यवसायमा नकारात्मक प्रभाव परिरहेको छ ।’ उनले सेतो कार्डसिट पनि पाइन छाडेको जानकारी दिए । अहिले जस्तो कागजको अभाव यसअघि झेल्नु नपरेको उनले बताए ।
प्रेस सञ्चालक चुकेले भारतबाट कागज ल्याउन असहज र नेपाली रंगीन कागज बजारमा उपलब्ध नहुँदा लिएका अर्डरहरु पनि क्यान्सिल’गर्नुपरिरहेको बताउँदै यसले प्रेस सञ्चालकहरुलाई समस्यामा पारिरहेको जानकारी दिए ।
‘बजारमा बढी माग हुने भनेको रंगीन कागजको नै हो’, अनमोल पेपर सप्लायर्सका सञ्चालक सचिन थापाले भने, ‘कागज नै नपाएपछि पसल कुरेर मात्रै बस्नु परेको छ ।’ उनी कागज उत्पादकहरुले भने साउनदेखि सातादिन भित्रै कागज पठाउने आश्वासन दिने गरेको बताउँछन् । तर, रंगीन कागज भने आएको छैन । अहिले पनि आगामी साता पठाउँछु भनेका छन् तर, मलाई विश्वास छैन’, सञ्चालक थापाले भने ।
कागज नपठाएपछि उत्पादकहरुले दररेट भने पठाउने गरेको सप्लायर्सका सञ्चालक थापाले जानकारी दिए ।

 

‘असारदेखि ३ पटक कागजको दररेट बढाएर पठाए तर कागज भने पठाउँछु मात्रै भन्छन्, पठाउँदैनन्,’ उनले भने । एक डेढ महिनासम्म ‘स्टक’ले धानेपनि त्यसपछि कागज खरिदकर्तालाई छैन भनेर फर्काउनु परिरहेको बाध्यता सुनाउँछन् थापा ।
नेपालमा गुणस्तरीय कागज उत्पादन हुने गरेको जानकारी दिंदै थापाले भारत र चीन समेत कागज निर्यात गर्ने नेपाल अहिले आफ्नै माग धान्न नसक्ने अवस्थामा पुगेको बताउँछन् । भृकुटी कागज कारखाना बन्द भएपछि कागजको समस्या थपिंदै गरेको थापाको अनुभव छ ।
‘चीनले प्रदुषण भएको भन्दै बन्द गरेका उद्योगमा १ सय ९० बढी कागज उत्पादक उद्योग पनि थिए’, अनमोल पेपर सप्लायर्सका सञ्चालक सचिन थापाले भने चीनमा उद्योग बन्द भएपछि भारतले नेपालमा भन्दा चीनमा कागजको निर्यात बढाएको छ ।’
जय बागेश्वरी अफसेटका सञ्चालक चुके भारतबाट कागज भित्र्याउन असहज रहेकाले पनि नेपालगन्जमा रंगीन कागज र सेतो कार्डसीटको कमी भैरहेको जानकारी दिए । ‘भारतले कागजमा भ्याट लगाएपछि भारतीय कागज महंगो र भित्र्याउन झन्झटिलो छ’, उनी भन्छन्, ‘ल्याउन खोजे पनि सीमावर्ती बजारमा कागज पाइँदैन लखनउसम्म पुग्नु पर्ने बाध्यता छ ।’

 
नमस्ते प्रिन्टर्सका सञ्चालक दुर्गा भण्डारी रंगीन कागजमा मात्रै बिल छाप्नु पर्छ भन्ने सोंचका कारण पनि समस्या थपिएको बताउँछन् । उनी ग्राहकहरुमा रंगीन कागज नै प्रयोग गर्नुपर्छ भन्ने धारणाले कागजको कमी हुँदा समस्या देखिनु स्वभाविक भएको बताउँछन् । नेपाली रंगीन कागज अभाव हुँदा भारतीय कागज विकल्पमा रहेको उनको भनाइ छ ।

 
नमस्ते प्रिन्टर्सका सञ्चालक भण्डारी कागजको माग धान्न उद्योग नथपिने हो भने भारत तथा तेस्रो मुलुकको भरोसा बढ्दै जाने धारणा राख्छन् । ‘विकल्पमा रहेका कागजहरुको प्रयोग गरेर पनि अभाव कम गर्न सकिन्छ’, उनी भन्छन्, ‘बरु ठूलो परिणाममा छपाईका काम गर्न भारत जाने प्रवृत्ति बन्द हुनुपर्छ ।’

प्रतिक्रिया

प्रतिक्रिया