ओहो ! दुव्र्यसनीमा महिला

नेपालगन्ज आदर्श नगरकी ३२ वर्षीया सुमित्रा श्रेष्ठ (नाम परिवर्तन) को करिब १५ वर्षअघि एकजना प्रहरी जवानसँग बिहे भयो । तर, ती प्रहरी श्रीमान त दुव्र्यसनी प्रयोगकर्ता रहेछन् । सुमित्रा भन्छिन्, ‘बिहे हुनुभन्दा पहिले नै पनि साथीहरुको लहलहैमा एक–दुईचोटी नशा लिएकी थिए, झन् श्रीमान नै दुव्र्यसनी परेपछि के चाहियो । दुवै जना यसरी लागुऔषधमा डुब्यौँ की जागरिबाट आएको पैसा लागु औषधमै सकिन्थ्यो ।’

 
दुव्र्यसनीमा डुबेपछि श्रीमानको प्रहरीको जागिर गुम्यो । लागुऔषधकै लागि उनीहरुले घरका भाडाकँुडासम्म बेचे । ‘नपुगेपछि शरीर समेत बेचँे’, सुमित्राले भक्कानिँदै भनिन्, ‘त्यतिबेलाको जीवन नरक भन्दा कम थिएन ।’ अहिले जेनतेन नशाको चंगुलबाट बाहिर आउन सफल भएपनि जीवनको सबैभन्दा सुन्दर समय बर्बाद भएको उनको तितो अनुभव छ ।

 
सुमित्रा एक उदाहरण मात्रै हुन् । बाँकेमा हाल १ हजार बढी महिला दुव्र्यसनी रहेको यस विरुद्ध क्रियाशिल अभियन्ताहरु बताउँछन् । उनीहरुमध्ये अधिकांशले यौनधन्दा गरेर पैसाको जोहो गर्ने गरेको स्वयं दुव्र्यसनीकर्ताहरुको भनाइ छ । यहाँका हुने खाने परिवारका किशोर किशोरिदेखि बाहिरी जिल्लाबाट पढ्न वा अरू कुनै काम विशेषले बसेका किशोर किशोरी पनि दुव्र्यसनमा फसेका छन् ।

 
सुमित्राका श्रीमान स्वयं प्रहरी रहेकै अवस्थामा दुव्र्यसनी रहेको कुरालाई पुष्टि हुने गरी एक अर्की २४ वर्षिया पूर्व दुव्र्यसनी युवती भन्छिन्, ‘कतिपय घुमुवा प्रहरी नै आफै एडिक्ट छन्, उनीहरु कसरी नियन्त्रणका लागि काम गर्न सक्छन् ?’ तर, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी उपरीक्षक अरुण पौडेल त्यसमा सत्यता नभएको बताउँछन् । उनले त्यस्तो भेटिए तत्काल कारबाही गर्ने चेतावनी दिए ।

 
महानगरको कल्पनाका साथ अघि बढिरहेको बाँकेमा लागुऔषध यति भयावह देखिएको छ कि १८ देखि ३० वर्षका १० हजार युवायुवती दुव्र्यसनीमा छन् । जुन उमेर सबैभन्दा सक्रिय र सृजनशिल उमेर मानिन्छ । यो तथ्यांक पनि अनुमानित भएको दुव्र्यसन विरुद्ध क्रियाशिल अभियन्ताहरुको भनाइ छ ।

 
जिल्ला प्रहरी कार्यालय बाँकेको पक्राउ तथ्यांकले पनि हरेक वर्ष लागुऔषधको समस्या बढ्दै गएको देखाउँछ । विगत ३ वर्षको अवधिमा ब्राउनसुगर, चरेश, अफिम, गाँजा, कोरेक्स, नाइट्राजेपाम लगायतका अन्य लागुऔषध ओसारपोसारमा जिल्लामा ५ सय ४० जना पक्राउ गरी उनिहरु विरुद्ध मुद्दा चलाइएको छ ।

 

 
आर्थिक वर्ष २०७२÷०७३ मा ७८ वटा मुद्दामा १ सय ८ जना, २०७३÷०७४ मा १ सय ३७ मुद्दामा १ सय ८९ जना, २०७४÷०७५ मा १ सय ४७ मुद्दामा २ सय ४३ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेको तत्थ्यांक छ । लागुपदार्थ ओसारपसारमा संलग्न पक्राउ पर्नेमा सबै पुरुषहरु नै छन् । गत वर्ष ८ जना महिला पक्राउ परेका छन् । जिल्ला प्रहरीमा आएका मध्ये ६० प्रतिशत घटना लागुऔषधका घटना हुने गरेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए । जिल्ला कारागारमा रहेका बन्दीमध्ये लागुऔषधको प्रयोगकर्ता तथा कारोबारी बढी छन् । निमित्त कारागारप्रमुख श्याम लामिछानेका अनुसार पछिल्लो तथ्याङ्कमा कारागारमा ६ सय ५३ मध्ये लागुऔषधका २ सय ३२ जना छन् ।

 

 

खुला सिमाना र वेवास्ता मूख्य कारण

जिल्लामा लागुऔषधको समस्या समाधानमा सम्बन्धित निकायको चासो छैन भन्ने कुराको प्रमाण कसैसँग निश्चित तथ्यांक नहुनुले नै पुष्टि गर्छ । सरकारले २०६९ सालमा गरेको सर्वेक्षण अनुसार बाँकेमा ४ हजार १ सयको संख्यामा लागुऔषध प्रयोगकर्ता रहेको तथ्यांक प्रस्तुत गरेको थियो । जसमध्ये २ सयको संख्यामा महिलाहरु रहेका थिए । त्यसपछि यसबारेमा कुनै गम्भीर अध्ययन भएको पाइँदैन । सरकारी निकाय र गैरसरकारी एवं सामाजिक संघसंस्थाहरु अनुमानका भरमा १० हजारको संख्यामा सेवनकर्ता रहेको बताउँछन् । जसमध्ये महिलाको संख्या करिब १ हजार रहेको उनीहरुको अनुमान छ ।

 
प्रहरीले लागुऔषध दुव्यसनी नियन्त्रण हुन नसक्नुको मुख्य कारण सहज उपलब्धता रहेको बताउँछ । बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक पौडेल भन्छन्, ‘बाँकेको भारतसँगको सीमाना खुला छ र त्यहाँबाट कारोबारिहरुले सहजै यहाँ पु¥याएर यु्वायुवतीलाई फसाउँछन् ।’ उनका अनुसार लागुऔषध संगठित अपराधको रुपमा समेत विकसित हुँदै गएको छ । यसमा एक गिरोह नै संलग्न रहेको प्रहरीको आशंका छ ।

 
सीमावर्ती भारतीय बजार रुपैडिहामा सहजै पाइने लागुऔषध भित्रिन रोक्नै कठिन रहेको प्रहरी उपरीक्षक पौडेलको भनाइ छ । यता, आगुऔषध प्रयोगकर्ताहरु अहिले टोलटोलमै सहजै लागु्औषध पाइने गरेको बताउँछन् । त्यसविरुद्ध प्रहरीले सिदा कारबाही नामक अभियान चलाइरहेको छ । त्यो पनि प्रभावकारी हुन नसकेको एक पूर्व दुव्र्यसनीकर्ताको भनाइ छ ।

 
प्रहरी उपरीक्षक पौडेल अर्काे मुख्य कारण अभिभावकहरुको वेवास्तालाई ठान्छन् । ‘अर्काको छोराछोरी दुव्र्यसनी भयो भने वास्ता नगर्ने तर जब आफ्नै घरमा त्यो समस्या भित्रिन्छ तब छटपटाउने, यसरी यो समस्या समाधान हुँदैन’, प्रहरी उपरीक्षक पौडेल भन्छन् ।

 
‘पैसा भएका अभिभावकहरु किशोरावस्थाका छोराछोरीहरुको इच्छा पुरा गर्ने नाममा लाडप्यार बढी गर्छन् । तर उनीहरुको कृयाकलापवारे त्यति चासो दिन्नन् । बाहिरबाट आएका किशोरकिशोरीहरु अभिभावकको निगरानीको अभावमा विग्रन्छन्, आगुऔषध दूव्र्यसनी विरुद्धका अभियन्ता अभिराज क्षेत्री भन्छन् ।

 
क्षेत्री भन्छन्, ‘प्राय किशोरावस्थाका केटाकेटीहरुलाई अरुभन्दा फरक बन्ने लालसा हुन्छ, त्यही बेला कसैले लागुऔषधको नजिक पुर्र्याइदिन्छ र उ फस्छ ।’ यसवारेमा विभिन्न गैरसरकारी संघसंस्थाले स्कुल र कलेजमा गई सचेतना पनि दिन्छन् । तर, यसलाई गम्भीरतापूर्वक न विद्यालयले लिएका छन् न त विद्यार्थी र अभिभावकहरुले नै ।
युवा जनशक्तिलाई भित्रैदेखि निलिरहेको यो विकराल समस्याका विषयमा राज्यको ध्यान गएको पाइँदैन । बाँकेमा स्थानीय तह गठन भएको डेढ वर्ष हुनै लाग्दा पनि कुनै पनि तहले यसविरुद्ध प्रभावकारी कार्यक्रम ल्याएको पाइएको छैन । स्थानीय जनप्रतिनिधिहरु ठोस कार्यक्रम भन्दा भावनात्मक भाषणबाजीमै अल्झिएका छन् । सबैभन्दा विकराल समस्या रहेको नेपालगन्ज उपमहानगरपालिकाले पनि हालसम्म कुनै ठोस कार्यक्रम ल्याउन सकेको छैन ।

 
भारतीय सीमाक्षेत्र रुपैडियामा सहज रुपमा पाइने भएकाले यहाँको प्रमुख समस्या रहेकोले जिल्ला लागुऔषध नियन्त्रण समिति गठन गरेर जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन भइरहेको प्रहरी बताउँछ । उक्त समितिले विद्यालय, समुदायमा पुगेर यसबारे जानकारी गराउने, अभिभावकहरुलाई सचेतीकरण गर्ने, सचेतनामूलक होर्डिङ वोर्ड राख्ने, पर्चा पम्पलेट टाँस्ने लगायतका जनचेतनामूलक कार्यक्रम गरी यसको न्यूनिकरणका लागि आफुहरु गम्भीरताका साथ लागेको प्रहरी उपरीक्षक पौडेल बताउँछन् ।

 

महिलाहरुका लागि पुनस्र्थापना कठिन

दुव्र्यसन छोड्ने चाहना भएपनि संगत पुरानैको हुन थालेपछि सुमित्रा पोखराको पुनस्र्थापना केन्द्रमा पुग्नुप¥यो । त्यसको कारण थियो, नेपालगन्जमा महिलाका लागि पुनस्र्थापना केन्द्र नहुनु । अन्ततः दृढ संकल्प लिएर जसोतसो दुव्र्यसनीबाट उनी उम्किइन् । तर, सबैले उनले जस्तै आफै लतबाट बाहिर निस्कन गाह्रो रहेको सुमित्राको अनुभव छ । उनीहरुका लागि कम्तिमा एउटा पुनस्र्थापना केन्द्र नेपालगन्जमा आवश्यक रहेको सुमित्रा बताउँछिन् । तर, बाँकेमा पुरुष दुव्र्यसनीकर्ताका लागि ७ वटा पुनस्र्थापना केन्द्र भएपनि महिलाका लागि भने एउटा पनि छैन ।

 
एकातिर, सामाजिक प्रतिष्ठा गुमाउने डरले महिलाहरु खुलेर बाहिर आउन सक्दैनन् भने अर्काेतिर सहज वातावरण नहुँदा चाहेर पनि उनीहरु दुव्र्यसनको चंगुलबाट बाहिर निस्कन सकिरहेका छैनन् । पुरुष पुनस्र्थापना केन्द्रबाट पनि हालसम्म करिब २० प्रतिशत दुव्र्यसनीकर्ताहरु मात्रै सुधार हुन सफल भएको पाइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया