कृष्ण अधिकारी/नेपालगन्ज
फख्र से सदा जिसका उचाँ रहा
जिसका रौशन अभी माजी—व—हाल है
जिसने तौके गुलामीको पहना नही
सिर्फ ऐसा मेरा देश नेपाल है
नेपालगन्ज हिन्दु, मुस्लिम, बौद्ध, सिख र इसाइ धर्मालम्बीहरुको शहर हो । जहाँ पाँच ÷ सात मिनेट हिड्दा मन्दिर, मस्जिद , गुम्बा, गुरुद्वारा र चर्च भेटिन्छन् । त्यहि शहरको मुटुमा पर्छ त्रिभुवन चौक । त्रिभुवन चौक नजिकैको एउटा साँघुरो गल्लीमा बस्छन् मुस्तफा अहसन कुरेशी । उनको मुख्य पेशा कपडा सिउँने हो । मुस्तफाले कपडाका टुक्रा टुक्रालाई सिलाएर पोशाक मात्रै बनाउँदैनन् गीत, गजल र सायरका माध्यमबाट बिभिन्न धर्मालम्बीहरुलाई एकता र मेलमिलापको धागोमा सिउँदै नेपालगन्जलाई सद्भावको शहर बनाउन लागि परेका छन ।
२०५३ सालदेखि मुस्तफाले उर्दु भाषामा गजल अर्थात् शेर लेख्न थालेका हुन । शायरी लेख्न थाले संगै उनी समाजमा शान्ति र सद्भावको बढाउने अभियानमा सक्रिय छन् । धर्मका हिसाबले हिन्दू, बौद्ध, शिख वा इसाई धर्मालम्बी भन्दा भिन्न भए पनि मुस्तफा इद लगायतका आफ्ना प्रमुख चाड पर्बमा अन्य धर्मालम्बी साथीहरुलाई घरमा बोलाउछन् । हार्दिकतापूर्वक गला मिलाउँछन । मुस्लिम समुदायमा निक्कै लोकप्रिय रहेका बिरयानी र सेबईं जस्ता परिकार खुवाउँछन । शुभकामना साटासाट गर्छन् । मुस्तफा भन्छन्, ‘चाडबाड भनेकै एक–आपसमा शान्ति, सद्भाव र प्रेम साटासाट गर्ने माध्यम हो ।’ उनको सद्भाव साट्ने रहर साहित्य यात्राबाटै सुरु भएको हो ।
झन्डै दुई दशकदेखि उनी यसरी नै आफ्नो पर्वमा अरुलाई सामेल गरेर सद्भाव विस्तार गरिरहेका छन् । उनले ‘सोज–ए– दिल’ नामक गजल संग्रह प्रकाशित गरेका छन् । ‘सोज–ए– दिल’ नामक नेपालमा हिन्दी र उर्दू दुवै भाषामा लेखिएको सिर्जना हो । कुनै समय आफ्नो समुदायबाट गैरमुस्लिमसँग संगत गरेको आरोप खेपेका कुरैसीको व्यवहारबाट अहिले मुस्लिम समुदाय नै दंग भएको उनले बताए ।
मुशायरा अर्थात, रात्रीकालीन गजल गोष्ठीलाई नेपालगन्जको एउटा मौलिक संस्कृति मानिन्छ । सायर मुस्तफा मुशायरालाई प्रशंसाको संस्कृति भन्न रुचाउँछन् । मुशायराको असली मज्जा भनेकै ‘एकले अर्काको सिर्जना सुन्ने र प्रशंसा गर्दै ‘वाह–वाह’ गर्दै रमाउनु हो । सामाजिक सद्भाव र शान्तिका लागि मुशायरा राम्रो माध्यम बनेको छ । विगतमा मधेसी–पहाडी वा हिन्दू–मुस्लिम द्वन्द्व भड्किंदा नेपालगन्जका सायरहरुले मुशायरा मार्फत शान्ति र सद्भावको सन्देश दिएका थिए ।
उर्दु साहित्यको उर्वरभूमि हो नेपालगन्ज, जहाँ मुस्तफा जस्ता गजलकार (सायर) को समूह साहित्यिक गतिबिधिमा सक्रिय छ । उनै मुस्तफा गुलजार–ए– अदब नामक नामक साहित्यिक संस्थामा सक्रिय छन । मुस्तफा गुलजार–ए– अदबले हरेक महिना आयोजना गर्ने मुसायरा कार्यक्रममा नेपालगन्जको पुरै रंग देखिन्छ । एउटै कार्यक्रम नेपाली,उर्दु, अबधी, हिन्दी र थारु भाषाका कबिता, गजलहरु घन्किन्छन । मातृभाषा उर्दु भए पनि मुस्तफा नेपाली,उर्दु, अबधी, हिन्दी र थारु भाषाका गजलहरुलाई निक्कै रोमान्चित हुँदै सुन्छन । वाह वाह गर्दै अन्य भाषाका सिर्जनालाई उत्तिकै सद्भाव र सम्मान दर्शाउँछन् । मुस्तफाका अधिकाँश रचनाहरुमा देशभक्तिको भाव भल्किन्छ । उनका शब्द शब्दहरुले नेपाल र नेपालीको स्वाभिमानलाई उँचो बनाउन प्रेरित गर्छन् ।
गुलजार–ए– अदबले प्रत्येक महिनाको अन्तिम शनिबार आयोजना गर्ने मुसायरा कार्यक्रम नेपालगन्जको महेन्द्र पुस्तकालयको हलमा हुन्छ । स्रष्टाहरुलाई हरेक पल्ट एउटा बिषय बस्तु दिइन्छ त्यसैमा केन्द्रित तयार पारिएका आफ्ना सिर्जनाहरु ल्याएर स्रष्टाहरु पुस्तकालयको हलमा पुग्छन् । उर्दु साहित्य–संस्कृतिमा मुसायरा निकै लोकप्रिय कार्यक्रम हो । साँझबाट सुरु भएर रातभर चल्ने गजल कार्यक्रमलाई उर्दुमा मुसायरा भन्ने गरिन्छ ।
नेपालगन्जमा २०३३ सालदेखि मुसायरा सुरु भएको मानिन्छ । मुसायराले नेपालगन्जका साहित्यिक अनुरागीहरुलाई एकै थलोमा जम्मा हुने र आफ्ना सिर्जनाहरु एक अर्कालाई सुनाउने थलो प्रदान गर्दै आएको छ । कुनैबेला हरेक महिना नेपालगन्जमा भव्य मुशायराहरु भइरहन्थे । नेपालगन्जको एकलैनी स्थित मुशाफिर खानामा अबेर रातिसम्म ‘वाह–वाह’ गुन्जिन्थ्यो ।
दश बर्षे सशस्त्र द्वन्द्वका समयमा रातीमा कार्यक्रम गर्न सक्ने अबस्था भएन । त्यति बेला साँझ पख भेला भएर गजल–गोष्ठी कार्यक्रम गरेर साहित्यिक गतिबिधिलाई निरन्तरा दिएको मुस्तफा बताउँछन । उर्दु भाषामा संस्कृत, फारसी, अरबी लगायत थुप्रै भाषाको मिश्रण हुन्छ । साहित्यको हिसाबले उर्दु भाषा सरल हुन्छ । गीत, गजल, मुक्तक यो भाषामा निकै जम्छन् । त्यसैले अरु भाषाका साहित्यकारहरु पनि उर्दु साहित्यप्रति मोहित हुन्छन् । मुस्तफा भन्छन — ‘गजलको जननी नै उर्दु हो, यसको वास्तविक स्वाद उर्दु भाषामा पाउन सकिन्छ ।’
भारतीय सहर लखनउसँग नेपालगन्जको निकट र सोझो सम्बन्ध छ । लखनउ, बहराइच र नानपाराका सायरहरु नेपालगन्ज आउँछन । नेपालगन्जका सायरहरु पनि नानपारा, बहराइच हुँदै लखनउसम्म पुग्छन् । सीमावर्ती भारतीय शहरमा आयोजना हुने मुरायरामा पनि नेपाली शायर र नेपालगन्जमा हुने मुशायरा कार्यक्रममा भारतीय शायरले थुप्रै वाह–वाही बटुल्छन् ।
त्यहि सम्बन्धका कारण पनि नेपालगन्जमा उर्दु साहित्य फक्रिएको हो । लखनउ उर्दु भाषा सुन्दर रुपमा बोलिने सहर हो । त्यहाँको प्रभावले समेत नेपालगन्जमा उर्दु साहित्य फस्टाउँदै गएको छ । बिभिन्न पेशा–व्यवसायमा आबद्ध साहित्य अनुरागीहरुले व्यक्तिगत आम्दानीको केही अंश खर्चिएर उर्दु साहित्यिक जगेर्ना गरिरहेका छन् ।
गुलजार–ए– अदबका सचिव समेत रहेका मुस्ताफा भन्छन्, ‘आर्थिक अभावकै कारण छिमेकी शहरबाट सायरहरुलाई बोलाएर मुसायरा गर्न समस्या छ । तैपनि अनेकौ कठिनाई भए पनि मुशायरालाई निरन्तरता दिइ रहेका छौं ।’
नेपाल र भारत बिचको सम्बन्धलाई रोटीबेटी संगै गजल–मुशायराले पनि जोडेको उनको बुझाइ छ । नेपाल र भारतको सम्बन्धमा आपसी सद्भाव बढाउन मुशायराहरुले थप मलजल गर्दै आएका छन । नेपाली सायरहरु बहराइच, नानपारा, मुरादावाद, बालापुर, गोण्डासम्म पुगेर माहोल तताउँथे । त्यसै गरी भारतीय सायरहरुले नेपालगन्जको माहोल तताउँदै आएका छन् ।
मुशायरा, बहुभाषिक गोष्ठीहरु र समुदायका अरु असल अभ्यासहरुमार्फत नेपालगन्जलाई मौलिक विविधता र सद्भावको सहर बनाउन सकिने बताउँदै मुस्तफा भन्छन ‘संस्कृति र सिर्जनामा समाजलाई एकतामा बाध्न सक्ने खुबी हुन्छ ।’ मुस्तफा भन्छन्, ‘नेपालगन्जको विविधता र सद्भावलाई समृृद्ध बनाउका लागि मुशायरा जस्ता मौलिक सांस्कृतिक गतिविधिहरु निरन्तरता दिन आबश्यक छ ।’