टीएस ठकुरी
ओशोले कतै भनेका छन् पौडन तयार होउ, पौडन सिक्नेहरुलाई सुरुमा सधैं डुब्ने डर हुन्छ । तर जो डुब्ने डरले रोकियो, उ जहिल्यै किनारामा रहन्छ र पौडनको आनन्द प्राप्त गर्न पनि सक्दैन । हरेक व्यक्तिसँग आफ्नै मौलिकता हुन्छ, प्रतिभा हुन्छ । योग्यता र क्षमता पनि अलग अलग हुनेगर्दछ । आधुनिक समाजमा प्रस्फुटन हुने सम्भावना ज्यादा रहन्छ, परम्परागत समाजमा अलिक कम । फरक यत्ति हो ।
नेपाली समाजलाई सांस्कृतिक विविधताले धपक्क ढाकेको छ । त्यसमा पनि नेपालगन्ज त विविध जातजाति, धर्म र सम्प्रदायको बसोबास रहेको एक मौलिक सांस्कृतिक शहर हो । सांस्कृतिक परिवेशकै कारण नेपालगन्जमै पनि कतिपय जात र धर्मका छोरीहरु खुल्ला समाजमा आउन सक्दैनन्, बुहारी त टाढाको कुरा ।
त्रिभुवन चोक नेपालगन्जको मुटु हो । समिपमा लिटिल हंगर छ, चल्तीको स्वीट एण्ड बेकरी पसल । आधुनिक रेष्टुरेन्टका रुपमा बिस्तार पनि भइरहेको छ । यसका सञ्चालकमध्ये पियुष गुप्ताकी धर्मपत्नी हुन् पूजा गुप्ता । पूजाले हालैको एक साँझ सौन्दर्य प्रतियोगिताको स्टेज शेयर गरिन् । पाण्डव मिडियाले नेपालगन्जमा पहिलोपटक मिसेस डिभा इन्टरनेसनल आयोजना गर्यो । जसमा पूजाजस्तै नेपालगन्जका पाँच बुहारीहरुले सहभागिता जनाए । पूजासँगै दीपाली टण्डन, शर्मिला दियाली, सरिता शर्मा र संगीता आरसीले र्याम्पमा बिरालो चाललाई पछ्याए । सरिताले उपाधि चुमिन्, पूजा उपविजेता बनिन् र संगीताले तेस्रो स्थान हासिल गरिन् । किड्स अफ द इयरमा बालबालिकाहरु थिए, कार्यक्रममा आमाहरु सम्मिलित मिसेस डिभाको बेग्लै आकर्षण थियो । नेपालगन्जका लागि नौलो थियो । छोरीहरुकै सौन्दर्य प्रतियोगिताको खास आकर्षण नभइरहेका बेला नेपालगन्जमा बुहारीहरु स्टेजमा थिए । सम्भवतः यी बुहारीहरुमा आँट र साहस भरिएको थियो ।
महानगरको यात्राका क्रममा पूजाले टेलिफोनमै आत्मविश्वास देखाइन् । उनी नेपाली भाषा बुझ्छिन्, बोल्न अप्ठ्यारो मान्छिन् । या त अग्रेजी या हिन्दी उनको धाराप्रवाह भाषा हो । यतिसम्मकी प्रतियोगितामा समेत निर्णायकले नेपालीमा सोधेका प्रश्नको जवाफ पूजाले अंग्रेजीमा दिइन् ।
भारतको कानपुरमा जन्मिएकी २८ बर्षिया पूजा आठ बर्षअघि विवाह गरेर नेपालगन्ज आएकी थिइन् । यो समयावधिमा उनले नेपालगन्जलाई नजिकबाट चिन्ने मौका पाइन् । मारवाडी समुदायका युवतीहरु सामाजिक कार्यमा खासै संलग्नता नदेखेपछि उनको मन थामिएन । पारिवारिक अनुशासनलाई पुर्णरुपमा आत्मसात गर्दै आएकी पूजाका साथमा श्रीमान पियुस र सिंगो परिवार थियो । उनी समाजमा केही नयाँ काम गर्न चाहन्थिन् । स्नातक तह उत्तीर्ण पूजाले यस प्रतियोगितालाई बुद्धिसहितको सौन्दर्य ‘ब्युटी विथ ब्रेन’ देखाउने थलोका रुपमा बुझिन् । ‘सबै महिलासँग केही न केही प्रतिभा र क्षमता हुन्छ ।’ उनी भन्छिन्–‘देखाउने अवसर सिर्जना हुनुपर्दछ ।’ धेरै साहसी महिलाका कथा सुनेकी छिन् उनले । भारतमै इन्दिरा गान्धीको हिम्मत, बर्माकी नेतृ आङसाङ सुचीको साहस र बंगलादेशी प्रख्यात लेखिका तसलिमा नसरिनको जीवन गाथालाई नजिकबाट बुझेकी छिन् । मदर टेरेसाको भनाइ शान्ति मुस्कानबाट सुरु हुने उनले सुनेकी छिन् । गरे सबथोक सम्भव छ भन्ने बिचारबाट प्रभावित पूजा अनुशासनलाई पहिलो प्राथमिकतामा राख्छिन् । अनुशासनको घेरा नाघिएन भने सिंगो परिवारको साथ पाउन सकिदो रहेछ । उनका हकमा यही लागु हुन्छ । जब पूजा स्टेजमा बिरालोको चालमा हिंडिरहेकी थिइन्, उनका पति पियुस र अन्य नातेदारहरु मुस्कुराइरहेका थिए । उनी आफैं पनि धेरै मान्छेका अगाडि पहिलोपटक उभिन पाउँदा दङ्ग थिइन् । आफुले आफैंलाई अवस्था अनुसार कुनैपनि परिस्थितिमा ढाल्न सक्नु नै व्यक्तित्व रहेको उनी बताउँछिन् । ’‘हरेक मानिसले बुद्धिको विकाससँगै आफुलाई सुन्दर राख्न जरुरी छ ।’ उनी भन्छिन् –‘सुन्दरी मात्र भएर हुँदैन, जवाफ दिने तौरतरिका पनि जान्नुपर्दछ ।’ पूजाको आत्मविश्वास हेर्दा लाग्छ, नारी जाति अवसर पाउँदा धेरै गरेर देखाउन सक्छन् ।
नेपालगन्जका हकमा अझ बढ्ता आवश्यक हो कि? सरकारी तथा गैर सरकारी संघसंस्थाहरुले महिला सशक्तीकरणका क्षेत्रमा परिणाममुखी काम गर्नुपर्ने उनी औल्याउँछिन् । ‘शिक्षा एकदमै जरुरी छ, छोरासमान छोरीले काम गर्नसक्छन् भन्नेमा आमाबुवाले बिश्वास गर्नसक्नुपर्दछ ।’ उनी भन्छिन्–‘एउटी महिलाले पनि आफ्ना बारेमा सोच्नैपर्छ, सबैमा केही न केही प्रतिभा हुन्छ, यसलाई गुम्साएर राख्ने हैन, देखाउनुपर्छ ।’ उनी आफैं बिजनेस पनि हेर्न थालेकी छन् । लिटिल हंगरले कोहलपुरमा शाखा खोलेको छ । त्यहाँ पूजाले पियुसलाई सघाउँछिन् । झण्डै १६ जनालाई नियमित काममा लगाउनु पूजाको अर्को जिम्मेवारी हो । ‘श्रीमान नहुँदा एक्लै पुगेर पनि जिम्मेवारी सम्हाल्ने गरेकी छु ।’ उनले सुनाइन्–‘म यो समाजमा केही नयाँ गरेर देखाउन चाहन्छु ।’ आफ्नो समुदायका धेरै महिलाहरुलाई व्यवसाय र सामाजिक कार्यमा ल्याउन अब अग्रसर हुने उनको प्रतिवद्धता छ । उनको व्यक्तित्वले पनि यही भन्छ । चाल्र्स रेडले भनेका छन् नि सुन्दरता शक्ति हो, मुस्कान हतियार हो । उनी यस भनाइलाई मान्छिन् । सुन्दर रहनु र मुस्कुराइरहनु सफल मानिसको लक्षण रहेको उनको बुझाइ छ ।
पूजालाई भेट्दा यस्तै अनुभुति भयो । निर्धारित समयभन्दा एक घण्टा ढिलो पुग्दा पनि पूजाले लिटिल हंगरकै पहिलो तल्लामा मुस्कानका साथ स्वागत गरिन् । करिब आधा घण्टाको सम्वादमा उनको आत्मविश्वास र समाजप्रति उत्तरदायित्व र जिम्मेवारीबोध भएको पाइयो ।
उता विजेताको ताज पहिरिएकी सरिता शर्मा हरेक व्यक्तिभित्र रहेको सीप र कला नै उसको प्रतिभा रहेको बताउँछिन् । चितवनको भरतपुरमा जन्मिएकी सरिता पनि विवाह भएपछि ८ बर्षअघि नेपालगन्ज आएकी हुन् । २९ बर्षिया सरिता हरेकले आफुलाई फिट एण्ड फाइन राख्नुपर्ने धारणा राख्छिन् । आफु दैनिक हेल्थ क्लब पुग्ने सरिता सुन्दर रहन चाहन्छिन् ।
चाल्र्स ग्रोडेले भने झैं मुस्कानले खर्च नगरी अनुहार सुन्दर बनाउँछ । सायद यसका सहभागीले पनि यस्तै अनुभुति गरे होलान् भन्ने अनुमान मात्र गर्न सकिन्छ । किनकी अर्की सहभागी शर्मिला दियाली पनि बिस्तारै महिला सशक्तीकरण बढ्दै गएको अनुभुति गर्छिन् । उनी सबैभन्दा पहिले महिला हुनुको महत्व अतुलनीय रहेको तर्क गर्छिन् । ‘महिला त छोरी हो, बुहारी हो, आमा हो ।’ ३६ बर्षिया शर्मिला भन्छिन्–‘महिला सृष्टिकर्ता नै हो ।’ व्युटीपार्लर व्यवसायी शर्मिलाका १७ र १५ बर्षिय दुई छोरा छन् । उनले बेष्ट फोटोको उपाधि प्राप्त गरिन् ।
यस संसारमा कोही निकम्मा छ्रैन । सबैसँग प्रतिभा छ, खुबी छ, क्षमता छ । फरक यत्ति हो जसले यसलाई चिन्न सके र यसैलाई समातेर माथि चढे उनीहरु महान कहलाइए र तिनीहरु जसले आफ्नो प्रतिभालाई चिन्ने प्रयत्न नै गरेनन् या माथि उठ्ने साहस गर्न सकेनन् उनीहरु सात अरबको भिंडमा हराइरहे ।
ओशोले भनेझैं पौडन तयार हुनेहरुलाई नदी पार गर्ने सम्भावना सदैव जिवित रहन्छ, डुब्ने डरले रोकिनेहरु जहिल्यै किनारामा रहन्छ । नेपालगन्जका यी बुहारीहरुले सौन्दर्यतासहित बुद्धिको परिक्षा दिन आँट गरे । यिनीहरु डुब्ने डरले रोकिएनन् । पौडेर नदि पार गर्ने हिम्मत बटुले । सबैजना देश र समाजप्रति जिम्मेवारबोध बने, जन्मथलो र कर्मथलोप्रति आफ्नो दायित्व बहन गर्ने प्रतिज्ञा पनि गरे । मन मस्तिष्कबाट आत्मसात गरे –‘म समाजको प्रतिनिधि पात्र हुँ, परिवर्तन गराएर देखाउँछु ।’
किनकी मानिसको शरिरको सबैभन्दा सुन्दर बस्तु नै मन हो, यदि त्यही मन नै सफा छैन भने सुन्दर र चम्किलो मुहार हुनुको कुनै अर्थ छैन । सायद सिद्धार्थ कटेजको हलमा सहभागी अधिकांसले यस्तै महसुस गरी फर्किए ।