उद्योगमै सिक्दै, पढ्ने व्यवस्था

‘समृद्धिका लागि प्राविधिक शिक्षा’
भेरी प्राविधिक शिक्षालय मार्फत विद्यार्थीहरुले उद्योगमै गएर व्यहारिक ज्ञान लिन पाउने भएका छन् । उद्योगीहरुले आफुलाई चाहिए अनुसारको दक्ष जनशक्ति प्राविधिक शिक्षालयबाट ननिस्कने गरेको गुनासो गरिरहेको अवस्थामा भेरी प्राविधिक शिक्षालयले उद्योगहरुसँग समन्वय गरी त्यसै अनुसारको शिक्षण व्यवस्था गरेको हो ।

 
‘विद्यार्थीहरुले उद्योगमै गएर प्राविधिक शिक्षा आर्जन गर्नेछन्’, भेरी प्राविधिक शिक्षालय नेपालगन्जका प्रमुख भीमकान्त लामिछानेले शुक्रबार सुनिश्चित रोजगारीका लागि औद्योगिक प्रशिक्षण कार्यक्रम समुद्घाटन कार्यक्रममा बोल्दै भने, ‘एक दिन सैद्धान्तिक र १५ दिन उद्योगमा नै व्यवहारिक अध्ययन गर्ने व्यवस्था मिलाएका छौं ।’ त्यसअघि एक महिना शिक्षालयले विद्यार्थीहरुलाई सैद्धान्तिक पक्षहरुको अध्यापन गराउने छ ।

 
‘उद्योगले सीपयुक्त जनशक्ति पाइन भन्ने अवस्था अन्त्यका लागि उद्योगलाई चाहिए अनुसारको जनशक्ति उत्पादन गर्न लागिएको हो’, शिक्षालय प्रमुख लामिछानेले भने, ‘यसले शिक्षा आर्जनपछि विद्यार्थी बेरोजगार हुने र उद्योगले दक्ष जनशक्ति नपाउने अवस्थाको अन्त्य हुन्छ भन्ने विश्वास लिएका छौं ।’

 
‘पाइलट प्रोजेक्टका रुपमा सुरुमा ४० विद्यार्थीहरुले २४ महिना अध्ययन गर्नेछन्’, शिक्षालय प्रमुख लामिछानेले भने, ‘त्यसका लागि करिकुलम समेत तयार भैसकेको छ ।’ प्राविधिक विषय अध्यापन गराउँदै आएको शिक्षालयले अब बजारको माग अनुसार जनशक्ति तयार गर्नका लागि नयाँ विधि प्रयोग गर्न लागेको शिक्षालय प्रमुख लामिछानेले जानकारी दिए ।

 
विद्यार्थीहरुले उद्योगमा नै गएर सम्बन्धित कामको नियाल्दै जान्ने अवसरले उनीहरुलाई दक्ष बनाउन सहज हुने विश्वास लिइएको छ । ‘यसले उत्कृष्ट विद्यार्थीहरुले अध्ययन पुरा नगर्दै रोजगारी पाउने अवस्था सुनिश्चित हुनसक्छ’, प्रमुख लामिछानेले भने ।

 
कार्यक्रममा उपस्थित नयाँ विद्यार्थीहरुलाई शिक्षालय प्रमुख लामिछानेले अनुशासित भएर अध्ययन पुरा गर्न आग्रह गरे । उनले प्रत्येक कक्षाकोठामा सिसिक्यामेरा जडान गरिएको जानकारी दिंदै भने, ‘हामीले नियमित रुपमा अध्ययन, अध्यापनको अनुगमन गरिरहेका हुनेछौं ।’

 
शिक्षालय प्रमुख लामिछानेले सरकारले प्राविधिक जनशक्ति उत्पादनका लागि छात्रवृत्ति दिइरहेको उल्लेख गर्दै उनीहरुलाई रोजगारीको समेत ग्यारेन्टी गर्नुपर्ने धारणा राखे । ‘छात्रवृत्तिमा सरकारले गरेको लगानी विद्यार्थी रोजगार वा स्वरोजगार हुन सकेन भन्नेमा सरकार पनि ध्यान पुर्याउनु पर्छ’, उनले भने ।

 
सिटिइभिटीका निर्देशक टेक बहादुर मल्लले देशभरका विभिन्न प्राविधिक शिक्षालयहरुमार्फत नयाँ विधिबाट प्राविधिक शिक्षा अध्यापन सुरु भएको जानकारी दिए । उनले १ हजार २ सय विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा उद्योगमै गएर व्यवहारिक अध्ययन गराउने योजना रहेको बताए । ‘अबको प्राविधिक शिक्षा बजारको माग अनुसार हुनुपर्दछ’, निर्देशक मल्लले भने, ‘यसले विद्यार्थीहरुलाई रोजगार र स्वरोजार हुने अवस्था सुनिश्चित गर्छ ।’

 
कलेज सञ्चालक समितिका अध्यक्ष समेत रहेका जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख मदन भुजेलले समृद्धि नेपालको आधार तयार गर्न पर्याप्त प्राविधिक जनशक्ति आवश्यकता रहेको औंल्याए । ‘मुलुकमा राजनीतिक स्थायित्व छ’, प्रजिअ भुजेलले भने, ‘अबको बाटो समृद्धि तर्फ लम्कने हो र त्यसको सहयोगी हुन् प्राविधिक जनशक्ति ।’ ‘मुलुकमा स्थायित्व सँगै भौतिक पूर्वाधार निर्माण, कलकारखाना, उद्योग थपिने क्रम बढ्दै जानेछ,’ प्रजिअ भुजेलले भने, ‘त्यसले मुलुकमा प्राविधिक जनशक्तिको खाँचो थप बढाउने छ ।’

 
प्रजिअ केसीले देशमा भएका कलकारखाना, उद्योगहरुमा धेरै तलब खाने प्राविधिक जनशक्ति विदेश रहेकोप्रति चिन्ता व्यक्त गर्दै भने, ‘ती उद्योगलाई चाहिने जनशक्ति हामी आफैले उत्पादन गरेर विदेशिन देशको अर्थ र बेरोजगारीको अवस्था कम गर्न सकिन्छ ।’ उनले उद्योगकै आवश्यकता अनुसार प्राविधिक शिक्षालयले जनशक्ति उत्पादन गर्न लागेकोमा उत्साहित हुँदै भने, ‘यसले विदेश कामदारहरुलाई रिप्लेस गर्नेछ ।’

 
खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले देशमा दक्ष प्राविधिक जनशक्ति खाँचो रहेको औंल्याए ।
कार्यक्रममा वडा नं. १२ का अध्यक्ष बुद्धिसागर सुवेदी, विद्यार्थी, शिक्षक, कर्मचारीहरुको सहभागिता रहेको थियो । भेरी प्राविधिक शिक्षालयमा ११ वटा विषयको अध्यापन गराइन्छ । शिक्षालय ६ हजार बढी प्राविधिक जनशक्ति उत्पादन गरेको बताइन्छ । जसमध्ये ८० प्रतिशत बढी रोजगार र स्वरोजगारमा रहेको अनुमान शिक्षालयको छ ।

प्रतिक्रिया

प्रतिक्रिया