‘नेपालगन्ज–दिल्ली उडान छिट्टै’

नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीले सकारात्मक वातावरण बन्दै गएको प्रतिक्रिया दिएका हुन्
नेपालका लागि भारतीय राजदुत मञ्जिव पुरीले नेपालगन्ज–दिल्ली उडान छिट्टै हुने कुरामा आफु विश्वस्त रहेको बताएका छन् । शुक्रबार नेपालगन्ज उद्योगी, व्यवसायीहरुसँगको भेटघाटका क्रममा राजदुत पुरीले त्यसका लागि सकारात्मक वातावरण बन्दै गएको संकेत गरे ।

 
‘राजदुत पुरी नेपालगन्ज–दिल्ली उडान छिट्टै सुरु हुनेमा विश्वस्त हुनुहुन्छ’, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले दुई पक्षीय भेटघाटपछि दैनिक नेपालगन्जसँग सम्पर्क गर्दै भने, ‘त्यसका लागि राजदुत पुरी पनि सक्रिय देखिनु भएको छ ।’ भेटघाटका क्रममा संघको प्रतिनिधिमण्डलले नेपाल–भारत व्यापारका समस्याबारे ध्यानाकर्षण गराएका छन् । ‘यसअघि ध्यानाकर्षण गराइएका कतिपय कुराहरु सम्बोधन भएकोमा धन्यवाद पनि ज्ञापन गरेका छौं’, अध्यक्ष वैश्यले नेपालगन्ज–दिल्ली उडान आफुहरुको पहिलो प्राथमिकताको विषय भएको जानकारी दिंदै भने, ‘निकासीका झन्झटदेखि सीमा नाकामा सिर्जना गरिने गरेका अप्ठ्याराबारे फेरि कुरा राखेका छौं ।’

 
अध्यक्ष वैश्यका अनुसार, नेपालगन्ज नाका हुँदै गरिने निकासीमा निकै समस्या विद्यमान छ । ‘संयुक्त चेकपोष्ट निर्माण नहुँदासम्म यो समस्या समाधान हुने देखिएको छैन’, वैश्यले नेपाल भारत सीमानामा भारतीय सहयोगमा बन्न लागिरहेको इन्टिग्रेटेड चेकपोष्ट निर्माण कार्यका लागि पनि ध्यानाकर्षण गराइएको जानकारी दिंदै भने, ‘जतिसक्यो छिटो आइसिपी तयार हुनुपर्यो भन्ने कुरा राखेका छौं ।’ महासचिव अजय कुमार टण्डन सहितको टोली लिएर राजदुत पुरीलाई भेट्न पुगेका अध्यक्ष वैश्यले नेपालगन्जमा बहुउद्देश्यीय सभागृहका लागि भारतीय सहयोगको अपेक्षा पुनः दोहोर्याए ।

 
भारतीय क्षेत्रमा नेपाली नम्बरका गाडी गुड्ने कुराको व्यवस्था मिलिसकेको जानकारी राजदुत पुरीले दिएका छन् । ‘हामीले अघि सारेका झण्डै एक दर्जन मागहरुको सुनुवाई भैसकेको छ’, अध्यक्ष वैश्यले राजदुत पुरीसँगको भेटघाट पछि भने, ‘यसैबर्षदेखि नेपाली नम्बरका गाडी निर्बाध रुपमा भारतीय क्षेत्रमा गुड्न पाउने व्यवस्था हुने निश्चित छ ।’

 
भेटघाटका लागि नेपाल–भारत मैत्री संघका पदाधिकारीहरु पनि राजदुत पुरी कहाँ पुगेका थिए । संघका अध्यक्ष प्रदिप कुमार गुप्ताको नेतृत्वमा गएको संघको टोलीले सम सामयिक विषयमा राजदुत पुरीसँग चर्चा गरेको थियो ।

 
राजदुत पुरी मानसरोबरका लागि आउने भारतीय तिर्थयात्रीहरुको स्थलगत अवस्था अध्ययनका लागि शुक्रबार नेपालगन्ज आइपुगेका हुन् । सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका राजदुत पुरी आज शनिबार सीमकोट हिल्सासम्म पुग्ने बताइएको छ ।

 
राजदुत पुरीको नेपालगन्ज औपचारिक कार्यक्रम भने नरहेको सुरक्षा स्रोतले जनाएको छ । ‘उहाँ आफ्नो दुतावासको काममा मात्र आउनु भएको बुझिएको छ’, एक सुरक्षा अधिकारीले दैनिक नेपालगन्जसँग भने, ‘औपचारिक कार्यक्रम नभएकाले सुरक्षा व्यवस्थामात्र मिलाइएको छ, अरु कुनै जानकारी छैन ।’

प्रतिक्रिया

प्रतिक्रिया