सेवाग्राही र लेखन्दासलाई अलमल, विचौलियालाई सकस, गेटमा प्रहरी चेकजाँच
भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत तथा भूमि सुधार कार्यालय बाँकेलाई संचालन तथा ब्यवस्थापनका लागि नयाँ मापदण्ड लागु गरेपछि सेवाग्राही र लेखन्दास अलमलमा छन् । जग्गाको जीर्ण पुर्जालाई नयाँ बनाउन पुगेका बाँके रझेना बस्ने रमेश ठकुरी मालपोत कार्यालयको गेटमा प्रहरी हेरेर झस्किए । उनी भित्र जान लाग्दा प्रहरीले विचमै रोक्यो र भित्र जानुको प्रयोजन बारे सोधपूछ गर्यो । एकछिन उनलाई अलमल भयो कि अचानक ब्यवस्था फेरिएको हो कि कुनै भीआइपी वा नेता कार्यालयमा आएका रहेछन् ।
तर, विस्तारै प्रहरीले पूरै जानकारी दिएपछि ठकुरीले लागु भएको नयाँ ब्यवस्था बारे जानकारी पाए । सहजै र सोझै मालपोत प्रमुख सम्म पुग्न सक्ने वा जुनसुकै फाँटमा गएर आफु खुसी कागजात चलाउन सक्ने अवस्थालाई नियमन गर्दै भूमि सुधार तथा मालपोत कार्यालय बाँकेमा विहिवार देखि प्रहरी खटाइएको छ ।
सेवाग्राहीको साथमा आएका आवश्यकता भन्दा बढि ब्यक्तिहरु पनि भित्र पस्न पाउँदैनन् । लेखापढि कानून ब्यवसाय गर्दै आएका ब्यवसायीले जटिल ब्यवस्था भएका कारण धेरै समय सम्म चल्न नसक्ने प्रतिक्रिया दिँदै आएका छन् । लेखापढि कानून ब्यवसायी एशोसिएसनका पूर्व अध्यक्ष हृदय नारायण यादवले नयाँ ब्यवस्थापन सेवाग्राही र पेशा ब्यवसाय गर्ने सबैको हितमा रहेको बताएका छन् । ‘अनावश्यक प्रवेशलाई रोक लगाइएको छ,’ उनले भने, ‘यसबाट सेवाग्राहीले आफ्नो सुविधा अनुसार काम लिन सक्ने वातावरण बनेको छ ।’
लेखापढि ब्यवसाय संचालन गर्दै आएका प्रमाण पत्र भएको ब्यक्तिहरुलाई सुविधा भएपनि प्रमाण पत्र नभएर सहयोगीको रुपमा काम गर्दै आएका युवायुवतीहरुलाई समस्या उत्पन्न भएको यादवले बताए । आम जनताले आफै कार्यालयमा गएर सेवा लिन सक्ने वा सबै कुरा थाहा पाउने अवस्था नरहेकोले सो सन्दर्भमा कार्यालयको ब्यवस्थापन पक्षले विचार गर्नु पर्ने यादवले बताए ।
कार्यालयको मुख्य प्रवेश गेटमा एक जना र भित्रको मुख्य गेटमा एकजना प्रहरी खटाइएको प्रमुख मालपोत अधिकृत प्रेम बहादुर दौल्यालले बताए । केहि दिन असहज हुने अवस्था भएपनि विस्तारै चुस्त ब्यवस्थापनले सबै कुरा सामान्य हुँदै जान्छ, उनले भने, तत्कालै अलमलमा पर्नु राम्रो होइन । काम संग सम्बन्धित ब्यक्ति बाहेकले प्रवेश नपाउने र लेखापढि ब्यवसायी भए परिचय पत्र सहित मुख्य ढोका सम्म मात्र जान पाउने निर्णय लागु गर्दै कार्यालयले विचौलियालाई निस्तेज गरेको हो । खासगरि लेखापढि ब्यवसायी र उनका नाम प्रवेश गर्ने विचौलियाबाटै सेवाग्राही ठगिने र कर्मचारीलाई प्रभावित पार्ने काम हुँदै आएको सो सन्दर्भमा कडाई गरिएको प्रमुख मालपोत अधिकृत दौल्यालले बताए । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत कार्यालयबाट लेखापढी व्यवसायीका कार्यालय हटाउन दिएको निर्देशन बुधवार नै लागु भएको छ ।
मालपोत कार्यालयहरुमा लेखापढी कानुन व्यवसायीहरुले अनिवार्य रुपमा आफ्नो परिचय पत्र लगाएर कार्यालयको कार्यकक्षमा प्रवेश गर्नुपर्ने, लेखापढी गर्ने व्यक्तिको नाम, ठेगाना, इजाजत पत्र नम्बर उल्लेख गरी सम्बन्धित निकायमा अनिवार्य दर्ता गर्नु पर्ने मन्त्रालयको निर्देशन बमोजिम काम अघि बढि रहेको दौल्यालले जानकारी दिए ।
मालपोत तथा भूमि सुधार कार्यालयमा पेश हुने कागज बापत लेखापढी व्यवसायीहरुले लिने शुल्क निर्धारण गरी सो को सूची टाँस गर्न प्राप्त भएको निर्देशन बारे छलफल र विचार विमर्श भइरहेको बताउँदै दौल्यालले दैनिक नेपालगन्ज सँग भने, ‘अनाधिकृत रुपमा कुनै कामका लागि आफु खुसी रकम असूल गर्न कडाइ गरिनेछ ।’
मन्त्रालयले ११ बुँदे मापदण्ड लागु गर्न निर्देशन दिँदै अनलाइन प्रणाली लागु भई काम गरिरहेका कार्यालयहरुले सिसिक्यामरा अनिवार्य रुपमा जडान गर्नु पर्ने जनाएको छ । त्यसको सर्भर मन्त्रालय संग कनेक्ट गर्नु पर्ने सन्दर्भमा मालपोत कार्यालय बाँकेले जिल्ला समन्वय समिति बाँकेमा पत्राचार गरि सिसिक्यामरा जडानको माँग गरेको छ ।
पटक पटक घूस, जालसाजी, अनियमितताको आरोप खेप्दै आएको मालपोत कार्यालय बाँकेले आफ्नो पहिचान फेर्ने हिसाबको नयाँ ब्यवस्थापन सहित कार्य सम्पादन सुरु गरेको छ । यसअघि जग्गा विचौलियालाई छेक्न कर्मचारीलाई ताल्चा लगाएर राख्ने गरेको विषय बाहिर आएपछि सो सन्दर्भमा लेखापढिको परिचयपत्र विना प्रवेश नै नपाउने ब्यवस्था अघि सारिएको छ ।
मालपोत कार्यालयमा पछिल्लो समय बढ्दै गएको कारोबार र सो ब्यस्त समयमा जग्गा माफिया र विचौलियाहरु कर्मचारीको कोठामा पसी अनाधिकृत क्रियाकलाप गर्दै आएको सूचनाको आधारमा कार्यालयले सुधारको प्रक्रिया अघि बढाएको हो ।