नेपालगन्जको साहित्य

सनत रेग्मी

एक जना साथीले भन्नुभयो, तिमिले नेपालगन्जको इतिहास लेख्यौं । नयाँ कुरा थाहा पाइयो । तिमिले नेपालगन्जको शिक्षा, संस्कृति, उद्योग, व्यापारका बारेमा लेख्यौं । नेपालगन्जको नाम दिएर पुस्तक तयारी गर्ने विचारमा छौं रे, तर त्यो पुस्तक अधुरो हुनेछ ? किनभने तिमिले नेपालगन्जको साहित्यका विषयमा लेखेका छैनौ । हुनत नेपालगन्जको साहित्यका विषयमा मैले नलेखेको होइन तर नेपालगन्ज गाथाको सिरिजमा भने मैले नेपालगन्जको भाषा र साहित्यको विषयमा लेख्न चाहन्छु ।

 
नेपालगन्जमा बोलिने भाषामा पहिले अवधी अनि नेपाली हो । उर्दुमा लेखिन्छ तर लेख्नेहरु अवधी भाषा नै बोल्छन् । यहाँ मूलतः अवधी संस्कृति, मुस्लिम संस्कृति अनि पर्वते संस्कृति छ । बाँके जिल्लामा थारु संस्कृतिको महत्पूर्ण स्थान भएपनि नेपालगन्जमा भने थारु संस्कृति उल्लेखनीय रहेको छैन । अबधी संस्कृतिको भाषा अवधी छ भने मुस्लिम संस्कृतिको भाषा उर्दु भएपनि उर्दु लेख्ने अधिकांस मानिसहरु अवधी नै बोल्दछन् । त्यसो हुनाले मुस्लिम संस्कृतिको प्रभाव अवधीमा र अवधी संस्कृतिको छिटाहरु मुस्लिम लोक साहित्यमा देख्न सकिन्छ । अवधी भाषाको प्रभावले गर्दा अवधी भाषामा मुस्लिम रीतिरिवाजलाई लिएर लोक गीतहरु लेखिएको पाइन्छ । उर्दु भाषामा लोक साहित्य पाइँदैन नेपालगन्जमा ।

 
लोक साहित्यको दृष्टिले नेपालगन्ज मुख्यतः अवधी लोक साहित्यको धनी सहर हो । आधुनिकताको चकाचौंधले अवधी समाजमा लोक साहित्य बिस्तारै हराउँदै जाँदो छ तापनि आज घरघरमा पर्व, गीत, संस्कार गीत, कजरी, सोहर जीवितै छ । नेपाली लोक साहित्य पनि नेपालगन्जमा त्यति प्रचलित पाइँदैन । लोक साहित्यको भण्डार हो । नेपालगन्जको परिप्रेक्ष्यमा यसो सर्सरती हेर्दा के देखिन्छ भने यस्तो विपुल लोक साहित्यको भण्डार हुँदा पनि यहाँबाट कोही पनि लोक साहित्यको संकलन गर्ने मानिस निस्किएनन् । नेपालगन्जबाट कुनै पनि लोक साहित्यको पुस्तक ननिस्कनु नै यहाँको समाजमा साहित्यप्रति अभिरुचि नहुनु हो । १८६० सन्देखि विकसित हुन लागेको नेपालगन्जमा २००७ सालको जनक्रान्ति र क्रान्ति नायकहरुका विषयमा कुनै लोक साहित्य नजन्मनुले यस कुराको पुष्टि गर्दछ । पेडारीका सहिद बैजनाथ थारु, किसान आन्दोलनका अगुवा मुलायम बेहना, राजनीतिक व्यक्तित्व कुँवर कल्लु सिंह र नेपाल मिथकिय नायक जस्ता भैसकेका उमराव सिंह माथि कुनै किसिमको लोक गीत वा गाथा पाइँदैनन् । २०३६ सालको जनमत संग्रह ताका वि.पी. कोइराला र राजा महेन्द्रका विषयमा केही लोक गीतहरु बाँकेका गाउँहरुमा गाइएको मैले सुनेको थिएँ । तर, खै तिनको पनि संकलन गर्न सकिएन । लोक साहित्यको संकलनमा नेपालगन्जको साहित्य जगत नै शुन्य नै रह्यो ।

 
लिखित साहित्यको इतिहास पनि धेरै पुरानो छैन । बनारसबाट निस्किने सुन्दरी पत्रिकामा १९८६ सालतिर नेपालगन्जको ठेगाना दिएका कीर्तिबहादुर चन्दको एउटा कविता छापिएको । त्यसलाई नै पहिलो मान्ने आधार लिने हो भने नेपालगन्जको लिखित साहित्यको इतिहास वि.सं. १९८६ सालतिर देखिन्छ । तर, कीर्तिबहादुर चन्दको कुनै पनि पत्ता लागेको छैन । अवधी भाषामा भने वि.सं. १९३५ तिर बालक शरणको काव्य प्रकाशित देखिन्छ । त्यसपछि अवधी भाषाको कविता लेखन २००७ सालपछि मात्र देखिन्छ । सात सालपछि आशाराम मिश्र ग्रामीणले अवधी भाषामा कलम चलाएको पाइन्छ । तर, उनका कविताहरु पनि कवि सम्मेलनमै पाठ हुने गर्दथे उनको कुनै कृति प्रकाशित पाइँदैन । नेपालीमा २००१ सालमा उदय पत्रिकामा मेघराज समशेर जबराको एउटा निबन्ध देखिन्छ तर त्यसपछि उनको कुनै कृति देखा परेको छैन । नेपालगन्जमा नेपाली साहित्यको जग बसाउने श्रेय इन्द्रमणि मानवलाई जान्छ । नेपालगन्जमै जन्मेर हुर्केका इन्द्रमणि ‘मानव’ २००१ मा उदय पत्रिकामा कविता लिएर उदाए । त्यसपछि २००२ सालमा शारदा पत्रिकामा उनको कथा प्रकाशित भएको पाइन्छ । त्यसपछि उनका कथा, कविता, निबन्ध आदी उदय र शारदामा प्रकाशित भइरहे । इन्द्रमणि मानवसँगै कलम चलाउने अर्कै व्यक्तित्व थिए जगत बहादुर सिंह (झल्ला राजा) उनको केही कविता उदयमा र स्वराष्ट्र, अनुराधा र नौलो पाइला पञ्चामृत आदी पत्रिकामा कथा, कविता, निबन्धहरु प्रकाशित भएका छन् । उनले इन्द्रमणि मानव सँग मिलेर नेपालगन्जमा साहित्यिक जागरण ल्याउने प्रयत्न गरेका हुन् । २०११ सालमा सुप्रसिद्ध कथाकार गुरुप्रसाद मैनाली नेपालगन्ज अमिनिमा सुब्बा भएर आएका बखत उनकै प्रेरणाले मंगल प्रसाद स्कुलबाट ‘मंगल ज्योति’ पत्रिका प्रकाशित भएको देखिन्छ । उक्त पत्रिकाका सम्पादक बभ्रुवाहन सिंह बस्नेत थिए । त्यस पत्रिकामा बभ्रुवाहन सिंह, अनिरुद्ध सिंह, गुरुप्रसाद मैनाली आदीका रचना प्रकाशित थिए । नेपालगन्जबाट निस्किएको पहिलो बहुभाषिक पत्रिका मंगलज्योति नै हो । त्यसपछि इन्द्रमणि मानव र जगत बहादुर सिंह भएर नेपालगन्जबाट नेपाली भाषामा ‘स्व राष्ट्र’द्वैमासिक पत्रिका २ अंक प्रकाशित गरेका थिए । तर, त्यो पत्रिका २ अंक पछि बन्द भयो ।

 

 

२०१८ सालमा सुप्रसिद्ध उपन्यासकार दौलत विक्रम विष्ट नेपालगन्ज आएका बखत उहाँबाट प्रेरित भएर नेपालगन्जका हिन्दी, नेपालीका साहित्यकारहरुको प्रयासले पाटन प्रिन्टिङ्ग प्रेसबाट द्वैमासिक अनुराधा पत्रिका प्रकाशित गरियो । यसको नेपाली पृष्ठको सम्पादक इन्द्रमणि मानव र हिन्दी पृष्ठको सम्पादक महावीर प्रसाद गुप्त थिए । २०१३ सालमा उदय पत्रिकामा वि. विकासको कविता प्रकाशित भयो । त्यतिबेलासम्म इन्द्रमणि मानव वि.विकास र मोहनलाल श्रेष्ठको साहित्यिक तिगडी सक्रिय भैसकेको थियो । हिन्दीमा श्रवण कुमार श्रेष्ठ, ललित सिंह जिापति, केशव सिंह सिजापतिहरु लेख्न थालेका थिए । शिवप्रसाद बाजपेयी, महावीर प्रसाद गुप्त, योगेश्वर मिश्रहरु हिन्दी लेखकहरुमा दरिन्थे र हिन्दी र नेपालीमा एउटा जमात नै सक्रिय देखिन्थे । अवधीमा भने आशाराम ग्रामीण मात्र देखिन्थे । उर्दुमा २००८ सालमा नै ‘बज्मे अदब’ साहित्यिक संस्था खोलेर उर्दु गजल लेखनको प्रारम्भ गरेका थिए । मुहम्मद आरिफ, अब्दुल लतिफ शौक आदीले नेपालगन्जमा उर्दु मुशायराको परम्परा बसालेता पनि नेपालगन्जको उर्दु साहित्यले गति लिन निकै समय लाग्यो । नेपालगन्जका तमाम मरहुम शायरहरु कुनै कृति प्रकाशित नगरिकन दिवंगत भै सक्नु भयो उनीहरुको फुटकर कृतिहरु नै यदाकदा भेटिन्छन् ।

 

 
मोहनलाल श्रेष्ठले नौलो पाइलो २०१९ सालमा निकाल्नु भयो । यो पनि २ अंक मात्र निस्किए र बन्द भयो । यस पत्रिकाले रश्मी (नर्बदा शर्मा) ‘माधुरी’ श्रेष्ठ र स्यामन्तक मणि राणालाई नेपालगन्जको नारी हस्ताक्षरको रुपमा प्रकाशित गर्यो । देबु बहादुर श्रेष्ठ, शान्ति श्रेष्ठ (शान्तनु श्रेष्ठ)हरु यसै पत्रिकाका उपज हुन् । देबु बहादुर श्रेष्ठ र मोहनलाल श्रेष्ठ साहित्यिक प्रतिभा भएर पनि त्यति चर्चित हुन सकेनन् । २०१८ सालतिर नै नेपालगन्जमा गीत, गायन र कविता लिएर प्रेम प्रकाश मल्लको उदय भयो । अहिले अवधी साहित्यलाई नेतृत्व दिई रहेका सच्चिदानन्द चौबे त्यतिबेला हिन्दीमा लेख्दथे । अवधी साहित्यलाई आफ्नो गीतका माध्यमबाट लोकप्रिय बनाउनमा हुबलाल नेपालीको ठूलो योगदान छ । अवधीमा गीत लेख्ने र गाउने भएकाले अवधी गीत निकै लोकप्रिय थियो । २०१९ देखि २०३० सम्म महेन्द्र हमालले पनि कहरुवा नृत्यका लागि अवधी भाषामा समेत गीत लेख्ने र गाउने गर्नु हुन्थ्यो ।
२०२२ सालमा सुप्रसिद्ध साहित्यकार भीमनिधि तिवारी नेपालगन्ज आउनुभयो र उहाँले नेपालगन्जलाई नव प्रतिभा भनेर सनत रेग्मीलाई नेपालगन्जको साहित्य जगतलाई चिनाउनु भयो । अनि नेपाली साहित्यमा नेपाली भाषाका साहित्य चतुष्टय भनेर पूर्ण प्रकाश यात्रीबाट नाम पाएका इन्द्रमणि मानव, वि.विकास, प्रेम प्रकाश मल्ल र सनत रेग्मीको सक्रियता साहित्यिक क्षेत्रमा देखियो । यो टिममा सुर्खेतबाट बसाइ सरेर आउनु भएका नन्दराम लम्साल पनि मिसिनु भयो । नेपालगन्जको साहित्यलाई यिनीहरुले नै मलजल गरिरहे । नेपालगन्जबाट २०२४ सालमा श्यामस्तक मणि राणाको भाव सम्भवा, कृष्ण जंग राणाको देशका लागि मन दुखाउ, २०२५ सालमा इन्द्रमणि मानवको अभिशप्त जीवन कथा संग्रह र सनत रेग्मीको चन्द्र ज्योत्स्ना र कालो बादल पुस्तक प्रकाशित भयो । विभिन्न संघ, संस्थाको मुखपत्र निस्कियो । २०३४ सालमा पूर्णलाल चुके, दिपक सिंह आदी मिलेर नवरंग गोजिका, २०३८ सालमा पूर्णलाल चुके र लेखनाथ ज्ञवाली भएर त्रैमासिक पत्रिका प्रकाशित गरे ।

 

 
२०५०÷५१ सालतिर नव प्रतिभा प्रवद्र्धन समूहबाट, भोजराज नादिर, झलक गैरे (विकल्प), पुष्कल नेपाल आदी भएर दौंतरी पत्रिका प्रकाशन गर्दै युवा साहित्यकार परिचालन गरे । त्यसको लगत्तै पनि नरेन्द्रजंग पिटर, राजेन्द्र ज्ञवाली, नयनराज पाण्डेय, मुन पौडेलहरु भएर प्रयास समुह तयार गरे । २०५५ सालतिर खगेन्द्र गिरी कोपिला, गजलको उत्थानका लागि परे । अब्दुल लतिफ शौक र उहाँका साथीहरु भएर गुल्जारे अदब गठन गरी उर्दु शायरो शायरीका उत्थानमा सक्रियता बढाए । विष्णुलाल कुम्हाल, सच्चिदानन्द चौबे र लोकनाथ बर्मा ‘राहुल’ले अवधी साहित्यको विकासमा सक्रियता देखाए । र, अहिले नेपालगन्जमा नेपाली, अवधी, थारु, उर्दु चारवटै भाषामा साहित्य लेखिंदै प्रकाशित हुँदै छन् ।

 

 
नेपालगन्जले जन्माएका प्रतिभाहरु नयनराज पाण्डेय, नीलम कार्की निहारिका, केशव सिग्देल जस्ता प्रतिभाहरु २०७५ मा तीन ठूला पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपालगन्ज, कोहलपुर, खजुरा आदिबाट उपत्यास, कथा, कविता, निबन्धका थुप्रै पुस्तक प्रकाशित भैसकेका छन् । प्रज्ञा प्रतिष्ठान जस्तो संस्थाको नेतृत्व दिने सनत रेग्मी, हरि तिमिल्सिना प्रज्ञा प्रतिष्ठानमा सदस्य सचिव र प्राज्ञ सभा सदस्य भैसकेका छन् । नयनराज पाण्डेय, केशव सिग्देल, सच्चिदानन्द चौबे, अब्दुल लतिफ शौक, सिर्जन लम्सालहरु राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भैसकेका छन् । अहिले नेपालगन्जको लिखित साहित्य फष्टाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया