हरितालिका तीज नेपाली महिलाहरुको प्रमुख पर्व । पछिल्ला बर्षहरुमा यो पर्वलाई महिला सशक्तिकरणसँग पनि जोडिंदै आएको छ । तर, त्यसका नाममा विकृति बढेको प्रति धेरैलाई चिन्ता पनि छ । तिजको सन्दर्भ पारेर नेपालगन्जका उद्यमी महिलाहरुसँग यो साताको महानगरका लागि सम्यक संवाद गरिएको छ । आर्थिक सशक्तिकरणबाट महिला मुक्ति र उनीहरुको अधिकार सम्भव छ भन्ने कुरामा सबै अगुवा महिलाको मत एक रह्यो । उद्यमी समेत रहेकी प्राध्यापक सावित्रा बस्नेत, नेपालगन्ज उद्योग वाणिज्य महासंघकी उपमहासचिव तारा रोकाय, सौन्दर्य कला व्यवसायी संघ बाँकेकी अध्यक्ष दुर्गा अधिकारी, मुद्रण व्यवसायी महासंघ बाँकेकी उपाध्यक्ष मिना ढकाल र उद्यमी महिला बबिता गुप्तासँग समग्र महिलाको अवस्थादेखि नेपालगन्जमा महिलाहरुको व्यवसायिक उपस्थितिसँग जोडिएर गरिएको कुराकानीमा आधारित धारणा ।
नेपालगन्ज उद्योग वाणिज्य संघ स्थापना भएको ५१ वर्ष पुगिसक्यो तर, पनि किन अहिलेसम्म एकजना पनि उद्योग वाणिज्य संघको अध्यक्ष बन्न सक्नुभएको छैन त ?
समय अहिले धेरै अगाडि बढिसकेको छ । जमाना हिजोको जस्तो छैन र, मानिसहरुको सोंच पनि बदलिइसकेको छ । हरेक क्षेत्रमा जस्तै उद्योग, व्यापार तथा व्यवसायमा पनि महिलाहरुको संख्या अनि गुणस्तर पनि बढ्न थालेको छ । उद्योग वाणिज्य महासंघमा एक दशकभन्दा लामो समयसम्म म पनि नेतृत्वको तहमा छु । त्यहाँ बस्दा रहँदा मैले पनि धेरै महिला दिदीहरुलाई भेटेको छु, देखेको छु जो उद्यम गर्ने इच्छाशक्ति बोक्नुभएको छ तर, बाहिर आउन सक्नुभएको छैन । हामीले त्यस्ता महिलाहरुलाई कसरी व्यवसायमा लगाउन सकिन्छ र उद्यमी बनाउन सकिन्छ भन्नेबारेमा धेरै योजना तथा कार्यक्रमहरु पनि ग¥यौँ ।
सशक्तिकरणका कुरा गर्दा, २०५६ सालमा पहिलोपटक तीज महोत्सव लगाएर हामीले धेरै त्यस्ता महिला दिदी, बहिनीहरुको सीप तथा उत्पादनलाई बाहिर ल्यायौं । जसले भित्रभित्रै उत्पादन त गरिरहनुभएको थियो तर, त्यही उद्यमशीलतालाई बाहिर ल्याउन सक्नुभएको थिएन, उहाँलाई बाहिर ल्याउन सकियो । अहिलेसम्म हामीले ५ हजार महिलाहरुलाई सीपमूलक तालिम दिइसकेका छौँ । हामीले तालिममात्रै होइन, उहाँहरुलाई कसरी स्वरोजगार बन्ने अनि कसरी आफ्नो उद्यमलाई अगाडि बढाउने भन्नेबारेमा पनि परामर्श दिने गरेका छौँ ।
२०५६ सालकै कुरा मलाई सम्झना छ । हामीले तीज महोत्वस ग¥यौँ । अब स्टलहरु त भर्नप¥यो । मेला महोत्सव भनेपछि त्यही त हो नि । हाम्रो सोंचाइअनुसार महिला दिदीबहिनीहरुलाई नै अगाडि ल्याउन चाहन्थ्यौँ । तर, हामीले त्यहाँ कोही पनि त्यस्ता महिलाहरु पाएनौँ अनि त्यसका लागि हामी घरघरमा गएर महिलाहरुलाई मेलाका लागि ल्यायौँ र, उहाँहरुको सीप, क्षमता अनि उत्पादनहरु बाहिर देखायौँ । कति महिलाहरुलाई हामीले रिक्सामा आफैँ चढाएरसमेत ल्याएका छौँ गाउँगाउँबाट खोजेर । त्यो बेला हामीले खोज्न जानुपथ्र्याे आज महिला दिदी बहिनीहरु कसरी उद्यम गर्ने ? कसरी व्यवसाय गर्ने ? भनेर हामीलाई खोज्दै आउनुहुन्छ । यही नै खुसीको कुरा हो । कम्तीमा महिलाहरु पनि व्यापार व्यवसायको क्षेत्रमा अघि बढ्दैछन् । उनीहरु पनि केही गर्न चाहन्छन् । त्यो बेला मेलामा गएर आफ्ना सामान देखाउन नमान्ने महिलाहरु आज मेरा सामानहरु बेचिदिनुप¥यो भनेर उत्पादनको बजार खोज्दै आउनुहुन्छ । यो एकदमै सकारात्मक कुरा हो । यसरी मलाई लाग्छ परिवर्तन हुँदैछ । एकैपटक परिवर्तन देखिँदैन तर, भइरहेको हुन्छ । यो अहिले हामीले पनि देखिरहेका छौँ ।
हरेक महिलाभित्र धेरै क्षमता छ । कसैमा केही छ कसैमा केही तर, ती महिलाहरुको सीप र क्षमताले उत्पादन भएका वस्तुहरुले बजार पाउँदैनन् वा बजारमा ल्याउने वातावरण महिलाहरुले पाउनुहुन्न जसले गर्दा उहाँहरु बाहिर देखि नसक्नुभएको हो । हामी नेपाली महिलाहरुसँग धेरै नै क्षमता छ । अहिले हेर्नुस् बजारमा मस्यौराको व्यापार कति धेरै छ । वर्षमा करोडौंको मस्यौरा हामीले चाइना अनि इन्डियाबाट आयात गर्छाैँ तर, मलाई लाग्छ मस्यौरा बनाउनका लागि नेपाली महिलाजत्ति सिपालु अहिलेसम्म कोही छैन । हामीले घर बनाएको त्यो मस्यौरा गुणस्तरीय पनि हुन्छ । हामीले त्यसको मात्रै बजारीकरण गर्नसक्यौँ भने पनि धेरै भन्दा धेरै महिलालाई आयआर्जनको पाटोमा लगाउन सकिन्छ । हुँदाहुँदा महिलाहरुले नै बनाउने गुन्द्रुक जुन गाउँघरमा खेर गइरहेको हुन्छ त्यो पनि हामी बाहिरबाटै ल्याउँछौँ तर, अब त्यस्ता उत्पादनले बजार पाउनुपर्छ भन्ने हो ।
हरेक पेशामा पद भन्ने कुरा आइहाल्दो रैछ । जसले गर्दा क्षमता, सीप नभएर पनि पदका लागि लडिरहेका हुन्छौँ । त्यसका लागि पनि महिलाहरुलाई विश्वास गरिँदैन । महिलाहरुलाई कुनै संघसंगठनको निर्णायक तहमा राख्नुप¥यो भने पनि राख्नका लागि मात्रै राखिन्छ । एकातिर पारिवारिक विश्वासको वातावरण हुँदैन, अर्काेतिर सामाजिक संचरना पनि त्यस्तै छ । पहिला पहिला उद्योग वाणिज्य संघमा दुई जना महिला मनोनित गर्न पनि खोज्न जानुपथ्र्याे । आज धेरै महिलाहरु व्यापार व्यवसायमा लाग्नुभएको छ । धेरै महिलाहरु उद्यममा लाग्नुभएको छ र, उद्योग वाणिज्य संघमा पनि आवद्ध हुनुभएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघ स्थापना भएको ५१ वर्ष पुगिसक्यो तर, पनि किन अहिलेसम्म एकजना पनि उद्योग वाणिज्य संघको अध्यक्ष बन्न सक्नुभएको छैन त ? गम्भीर प्रश्न त यहीँनेर छ ।
म सोंच्छु यदि म बिहेर गरेर नेपाल नआएको भए सायद यसरी म पनि अरुजस्तै स्वतन्त्र भएर व्यापार, व्यवसायमा लाग्न पाउने थिइनँ कि ?
नेपालको संस्कार मलाई धेरै लाग्यो । यहाँको पारिवारिक वातावरण, सामाजिक वातावरण नै कस्तो खुल्ला छ तर, त्यहीँनेर हेर्नुस् भारतमा महिलाका लागि यत्तिधेरै राम्रो वातावरण छैन । महिलाहरु अझैँ पनि बाहिर निस्किन पाउँदैनन् भारतमा । म सोंच्छु यदि म बिहेर गरेर नेपाल नआएको भए सायद यसरी म पनि अरुजस्तै स्वतन्त्र भएर व्यापार, व्यवसायमा लाग्न पाउने थिइनँ कि ?
बिहे गरेर नेपाल आएँ । घर, व्यवहार थियो, छोराछोरी, घर परिवार सबैलाई हेर्नुपर्ने तर, म बाहिर निस्किएँ । बिहान ८ बजे नै घरको कामकाज सकेर पसल आउँथेँ र साँझ फेरि ८ बजेतिर गएर घरको काम गर्थेँ । त्यो बेला अहिलेको जस्तो कहाँ थियो र ? ब्यापार व्यवसायमा महिलाहरु थिएनन् । आएकै थिएनन् । एकदमै गाह्रो भयो नि त्यो बेला व्यापार गर्न । तर, पनि हिम्मत नहारी गर्ने हो भने व्यापार सफल हुन्छ । हामी व्यापारमा आत्तिनुहुन्न । विस्तारै हुन्छ । एकैदिनमा धेरै नाफा कमाउने व्यापार केही पनि हुन्न नि !
नेपालगन्जमा अहिले धेरै महिलाहरु व्यापार व्यवसायमा आउनुभएको छ । तर, नेपालगन्जको व्यापार अझैँ बढाउने हो भने पहिला अरु अबैधानिक नाकाहरु बन्द हुनुपर्छ । मुख्य भन्सार त जमुनाहा भयो तर, यहीँका धेरै नाका अनि वर्दियाका कैयौँ नाकाहरुबाट पनि खुलेआम क्यारिङमा सामान आउँछन् । जसले नेपालगन्जको व्यापारलाई धेरै असर गर्छ । त्यसले गर्दा हाम्रो बजारमा असर परिरहेको छ । त्यसलाई तुरन्तै रोक्नुपर्छ । अनि अर्काेकुरा भारतीय व्यापारीले हाम्रो सरकारसँग सम्झौता भएअनुसार १८ प्रतिशत जीएसटी फिर्ता गरेको छैन । त्यो पनि जोडेर मूल्य बढाउँछ जसले गर्दा हामीले नजिकैको रुपैडिहा बजारभन्दा धेरै महंगोमा सामान बेच्नुपरेको छ । यसले पनि हाम्रो नेपालगन्जको व्यापारमा धेरै नै असर गरिरहेको छ । यसलाई पनि रोक्न जरुरी छ । अनिमात्रै हाम्रो ब्यापार फस्टाउँछ । रुपैडिहाभन्दा पनि सस्तो हुँदाहुँदै नेपालगन्जमा किनमेल हुँदैन । यस्तो किन भइरहेको छ त ? यसलाई पनि त रोक्नुप¥यो ।
भन्छन् नि सपनाहरु थाहा नपाएरै देखिन्छ । त्यस्तै थियो मेरो व्यापारको सपना पनि । कहिलेकाहीँ पृथ्वीमा भइँचालो आउँछ । तर, मान्छेको मनमा हर क्षण, हर पल भुइँचालो आइरहेको हुन्छ । मनलाई शरीरलाई हल्लाइरहेको हुन्छ । २०५० सालमा पहिलोपटक प्रिन्टिङ बिजनेश थालेकी हुँ । त्यो बेला लाग्थ्यो के होला र ? तर, यो २५ वर्षमा त धेरै कुराहरु फेरिइसकेका छन् । समय धेरै परिवर्तन भइसकेको रहेछ ।
म कसरी बिजनेशमा आएँ आफैँलाई थाहा छैन । म किसानकी छोरी हुँ । जोतेर खानपुग्ने थियो । खेतीपातीमै सबै थिए तर, पनि मैले बिजनेश गरेँ । पढ्दापढ्दै बिहे भयो । र, मैले थाहा नपाएरै सपना देखेको रहेछु बिजनेशमा आउँछु भन्ने । भित्रभित्रै मनबाट कता कता केही लागिरहेको थियो । बिजनेश गर्छु भन्ने थियो । तर, यही नै गर्छु भन्ने केही थिएन । भन्छन् नि सपनाहरु थाहा नपाएरै देखिन्छ । त्यस्तै थियो मेरो व्यापारको सपना पनि । कहिलेकाहीँ पृथ्वीमा भइँचालो आउँछ । तर, मान्छेको मनमा हर क्षण, हर पल भुइँचालो आइरहेको हुन्छ । मनलाई शरीरलाई हल्लाइरहेको हुन्छ ।
बिहे भएपछि बुवाले काठमाडौंँमा चार आना जमीन दिनुभएको थियो । तर, हामीले त्यो चारआना जमीन बेचेर बिजनेशमा लगायौँ र प्रिन्टिङ बिजनेश सुरु भयो । सबैले गाली गर्न थाले, अब सबै डुबाउने भए यिनीहरुले । गरिखानु भनेर जमीन दिएको त्यो पनि मासेर व्यापार गर्न थाले । अब सब डुब्ने भयो भनेर सबैले हामीलाई गाली गरे । अरुले ब्यापार गरेर, व्यवसाय गरेर जग्गाजमीन जोड्छन् हामीले भएको जमीन पनि मासेर व्यापार सुरुवात गरिरहेका थियौँ । त्यो अवस्थामा मेरा श्रीमानले धेरै साथ दिनुभयो । नत्र म अहिले यहाँसम्म आइपुग्ने थिइनँ । व्यापारमा टिक्न सक्नुपर्छ । यो भएन, ऊ भएन भनेर छोड्दै जाने हो भने सफल त कसरी भइन्छ र ? व्यवसाय गर्दा पनि धेरै धैर्यता हुनुपर्छ ।
अहिले व्यापार पनि राम्रो चलिरहेको छ । प्लस टु सकेर विदेश जान कस्सिएको छोरोलाई रोकेँ र उसलाई पनि यहीँ नै बिजनेशमा लगाएँ । आज उसले पढाइ पनि यहीँ ग¥यो र व्यापार पनि । आज उसले भन्दैछ कि, ‘मम्मी हजुरले त्यो बेला जे गर्नुभयो धेरै ठीक गर्नुभयो ।’ आज जे भइरहेको छ, म अनि मेरो परिवार र मेरो बिजनेश जहाँ छ त्यो सब त्यही चारआना जमीनको सुरुवात थियो जसले हामी व्यापारको दुनियाँमा आयौँ । श्रीमानले विश्वास गर्नुभयो । स्वतन्त्र हुन दिनुभयो । अनि मैले व्यापार गर्न सकेँ । हाम्रो समाजमा पनि यस्ता कैयौँ महिलाहरु छन्, जो क्षमता हुँदाहुँदै सीप हुँदाहुँदै पनि भित्रभित्रै गुम्सिएर बस्नुपरेको छ । बाहिर आउन सक्नुभएको छैन । हिजो २५ वर्ष अघिको तुलनामा त धेरै महिलाहरु व्यापारमा लागेका देखिन्छन् तर, पनि साेंचेको जस्तो छैन ।
परिवर्तन विस्तारै हुँदो रहेछ । आत्तिनु हुँदैन । सपनाहरु देख्नुपर्छ । जानेर वा नजानेर, थाहा पाएर वा नपाएर जे भए पनि सपना देखेपछि पूरा हुँदोरैछ । त्यही थाहै नपाएर देखेको थिएँ व्यापारमा आउने सपना आज त्यसैमा छु । त्यही व्यापारले मेरो अनि परिवारको जीवन धानिरहेको छु । जे छु सबै त्यसैको सफलता हो भन्ने ठान्छु । मलाई लाग्छ, घर, सम्पत्ति जोड्नु, गाडी खरिद गर्नु र ऐश आराम गर्नुमात्रै सफलता होइन । आवश्यकता आफ्ना ठाउँमा होलान् तर, मोजमस्तीका लागि यी सब गर्नु वा गर्नसक्ने हुनुमात्रै सफलता त होइन जस्तो लाग्छ ।
सफलताका पछाडि धेरै कुराहरु हुन्छ । घर, परिवार, समाज अनि सरकार, राजनीति यी सबै कुराहरु सफलतामा भर पर्छन् । अहिले देशको स्थिति पनि त्यस्तै छ । न राजनीति स्थायी हुन्छ न त, सरकार नै अनि काम गरिखानेलाई मार पर्छ त्यो सबैको । त्यसैले सबै ठीक भयो भनेमात्रै हामी पनि ठीक हुन्छौँ । हाम्रो व्यापार फस्टाउँछ । यसमा आउन सबैले मन पनि गर्छन् ।
संघसंगठनहरु अहिले पेशागत सुधारभन्दा पनि पदकै लोभमा सबैजना दौडेको देख्छु । महिला पनि त्यही हो र, पुरुष पनि त्यही हो । पदमा पुगेका महिलाहरुले पनि म जस्तै अरुलाई पनि कसरी अगाडि ल्याउने कसरी महिलाहरुको आर्थिक स्तर माथि उकास्ने भन्नेजस्ता सोंचाइ राख्दैनन् बरु आफू नै कसरी माथिमाथिको पदमा पुग्ने अनि त्यसमा टिकिरहने हो ? भन्ने कुरामात्रै सोंच्छन् । अहिले अरु महिलाहरुले चान्स नपाएपछि प्रगती कसरी हुन्छ ? ती संघसंगठन भनेका पेशागत सुधारका लागि हुनुपर्छ, नकि पदका लागिमात्रै । पेशागत रुपमा कसरी व्यवसायीलाई अगाडि बढाउने भन्नेतर्फ पो सोच्नुपर्छ नि !
म देख्छु हरेक संघसंगठनमा महिलाहरु राख्नुपर्छ भनेर हैन कि चाहिन्छन् भनेर राखिएको हुन्छ ।
मैले अहिले १६ जनालाई रोजगारी दिइरहेको छु । आफ्नो अनि घरपरिवारको जीवन पनि यही व्यापारमा अडिएको छ । यदि राज्यको नीति पनि त्यस्तै भयो भने सजिलो हुन्छ । नीतिगत कुराहरुलाई पनि ध्यान दिन जरुरी छ । भन्सार व्यवहारिक छैन । व्यापार व्यवसायमा पनि त्यत्तिकै आउने होइन, पैसाले मात्रै व्यापार हुन्न । पैसा हुनेलेमात्रै व्यापार गर्ने भन्ने होइन । राज्यले यसमा पनि नीति बनाउन आवश्यक छ । व्यापार व्यवसायमा पनि केही नीतिगत कुराहरु आउनुपर्छ । अनिमात्रै हामीमात्रै होइन, हरेक उद्यममा धेरै भन्दा धेरै महिलाहरुको सहभागिता हुनसक्छ ।
हामी अघि बढ्यौँ भने कसले छेक्छ र ? कति दिन छेकिन्छौँ र हामी ? मलाई त लाग्छ, हामी आफूले आफैलाई छेकिरहेका छौँ, आफूले आफैलाई पछि पारिरहेका छौँ । विद्यार्थीहरुलाई पनि म समाजशास्त्र पढाउँछु अनि यही समाजको आफैँले पनि व्यवहारिक अध्ययन गरिरहेको छु । व्यवसाय पनि गरिरहेको छु । उद्यमी महिलाहरुलाई संगठित गरेको छु । धेरै उद्यमी महिलाहरु मिलेर हामीले उद्यमी महिला संघ बनाएका छौँ । त्यसमा धेरै प्रकारका सीप र क्षमता भएका महिला दिदी बहिनीहरु हुनुहुन्छ ।
सबैभन्दा पहिला त महिला पनि कमजोर हुँदैनन् र छैनन् पनि । उनीहरुले चाहे भने उनीहरुलाई मौका अनि वातावरण दिइयो भने जे पनि गर्न सक्दछन् । घर, व्यवहार अनि सबै गृहस्थी चलाएका महिलाले व्यापार व्यवसाय चलाउन नसक्ने भन्ने हुँदैन । यो मानेमा महिलाहरु अझैँ अभ्यस्त हुन्छन् । गृहस्थी आफैँमा पनि एउटा प्राक्टिकल्ली व्यवसाय हो । यो अनुभवले पनि महिलाहरुलाई अरु व्यवसायका लागि सजिलो हुन्छ । हामी महिला बढी अभ्यास गर्ने भएका कारण अझैँ त्यसमा अब्बल हुन्छौँ र हामीसँग अझ धेरै अनुभवहरु हुन्छन् ।
तर, यसले फेरि पुग्दैन । योसँगै केही चेतना अनि शिक्षा पनि हुनुपर्छ । शिक्षामात्रै पनि भएर पुग्दैन । शिक्षालाई व्यवहारमा उतार्नका लागि चेतना पनि चाहिन्छ । घरपरिवार, समाज अनि गृहस्थी सजिलै चलाएका महिलाहरुले आफ्नो उद्यमलाई व्यावसायिकता दिन किन सक्दैनन् ? तर, उनीहरुका लागि वातावरण हुनुपर्छ, मौका दिइनुपर्छ ।
नेपालगन्जमा धेरै महिला उद्यमीहरु छन् । धेरै महिला व्यवसायीहरु छन् । उनीहरु नदेखिएका मात्रै हुन् वा नदेखाइएका हुन् । उनीहरुलाई बाहिर ल्याउन जरुरी छ । उनीहरुको सीप, क्षमता अनि उत्पादनलाई बजारीकरण गर्न जरुरी छ । अनि मात्रै महिलाहरु बाहिर व्यापारमा पनि देखिनसक्छन् । यसका लागि एक्लैले गरेमात्रै नहुँदो रहेछ । सहयोगी हातहरु धेरै चाहिन्छन् । आफूभित्र इच्छाशक्ति भयो भने कुनै पनि पारिवारिक, सामाजिक साङ्लाले पनि हामी महिलाहरुलाई छेक्न सक्दैनन् । त्यसैले आफूभित्र केही गर्नसक्छु भन्ने इच्छाशक्ति जरुरी हुन्छ ।
त्यसका लागि सबैभन्दा पहिला आफूभित्र रहेको कमजोर मानसिकतालाई मार्नुपर्छ । म केही गर्न सक्दैन, यस्तो होला उस्तो होला, म कमजोर छु भन्ने जस्ता कमजोर सोचाईहरुलाई अटाएपछि मात्रै अगाडि बढ्न सकिन्छ । राज्यले दिएन वा अरुले दिएनन् भनेर आफू पछि बस्ने हैन, म पनि केही गर्न सक्छु र गर्नुपर्छ भनेर अगाडि आउनुपर्छ । राज्यले अवसर नदिएको जस्तो लाग्दैन, हामी अधिकारका कुरा गर्छाैँ महिला अधिकार कानुनहरुमा नभएका होइनन्, हामीले नपाएका पनि होइनौँ तर, हामी आफैँ त्यसको उपयोग गर्न सक्दैनौँ । हामी अघि बढ्यौँ भने कसले छेक्छ र ? कति दिन छेकिन्छौँ र हामी ? मलाई त लाग्छ, हामी आफूले आफैलाई छेकिरहेका छौँ, आफूले आफैलाई पछि पारिरहेका छौँ ।
हामीसँग घरेलु सीप र क्षमता भएका धेरै महिलाहरु संघमा आवद्ध हुनुहुन्छ । उहाँहरुले धेरै कुराहरु आफैँले उत्पादन गर्नुहुन्छ, कपडा, अचार बनाउने जस्ता थुप्रै उत्पादनहरु । तर, उत्पादन गरेरमात्रै त हुँदैन । त्यसको गुणस्तर पनि हुनुपर्छ । अनिमात्रै राम्रो प्रतिफल आउँछ । त्यसका लागि धैर्यता चाहिन्छ, हामी आत्तिएरमात्रै हुँदैन ।
हामी महिलाहरुले पनि कसैको साडी अनि गरगहनामा इस्र्यामात्रै गर्ने, अनि त्यसैको देखासिकी पछि लाग्ने बढी नै गर्छाैँ त्यसले गर्दा पनि हामीले प्रगती गर्न नसकेका हौँ । अरुको देखासिकी गरेर, अरुको जत्तिकै साडी र गहना बटुलेर प्रगती हुँदैन । समाजलाई मैले बुझेअनुसार अहिले देखिएको सबैभन्दा ठूलो समस्या वैदेशिक रोजगारी हो । छोरा, श्रीमान वैदेशिक रोजगारीमा हुन्छन्, महिलाहरु घरआँगनकै करेसा पनि खनजोत गर्दैनन्, परिवारका लागि त्यही करेसामा तरकारी उत्पादन गर्न सकिन्छ, कम्तीमा हामीसँग भएको श्रम त्यो उत्पादनमा त लाग्छ नि, अहिले धेरैजसो घरका करेसाहरु बाँझै छन् । ‘विदेशबाट पैसा आइहाल्छ, पुगिहाल्छ दुःख कसले गर्छ र ?’ भन्ने सोंचाइले गर्दा अहिले महिलाहरुको न प्रगती भएको छ, न बिकास भएको छ । त्यसैले धेरै जिन्दगी पनि बर्बाद भएको छ । त्यसैले हामीले सबैभन्दा पहिले त आफूभित्र भएको सोंच बदल्नुपर्छ ।
सरकारले यस्ता सिपमूलक भनेर धेरै तालिम त दिन्छ तर, उनीहरुलाई त्यसको व्यापार कसरी गर्ने भन्ने कुरा पनि सिकाउन जरुरी छ । २५ वर्ष अघि मैले यहाँ ब्यूटिपार्लर खोल्दा समाज अर्कै थियो । अहिले धेरै फरक भएको छ । पहिला पहिला मानिसहरु ब्यूटिसियन अनि यो कामलाई नै नजरले हेर्थे । ब्यूटिसियन त्यो पनि २५ वर्षअघिको समाजमा ? धेरै च्यालेन्ज त थियो नै तर, पनि मैले हिम्मत हारिनँ । टिकिरहेँ । आफू अडिइरहेँ । जसले गर्दा आज यो स्थानमा आइपुगेको छु ।
सुरुमा ब्यूटिपार्लर खोल्दा दुई, तीन महिनासम्म त मेरो पसलको बोहनीसमेत भएन । सुरुवातै नभए पनि केही महिनाहरु त्यत्तिकै कुरिरहेँ । आज समय फरक भएको छ । धेरैमा परिवर्तन आएको छ । हिजो ब्यूटिसियन, यस्तो उस्तो भन्नेहरु आज आफ्नै श्रीमती लिएर आउँछन् । मोटरसाइकल, साइकलमा श्रीमतीलाई लिएर पार्लरमा छोडिदिन्छन् र, आफू बाहिर कुर्छन् । समय यस्तो आइसक्यो ।
यो व्यवसाय आफैमा नराम्रो होइन । हरेक पेशा, हरेक क्षेत्र अनि हरेक व्यवसायमा कोही न कोही नराम्रा हुन्छन् । तर, सबै नराम्रा पनि हुँदैनन् र सबै राम्रा पनि हुँदैनन् । जसले नराम्रो गरे उनीहरुकै कारण त्यो पेशा अनि व्यवसायको बदनाम हुने हो र समाजले त्यही नजरले हेर्ने हो । तर, कुनै एउटा व्यक्ति नराम्रो भयो वा उसले नराम्रो ग¥यो भनेर सारा व्यवसाय अनि व्यवसाय गर्ने सबै नराम्रो हुन्छन् भन्ने होइन । हाम्रो समाजको यस्तो मान्यताले गर्दा नै महिलाहरु अगाडि बढ्न नसकेका हुन् जस्तो मलाई लाग्छ । त्यो जमानामा पनि मेरो घरपरिवारलृे मलाई सपोर्ट गरेको थियो । काम त आफैँमा त्यस्तो गाह्रो नै थियो तर, पनि समाजले साथ दियो, घरपरिवार आफन्त सबैले सहयोग र साथ दिए अनिमात्रै मेरो पार्लर व्यवसाय अहिलेसम्म टिकिरहेको छ । अझैँ बाच्दासम्म पनि गर्नसक्छु भन्ने सोच बनाएको छु ।
अहिले मेरो पार्लरबाट धेरै महिला, युवतीहरुलाई तालिम दिएको छु । यो पेशामा अहिले धेरैको आकर्षण पनि बढेको छ । धेरैलाई यो तालिम दिइसकेँ आफैँ र अरु संघसंस्थाहरुले आयोजना गरेको तालिममा पनि प्रशिक्षक भएर धेरैलाई सिकाएको छु । तालिम लिँदैमा सबैले त्यही पेशा गर्नैपर्छ भन्ने छैन। तर, केहीले धेरै राम्रो काम गरेका छन् । मसँग सिकेका धेरै महिला दिदीबहिनीहरुले अहिले पनि आफ्नै लगानीमा ब्यूटिपार्लर होस् अथवा श्रृङ्गार पसल हो वा केही न केही त गरिरहेका छन् । कोही बिहे गरेर घर, गृहस्थीमा लागेका होला, अघि पनि भनिसकेँ सबै आउँछन् वा यही पेशा गर्छन् भन्ने होइन । कम्तीमा उनीहरुले सिप सिके त्यो नै ठूलो कुरा हो । जीवनमा सिकेका हरेक कुरा कुनै न कुनै बेला काम लाग्छन् नै ।
हरेक व्यापार अनि पेशागत क्षेत्रमा यो खुट्टा तान्ने संस्कार हुन्छ । एउटा केही राम्रो ग¥यो भने उसलाई कसरी पछाडि पार्ने अनि आफू कसरी माथि पुग्ने भन्ने सोंचाइका कारण पनि धेरै महिलाहरु प्रगती गर्न सकेका छैनन् । त्यसैले यस्तो व्यवहार गर्नुहुन्न । अहिलेसम्म धेरै महिलाहरुलाई सिप सिकाएँ तर, थोरैमात्रै यो पेशामा लागेका छन्, टिकेका छन् । सरकारले यस्ता सिपमूलक भनेर धेरै तालिम त दिन्छ तर, उनीहरुलाई त्यसको व्यापार कसरी गर्ने भन्ने कुरा पनि सिकाउन जरुरी छ । पछि पारिएका महिलाहरुलाई सिपमूलक तालिम दिएरमात्रै हुँदैन, उनीहरुको आर्थिक सशक्तिकरणका लागि राज्यसँग स्पष्ट नीति अनि कार्यक्रमहरु पनि हुनुपर्छ ।