नेपालगन्जमा  विद्युतको गडबडी

एक घण्टामा १० पटक सम्म कटौती, प्राधिकरण भन्छ, ‘यो कटौती होइन स्वीचिङ हो’

प्राविधिक कारण बाहेक लोडसेडिङ गर्न नपाउने गरि तीन वर्ष अघि तत्कालीन पुनरावेदन अदालत नेपालगन्जले गरेको आदेशलाई नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र नेपालगन्जले दिनहुँ लत्याउँदै आएको छ । एक घण्टामा १० पटकसम्म विद्युत कटौती हुन थालेपछि पछिल्लो ५ दिन भित्र बाँकेका बासिन्दा विद्युत विरुद्ध अक्रामक हुँदै गएका छन् । उद्योग, ब्यवसाय र विद्युतबाट हुने कारोबारहरु धराशयी अवस्थामा छन् ।

 
सरकारले देशैलाई लोडसेडिङ मुक्त घोषणा गरिरहेका बेला नेपालगन्ज सहित बाँकेमा विद्युतको समस्याबाट आमनागरिक सास्ती खेप्दै आएका छन् । नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुखका राम दुलार यादवले नेपाल भारत दुबै देशको लाइन संचालन गर्नु पर्ने भएकोले विद्युत स्वीचिङ गर्नु परेको बताए ।
‘यो कटौती होइन’, दैनिक नेपालगन्ज संग कुरा गर्दै यादवले भने, ‘ट्रान्सफर्मरले अटो कट गर्ने गरेको छ ।’ ‘खासमा नेपाल वा भारत कुनैपनि देशबाट एउटै प्रशारण लाइनमा पूर्ण रुपमा विद्युत प्रवाह नहुँदा यस्तो समस्या देखा परिरहन्छ’, उनले भने, ‘गर्मी भएर लोड बढेका बेला मात्रै यस्तो हुने गरेको हो ।’

 
प्राधिकरण प्रमुख यादव भन्छन्, ‘नेपालगन्जमा विद्युत कटौती हुनुमा प्राविधिक कारण नै मुख्य हो ।’ ‘हावाहुरिका कारण नेपाल र भारत दुबै मुख्य प्रशारण लाइनमा समस्या हुन जान्छ’, उनले भने, ‘नियतवश विद्युत आपूर्तिमा बाधा गरिएको होइन यो प्राविधिक कारण नै हो ।

 
केही दिन यता बढ्दो गर्मीले सास्ती खेप्दै आएका बाँकेका बासिन्दा विद्युत अपूर्ति असहज हुँदा झन अक्रोशमा छन् । भारतीय क्षेत्रबाट ११ मेगावाट र नेपालको राष्ट्रिय प्रसारण लाइनबाट ३ देखि ८ मेगावाटसम्म विद्युत आपूर्ति भइरहेको प्राधिकरण कार्यालयले जनाएको छ । ‘भारतीय क्षेत्रबाट सप्लाईमा समस्या छैन’, वितरण केन्द्र प्रमुख यादवले भने, ‘नेपाली क्षेत्रबाट नै विद्युत विभिन्न समयमा अनियमित भइरहँदा चुनौती हुन जान्छ ।’

 
‘पाँच दिन देखि नेपालगन्ज क्षेत्रमा गर्मी बढेका कारण विद्युतको लोड समय अनुसार फरक–फरक हुँदा त्यसलाई ब्यवस्थापन गर्दा कट भएको समस्या देखिएको हो’, यादवले भने, ‘कतिपय स्थानमा आफै र कतिपय स्थानमा कर्मचारीले ट्रान्सफर्मर चार्ज गर्नका लागि विद्युत कटौती गरेका हुन्छन् ।’

 
नेपालगन्जमा सडक विस्तारको क्रममा पनि चुनौती थपिएको यादवले बताए । घर भत्काउने ब्यक्तिले विद्युतको पोल र तार माथि नै संरचना खसाउँदा त्यसलाई सुधार गर्दा समेत समय लाग्ने गरेको हो । ‘नेपालगन्जमा विद्युत लोडसेडिङ तालिका छैन’, यादव भन्छन्, ‘नेपालगन्जका लागि अझै विद्युत अपुग नै छ । उनले भने, ‘कम्तिमा पनि ३० मेगावाट विद्युत गर्मीमा आवश्यक पर्छ ।’ ‘माग बमोजिम सप्लाई दिन सक्ने वातावरण नभएका कारण कुनै नकुनै स्थानमा कटौती गर्नु पर्ने बाध्यता पनि छ’, यादव भन्छन्, ‘नेपालगन्जका लागि भारतीय क्षेत्रबाट वा नेपाली विद्युत अपूर्ति नबढाएसम्म दीर्घकालीन रुपमा समस्या समाधान हुन सक्दैन ।’

 
केही स्थानमा नयाँ ट्रान्सफर्मर जडान गरेर नै समस्या समाधान हुने खालको देखिएकोले एयरपोर्ट फिडरमा ३ एमभीए ट्रान्सफर्मर जडान कार्य यसअघि नै सम्पन्न भएको छ । ‘सबस्टेशन कोहलपुरमा पनि ६३ एमभीएको नयाँ ट्रान्सफर्मर थप्ने तयारी चलिरहेको छ’, यादवले भने, ‘विस्तार समाधान तिर केन्द्रित भएपनि तत्कालै निकास दिन सक्ने अवस्था छैन ।’

 
‘नेपाली क्षेत्रबाट कुनै बेला ८ र कुनै बेला ३ मेगावाट विद्युत दिने गरेका कारण सोही अनुसार कार्यतालिका प्रभावित हुने गरेको छ, यद्यपि विभिन्न समयमा नेपाली विद्युतकै कारण पनि पूरै सहर धानिएको छ’, यादवले भने, ‘तामाकोशी संचालनमा आएपछि समस्या स्वतः समाधान हुन्छ ।’

 
विद्युत अनियमित र अत्यधिक भोल्टेजका कारण नेपालगन्जका बासिन्दाको थुप्रै विद्युतीय उपकरणहरु ध्वस्त भएको गुनासो समेत आएको छ । गर्मीका बेला हरेक वर्ष नेपालगन्जको विद्युत आपूर्तिले चर्चा लिएपनि दीर्घकालीन निकास हुन सकेको छैन् । यसैबीच नेपाल विद्युत प्राधिकरण वितरण कार्यालय नेपालगन्जले आज सोमवार रानीतलाउ नजिक ट्रान्सफर्म सिफ्ट गर्नु पर्ने भएकोले विहान ८ देखि साँझ ६ बजे सम्म विद्युत कटौती हुने जनाएको छ ।

 
सो अवधिमा महेन्द्र स्कूल क्षेत्र, रानीतलाउ, कुम्हारन टोल, त्रिभुवन चोक, रंगशाला तथा महिला बालबालिका कार्यालय क्षेत्र, बुलबुलिया, बाँके गाउँ लगायत क्षेत्रमा दिनभरि विद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया