१९ दिनमा जबरजस्तीकरणीका ५ मुद्दा दर्ता, ४ जना उमेर नपुगेका बालिका
पछिल्लो समयमा जबरजस्तीकरणीको मुद्दा वृद्धि हुन थालेपछि प्रहरीले घटना पछिको कारक तत्वका बारेमा पनि विचार विमर्श अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्क अनुसार भाद्र महिना १९ गते सम्म जिल्लामा ५ वटा जबरजस्ती करणीको मुद्दा दर्ता भएको छ । नेपालगन्जमा १३ वर्ष र २२ वर्षको बालिका र युवती रहेको तथा कोहलपुर नगरपालिका क्षेत्रमा ७ वर्ष, ८ वर्ष र १३ वर्षको बालिका माथि जबरजस्तीकरणी भएको मुद्दा अनुसन्धानको क्रममा छ ।
मुख्य रुपमा यौन शिक्षा दिन सके मात्र जबरजस्तीकरणी घटाउन सकिने तथ्यमा प्रहरी पुगेको छ । ‘यौन सम्बन्धी विषय नेपाली समाजमा अहिले पनि लुकाउने र गोप्य राख्ने रुपमा रही आएको छ’, जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा इन्चार्ज प्रहरी निरीक्षक रण बहादुर विष्टले भने, ‘सामाजिक सञ्जाल, साथसंगत, सामाजिक ब्यवहार, पारिवारिक वातावरण लगायतको प्रभाव पनि जबरजस्तीकरणीको कारक तत्वमा पर्छन् ।’
‘यसबारे सामाजिक अभियन्ता, अधिकारवादी र सामाजिक विदहरुको सक्रियता आवश्यक देखियो’, दैनिक नेपालगन्ज संग कुरा गर्दै इन्चार्ज विष्टले भने, ‘हाम्रो काम घटना भइसकेपछि अनुसन्धान र त्यसमा देखिएको सबूत प्रमाणको आधारमा कारवाही अघि बढाउने मात्र हो ।’
‘सचेतनाको पक्षमा अधिकारकर्मी, महिला बालबालिका सेवाकेन्द्र, विभिन्न वडा कार्यालयहरु लगायतले अभियान संचालन गरिराखेपनि अपेक्षा अनुसारको प्रतिफल प्राप्त हुन नसकेको पाइएको छ’, विष्टले भने, ‘यौन सम्बन्धी उत्साह र उत्सुक्ताले बालबालिकालाई अपराध तर्फ आकर्षित गर्छ ।’ ‘बालबालिका र किशोर किशोरीको मनोदशा, ब्यवहार र आवागमन बारे अभिभावक पनि उत्तिकै चनाखो हुन आवश्यक छ’, विष्ट भन्छन्, ‘सामान्य लापरवाहीका कारण पनि घटना हुने गरेको पाइएको छ ।’
‘कतिपय घटनामा नैतिकता पनि आवश्यक देखियो’, विष्टले भने, ‘उमेर बढी भएको पुरुष र उमेर निकै कम भएको बालिका विचको सम्बन्धलाई नैतिकता संग जोडेर हेर्नु पर्ने अवस्था विद्यमान छ ।’ हालै मात्र कोहलपुरमा बृद्ध नागरिकले १३ वर्षिया बालिकालाई जबरजस्तीकरणी गरेको सन्दर्भमा मुद्दा अनुसन्धान भइरहेको छ । नैतिक शिक्षा नै देशबाट हटाइएको छ, विष्टले भने, यस्तो अवस्थामा नैतिकताको कुरा गरेर पनि साध्य छैन ।
‘सेक्स एजुकेशन दिएर मात्रै समस्या घटने भन्ने तर्क आफैमा विवादस्पद छ’, सामाजिक विश्लेषक डा.कौशल कुमार वर्माले भने, ‘यसबाट दुबै किसिमको अवस्था उत्पन्न हुन सक्छ ।’ यौन शिक्षामा वैवाहिक जीवन, त्यसअघिको किशोरावस्था र वैवाहिक जीवनका दौरन हुने गतिविधि बारे जानकारी दिने विषय रहेकोले किशोर किशोरीहरुमा सुसुप्त अवस्थामा रहेको हर्मोन झन सक्रिय हुन सक्ने सम्भावना उत्तिकै बढी हुन्छ ।
‘यौन शिक्षा आफैमा विवादित विषय हो’, डा.वर्माले भने, ‘पोर्न वेभसाइटहरुबाट पनि यौन शिक्षा प्राप्त हुन सक्छ, तर त्यस बारे पनि विभिन्न धारणा र विवादित बहसहरु सार्वजनिक भइरहेका हुन्छन् ।’‘यौन शिक्षा बारे जागरुक मात्रै बनाउँदैमा बलात्कार घट्ने भन्ने होइन, मुख्य विषय सन्दर्भ छनौटमा निर्भर गर्छ’, डा.बर्माले भने, ‘यसमा विभिन्न विश्लेषकहरुको फरक फरक राय आउने गरेपनि युरोपको उदाहरणलाई सहजै एशियाली मुलुकहरुमा प्रस्तुत गर्ने गरिएको छ, यद्यपि यसको प्रयोग अझै सफल मानिएको छैन ।’
‘कानूनी शिक्षा, नैतिक शिक्षा, सामाजिक शिक्षा र पारिवारिक शिक्षालाई संयुक्त रुपमा समाहित गरेर एउटा विषय निर्माण गर्ने हो भने, त्यसबाट केहि सकारात्मक प्रतिफलको अपेक्षा गर्न सकिन्छ’, डा.वर्माले भने, ‘अपराध सम्बन्धी जागरुकताले समाजमा झन अपराध बढाउन प्रोत्साहित गरेको प्रतिफलहरु विश्वमाझ छँदैछन् ।’
देशमा भदौ १ देखि नयाँ कानून लागु भएको छ । भदौ १ गतेदेखि नेपालमा मुलुकी ऐनको सट्टामा ५ वटा नयाँ ऐनहरु लागू भएका छन् । एउटै संहितामा रहेको मुलुकी ऐनलाई विस्थापन गर्नका लागि ५ वटा ऐन ल्याइएको हो ।
मुलुकी देवानी (संहिता), मुलुकी देवानी कार्यविधि (संहिता), मुलुकी अपराध (संहिता), मुलुकी फौजदारी कायविधि (संहिता) र, फौजदारी (कसुर सजाय निर्धारण तथा कार्यान्वयन) ऐन भदौ १ गतेबाट लागू भएको छ ।
हालसम्म देवानी र फौजदारी कसुरहरुमा मुलुकी ऐन २०२० अनुसार कारवाही हुँदै आएकोमा अब नयाँ ऐन अनुसार कारबाही सुरु भएको छ । मुलुकी ऐन २०२० मा जबर्जस्ती करणी, आशय करणी, हाडनाता करणी र पशु करणीका महलहरु थिए । अब ती महललाई अपराध संहितामा करणी सम्बन्धी कसूरमा समेटिएको छ । नयाँ कानूनमा वैवाहिक बलात्कारको नयाँ अवधारणा नै थपिएको छ । ‘लोग्नेले स्वास्नीलाई जबरजस्ती करणी गरेमा तीन वर्ष देखि पाँच वर्षसम्म कैद हुने’ उल्लेख छ । त्यसपछि पनि श्रीमतीको सम्मानित जीवनका लागि विभिन्न सुरक्षाका व्यवस्था गरिएका छन् ।
बलात्कारको शिकार हुने महिलाले आत्मरक्षाको लागि प्रत्याक्रमण गर्दा कुनै अपराध नठहरिने भनिएको छ । जबरजस्ती करणीको महलको ८ नम्बरले बलात्कारको प्रयास भएको वा घटना भएको एक घन्टाभित्र गरिएको प्रत्याक्रमणमा वलात्कारीको मृत्यु भएपनि कुनै खतबात नलाग्ने साविकको व्यवस्थालाई संशोधन गरेको छ ।
जबरजस्ती करणीकी पीडितलाई कर्ताबाट क्षतिपूर्ति दिने व्यवस्थालाई अझ फराकिलो बनाउन खोजिएको छ । ‘कसूरदारको कुनै सम्पत्ति नभएर पीडितले क्षतीपूर्ति नपाउने देखिएमा अदालतले सरकारबाट उचित क्षतिपूर्ति भराइदिने छ,’ नयाँ कानूनमा भनिएको छ ।
बलात्कारको घटनामा नालिस गर्नुपर्ने पैतिस दिने हदम्याद बढाएर छ महिना पुर्याइएको छ । मुलुकी ऐन लोग्ने स्वास्नीको महलको ४ नम्बरलाई संशोधन गरी कुटपीटलाई पुरै प्रतिबन्ध गरिएको छ । पहिले बारम्वार कुटपिट गर्न नपाइने भन्ने खालको आसय बोकेको प्रावधान थियो । अरु ऐनहरुलाई पनि महिला अधिकार र लैङ्गिक समानतामूलक बनाउन दर्जनौं प्रावधान हेरफेर गरिएको छ ।
साइकलको डण्डीमा ब्राउनसुगर
समाचारदाता
दैनिक नेपालगन्ज
लागुऔषध तस्करले भारतीय क्षेत्रबाट तस्करी गर्न विभिन्न नयाँ तरिकाहरु खोज्दै आएका छन् । सो क्रममा मंगलवार नेपालगन्ज ट्राफिक चोकबाट ३.५० ग्राम लागुऔषध ब्राउन सुगर साइकलको सिटमुनी फलामे डण्डीमा लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले दुईजना युवालाई पक्राउ गरेको छ ।
कोहलपुर १४ बस्ने सुरेश चौहान र नेपालगन्ज २० बस्ने शेर अली नाईलाई प्रहरीले ब्राउनसुगर सहित पक्राउ गरेको हो । रुपईडिहाबाट नेपालगन्ज तर्फ ल्याउँदै गरेको ब्राउनसुगर विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले बरामद गरेको जनाएको छ । यसअघि यौनाङ, गुप्ताङ, नाक, मुख लगायत स्थानमा ब्राउनसुगर लुकाएर तस्करी हुने गरेको समाचार प्रकाशित भइसकेको छ ।