सगरमाथा चढेपछि झर्नुपर्छ, नझरे मर्नुपर्छ ।
यो, कवि श्यामलका कविताश्लोक हुन् । संसारकै सर्वोच्च शिखर सगरमाथा चढ्ने र सकुशल अवतरण गर्नेको सूची लामै छ, तर सिमित । कतिपय आरोही यात्राकै क्रममा हरेक बर्ष हिउँको साँघुरो गल्छेँडामा मृत्युवरण पनि गर्छन् । तर सत्य यही हो, सगरमाथाको चुचुरोमा बसिरहन असम्भवप्राय छ ।
उता व्यावसायिक सगरमाथाको चुचुरो भने छुनै गाह्रो छ । किनकी यसको आयतन निकै फराकिलो छ । सफलताको चुचुरो ८८४८ मिटरभन्दा कति हो, कति उचाँे छ, सायद कहिल्यै नपुगिने ।
संसारकै सर्वोच्च शिखर सगरमाथाको आधारशिविर भन्दा माथि उक्लिएपछि कुनैपनि समय हिमपात र खतरनाक आँधी बेहरी आइरहने डर रहन्छ । त्यस्तै व्यवसायको बढ्दो आयतनको यात्रामा पनि चुनौतिका असंख्य पहाड भेटिँदै जान्छन् । ती चट्टानी पहाडलाई तोड्दै अघि बढ्नु कुशल व्यवसायीको कर्म हो, धर्म हो, कर्तव्य हो । विन्सटन चर्चिलले कतै भनेका छन् नि, ‘निराशावादी हरेक अवसरमा समस्या देख्दछ भने, आशावादी हरेक समस्यामा अवसर मात्र देख्दछ ।’
सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपाने समस्याका बीच अवसर देख्दा रहेछन् । उनी आशावादी सोंचका रैछन् भन्ने सिद्धार्थ भ्युको बारमा कफीगफसँगैको डेढघण्टे बसाइमा थाहा लाग्यो । निराशा उनको शब्दकोषमै छैन सायद । सधैं फिट एण्ड फ्रेस देखिने कृष्णलाई देख्दा लाग्छ, उनी लामो दौडका धावक हुन् ।
चार बर्षअघि जब कम्पनीको सम्पूर्ण जिम्मेवारी काँधमा बोक्दै थिए, सर्वत्र चुनौतिका खात थिए । एउटा ठूलो समूह कम्पनीबाट बाहिरिँदै थियो । उक्त समूहलाई आर्थिक व्यवस्थापन गर्नु एउटा चुनौति थियो भने, अर्कोतर्फ कम्पनीलाई त्यही ट्रयाकमा दौडाउनु थप चुनौति । चुनौतिमाथि थप चुनौति । त्यतिनै बेला प्राकृतिक प्रकोपदेखि कृत्रिम जोखिमहरु देखा परे । भुकम्प त्यतिबेलै आयो । नाकाबन्दी भयो । प्रादेशिक भुबनोट तथा राजधानीका सवालमा राजनैतिक हड्ताल र आन्दोलन भए । यी सबले आर्थिक क्षेत्रमा प्रत्यक्ष असर पुग्थ्यो । अझ बिशेषगरी पर्यटन क्षेत्रमा । पर्यटन क्षेत्र एक हिसाबले धरासायी बनायो । यो सबलाई सम्हाल्दै अघि बढ्न उनले ठूलै जोखिम उठाए ।
जोखिम उठाउनु नै सफलताको चाबी हो, उनले राम्रोसँग बुझेका थिए । तसर्थ संक्रमणकालीन अवस्थामा पनि सिइओको जिम्मेवारी ग्रहण गर्न कत्ति पनि हिच्किचाएनन् । सहर्ष स्वीकारे । कायरले मात्र जोखिमको ढोका उघार्ने प्रयास गर्दैनन्, बहादुरले त जोखिम उठाउनुलाई नै सफलताको चाबी मान्छन् भन्ने उनलाई राम्रोसँग थाहा थियो । जोश र होसका साथ कम्पनीको उडानलाई सुरक्षित अवतरण गराए । सिइओको भुमिकामा चार बर्षे यात्रालाई समीक्षा गर्दै उनी भन्छन्– ‘व्यावसायिक यात्रा नटुङ्घिने रै’छ, एक पछि अर्को चुनौति र अवसर दुवै सँगसँगै आउने रहेछन् ।’ अहिले सिद्धार्थ बिजनेस ग्रुप एकपछि अर्को नयाँ नयाँ सोंचका साथ अघि बढिरहेको छ, निरन्तर ।
संघीयताको कार्यान्वयनसँगै देशको प्रशासनिक संरचना बदलिएको छ । मुकामहरु फेरिएका छन् । देशका प्रमुख सहरहरुमध्ये सबैभन्दा बढ्ता मार नेपालगन्जले खेप्नुपरेको अनुभुति स्थानीयले गरिरहेका छन् । अहिले आएर भुगोलका हिसाबले नेपालगन्ज सबैभन्दा जोखिममा परेको भन्छन् केही मान्छेहरु । कुनैबेला मध्य र सुदुरपश्चिमको व्यापारिक केन्द्र बिस्तारै ओझेलमा पर्दै गएको भन्नेहरुको कमी छैन । मुलुक प्रादेशिक संरचनामा गइसकेपछि नेपालकै पुरानोमध्येको सहर नेपालगन्जले आफ्नो आकर्षण घटाउने हो कि? भन्ने संशय पनि छ । यद्यपि यो लुम्बिनी प्रदेश(५ नं.), कर्णाली प्रदेश(६नं.) र ७ नं. प्रदेशको राजधानीका रुपमा स्थापित हुन सक्छ भन्ने सम्भावनालाई धेरैले नजरअन्दाज गरिरहेको पनि सत्य हो ।
भौतिक पूर्वाधार निर्माण संरचनामा लगानी देख्दा यो सहर यत्तिकै चुप लागेर बसिरहला भन्ने कम्तीमा कृष्ण जस्तै युवालाई रत्तिभर शंका छैन । किनकी, तीन प्रदेशको मुटु हो नेपालगन्ज । नेपालगन्ज सधैं आकर्षणको थलो बनिरहनेछ । किनकी छिमेकी राष्ट्र भारतको प्रमुख सहर लखनउसँग सिधा जोडिएको छ भने, उता उत्तराञ्चल प्रदेशका नागरिकहरु पनि लखनउबाट नेपालगन्ज हुँदै नेपाल घुम्न चाहन्छन् । यसलाई सिइओ न्यौपानेले भारतीय सिमावर्ती सहरहरुमा मार्केटिङ गर्ने योजना तय गरिसकेका छन् । नेपालगन्जलाई केन्द्र बनाएर सुदुरपश्चिमको शुक्लाफाँटा, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, प्युठानको स्वर्गद्वारी, मुगुको रारा, डोल्पाको शेफोक्सुन्डो, दैलेख, सुर्खेत, लुम्बिनी, मनकामना र पशुपतिनाथको दर्शन गराउनेगरी रुट तय गराएका छन् । मानसरोवर त छँदैछ । नेपालगन्जलाई केन्द्रबिन्दु बनाएर बिभिन्न दररेटमा नेपाल घुमाउने ‘प्याकेज’ उनले तयार गरिसकेका छन् । यसले नेपालगन्जको आकर्षण कायम राख्न टेवा पुग्ने अपेक्षा गरिएको छ ।
नीजि क्षेत्रका व्यवसायीले नेपालगन्जमा पर्यटकलाई भित्रयाउँदा राज्यको निकायले उनीहरुलाई यस ठाउँमा समय व्यतित गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्ने उनको सुझाव छ । ‘सबैभन्दा पहिले सहर सफाइमा ध्यान दिनसक्नुपर्छ, जुन नगरपालिकाबाट मात्र सम्भव छ’ उनी भन्छन्– ‘व्यवस्थित सहर र स्थानीयको मिठो व्यवहारका बारेमा सचेतना अभियान सञ्चालन गर्नुपर्छ ।’
सहरभित्र वा पेरिफेरिमा कृतिम उद्यानहरु निर्माण गरी पर्यटक लोभ्याउने आधारशीला तयार गर्दै जानुपर्ने उनको थप सुझाव छ । अब सहरभित्र आकर्षणका कृत्रिम ठाउँहरु निर्माण गर्दै अघि बढ्न सके भविष्य सुन्दर छ ।
सिद्धार्थका युवा सिइओ पनि यस बिषयमा सहमत छन् । सिद्धार्थको महत्वाकांक्षी परियोजना नेपालगन्जमै छन् । अझ भनौं, नेपालगन्जलाई मूल आधार बनाएर सर्वत्र बिजनेस सञ्चालन गरिएका छन् । यसअर्थमा सिद्धार्थको मुटु नेपालगन्ज हो । यहींबाट देशव्यापी सञ्जालमा रक्तसञ्चार भइरहेको छ । सबैभन्दा ठूलो परियोजनाका रुपमा होटल सिद्धार्थ भ्युले सेवा प्रारम्भ गरेपछि नेपालगन्जमा तारे होटल खुल्ने क्रम ह्वात्तै बढ्यो । उसले नै सम्भावनाको बाटो देखाएपछि अहिले नेपालगन्जमा दर्जनको हाराहारीमा यो स्तरका होटल सञ्चालमा छन् । स्वयं सिद्धार्थ चार तारे होटलको सबै मापदण्ड पूरा गरिसकेर औपचारिक मान्यताको मात्र पर्खाइमा छ । ‘यसै महिनाभित्र हामी चार तारे होटलको प्रमाणपत्र पाउँदैछौं’ उनले भने ।
कटेज रेष्टुरेन्टको संस्कृति सिद्धार्थले नै सुरु गरेको थियो डेढ दशक अघि नेपालगन्जबाटै । आजको दिनमा पनि क्षेत्रफलका हिसाबले सुर्खेतरोडस्थित सिद्धार्थ कटेज सम्भवतः नेपालकै ठूलो रेष्टुरेन्ट हो । यसको आफ्नै कथा छ । कैलालीको टिकापुरबाट व्यासायिक यात्रा प्रारम्भ गरेका सिइओ कृष्णका माइला दाई लक्ष्मण न्यौपानेले नेपालगन्जमा रेष्टुरेन्टको सम्भावना पहिचान गरेका थिए । मुलुक द्वन्द्वको चरमोत्कर्षमा रहेका बेला उनले नेपालगन्जमा सिद्धार्थ कटेज सुरु गरेका थिए । जतिबेला कटेज व्यवसाय सायद सोचेजस्तो सहज थिएन । जसरी ब्लेडले दारी काट्ने परिपाटी नभएको समयमा किंग सी जिलेटले भारी ऋण काढेर ब्लेड कम्पनी खोल्ने जोखिम मोलेका थिए ।
संसारमा जति पनि मानिस सफल भएका छन् ती सबैले कुनै न कुनै जोखिम मोलेका छन् । उनीहरु डरले थुनिएर बसेका थिएनन्, जीवनसित जुवा खेल्ने हिम्मत गरेका थिए । उनीहरु पटक पटक असफल पनि भए तर अन्तमा सानदार जित हासिल गरेर विश्व हल्लाउन सफल भए । जसले जोखिम उठाउँदैन, त्यही नै सबैभन्दा ठूलो जोखिममा पर्छ । कृष्ण त्यही गर्छन्, लक्ष्मणले पनि हिजोका दिनमा त्यही गरे ।
लक्ष्मण सिद्धार्थ ग्रुपका अध्यक्ष हुन् । उनी देशदेशावर गरिरहन्छन् । सम्भाव्यता खोजी गर्दै हिंड्छन्, योजना तर्जुमा गर्छन् । सिइओ कृष्ण भने चुस्त कार्यान्वयन पक्षमा बढ्ता जोड दिन्छन् । उनको जिम्मेवारी पनि योजना तर्जुमा र प्रभावकारी कार्यान्वयन नै हो । उनी भन्छन् ‘सिद्धार्थका हरेक सदस्यको आपसी समन्वयले सिद्धार्थ अघि बढिरहेको छ ।’
नेपालगन्जबाट नै ठूला परियोजना चलाइरहेको सिद्धार्थले चेन बिजनेसका रुपमा सुदुरपश्चिमको कैलाली टिकापुरदेखि कर्णाली चिसापानी, सुर्खेत, नेपालगन्ज, बुटवल, चुम्लिङटार हुँदै काठमाडौंसम्म सेवा विस्तार गरेको छ । देशभर दर्जन बढी होटल र रेष्टुरेन्ट एकै छातामुनि सञ्चालनमा छन् । अर्कोतर्फ भैरहवामा चार तारे होटल अबको दुई बर्षमा सञ्चालनमा आउनेगरी काम अघि बढेको सिइओ न्यौपाने बताउँछन् । सिद्धार्थले बिजनेसको आयतन यसरी अघि बढाएको छ कि सुन्दै लोभ लाग्छ । जन्मथलो गुल्मीलाई कफी उत्पादनको हब बनाउन यो समूह समर्पित छ । गुल्मीको हुँगा उनीहरुको जन्मथलो हो । परिवारका कतिपय सदस्य तमघासस्थित घरमा बस्छन् । बुवा दधिराम न्यौपाने र आमा चन्द्रकलाका ७ छोरी र ६ छोरा गरी १३ सन्तान हुन् । परिवार ठूलो छ । कृष्ण भने ११औं सन्तान हुन् । ६ भाइमध्ये पाँचौं ।
जन्मभुमिलाई माया गर्नेहरुमा नै राष्ट्रप्रेम हुन्छ भन्ने मान्यता उनीहरुले राम्रोसँग आत्मसात गरिरहेका छन् । कफीका लागि सर्वोत्तम ठाउँ गुल्मी नै रहेको सिइओ न्यौपानेको ठहर छ । समुन्द्र सतहदेखि ६ सय देखि ९ सय मिटरसम्मको उचाइमा उत्पादन हुने कफी नै स्वादिष्ट र सर्वोत्कृष्ट मानिन्छ । गुल्मी जिल्ला यही उचाइमा रहेको हुँदा उनीहरु निकै आशावादी छन् । सबै किशानलाई कफी खेतीतर्फ आकर्षण गर्न उनीहरु लागिपरेका छन् । भगिनी संस्था सिद्धार्थ बायोटिका यसमा लागिसकेको छ । कफी उत्पादनमा जोड दिने लक्ष्य लिइएको छ । आफुहरुले कफी उत्पादन सुरु गरिसकेका छन् । साथै गुल्मीमै अत्याधुनिक कृषि फार्म सञ्चालन गरिरहेको सिद्धार्थ बायोटिकाले गुल्मीमा होमस्टेको अवधारणा अघि सारेको छ । जहाँ गाइ, बाख्रा, कुखुरा पालन गरिएको छ । यहाँ एक्सपेरिमेन्टल(परीक्षण प्रणाली) टुरिजमलाई बढावा दिने उद्देश्य हो । ‘ढिकी र जाँतोमा आफैं कुटाउने र पिसाउने, अनि त्यसको स्वाद लिने । यसरी पनि पर्यटकलाई आकर्षण गर्न सकिने योजना छ ।’ उनी भन्छन् ‘गाईको शुद्ध दूध उपलब्ध गराउने, अथवा माछा मासु आफैंले रोजेको र खोजेको खुवाउने उद्देश्य हो ।’
अर्गानिक खेती अर्को प्राथमिकतामा छ । उता जुम्लामा स्याउ उत्पादनको कामलाई पनि अघि बढाएको छ । चाँडै सिद्धार्थ एप्पल भिलेज रिसोर्ट सञ्चालनमा ल्याउने गरी जुम्लामा काम अघि बढाइएको छ । सँगसँगै कृषि पर्यटनलाई लैजाने सिद्धार्थको योजना छ । दुई निकुञ्जको बीचमा रहेको नेपालगन्जमा पर्यटनको प्रचुर सम्भावना रहेको बताउँछन् । र, बाँके बर्दियाको जमिनलाई सदुपयोग गर्दै कृषि पर्यटनलाई प्रवद्र्धन गर्न सकिने केही सुत्र छन् ।
पर्यटनले सबैलाई आय आर्जन गर्ने अवसर मात्र दिन्छ । तसर्थ सिद्धार्थ हरेक कुरालाई पर्यटनसँग जोड्न चाहन्छ । यतिमात्र कहाँ हो र? हस्पिटालिटी सम्बन्धि तालिम प्रतिष्ठान खोलिसकिएको छ । यसबाट दक्ष जनशक्ति उत्पादन हुनेछ । यो पनि देशका लागि काम लाग्ने हो । सिद्धार्थ स्वीट एण्ड बेकरीले कफी र मिठाइ उत्पादन गरी सेवा दिइरहेको छ । यो सिद्धार्थ ग्रुपमा कार्यरत कामदारहरुले सञ्चालन गरेको सहकारी र ग्रुपले संयुक्त लगानीमा चलेको अर्को अलग कम्पनी हो । हस्पिटालिटी ट्रेडिङ कम्पनी पनि सञ्चालनमा ल्याएको छ । यसले होटल तथा पर्यटनसम्बन्धी आवश्यक सबै सामग्री आपूर्ति गर्छ । सिद्धार्थको छातामुनि एक हजार भन्दा बढ्ता रोजगारी सिर्जना भएको छ ।
अज्ञातले भनेका छन् नि, समूहको अर्थ नै सफलता हो, सबै मिलेर अझ धेरै सफलता प्राप्त गर्न सक्दछन् । तसर्थ सिद्धार्थ ग्रुप मालिकको नभइ कामदारहरुको कम्पनी भएको सिइओ न्यौपाने बताउँछन् । ‘मालिकले नाफा मात्र खान्छ, काम गर्दैन’ उनी भन्छन् ‘हामीकहाँ सबैले काम गर्ने र सबैले मासिक तलब लिने हो । नाफा जति त अर्को परियोजनामा लगानी गर्ने हो ।’
पर्यटन नै देशको समृद्धिको आधार रहेको बताउने सिइओ न्यौपानेले अब सिद्धार्थको हस्पिटालिटी सेवालाई पनि तीन वर्गमा विभाजन गर्न खोजेका छन् बजेट, डिलक्स र लक्जरी । यसले सबैखाले ग्राहकलाई आकर्षित गर्न सकिनेमा उनी आशावादी छन् । पहिले शाखा विस्तारमा जोड दिइरहेको सिद्धार्थले अब गुणस्तरमा जोड दिइरहेको उनी बताउँछन् । २०३० सम्म देशका प्रमुख सहरहरुमा सिद्धार्थ पुगिसक्ने लक्ष्यका साथ अघि बढिरहेको छ । ‘हेल्दी फूड, हेल्दी सर्भीस’ (स्वस्थ खाना, स्वस्थ सेवा) नै उनीहरुको मूल मन्त्र हो । यही मन्त्रलाई आत्मसात गर्दै नेपालमै केही गर्न सकिन्छ, यहाँ हरेक कुरा सम्भव छ भन्ने सन्देश दिएका छन् । उनी भन्छन् –‘मूल्यमा हैन, गुणस्तर र सेवामा प्रतिस्पर्धा गरौं ।’
समूह नै बल हो भन्ने कुरालाई आत्मसात गर्न सके असम्भव केही छैन सिद्धार्थले यही सिकाएको छ । विविध धर्म, जाति र सम्प्रदायको बसोबास रहेको सिमावर्ती सहर नेपालगन्जको सांस्कृतिक विविधता लोभलाग्दो पक्ष हो, यो अमूल्य सम्पत्ति हो । तसर्थ नेपालगन्ज सम्भावना नै सम्भावना बोकेको सहर हो ।