नेपालगन्जको मुटु त्रिभुवन चोक क्षेत्रमा सडक निर्माण कार्य समयमै पूरा गर्न ध्यानाकर्षण गर्दै नेपालगन्ज उपमहानगरपालिकालाई पत्राचार गरिएको हो
सदरलाइन क्षेत्रको सडक निर्माणका लागि भैरहेको काम समयमै सक्न नेपालगन्ज उद्योग वाणिज्य संघले आग्रह गरेको छ । विभिन्न पर्व नजिकिंदै गर्दा नेपालगन्जको मुटु त्रिभुवन चोकदेखि सदरलाइन पूर्व तरकारी मण्डी, दक्षिण अस्पताल रोडको अवस्थाका कारण बजार व्यवसाय प्रभावित भएको भन्दै संघले नेपालगन्ज उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको हो
‘त्रिभुवनचोकदेखि तरकारी मण्डी, त्रिवेणीमोड देखि सेतु वि.क. चौक तथा त्रिवेणीमोड देखि भूमि सुधार कार्यालय सम्मको बाटोलाई १५ दिन भित्र कालो–पत्रे निर्माण गर्न, गराउनका लागि यथाशिघ्र पहलका लागि आग्रह गरिएको छ’, अध्यक्ष वैश्यले उपमहानगरपालिकालाई पत्राचार गरिएको जानकारी दिंदै दैनिक नेपालगन्जसँग भने, ‘त्रिवेणीमोड स्थित शिव मन्दिरको समस्यालाई समाधान गर्न पनि जोड दिइएको छ ।’
शिव मन्दिरको करिब एक मिटर कम्पाउण्ड हटाउन नमान्दा त्यस क्षेत्रको सडक अस्तव्यस्त भएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष घनश्याम दास लखेरलाई केही अतिवादीहरुको उक्साहटका कारण बाटो बिस्तारमा अवरोध उत्पन्न गरेको आरोप लगाइँदै आएको छ । ‘विकास विरोधीलाई स्थानीय सरकारले तह लगाउन सक्नुपर्छ’, स्थानीयबासीहरुले आइतबार स्थलगत रिपोर्टिङमा पुगेका दैनिक नेपालगन्जका संवाददातासँग भने, ‘यो बाटो बिगार्न र बजार ध्वस्त पार्न केही बाहिर तत्वको घुसपैठ छ, त्यसको मतियार अध्यक्ष घनश्याम दास बनेका छन् ।’
आक्रोशित स्थानीय व्यवसायीहरुले आफुहरु लाखौं खर्च गरेर आफ्नो घर, पसल भत्काएपनि विकास विरोधी तत्वहरुका कारण सडक बिस्तार कार्य प्रभावित भएकोमा चिन्तित रहेको भन्दै मन्दिर जस्तो सार्वजनिक सम्पत्तिलाई आफ्नो ‘बपौति’ ठानेर विकास रोक्नेलाई स्थानीय प्रशासनले कारवाही गर्न नसक्नु पनि ‘लाचारी’ भएको टिप्पणी गरे ।
‘सडक बिस्तारमा मन्दिर बाधक बनेको छैन’, स्थानीय अगुवा व्यवसायी बालकृष्ण रस्तोगीले भने, ‘एकाध व्यक्तिको ढिपीलाई स्थानीय प्रशासनले चिरेर अगाडि बढ्नु पर्छ ।’ अर्का स्थानीय व्यापारी सन्तोष लखेरले विकास निर्माणमा बाधक बन्ने जो कसैलाई पनि स्थानीय सरकारले तह लगाउन सक्ने धारणा राख्दै भने, ‘यो वा त्यो व्यक्ति बाधक भयो भनेर सडकको यो दुर्दशा बनाइराख्नु हुँदैन ।’ उनले व्यक्तिगत रुपमा कसैलाई जिम्मेवार बनाउनु भन्दा सरकार आफै जवाफदेही भएर सडक बिस्तार कार्यलाई टुङ्गोमा पुर्याउनु पर्ने बताए ।
सदरलाइन त्रिवेणीमोड नजिकैको शिव मन्दिरमा सामान्य अवरोध आउनासाथ उपमहानगरपालिकाले सडक बिस्तार रोकिदिंदा त्यसक्षेत्रको अवस्था दयनीय देखिएको छ । ट्राफिक व्यवस्थापनदेखि निर्माण कार्य सबै असरल्ल हुँदा त्यस क्षेत्रको व्यापार, व्यवसाय नै प्रभावित भएपछि स्थानीयहरु आक्रोशित भएका हुन् । ‘त्यो आक्रोश संगठित हुनुपूर्व नै नेपालगन्ज उद्योग वाणिज्य संघले सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउन खोजेको हो’, अध्यक्ष वैश्यले भने । संघले नेपालगन्ज उपमहानगरपालिकाको ध्यानाकर्षण गराउँदै गरेको पत्राचारलाई निर्माण कम्पनीदेखि जिल्ला समन्वय समितिसम्मलाई पनि बोधार्थ गरेको छ ।