भदौं १ बाट कार्यान्वयनमा आएको मुलुकी फौजदारी संहिता विरुद्ध देशभरका चिकित्सकहरु आन्दोलित नभएका छन् । उनीहरुले संहिता संशोधनको माग गर्दै आज देशभर आकस्मिक बाहेकका सेवा बन्द गर्ने भएका हुन् । ‘हामीसँग आन्दोलनको विकल्प रहेन’, शनिबार पत्रकार सम्मेलन गरी नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष डा. विनोद कर्णले भने । संघले प्रेस विज्ञप्तिमार्फत आफ्ना आन्दोलनका कार्यक्रम जानकारी पनि गराएको छ । संघका अध्यक्ष डा. कर्ण र सचिव डा. पियुष कनोडियाले संयुक्त विज्ञप्तिमार्फत आज आइतबारदेखि आन्दोलन घोषणा भएको केन्द्रीय कार्यक्रम जानकारी दिएका हुन् ।
नेपाल चिकित्सक संघले आइतबार नै डाक्टरहरुको प्रमाणपत्र (लाइसेन्स) मेडिकल काउन्सिलमा फिर्ता गर्ने चेतावनी पनि सार्वजनिक गरेको छ । ‘मेडिकल काउन्सिल गएर प्रमाणपत्र बुझाइनेछ’, संघका केन्द्रीय अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले सञ्चारकर्मीहरुसँग भनेका छन् ।
संघले देशभरका चिकित्सकहरुलाई भदौ १५ सम्म आफ्नो प्रमाणपत्र बुझाउन भनेको थियो । अहिलेसम्म ३ हजार बढी चिकित्सकको प्रमाणपत्र जम्मा भएको र त्यसलाई काउन्सिलमा बुझाउन लागिएको संघले जनाएको छ ।
भदौ १ गतेदेखि आन्दोलित चिकित्सकहरुलाई सरकारले मुलुकी संहिता संशोधनको आश्वासन दिएपछि आन्दोलन स्थगित गरिएको थियो । उनीहरुले भदौ १ गते नै प्रमाणपत्र काउन्सिलमा बुझाउने लगायतका कार्यक्रम सार्वजनिक गरेका थिए ।
मुलुकी फौजदारी सहितामा उपचारका क्रममा लापरवाहीले विरामीको मृत्यु भएमा ज्यान मुद्दा चलाउने प्रावधान छ । चिकित्सक संघले भने त्यसलाई संशोधन गरेर लापरवाही भए नभएको विज्ञ समूहले अध्ययन गर्ने थप गर्न माग गरेको छ ।
संघका भेरी अञ्चल अध्यक्ष डा. कर्णका अनुसार, आन्दोलनका क्रममा आइतबार विहान ९ बजे एप्रोन सहित भेला हुने चिकित्सकहरु जिल्ला प्रशासन कार्यालय बाँकेमा पुगी विरोधका कार्यक्रम प्रस्तुत गर्नेछन् । ‘भोलि स्वास्थ्य संस्थाका प्रशासनिक कामहरु रोकिनेछन्’, अध्यक्ष कर्णले भने ।
संघका अनुसार, मंगलबारदेखि आकस्मिक बाहेकका सेवामा विरामी भर्ना बन्द गर्ने, बुधबार आकस्मिक सेवा बाहेकका अन्य अपरेशन बन्द गर्ने, बिहीबारदेखि ल्याब तथा रेडियोलोजी सेवामा आकस्मिक बाहेकका काम ठप्प पारिनेछ । ‘शुक्रबारसम्म सुनुवाई भएन भने आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु संशोधनको माग पूरा नभएसम्म ठप्प पारिनेछ’, अध्यक्ष डा. कर्णले भने ।