क्रियटिभ भ्वाइस


खेलकुदसँग आधुनिक समाज यति नजिकसँग जोडिएको छ कि अब हरेक नागरिक खेलकुदको स्वतः सदस्य हो । किनकी यो स्वास्थ्य हो, शिक्षा हो, सभ्यता हो, संस्कार हो, मनोरञ्जन हो । आपसी भाइचाराको माध्यम हो । जुन हरेक मानिसको जीवनशैलीसँग जोडिएको छ । तसर्थ दुरदर्शी नेतृत्व हुने हो भने राज्यको सबैभन्दा बलियो क्षेत्र खेलकुद हुन सक्छ ।


 
तेक्वान्दोकी सविता राजभण्डारीले बीस बर्षअघि अर्थात सन् १९९८ (१३औं एशियाली खेलकुद)मा नेपालका लागि पहिलोपटक ऐतिहासिक रजत पदक जित्दा नेपालमा प्याराग्लाइडिङ भर्खर वामे सर्दै थियो । सुरुवाती दिनमा पोखरामैं सिमित प्याराग्लाइडिङले खेलकुद नभइ उडान व्यवसायका रुपमा त्यतिबेला आफ्नो यात्रा आरम्भ गरेको हो ।
बीस बर्षपछि त्यही प्याराग्लाइडिङले एशियाली खेलकुदको बृहत खेलमेला १८औं एशियाली खेलकुद (एशियाड २०१८, जाकार्ता)मा रजत पदकको इतिहास दोहोर्याएको छ । पोखराको आकाशमा व्यावसायिक उडानबाट पारंगत युवाको टिमले इन्डोनेसियाको पर्यटकीय क्षेत्र गुनुङमास कुन्काकको आकाशमा बुधवार स्वर्णिम इतिहास रचेका हुन् ।

 
नेपालको पोल्टामा ऐतिहासिक पदक दिलाउने कप्तान विमल अधिकारी, विशाल थापा, विजय गौतम, सुशील गुरुङ र युकेश गुरुङ यतिबेला आम नेपालीका बधाइका पात्र भएका छन् । उनीहरुले टिम क्रसकन्ट्रीमा पदक जितेका हुन् ।
एशियाली खेलकुदको ६८ बर्षे इतिहासमा प्याराग्लाइडिङ समावेश गरिएको यो पहिलो पटक हो । कुनै खेल बिशेषको प्रतियोगितालाई च्याम्पियनसीप भनिन्छ भने फरक फरक खेल विधा सम्मिलित खेल मेलालाई खेलकुद अर्थात गेम्स भनिन्छ । खासगरी यस्तो बृहत गेम्समा आयोजक राष्ट्रसँग आफु अनुकुल केही खेल थप्न पाउने अधिकार सुरक्षित रहने प्रावधान छ । प्याराग्लाइडिङमा राम्रो मानिने इन्डोनेसियाले पदक जित्ने आशमा यो खेल थपेको हो । उसले दुई स्वर्ण, एक रजत र एक कास्य जितेर आफ्नो निर्णय सही सावित गरिसकेको पनि छ ।

 
इन्डोनेसियाले घरेलु भुमिमा हुने एशियाडमा प्याराग्लाइडिङ थप्न जोड नगरेको भए के हुन्थ्यो ? निसन्देह नेपाली टोली खाली हात घर फर्कनुपथ्र्यो । यसले खेलकुदसँग जोडिएका हरकोहीलाई नाजवाफ बनाउँथ्यो । खेलकुदमा आकर्षण गराउन मेरो प्रयासमा मेरी दश बर्षे छोरीको एउटै जिज्ञासा हुनेगर्छ– म किन खेल्ने, खेलेर के पाइन्छ ? यो उमेरमा उसको प्रश्न अस्वभाविक छैन ।

 
यदि नेपाल पदकविहीन नै भएको भए मसँग छोरीलाई दिने जवाफ हुने थिएन । किनकी मेरी छोरी पदकलाई मुख्य उपलब्धि मान्छिन् । हुनपनि अन्तिम निस्कर्ष नतिजा नै हो । तर, अझै मेरी छोरीको जिज्ञासा मेटिने छैन । किनकी उसलाई प्याराग्लाइडिङ खेल हो भन्ने नै थाहा छैन, त्यसमा पहुँच पनि सहज छैन । यसका बारे फेरि अर्को आलेखमा विस्तृत उल्लेख गरौंला ।

तसर्थ लाखौं करोडौं बालबालिकाको अभिरुचि भएको र उनीहरुलाई आकर्षण गर्न सकिने खेलतर्फ चासो जगाउन सकियो कि सकिएन ? प्रमुख सवाल यो हो । त्यसका लागि ती खेलले पनि पदक भने जित्दै जानुपर्छ । किनकी पदक जित्ने खेलाडी नै समाजमा रोलमोडल हुने हो । रोलमोडल स्थापित गर्नु पहिलो आवश्यकता हो ।

 
खेलकुदसँग आधुनिक समाज यति नजिकसँग जोडिएको छ कि अब हरेक नागरिक खेलकुदको स्वतः सदस्य हो । किनकी यो स्वास्थ्य हो, शिक्षा हो, सभ्यता हो, संस्कार हो, मनोरञ्जन हो । आपसी भाइचाराको माध्यम हो । जुन हरेक मानिसको जीवनशैलीसँग जोडिएको छ । तसर्थ दुरदर्शी नेतृत्व हुने हो भने राज्यको सबैभन्दा बलियो क्षेत्र खेलकुद हुन सक्छ ।

 
जाकर्तामा पदकविहिन यात्रा भइदिएको भए खेलकुद नेतृत्वसँग राज्यसमक्ष खेलकुदका लागि लबिङ गर्ने आधार धेरै कमजोर बनाउँथ्यो । प्याराग्लाइडिङको पदकले कम्तिमा मुख बन्द नै हुने अवस्था छैन । फेरि सम्झनुपर्ने अर्को कुरा के हो भने यो उपलब्धि पनि खेल नेतृत्वको दुरदर्शी योजनाबाट प्राप्त भएको चाहिं हैन । राज्यको खेलकुदलाई कमान्ड गरिरहेको राष्ट्रिय खेलकुद परिषदको उच्च प्राथमिकतामा यो खेल छैन । आम सर्वसाधारणका मानिसका लागि प्याराग्लाइडिङ अझै खेल विधा हैन, यो पोखराको आकाशमा उड्ने सानो जहाज हो ।

 
हो यसको आफ्नै इतिहास छ । सन् १९९५ मा पहिलोपटक पोखरामा यसको सामान्य अभ्यास गरियो । त्यसपछि सन् २०००मा बेलायती पाइलट एडम हिलको सहयोगमा सनराइज प्याराग्लाडिङले पोखरामा आधारक्षेत्र बनाएर पर्यटकीय प्रवद्र्धन गर्ने हेतुले काम सुरु गरेको हो । अझैं पनि पोखरा र फेवाताल सम्झँदा नजिकै सराङकोटमा प्याराग्लाइडिङ भइरहेको दृष्यले आम मानिसलाई लोभ्याएको देखिन्छ । महंगो आकाशे प्रतियोगिता, सबै देशमा नखेलिने र सर्वसाधारणको पहुँचमा नहुने हुँदा प्याराग्लाइडिङको प्रतिस्पर्धा र आयोजना दुवै चुनौतिपुर्ण मानिन्छ । तर नेपालमा व्यवसायको रुपमा रहेको साहसिक यो खेल विश्वभरि थुप्रै सौखिन खेलाडीहरुको सुचिमा परेकोले नेपालमा पनि यसले स्वभाविक मलजल पाइरहेको भने देखिन्छ ।

 
नेपालको भौगोलिक बनोट तथा हावापानीका कारण वैकल्पिक साहसिक खेलकुद पक्कै हो । जुन आशलाग्दो छ । अझ अर्को रोचक कुरा प्याराग्लाइडिङका लागि नेपाल स्वीटजरल्याण्डपछि सर्वोत्कृष्ट गन्तव्यका रुपमा मानिन्छ । साथै पोखरा बिश्वकै उत्कृष्ट पाँचौं स्थानमा सुचिकृत छ । यसले राज्यको लगानी भइदिए नेपाल बिश्वको गन्तव्य बन्ने सम्भावना भने जिउँदै छ ।

 
यसरी हेर्दा एक दशक अघि राखेपमा विधिवत दर्ता गरी खेलको पहिचान बनाउन खोजेको प्याराग्लाइडिङको जाकार्ता यात्रापछि ठुलो आकर्षण बढ्ने निश्चित छ । आगामी बर्ष नेपालमै हुने १३ औं दक्षिण एशियाली खेलकुद(साग)मा आयोजक राष्ट्रका हैसियतले यस खेललाई समावेश गरिसकिएको छ । अर्थात प्याराग्लाइडिङ आगामी बर्ष हुने सागमा नेपालका लागि सजिलै पदक जित्ने खेलको सुचिमा छ । समग्र नेपालको पर्यटन प्रवद्र्धन गर्न पनि सघाउने भएकाले यसमा लगानी जति आवश्यक छ, प्रतिफल पनि निश्चित देखिन्छ । यसका बारेमा नेतृत्वको धारणा केही समय पर्खनुपर्नेछ । धारणा फगत धारणाकै लागि आउने पनि पक्का छ । किनकी हाम्रो नेतृत्वसँग लाज, इमानदारिता, नैतिकता भन्ने केही छैन । मिसन र भिजनबिनाको नेतृत्वसँग आश गर्न सकिंदैन । हाम्रो माटो सुहाउँदो खेल कुन हो ? लगानी गर्नुपर्ने खेल कुन हो ? हामी कहिल्यै पहिचान गर्नतर्फ लागेनौं, दुर्भाग्य यही हो । सम्भावित खेलको पहिचान गरेर राज्यले थोरै खेलमा धेरै लगानी गर्नसक्यो भने प्रतिफलको आश गर्न सकिन्छ । साथै अध्ययन अनुसन्धान गर्न नसक्ने र चाकडीकै भरमा टिकेका चाटुकार प्रशिक्षकलाई तत्काल बर्खास्त गर्ने कानुन जरुरी छ । स्पष्ट योजना तर्जुमा बिना अघि बढ्ने खेल संघका बारेमा पनि राखेपको निर्णय कठोर हुनैपर्छ । अनि यी सबै कमान्ड गरिरहेको राखेपको नेतृत्वलाई पनि कठघरामा उभ्याउन सक्ने खेलकुद मन्त्रीमा सामथ्र्य हुनैपर्छ । सामथ्र्य र नैतिकता दुवै भएको खेलकुद मन्त्री भइदिए सबै ट्रयाकमा आउने निश्चित हो ।

 
हरेक खेल संघका बिश्वव्यापी नेटवर्क छन्, महासंघ छन् । उनीहरु सबैको कर्तव्य कमजोर छिमेकी राष्ट्रलाई सघाउने र संगसंगै लैजाने नै हुन्छ । यद्यपी हाम्रो खेल कुटनीति यति कमजोर छ, भारत र चीन जस्ता शक्तिशाली राष्ट्रबाट लाभ उठाउन सकिएको छैन । खेल कुटनीति कमजोर हुनुको कारण कमजोर नेतृत्व हुनु नै हो । हामीसग प्रस्टसंग अल्पकालीन र दीर्घकालीन योजना नै छैन । सबैलाई जिम्मेवार बनाउन सकिएकै छैन । पुरस्कार र दण्डको भागिदार बनाउन सकिएकै छैन । जबसम्म पुरस्कार र दण्डको भागिदार बन्ने स्पष्ट आधार तयार हुंदैन, तबसम्म खेलकुदमा लगानी बालुवामा पानी नै हो । हरेक यस्ता प्रतियोगिताका बेला सेवा र सुविधामै रमाउने खेलाडी, प्रशिक्षक, प्राविधिक वा सम्बन्धित खेल अधिकारीहरुलाई अब जिम्मेवारबोध गराउने कि नगराउने ? यसको समग्र जिम्मेवारी राखेपले लिने कि नलिने ? सिंगो युवा तथा खेलकुद मन्त्रालयले यसको जिम्मेवारी लिनुपर्छ कि पर्दैन ? बिहान बेलुकी छाक टार्न पनि मुस्किल भएका त्यस्ता तमाम नागरिकबाट पनि उठाइएको कर जाकार्ता पुगेको छ भन्ने कुरा राज्यका जिम्मेवार तहमा रहेका अधिकारीले बुझ्नैपर्दछ ।


हाम्रो नेतृत्वसँग लाज, इमानदारिता, नैतिकता भन्ने केही छैन । मिसन र भिजनबिनाको नेतृत्वसँग आश गर्न सकिंदैन । हाम्रो माटो सुहाउँदो खेल कुन हो ? लगानी गर्नुपर्ने खेल कुन हो ? हामी कहिल्यै पहिचान गर्नतर्फ लागेनौं, दुर्भाग्य यही हो । अध्ययन अनुसन्धान गर्न नसक्ने र चाकडीकै भरमा टिकेका चाटुकार प्रशिक्षकलाई तत्काल बर्खास्त गर्ने कानुन जरुरी छ । स्पष्ट योजना तर्जुमा बिना अघि बढ्ने खेल संघका बारेमा पनि राखेपको निर्णय कठोर हुनैपर्छ । सामथ्र्य र नैतिकता दुवै भएको खेलकुद मन्त्री भइदिए सबै ट्रयाकमा आउने निश्चित छ ।

लोकतन्त्रमा नागरिकप्रति सरकार जिम्मेवार हुन्छ, हुनुपर्छ । तसर्थ समग्र देशको कार्यभार टाउकोमा बोक्नुभएका सम्माननीय प्रधानमन्त्रीले पनि यसको जवाफ तत्काल दिनसक्नुपर्दछ, यदि उहाँ सच्चा लोकतन्त्रवादी हो भने । सामान्य नागरिकका नाताले यो हिसाब माग्ने अधिकार मसँग छ, र म यतिबेला माग्दैछु । किनकी प्रधानमन्त्री नै हो अबको अन्तिम आशाको बिन्दु । उहाँले पनि केही गर्नसक्नुभएन भने जनताले उहाँसँग एकपटक हिसाबकिताब गर्ने नै छन् ।

 
किनकी १८ औं एशियाडमा नेपालबाट २९ खेलमा झण्डै २०० खेलाडी सहभागी भएका छन् । यत्रो जम्बो टोली लिएर जानु आवश्यक थियो ? पदकको नजिक पुगेर फर्किएका खेलका सवालमा ठिकै हो, अन्यथा राखेपको दुरदर्शी योजनाको अभावकै प्रतिफल हो । सम्भाव्यता अध्ययन नगरीकनै गरिने लगानीको प्रतिफल यस्तै हो । र यो नयाँ होइन । परम्परादेखि यसरी नै चल्दै आएको छ । एशियाडमा जबजब कुनै खेल पहिलोपटक समावेश गरिन्छ, तब मात्र नेपालले पदक जित्ने गरेको इतिहास छ । बक्सिङबाहेक तेक्वान्दो र कराँतेको विगत त्यही हो । सबैभन्दा बढी पदक जित्ने खेल पनि यिनै हुन् ।

 
नेपालले हालसम्म एशियाडमा २४ पदक जितेको छ । सर्वाधिक १४ पदक तेक्वान्दोले जितेको छ । त्यसपछि बक्सिङले ६, कराँतेले तीन जितेको थियो । र, अहिले प्याराग्लाडिङले एक रजत थप्यो । नेपालले एशियाडमा जितेका कुल २४ पदकमध्ये दुई रजत र २२ कास्य पदक छन् । स्वर्णपदकको सपना मात्र छ ।

 
पहिलो एशियाली खेलकुद(सन् १९५१, नयाँ दिल्ली) देखि नै भाग लिन सुरु गरेको नेपालले ६८ बर्षे यात्रामा एउटा स्वर्ण नजित्नु ठुलो दुर्भाग्य हो । नेपाललाई पदक जित्न साढे तीन दशक यात्रा गर्नुपरेको थियो । सन् १९८६ को सिओल एशियाडमा नेपालले पदक जित्न सुरु गरेको हो । जसमा बक्सिङ र तेक्वान्दोले चार चार गरी आठ पदक ल्याएका थिए । बक्सिङका दलबहादुर राना, तुल बहादुर थापा, सुशील पोखरेल र मनोज बहादुर श्रेष्ठ तथा तेक्वान्दोका राजकुमार राई, विधान लामा, रामबहादुर घर्ती क्षेत्री र राज कुमार बुढाथोकीले पदक जिते । ११औं एशियाड(बेइजिङ)मा बक्सिङका चित्रबहादुर गुरुङले मात्र पदक जिते । १२औं एशियाड(१९९४, हिरोशिमा) मानबहादुर शाही र सीता राइले कास्य जिते । महिलाले एशियाड पदक जितेको यो नै पहिलो हो ।

 
१३ औं एशियाड (१९९८, बैंकक) नेपालका लागि स्वर्णिम अक्षरले लेखिन पुग्यो । यसमा सविता राजभण्डारीले रजत पदक जितिन् । उनीसँगै किशोर श्रेष्ठ र सपना मल्लले तेक्वान्दो तथा समरबहादुर गोलेले कराँतेबाट कास्य पदक हात पारे । अब दीपक बिष्ट उदाए । उनले एशियाडमा दुई पदक जित्ने नेपाली खेलाडीका रुपमा नाम लेखाए । १४ औं एशियाड(बुसान, २००२)मा दीपकका साथै रेनुका मगर र रितुजिमी राइले तेत्वान्दोमा काँस्य पदक चुमे । १५ औं एशियाड (२००६, दोहा)मा दीपकसँगै आयशा शाक्य र मनिता शाहीले कास्य जिते । १६ औं एशियाड(ग्वान्जाव, २०१०)मा बक्सिङका दीपक महर्जनले इज्जत जोगाइदिए । २०१४ मा भएको १७ औं एशियाड(इन्चोन)मा कराँतेकी बिमला तामाङले काँस्य जितिन् । बिमलाको पदक जित्ने कथा पनि अर्कै छ । राखेपसँग आवद्ध कराते संघले छनोट नगरेकी खेलाडी थिइन् बिमला । ओलम्पिक कमिटीको बलमा कोरियाको इन्चोन पुगेकी बिमलाले अन्ततः पदक जितेर देखाइन् । नपत्याएको खेल र खेलाडीले नै पदक जित्दै आएका छन् । तसर्थ भन्न सकिन्छ, नेपाली खेलकुद भाग्यमै टिकेको छ ।

 

प्रतिक्रिया

प्रतिक्रिया