वित्तीय साक्षरताका लागि र्याली, सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग र अन्तरक्रियात्मक गरी भार्गव विकास बैंकले आफ्नो बार्षिकोत्सव मनाएको छ
भार्गव विकास बैंकले पछिल्लो आर्थिक बर्ष मात्रै ६ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको जनाएको छ । बुधबार बैंकको १२औं बार्षिकोत्सव मनाउने क्रममा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशीले भने, ‘तीन अर्ब १२ करोड डिपोजिट गर्न सफल भार्गवले २ अर्ब ४० करोड रुपैयाँ ऋण लगानी गरेको छ ।’
प्रमुख कार्यकारी अधिकृत जोशीले बैंक तथा वित्तीय क्षेत्रमा भार्गवले योजनाबद्ध काम गरेको जानकारी दिंदै विकास बैंक प्रतिको धारणा परिवर्तन गरिनुपर्ने बताए । ‘हामी स–सानो रकमदेखि १५÷२० करोड रुपैयाँसम्म पनि लगानी गर्न सक्ने अवस्थामा छौं’, जोशीले भने, ‘विकास बैंकहरुले बढी ब्याज लिन्छन् र कम कर्जा दिन्छन् भन्ने धारणामा परिवर्तन ल्याउन जरुरी छ ।’ उनले सहुलियत ब्याज दरमा माग अनुसारको कर्जा प्रवाह गर्न विकास बैंकहरु सफल हुँदै गएको बताए । ‘वाणिज्य बैंक भन्दा हामी कुनै मानेमा पनि अब कम छैनौं’, जोशीले भने, ‘बरु हामी अझ छिटो, छरितो सेवा प्रवाह गर्न सक्छौं ।’
१२औं बार्षिकोत्सव मनाउने क्रममा वित्तीय सचेतनाका लागि प्रभातफेरी निकालेको भार्गवले विभिन्न साक्षरताका सन्देश बोकेका प्ले कार्ड सहित प्रदर्शन गरिएको थियो । प्रभातफेरी पछि आयोजित कार्यक्रममा सहभागीहरुले भार्गव बैंकले गरेका सामाजिक योगदानका चर्चा गरे ।
बैंकका अध्यक्ष डम्बर बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले ‘कर्जासँगै सीप पनि प्रवाह गर्न’ आग्रह गरे । ग्रामीण क्षेत्रका जनतालाई बैंक तथा वित्तीय सहुलियत उपलब्ध गराउनु पर्नेमा जोड दिंदै अध्यक्ष वैश्यले भने, ‘सन्तानको बिहे देखि खेतबारीमा चाहिने बिउ, विजनका लागि समेत ऋण उपलब्ध गराउन सके बैंक जनताप्रति उत्तरदायी भएको ठहर्छ ।’ अध्यक्ष वैश्यले उत्पादनमूखि काममा ऋण प्रवाहको प्राथमिकता हुनुपर्ने पनि बताए ।
जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदी, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अरुण पौडेल, सम्यक मिडिया हब प्रा.लि.का अध्यक्ष झलक गैरे लगायतले बोलेको कार्यक्रमलाई भार्गवका सहायक प्रबन्धक तेज बहादुर रावलले सहजीकरण गरेका थिए ।
२०६४ भाद्र १३ गते नेपालगन्ज प्रधान कार्यालय हुने गरी स्थापना गरेको भार्गव विकास बैंकले राष्ट्र बैंकको निर्देशन बमोजिम ५० करोड चुक्ता पूँजी बनाउन सफल भएको छ । १२ बर्ष अघि १ करोड २० लाख रुपैयाँ चुक्ता पूँजीबाट सुरु भएको भार्गव यतिबेला ५५ हजार सेवाग्राही बीच बाँके, बर्दिया र दाङका १६ शाखा मार्फत सेवा प्रवाह गरिरहेको प्रमुख कार्यकारी अधिकृत जोशीले जानकारी दिए ।
बैंकले बचत तर्फ विभिन्न २४ प्रकारका खाता र ऋण प्रवाहमा १६ प्रकारका कर्जा प्रवाह गरिरहेको जनाएको छ । ‘उत्पादनमूखि काममा सहुलियत कर्जा प्रवाह गर्ने गरेका छौं’, प्रमुख कार्यकारी अधिकृत जोशीले भने ।
सिसिटिभीलाई ५१ हजार
भार्गव विकास बैंकले नेपालगन्ज नगरको सुरक्षाका लागि लगाइएको सिसिक्यामेरा व्यवस्थापनका लागि ५१ हजार १ सय ११ रुपैयाँ प्रदान गरेको छ ।
बैंकको १२ औं बार्षिकोत्सवको अवसर पारेर बुधबार आयोजित औपचारिक कार्यक्रममा बैंकका अध्यक्ष डम्बर बहादुर थापा, प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशीले नेपालगन्ज सिसिटिभी व्यवस्थापन समिति बाँकेलाई उक्त रकम हस्तान्तरण गरेको हो । समितिका अध्यक्ष नन्दलाल वैश्य, उपाध्यक्ष प्रेम सुवेदी, कोषाध्यक्ष हरमेश सोनी, बाँके प्रहरी प्रमुख अरुण पौडेलले बैंकका तर्फबाट प्रदान गरिएको रकम ग्रहण गरेका थिए । ‘३५ लाख रुपैयाँ यसैगरी निजी क्षेत्रबाट सहयोग संकलन गरिएको हो’, अध्यक्ष वैश्यले भने, ‘नेपालगन्जको सुरक्षाका लागि निजी क्षेत्रले महत्वपूर्ण साझेदारी गरेको छ ।’ बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक पौडेलले सुरक्षा व्यवस्थाका लागि सिसिक्यामेराको महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गरे ।
भार्गवले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएको प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशीले जानकारी दिए । १२औं बार्षिकोत्सवको अवसर पारेर बुधबार पनि निल सागर वृद्धाश्रममा खाद्यान्न, कुर्ची, लत्ताकपडा, प्रदान गरिएको बैंकका सहायक प्रबन्धक तेज बहादुर रावलले जानकारी दिए ।
रावलका अनुसार, स्वावलम्बी ज्येष्ठ नागरिक समाज नेपालगन्जलाई पनि दराज उपलब्ध गराइएको छ । बैंकले बाँके, बर्दिया र दाङका छनोटमा परेका ३ विद्यालयका ७ जना विद्यार्थीलाई ५ हजारका दरले छात्रवृत्ति प्रदान गरेको छ ।
त्यस्तै, बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रम बीच बैंकका १६ वटा शाखा मध्ये उत्कृष्ट नारायणपुर शाखालाई सम्मान गरिएको थियो । नेपालगन्ज शाखाका कर्मचारी रत्ना शाहलाई उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको बैंकले जनाएको छ । विभिन्न ७ वटा विधामा बैंकले सम्मान तथा पुरस्कार प्रदान गरेको सहायक प्रबन्धक रावलले बताए ।