जति यो नेपालगन्ज सहरले आफ्नो आयतन खोजिरहेको छ, त्यत्ति नै नेपालगन्जियाहरुको चाहना फराकिलो भयो भने नेपालगन्जको सपना अझ चाँडै साकार हुनेछ ।
‘अपरिचितका लागि एस्प्रेसो सट जस्तै टर्रो हुन्छ सहर, पछि बिस्तारै बानी पर्दोरहेछ । त्यो टर्रोपना कतिखेर स्मुद लात्ते बनिसक्छ पत्तै नहुने । सहर भन्नु एक लत पनि त रहेछ’ कुनै बेला साहित्यकार कुमारी लामाले ‘सहरमा कफी कल्चर’को बारेमा लेखेको यो ‘सहर अनुभव’ जस्तै नेपालगन्जलाई पनि अब बिस्तारै ‘सहर’को ‘लत’ लाग्दैछ ।
एक जना सनकी शासकले मनैले कोरेको चित्र थियो नेपालगन्ज । जंगबहादुरको त्यही चित्रको सजीवता हो आजको नेपालगन्ज । उनको सपना के थियो, त्यो उनै जानुन् । बनाउनेले त्यो बेला नेपालगन्ज किन र कसरी बनाए त्यो पनि उनै जानून् । इतिहास् भइसकेका सपनाका ती झुपडीहरु आज ‘महानगर’को यात्रातिर अघि बढ्दैछ । सपना सायद यही हो नेपालगन्जको र त, नेपालगन्जको गति स्वभाविक छ, शान्त र सौम्य छ ।
सपनाको सहर, सपनाबिहीन सहरवासी
बेलायती कवि तथा गायक जोन लेननले आफ्नो सपनाबारेमा कुनै दिन लेखेका छन् ‘यदि मलाई सपनाबाज भन्छौ भने त्यो, ममात्रै एक्लो हैन, मलाई यो आशा छ कि, एक दिन तिमी पनि हामीसँग जोडिन आइपुग्नेछौ र, विस्तारै संसार पनि त्यही रुपमा बाँच्नेछ ।’ सपना एक आशा हो । त्यसले बाँच्न सिकाउँछ, त्यसले अघि बढ्न सिकाउँछ ।
नेपालगन्ज सहरले जति सपना बोकेको छ, यो सहरवासीसँग भने सपनाहरु सायदै छन् । त्यसैले त, नेपालगन्ज कहिल्यै जुर्रमुराउँदैन । यो सधैँ शान्त र, अटल नै देखिन्छ । देश संघीयतामा गयो । प्रदेशहरु तोकिए । ठाउँठाउँमा प्रदेशको राजधानीका लागि आगो बल्यो । सबैले आआफ्नै पोल्टामा राजधानी मागे । तर, अहँ नेपालगन्ज चुपचाप रह्यो । न कसैलाई समर्थन ग¥यो न ऊ आफूले नै माग्यो । चिया पसलहरुबाट बहकिएको राजधानीको बहसले केही थान मानिसहरु सडकमा केही बेर चिच्याए । तर, त्यो चिच्याहट नेपालगन्जका केही गल्लीहरुभन्दा बाहिर जान सकेन । जहाँबाट बहकिएको थियो, त्यो त्यहीँ सेलायो । यसको एउटा प्रस्ट कारण के थियो भने, नेपालगन्जवासी त्यसका लागि जुर्रमुराएनन् । २०६३ सालको जनआन्दोलन सफल हुनुका पछाडि काठमाडौंका रैथानेहरुको बेग थियो । नत्र आन्दोलनले त्यत्ति चाँडै निकास पाउने थिएन । यसको मतलव हर कुरामा आन्दोलन नै चाहिन्छ भन्ने होइन, केही माग्नका लागि सडकका टायर बालेर धुँवा उडाउनै पर्छ भन्ने होइन । तर, कम्तिमा चाहनाका जागृत रुपहरुको छायाँले सडक ढाकिनु भने अवश्य पर्दछ ।
समृद्धिविनाको त्यो विकास फनाबिनाको सर्पजस्तै हुन्छ । न त्यसको तालमेल हुन्छ न कुनै अर्थ अनि महत्व । जब भौतिक विकासले नागरिकको समृद्धिलाई जोड्दैन अनि त्यो विकासको कुनै अर्थ रहँदैन ।
कसैले औद्योगिक सहर माँगे, कति स्मार्ट सिटीको लाइनमा उभिए । कसैले यस्तो वा उस्तो सहरको नाममा विकास मागिरहे तर, नेपालगन्जवासी चुपचाप रहिरहे । तर, पनि यो सत्य हो कि, सहरको विकासक्रम अवश्यंभावी छ । यसको विकासक्रमलाई कसैले रोक्नै सक्दैन । यो आफ्नै गतिमा दौडिरहन्छ । कतै नागरिकको चाहनाको बेगले तीव्र गतिमा दौडिन्छ त, कतै नागरिकको वेप्रवाहले मन्द गतिमा । नेपालगन्जियाहरुको एउटा समस्या भनेको यही नै हो । यहीभित्रबाट सम्भावनाको खोजी गर्ने हो ।
कुनै बेला मध्य र सूदूरपश्चिमको ‘नूनतेल’को अड्डाका रुपमा बनाइएको नेपालगन्ज सहर अब महानगरको सपनामा अघि बढ्दैछ । तर, नेपालगन्जवासी त्यो सपनाको आरम्भलाई नै असम्भव देखिरहेका छन्, न नेपालगन्जवासी सम्भावनाका तमाम ढोकाहरुलाई ढक्ढक्याउन खोज्छन्, न त, सपनाका बहसमा सामेल हुन्छन् । बस् रातभर सडकबत्तीले उज्यालिने नेपालगन्ज सहरका नेपालगन्जवासी मस्त सुत्छन्, त्यो पनि सम्साँझै किनकि, भोलि फेरि रोजीरोटीको सवाल हुन्छ । जति यो नेपालगन्ज सहरले आफ्नो आयतन खोजिरहेको छ, त्यत्ति नै नेपालगन्जियाहरुको चाहना फराकिलो भयो भने नेपालगन्जको सपना अझ चाँडै साकार हुनेछ । यसको मतलब हामीसँग कुनै चाहना नै नभएको होइन । हो, नेपालगन्जको जस्तै घन्किने सपना नेपालगन्जियाहरुसँग नहोला तर, नेपालगन्जको यही सपनाले कहीँ न कतै नेपालगन्जवासीहरुलाई झक्झक्याइरहेको छ । महात्मा गौतम बुद्धले कतै भनेका छन् ‘हामी जे सोंच्छौँ, त्यो गरिरहेका हुन्छौँ ।’ बस् अवचेतन सपनाको निद्रामा छन्, नेपालगन्जवासी ।
विकास र समृद्धि
एक जना अमेरिकी अर्थशास्त्री जोशेफ युगेन इस्टिग्लित्जले भनेका छन् कि ‘विकास मानिसको जीवन जिउने तरिकासँग जोडिएको हुन्छ नकि, पैसा कमाउनुमात्रै विकास हो ।’ विकासको बाटोमा नेपालगन्जले फड्को मारेकै छ, पूर्वाधारहरु बनिरहेका छन् । विकासका पूर्वाधार आफैंमा समृद्धि होइनन्, यी समृद्धिका मेरुदण्ड हुन् । जसरी नेपालगन्ज आफूले आफूलाई विकासको बाटोमा अगाडि बढाइरहेको छ, त्यसैगरी नेपालगन्जवासीले पनि समृद्धि संघारतिर आफूलाई लगिरहनुपर्छ । ताकि विकासको त्यो बाटोले सही गन्तव्य नापोस् । समृद्धिविनाको त्यो विकास नत्र, फनाबिनाको सर्पजस्तै हुन्छ । न त्यसको तालमेल हुन्छ न कुनै अर्थ अनि महत्व । जब भौतिक विकासले नागरिकको समृद्धिलाई जोड्दैन अनि त्यो विकासको कुनै अर्थ रहँदैन ।
नेपालगन्जको जमुनाहा भन्सार यहाँको एउटा प्रमुख आर्थिक कारोबारको आधार हो । सामान आयात निर्यातका लागि मध्य तथा सूदूर नेपालको एउटा प्रमुख ढोका पनि यही नै हो । पुरातन शैलीमा जसरी ‘गेटपाले शैली’मा यहाँको भन्सार चल्दै आएको छ, अब फेरिन जरुरी छ । यसको स्तरोन्नती जरुरी छ । यसको सम्बद्र्धन आवश्यक छ । त्यसैले यहाँ ‘संयुक्त चेक पोस्ट’ (आइसीपी)को अवधारणा आइसकेको छ । यो आवश्यक भइसकेको थियो र, यसको अवाधारणाले अब साकार रुप पाउने नै छ । त्यसका लागि नेपालगन्जकै साइगाउँ वरपर करिब ९२ बिगाह क्षेत्रफलको जमिनमा त्यसको सम्भाव्यता पनि अध्ययन भइरहेको छ । नेपाल भारत दुवैको संयुक्त लगानीमा बन्ने यो संयुक्त चेकपोस्ट नेपालगन्जको मुहारको एकपत्र अवश्य फेर्नेछ ।
नेपालगन्जको खुजमुज्ज वस्तीलाई जसरी एकीकृत गर्ने अभियान चल्यो अनि न्यूरोड बन्यो । त्यो बनाइएको बजार हो । र, पनि राम्रै बनेको छ । फेरि अर्काे त्यस्तो मोडेल तयार हुँदैछ वाटरपार्कमा । त्यहाँ पनि करिब ६० बिगाह जमीनको अब अस्थायी लालपूर्जा बाँड्न सुरु हुँदैछ । सहरी विकास डिभिजन कार्यालय नेपालगन्जका प्रमुख इन्जिनियर सुनिलकुमार ठाकुरका अनुसार, अब १ महिनाभित्रै लालपूर्जा वितरण हुन्छ र, वाटरपार्क एकीकृत वस्ती विकास आयोजना अगाडि बढ्नेछ ।
न्यूरोडको जस्तै ‘ल्यान्ड पुलिङ’ सिष्टमको आधारमा बन्न थालेको यो नमुना वस्तीले नेपालगन्जको विकासलाई अझैँ माथि पु¥याउने नै छ । यद्यपि यो परियोजना सुरु भएको दश वर्ष नाघिसकेको छ । तर, अब काम अघि बढ्ने नै छ । योजना सुरु भएपछि काम त हुन्छ नै । समयमा ढिलो चाँडो हुनसक्छ तर, विकास प्रक्रिया हो, यो रोकिन्न पनि । वाटर पार्क अनि न्यूरोड जस्तै व्यवस्थित सहरका लागि नेपालगन्जकै अरु तीन ठाउँमा पनि सम्भाव्यता अध्ययन भइरहेकोछ । सम्भवतः ती ठाउँमा पनि चाँडै नै आयोजना सुरु हुनेछ । यस्ता व्यवस्थित सहरले नेपालगन्जको मुहारमा थप चमक अवश्य ल्याउनेछन् ।
देशकै उच्चस्तरीय प्रविधियुक्त फोहोर व्यवस्थापन केन्द्रले पनि अन्तिम रुप पाउँदैछ । हिरमिनिया क्षेत्रमा बन्ने यो फोहोर व्यवस्थापन केन्द्र देशकै नमुना बन्ने छ । यसैवर्षदेखि नेपालगन्जको फोहोर व्यवस्थापनको टाउको दुखाई पनि सन्चो हुनेछ । एक हजार जनाभन्दा क्षमता भएको अत्याधुनिक सभाहलको लागि ठेक्कापट्टा भइसकेको छ । यसले पनि सहरको अर्काे आवश्यकता पूरा गर्नेछ ।
मध्य तथा सूदूरपश्चिमकै ठूलोमध्यको रंगशाला निर्माण पनि धमाधम भइरहेको छ । भलै आठौं राष्ट्रिय खेलकूदको नाममा त्यसले आफ्नो आयतन अनि रुप रंग फेर्दैछ । तथापि त्यो नेपालगन्जकै सम्पत्ति हो । त्यसले पूर्वाधारको अर्काे एउटा महत्वपूर्ण आवश्यकतालाई पूरा गर्नेछ । नेपालगन्जका सडकहरु चौडा गर्नेदेखि थप बाटोहरु पिच गर्ने काम धमाधम भइरहेको छ । सहरको एउटा मुख्य आवश्यकता सडक नै हो । यसको व्यवस्थितिकरण र यसको स्तारोन्नतीले सहरको रौनकलाई अझँ उज्यालो पार्ने छ ।
मध्यसूदूरकै ठूलो र व्यवस्थित विमानस्थलको विस्तारिकरण पनि हुँदैछ । चाँडै नै दैनिक एउटा भएपनि नेपालगन्ज दिल्लीका लागि सिधा उडान सुरु हुँदैछ । वर्षेनी काठमाडौं भएर मानसरोवरका लागि नेपालगन्ज आउने तीर्थयात्रीहरु अब सिधै नेपालगन्ज आउनसक्नेछन् । यसले नेपालगन्जको आर्थिक विकासमा थप टेवा प¥याउने छ । यसको स्तरोन्नती अन्तर्राष्ट्रिय स्तरसम्मकै हुनुपर्ने छ । र, विस्तारै त्यसले पनि साकार रुप पाउनेछ ।
होटेलहरुको कमी छैन नेपालगन्जमा । ससना लगानीका देखि ठूला तारे होटेलसम्म यहीँ छन् । स्नेहा, बाटिका, सिद्धार्थ, सिग्नेट, कल्पतरु देखि देशकै चर्चित होटेल ब्रान्ड ‘सोल्टी’ समेत नेपालगन्जमै छन् । अरु होटेलहरुले पनि आफ्नो स्तरलाई माथि उठाउँदैछन् र, ‘तारा’हरु थप्दैछन् । कोहलपुर जोड्ने कुरा भइरहँदा स्तरीय तारे होटल सेन्ट्रल प्लाजा तयार छ । विकासको बाटोलाई फराकिलो बनाउनका लागि होटेल उद्योग अर्काे एउटा महत्वपूर्ण आयाम हो । शिक्षाकै सन्दर्भमा डाक्टर उत्पादन गर्ने मेडिकल कलेजदेखि ‘इन्जिनियर’ बनाउने प्राविधिक शिक्षालयहरुसमेत यहीँ छन् । स्वास्थ्य संस्थाहरुको कमी छैन । ठूला सरकारी अस्पतालदेखि निजीहरु अस्पतालहरुको त बहार नै छन् नेपालगन्ज – कोहलपुरमा ।
यत्तिमात्रै भएर पनि एउटा सहरले पूर्णाकार पाउन सक्दैन । त्यसका लागि मानिसहरुको मन भुलाउने ठाउँहरु पनि चाहिन्छ । त्यसका लागि वाटरपार्कको तलाउ व्यवस्थित गर्नेदेखि रानी तलाउको मर्मत सम्भाव, महेन्द्र पार्कलाई पुनर्जीवन कामहरु पनि अघि बढेका छन् । अनि सहरको अर्काे कुनै भागमा एउटा ठूलो व्यवस्थित पार्क बनाउने प्रस्तावमा पनि छलफल भइरहेको छ र, चाँडै नै यसको काम पनि पूरा हुनेछ । सहरका लागि चाहिने क्यासिनोहरुमा पनि धमाधम लगानी भइरहेको छ । निजी स्तरबाट पनि एक अर्ब बढरु लगानीमा बाबुगाउँ र ठुलै लगानीमा नेपालगन्ज– कोहलपुर सडक खण्डमा वाटरपार्क बन्दैछन् ।
सहरी संस्कार
हामी आफ्नै घरको फोहोर निकालेर आफ्नै घरको आँगन अनि घरअघिको सडकमा राश लगाइदिन्छौँ अनि भनिरहेका हुन्छौँ कि, ‘नगरपालिकाले फोहोर उठाउँदैन’ अझ हामी नगरपालिकालाई थर्काइरहेका हुन्छौँ कि, ‘यो फोहोर किन नउठाएको ?’ सहरको एउटा आलिशान महलमा बस्ने हामीसँग के दुईवटा बाल्टी किनेर त्यसैमा फोहोर जम्मा गर्न सक्दैनौँ ?
घर अघिको सडकमा खाल्डो हुन्छ । कतिपय सडक त हामी आफैँ बिगारिरहेका हुन्छौँ अनि भनिरहेका हुन्छौँ कि, ‘नगरपालिकाले सडकको खाल्डो पुरिदिएन ।’ के त्यही सडक छेउको घरमालिकसँग त्यो एउटा सानो खाडल पुर्नका लागि रकम हुँदैन ?
विकासका तमाम आशा अनि सम्भावनाहरु स्वःफूर्त रुपमा बामे सरिरहेका छन् नेपालगन्जसँग तर, हामी तीनलाई समृद्धिको सही गन्तव्यतिर डो¥याउनु त कता हो कता उल्टै त्यसलाई पन्छाउन खोजिरहेका छौँ । ताकि हामीलाई केही ‘बाल’ मतलब छैन । ठूलठूला मलहरु, हाउजिङहरु, चौडा सडक अनि ठूल्ठूला घरहरु भएको सहरमा बस्दैमा सहरवासी भइँदैन । त्यसका लागि हामीमा पनि सभ्यताको विकास हुनुपर्छ । संस्कारको विकास हुनुपर्छ । हो, हामी सहरवासी आधुनिक छौँ तर, हाम्रो संस्कार यति गिर्दाे अवस्थामा पुगिसकेको छ कि, हामीलाई स्वयं हाम्रो पुरातन संस्कारले गिज्याइरहेको छ । अंग्रेजी साहित्यका एकजना विद्वान सी एल लुईसले त्यसै भनेका होइनन् ‘अत्याधुनिक शिक्षाधारी शिक्षितहरु जंगल फाँड्दैनन्, बरु मरुभूमीमा सिंचाइ गरिरहेका हुन्छन् ।’
वाटर पार्क अनि न्यूरोड जस्तै व्यवस्थित सहरका लागि नेपालगन्जकै अरु तीन ठाउँमा पनि सम्भाव्यता अध्ययन भइरहेकोछ । सम्भवतः ती ठाउँमा पनि चाँडै नै आयोजना सुरु हुनेछ । यस्ता व्यवस्थित सहरले नेपालगन्जको मुहारमा थप चमक अवश्य ल्याउनेछन् ।