गौतम बुद्धले कतै भनेका छन् –‘स्वास्थ्य सबैभन्दा ठुलो उपहार हो, सन्तुष्टि सबैभन्दा ठुलो सम्पत्ति हो, विश्वास सबैभन्दा उत्तम सम्बन्ध ।’
भारत उत्तरप्रदेशको बरेलीमा जन्मिएकी बिनी टण्डन कलेज जीवनमा इलाहाबादमा हक्की खेल्थिन् । वैवाहिक जीवनले खेलाडी करिअरमा सदाका लागि ब्रेक लगाइदियो । ३० बर्षअघि विनोद टण्डनका साथ नेपालगन्जमा पहिलो पाइला टेकिन् । ‘नेपालगन्ज शुन्य शुन्य उजाड उजाड लाग्थ्यो, किनमेल गर्न रुपैडिहा जानुपथ्र्यो । इलाहाबादको तुलनामा नेपालगन्ज गाउँ जस्तै लाग्थ्यो । सडक भने सफा थिए ।’ उनले नेपालगन्जीया जीवनका प्रारम्भिक कथा सुनाउँदै गइन्–‘अब त नेपालगन्ज आमुल परिवर्तनको दिशामा अघि बढेको छ, सबै किनमेल नेपालगन्जमै गर्छु । अब त एउटा सपनासँग जोडिइसक्यो यो शहर ।’
गौतम बुद्धले भनेझैं बिनी टण्डनले स्वास्थ्यलाई सबैभन्दा ठुलो उपहार मानेकी छिन्, सन्तुष्टिलाई सबैभन्दा ठुलो सम्पत्ति । अनि बिश्वासलाई सबैभन्दा उत्तम सम्बन्ध । ५३ बर्षको उमेरमा आफु जति स्वस्थ छिन्, अब समाजका सदस्यहरुलाई स्वस्थ बनाउन तल्लीन छन् । एक महिनाअघि अत्याधुनिक हेल्थ बिनी फिट्नेस खोलेर सेवारम्भ गरिसकेकी छिन् । यो नेपालगन्जको अत्याधुनिक हेल्थ फिटनेस सेन्टर हो । वातानुकुलित हलमा आधुनिक उपकरणसहित यति व्यवस्थित र भव्य फिटनेस सेन्टर सम्भवतः नेपालमै पहिलो हो ।
‘म फेरि पनि भन्छु । यी सब कामबाट सन्तुष्ट छु । यो शहरप्रति पुर्ण बिश्वास गरेकी छु ।’ उनी भन्छिन्–‘सम्भावना पनि यहीं खोजिरहेकी छु ।’ उनका सपना, योजना र दैनिकी सुन्दा लाग्छ, गौतम बुद्धका भनाइ उनी अक्षरशः पालना गरिरहेकी छन् ।
महानगर यात्राका क्रममा सुर्खेतरोडस्थित हेल्थ बिनी फिटनेस पुग्दा उनी कर्मचारीसहित फ्लोर सफाइमा जुटिरहेकी थिइन् । दैनिक तीन पटक सफाइको काम हुने उनले बताइन् । सुविधासम्पन्न फिटनेस सेन्टर समृद्ध शहरको परिचय हो । समृद्ध शहरको परिचयका अरु धेरै पाटा छन् । स्तरीय शिक्षा, सुविधासम्पन्न अस्पताल, पक्की सडक तथा ढल, मनोरञ्जन स्थल, सिनेमा हल समृद्ध शहरका पहिचान हुन् । आम मानिसलाई शहरतर्फ आकर्षण गर्ने माध्यम हुन् । हरेक मानिसको सेवानिवृत्त जीवन बिताउन यस्तै शहर रोजाइमा पर्ने गर्दछ । सुविधासम्पन्न होटल, स्वादिष्ट भोजन, स्थानीयको व्यवहार, त्यहाँको कला र सभ्यता आन्तरिक तथा बाह्य पर्यटक लोभ्याउने थप आधार हुन् । यी सबै बनाउन सकिए एउटा ठाउँ खास अर्थमा शहर बन्ने हो, महानगर त्यस्तै समृद्ध शहरको विम्ब हो । यसमा सिंगो राज्य तथा स्थानीय पालिका मात्र हैन, हरेक सचेत नागरिकले पनि आफ्नो तहबाट सत्प्रयास गर्नुपर्दछ ।
बिनी एक त्यस्तै उदाहरण हुन् । जसले करोडौं लगानीमा हेल्थ क्लब खोलिन् । पुख्र्यौली स्वामित्वको १२ कट्ठा जमिन थियो, त्यसमा दुइ तले भवन निर्माण गरी फिटनेस सेन्टर सञ्चालनमा ल्याइन् । अहिले माथिल्लो तल्लामा फिटनेस सेन्टर छ । तल आधा भाग फिटनेसकै प्रयोजनमा छ । बाँकी भाग अन्य प्रयोजनमा लगाउने तयारी छ । खाली जमिनमा ६० बर्षमाथिका बृद्धबृद्धाका लागि निशुल्क एक किलोमिटर वाकिङ जोन (पैदल मार्ग) निर्माण गर्ने तयारी समेत छ । हुनत फिटनेस सेन्टर पनि सेवाभावले नै खोलेको उनी बताउँछिन् । ‘हरेक मानिसलाई स्वस्थ जीवनतर्फ डो¥याउनु र उसको मुहारमा खुशी देख्नु नै सबैभन्दा ठुलो धर्म हो ।’ उनी भन्छिन्–‘पैसा कमाउनकै लागि त अरु धेरै क्षेत्र छन्, पुख्र्यौली सुन व्यवसायमा मात्र समय दिंदा पनि हुन्छ ।’ किनकी उनी सुन व्यवसायमा पोख्त भइसकेकी छिन् । टण्डन ज्वेलर्सको उत्पादन पहिचान गर्नु सक्नु उनको खासियत हो ।
फिटनेस सेन्टर खोल्नुका पछाडि अन्य कारण छन् । कलेज जीवनमा हक्की खेल्दा उनले खेलकुदले स्वास्थ्यमा पार्ने प्रभावका बारेमा राम्ररी बुझेकी छन् । उनको पहिल्यैदेखिको सपना थियो शहरवासीलाई स्वस्थ बनाउने सवालमा केही काम गर्ने । उनी यसका लागि लखनउ पुगिन् । पूर्व मुख्यमन्त्री मुलायसिंह यादवका छोरा प्रतिक यादवले सञ्चालनमा ल्याएको फिटनेस सेन्टर हेरिन् । उनकी साथी अर्चना तिवारी त्यहाँ प्रशिक्षक छिन् । लखनऊको त्यो फिटनेस सेन्टर हेरेपछि नेपालगन्जमा पनि यस्तै फिटनेस सञ्चालन गर्ने निस्कर्षमा पुगिन् ।
सुविधासम्पन्न फिटनेस सेन्टर समृद्ध शहरको परिचय हो । स्तरीय शिक्षा, सुविधासम्पन्न अस्पताल, पक्की सडक तथा ढल, मनोरञ्जन स्थल, सिनेमा हल समृद्ध शहरका पहिचान हुन् । आम मानिसलाई शहरतर्फ आकर्षण गर्ने माध्यम हुन् । हरेक मानिसको सेवानिवृत्त जीवन बिताउन यस्तै शहर रोजाइमा पर्ने गर्दछ ।
यसअघि उनी पुख्र्यौली सुन व्यवसायमा थिइन् । पति विनोद टण्डनलाई सघाउँथिन् । शहरमा एउटा तहका मानिसले फिटनेस सुविधा पाउन नसकेको महसुस गरी आफैं उक्त कार्यमा अग्रसर हुने निर्णय गरिन् । शहरमा ओम फिटनेस लगायत दर्जनौं जिम क्लब छन् । तर एउटा तहको मानिसका लागि फिटनेस सेन्टर आवश्यक भइरह्यो । उनले यसलाई नै सम्बोधन गरिन् । फिटनेस सेन्टर सञ्चालनसँगै उनको दिनचर्या बदलिएको छ, व्यस्तता बढेको छ ।
बिहान ५ बजे फिटनेस सेन्टर पुगिसक्छिन्, १२ बजेसम्म त्यही बिताउँछिन् । त्यसपछि त्रिभुवनचोक नजिक रहेको टण्डन ज्वेलर्समा पुग्छिन्, चार घण्टा श्रीमानलाई सघाउँछिन् । फेरि फिटनेस आउँछिन् र ९ बजे रातिसम्म प्रशिक्षकसँगै आफु पनि सिकाउनमा तल्लीन रहन्छिन् । फिटनेसमा ६ जना महिलासहित १४ जनाले रोजगारी पाएका छन् । करीब २ सय ५० जनाले सेवा लिइरहेका छन् । फिटनेस सेन्टर बिहान १० देखि १२ बजेको समय गृहिणी महिलाका लागि मात्र खुल्ने गरेको छ । नेपालगन्ज जस्तो ठाउँमा जुन अत्यावश्यक छ ।
मधेशी, मुस्लिम र मारवाडी समुदायको बाहुल्य रहेको नेपालगन्जको परिवेशमा बिनी एक रोलमोडल नै हुन् । जो चुलोचौकाबाट बाहिर निस्कने हिम्मत गरिन् । उनको समुदायमा अहिले पनि छोरी र बुहारी चुलो चौका र चार दिवाल भित्रै सिमित छन् । बिनी भने २४ बर्ष अगाडि सार्वजनिक जीवनमा प्रवेश गरिन् । ‘सन् १९९४ देखि सुन पसल जान थालेको हुँ।’ उनले भनिन्–‘यसमा मेरो श्रीमानको सबैभन्दा बढ्ता साथ रह्यो, सम्पुर्ण परिवारले नै सघाउनुभयो ।’ यति भनिरहँदा उनका श्रीमान विनोद टण्डन पनि कुनै कामबिशेषले त्यहीं आइपुगेका थिए । एक समय टण्डन पश्चिम नेपालकै कहलिएको ब्यापारिक ब्राण्ड नाम हो । उद्योग र व्यापारमा टण्डन परिवारको लगानी र योगदान कम आँक्न सकिंदैन । टण्डन परिवारका सदस्यहरुको एकल र सामुहिक व्यापारले छपक्कै ढाकेको समय पनि थियो । विश्वनाथ टण्डन सुन व्यवसायमा थिए । उनैको बिंडो थाम्न छोरा विनोद टण्डन आइपुगेका थिए । समाज संकुचित थियो । टण्डन परिवार छोरी बुहारीलाई कुनै पेशा वा व्यवसायमा लगाउनु आफ्नो प्रतिष्ठासँग जोडेर हेथ्र्यो । तर बिनीले आफ्ना बुवा पारसनाथ टण्डनले दिनरात काम गरेर परिवार चलाएको नजिकबाट नियालेकी थिइन् । सन्तानका नाममा ६ जना छोरीहरु मात्र थिए । बुवा पारसनाथ कोलोनाइजर व्यवसायी थिए । बिहानदेखि मध्यरातसम्म खटिएका हुन्थे । दाजुभाइ नभएको हुँदा उनले मनमनै सोच्थिन् –‘बुवालाई कतै तलमाथि भइदियो भने हामी भोकभोकै बस्नुपर्ने हो?’ उनलाई लाग्थ्यो –‘केटी मान्छेले पनि काम गर्नैपर्छ, सबैजना आफ्नो खुट्टामा उभिनुपर्छ ।’
विवाह गरेर नेपालगन्ज आएपछि केही समय छोरा र छोरी जन्माउन र हुर्काउनमै दैनिकी बित्यो । जब छोरालाई सिन्धिया स्कुल ग्वालियर तथा छोरीलाई सेन्टमेरिज स्कुल नैनीताल पढ्न पठाइयो, उनी फुर्सदिलो भइन् । तैपनि काममा जान कसैले भन्दैनथे ।
‘मागेर कुनै चीज पाइदैन, हामी सबैले लिन सक्नुपर्छ, खोस्न सक्नुपर्छ । त्यसको लागि हामीमा खुबी र शक्ति हुनुपर्छ’ महात्मा गान्धीको भनाइ एक पटक सम्झिइन् । आफुभित्र खुबी र शक्ति उनले पहिचान गरिसकेकी थिइन् । मेहनत र परिश्रम गर्न पछाडि हट्न नहुने विचारले डेरा जमाइरह्यो । एकदिन उनले निर्णय लिइन्–‘पारिवारिक बिजनेसमा अब हात हाल्छु ।’ सासु प्रेमरानी र ससुरा विश्वनाथ टण्डन प्रगतिशील विचारकै थिए । श्रीमान विनोदको मायाले कहींकतै रोकतोक नहुने उनले चाल पाइहालिन् । उनी एकदिन श्रीमानका साथ लागेर पसल पुगिहालिन् । पसलमा सबैसँग सम्बाद गर्नुपथ्र्यो । सुरु सुरुमा ससुरा विश्वनाथ टण्डन अलिक असहज महसुस गर्थे । किनकी उनी स्वयं पसलमै हुन्थे । तर बिस्तारै उनी पनि अभ्यस्त हुँदै गए ।
सुविधासम्पन्न होटल, स्वादिष्ट भोजन, स्थानीयको व्यवहार, त्यहाँको कला र सभ्यता आन्तरिक तथा बाह्य पर्यटक लोभ्याउने थप आधार हुन् । यी सबै बनाउन सकिए एउटा ठाउँ खास अर्थमा शहर बन्ने हो, महानगर त्यस्तै समृद्ध शहरको विम्ब हो ।
बिनीको आत्मविश्वास बढ्दै गयो । ससुराले एक दिन भनेछन्–‘पसल जाउ, तर परिवारको इज्जत र प्रतिष्ठालाई सधैं ध्यान दिनु ।’ ससुरा विश्वनाथ टण्डनको यो भनाइ आजपर्यन्त उनका कानमा गुन्जिरहन्छ । ‘टण्डन परिवारको नामलाई कायम राख्न कहिल्यै सम्झौता गरिन् ।’ उनी भन्छिन्–‘काम बिना कतै हिंडिन, अनावश्यक कुरामा कहिल्यै चासो राखिन । काम बिना कसैसँग बोलिन ।’
काम र अनुशासनले परिवारको मन जित्दै गयो । उनी बिस्तारै घुम्टो बाहिर आउन थालिन् । सुट पहिरिन थालिन् । ट्रयाकसुट र स्पोर्ट्स जुत्ता मनपर्ने पोशाक बन्न थाल्यो । कामबिना घर र पसलबाहेक अन्यत्र कहीं नगएको उनी बताउँछिन् । ‘कसैलाई औला उठाउने ठाउँ दिइन,’ उनी भन्छिन्–‘अब त आफैं सम्झाउने उमेरमा पुगिसकेकी छु ।’ उनका दुई सन्तान छन् छोरा राघव र छोरी अमोली । राघवले अर्थोपेडिक सर्जनमा एमएस गर्दैछन्, अमोलीले एमबीबिएस पुरा गर्ने क्रममा छिन् । बुहारी पनि डाक्टर नै रोजिसकेकी छन् । निकट भबिष्यमा फिटनेस सेन्टरकै माथि अस्पताल खोल्ने योजना छ । निकै बलियो संरचनामा तयार भएको फिटनेस भवन पाँच तल्ले निर्माण गर्न नेपालगन्ज उपमहानगरपालिकासँग स्वीकृति पनि लिइसकेकी छिन् ।