दुई महिना ५ वटा गम्भीर दुर्घटना २ को मृत्यु, ७ जना घाइते
कोहलपुरबाट नेपालगन्ज तर्फ आउँदै गरेको एउटा कारले मोटरसाइकल चालकलाई ठक्कर दिँदा मृत्यु भएको घटनामा कार खोज्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जिल्लाको सबै क्षेत्रमा नाकाबन्दी गरेर कार चालकलाई फन्दामा लिएको छ ।
शनिवार साँझ ५ः३० बजेको समयमा कोहलपुरबाट नेपालगन्ज आउँदै गरेको भे.६ प.१४०७ नं.को मोटरसाइकल र सोही तर्फबाट आउँदै गरेको युपी ४० एसी, ६६२४ नं.को कारले मोटरसाइकल चालकलाई ठक्कर दिँदा घटनास्थलमा नै मोटरसाइकल चालक नेपालगन्ज ७ बस्ने २५ वर्षिय सौरभ सिंह ज्यान गएपछि कार र चालक बारे अनुसन्धान गर्दै प्रहरीले पूरै जिल्लामा नाकाबन्दी गरेर खान तलासी थालेको थियो ।
कोहलपुरबाट आउँदै गरेको मोटरसाइकल र कार बीच बाँके जानकी गाउँपालिका वडा नं. ६ पिपरी स्थित हाइस्पीडमा ओभरटेक गर्ने बेलामा भएको दुर्घटना पछि फरार कार खोज्न प्रहरीले चातर्फी नाकाबन्दी गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख हिरेन्द्र रोकायले बताए ।
‘जिल्लाको सबै निकासी नाकामा चेकजाँच गर्ने र नाकाबन्दी गरेर कारवाही अघि बढाउन निर्देशन दिएपछि झण्डै फुत्किन थालेको बेला जमुनाहा नाकाबाट पक्राउ गरिएको छ’, प्रमुख रोकायले भने, ‘केही मिनेटमै पक्राउ गर्न नसकेको भए फुत्किन भ्याइसक्थे ।’
मोटरसाइकलमा सवार गौरव झा गम्भीर घाइते रहेको र उनको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको प्रमुख रोकायले बताए । कार चालक भारत बहराइच बस्ने राम प्रकाश बजपाल र कारधनी अक्षय मिश्रा पक्राउ परेको प्रहरीले जनाएको छ ।
‘चालक र कार सहित ३ जनालाई फन्दामा लिएर अनुसन्धान अघि बढाएका छौं’, प्रमुख रोकायले दैनिक नेपालगन्ज संग भने, ‘कार नम्बर समेत नखुलेको अवस्थामा भएको दुर्घंटना बारे पत्ता लगाउन ब्यापक रुपमा सक्रियता देखाउनु पर्यो ।’ जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको अभिलेख अनुसार अषार महिना देखि हिजो भाद्र ९ गतेसम्म विभिन्न दुर्घटना मध्ये ७ वटा गम्भीर दुर्घटनामा परि २ जनाको मृत्यु र ५ जना घाइते भएका छन् ।
साना दुर्घटनाहरुको अभिलेख धेरै भएपनि गम्भीर दुर्घटनामा परि ज्याउन गुमाउनेहरु र घाइते भइ अंग भंग भएकाहरुको दुर्घटना संख्या ७ वटा रहेको प्रहरी भनाइ छ । पक्राउ परेका कार चालक र धनीलाई आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
नेपालगन्जको मुख्य राजमार्गमा दुर्घटनाको संख्या वृद्धि भइरहेको सन्दर्भमा ट्राफिक प्रहरीले सतर्कताका विभिन्न नियमहरु पनि सार्वजनिक गर्दै आएको छ । खासगरि राजमार्गमा तीन पाँग्रे चालउन नमिल्ने हिसाबको निर्देशन आएपछि त्यसबारे अध्ययन र कार्यान्वयन प्रक्रिया अघि समेत अघि सारिएको छ । ट्राफिक प्रहरीले ढोकामा झुण्डिएर यात्री गुहार्दै हिड्ने सहचालकलाई यसअघि नै कारवाही अघि बढाएको छ । भन्सारदेखि कोहलपुर र कतर्निया बर्दिया, खजुरा र आसपास क्षेत्रमा चल्ने नगर बसका सहचालकलाई कारवाही अघि बढाइएको छ ।
‘गत मंगलवार २० जनाको अनुमति पत्र नियन्त्रणमा लिएर कारवाही गरि छाडिएको छ’, रोकायले भने, ‘त्यसपछि पनि अनुगमन र कारवाही हुँदै आएको छ ।’ उनले भने, ‘कारवाही पछि अधिकांस स्थानमा सुधार भएको पाइयो ।’ नेपालगन्जको ट्राफिक चोक, धम्बोझी, राँझा, पुष्पलाल चोक लगायत स्थानमा चेकजाँच गर्दा २० बढी सहचालक यात्री गुहार्दै ढोकामा झुण्डिएको अवस्थामा पाइएपछि ट्राफिक प्रहरीले कारवाही अघि बढाएको थियो ।