खजुरामा मात्रै संस्थागत विद्यालयहरुमा झण्डै २५ करोड लगानी भैसकेको छ
सरकारी नीति र दृष्टिकोणका कारण संस्थागत विद्यालयहरुको लगानी जोखिममा रहेको भन्दै चिन्ता गरिएको छ । प्याब्सन खजुराको प्रथम अधिवेशन उद्घाटनमा सहभागी सम्बद्ध क्षेत्रका अगुवाहरुले संस्थागत विद्यालयमा गरिएको लगानीको सुरक्षाबारे चिन्ता गरेका हुन् ।
‘खजुरा क्षेत्रमा मात्रै झण्डै २५ करोड लगानी भैसकेको छ’, प्याब्सन खजुराका अध्यक्ष मित्रलाल सापकोटाले दैनिक नेपालगन्जसँग भने, ‘यसको भविष्य के हुने भन्नेबारे हामी आफै विश्वस्त हुन सकिरहेका छैनौं ।’ खजुरामा प्याब्सनभित्र मात्रै विभिन्न १३ वटा विद्यालयमा कक्षा नर्सरीदेखि १२ सम्म साढे ४ हजार विद्यार्थी अध्ययनरत् रहेको जानकारी दिंदै सापकोटाले भने, ‘नयाँ शिक्षा नियमावलीले अझ अन्योलको सिर्जना गरेको छ ।’
अधिवेशन उद्घाटन गर्दै प्याब्सनका केन्द्रीय उपाध्यक्ष निर्मल उपाध्यायले सरकारी नीति र आम जनताको संस्थागत विद्यालयप्रतिको दृष्टिकोणले योगदान ओझेल पर्दै गएको बताए । प्याब्सन प्रदेश ५ का उपाध्यक्ष ऋषिकेश जिसी, प्याब्सन बाँकेका अध्यक्ष डा. राजेश केशर खनाल लगायतले लगानी सुरक्षित नहुँदा संस्थागत विद्यालय सुधारका लागि थप लगानी गर्न हिचकिचाउनु परेको अवस्था औंल्याएका थिए । उनीहरुले राज्य सधै संस्थागत विद्यालयप्रति नकारात्मक भैरहने र समाजले पनि संस्थागत विद्यालय सञ्चालकहरुलाई ‘लुटेरा’ देख्ने प्रवृत्तिलाई चिर्न नसक्दा संस्थागत विद्यालयहरु अपेक्षित ढंगले विकास हुन नसकेको प्रति चिन्ता पनि व्यक्त गरेका थिए ।
प्याब्सन खजुराका तदर्थ समिति अध्यक्ष मित्रलाल सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय निरिक्षक विश्वराज खनाल, स्रोत व्यक्ति टंकनाथ दाहाल, हिसान बाँकेका अध्यक्ष डा. अवनिन्द्र मिश्र, बर्दिया प्याब्सन अध्यक्ष तेजनाथ पौडेल, प्रदेश सदस्य शिव लामिछाने, विकास बज्राचार्य लगायतको सहभागितामा भएको कार्यक्रममा खजुरा क्षेत्रमा पहिलो संस्थागत विद्यालय स्थापना गर्ने दिपक बोर्डिङ्ग स्कुलका संस्थापक अध्यक्ष चिनिया राम आचार्यलाई सम्मान गरिएको थियो ।
सापकोटा निर्वाचित
बाँकेको खजुरा गाउँपालिका संगठित संस्थागत विद्यालयहरुको नयाँ नेतृत्व चयन भएको छ । शनिबार प्याब्सन खजुराको प्रथम अधिवेशनले मित्रलाल सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको सचिवमा कृष्ण भण्डारी र रामचन्द्र यादव कोषाध्यक्ष छन् । सदस्यहरुमा गिता गोदार, इमरान खान, चन्द्र बहादुर राना र सलाउद्दिन खान रहेको अध्यक्ष सापकोटाले जानकारी दिए ।
१३ वटा खजुरा क्षेत्रका संस्थागत विद्यालय संगठित प्याब्सनमा नर्सरीदेखि कक्षा १२ सम्मका साढे ४ हजार बढी विद्यार्थी अध्ययन रहेको अध्यक्ष सापकोटाले जानकारी दिए ।
जानकीमा बर्मा
प्याब्सनको जानकी गाउँपालिकामा बाल विकास बोर्डिङ्ग स्कुलका प्रिन्सिपल ओम प्रकाश बर्मा फोकल पर्सन चयन भएका छन् । यसअघि खजुरा–जानकी प्याब्सनका कोषाध्यक्ष बर्मा जानकीको फोकल पर्सन चयन भएका हुन् ।
संघीयतामा मुलुक गएपछि प्रत्येक स्थानीय तहमा रहेका संस्थागत विद्यालयहरु संगठित भएर प्याब्सन बिस्तार गर्ने योजना अनुसार, खजुरा र जानकीलाई अलग गरिएको हो । ‘११ वटा भन्दा कम विद्यालयको स्थानीय तहमा फोकल पर्सन चयन गर्ने व्यवस्था मिलाइएको छ’, साविकको खजुरा–जानकी गाउँपालिका प्याब्सनका अध्यक्ष मित्रलाल सापकोटाले दैनिक नेपालगन्जसँग भने, ‘जानकीको नेतृत्व उहाँले नै गर्नुहुनेछ ।’
प्रत्येक तहको नेतृत्व जिल्ला प्याब्सनमा पदेन कार्यसमिति सदस्य हुने व्यवस्था रहेको सापकोटाले जानकारी दिए । प्याब्सन जानकीमा दुई वटा मात्रै विद्यालय संगठित छन् ।
यसैबीच जानकी गाउँपालिकामा प्याब्सन स्तरीय हाजिरिजवाफ प्रतियोगिता आयोजना गरिएको छ । शुक्रबार प्याब्सन खजुरा–जानकीको आयोजनामा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुका लागि बालविकास इङ्गलिश मिडियम हाई स्कुल मानपुरमा आयोजना गरिएको प्रतियोगितामा १३ विद्यालय बीच प्रतिस्पर्धा गराइएको हो ।
प्याब्सन खजुरा–जानकीका अध्यक्ष मित्रलाल सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिस्पर्धी १३ विद्यालयबाट धु्रवतारा विद्या मन्दिर खजुरा प्रथम, जेनिथ इङ्गलिश मिडियम स्कुल द्वितीय, बाल विकास इङ्गलिश मिडियम हाई स्कुल तृतीय र भूपु सैनिक इङ्गलिश स्कुल राधापुरलाई सान्त्वना पुरस्कार दिइएको थियो । विद्यालय निरिक्षक सञ्जय कुमार कर्णको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्रोत व्यक्ति टंक नाथ दाहाल, अध्यक्ष सापकोटा, बाल विकासका प्रिन्सिपल ओम प्रकाश बर्माले पुरस्कार वितरण गरेका थिए ।