राप्तीको कटानले जोखिममा बस्ती (भिडियो सहित)

छुट्टै परियोजना बनाएर राप्ती नदी नियन्त्रण गर्न माग


राप्तीको निरन्तर कटानका कारण राप्तीसोनारी–२ को एउटा सिङ्गो बस्ती नै जोखिममा परेको छ ।
नदीले निरन्तर कटान गरिरहँदा झण्डै २ हजार घरधुरी रहेको उक्त वडाको दुई सय ५० बढी घर बस्ती जोखिममा परेको हो । ‘यस्तै हिसाबले नदी बस्तीतर्फ कटान गर्दै आएभने सिङ्गो बस्ती उठिबास लाग्न धेरै दिन लाग्दैन’, शुक्रबार बस्तीको स्थलगत अनुगमन गरेकी प्रदेश सभा सदस्य कृष्णा केसी (नमूना)ले दैनिक नेपालगन्जसँग भनिन्, ‘यसबारे सरकार बेलैमा गम्भीर भएन भने समस्या जटिल बन्ने देखिएको छ ।’


सांसद नमूनाले पटकपटक यसबारे आफुले प्रदेशसभामा आवाज उठाएको पनि बनाइन् । ‘राप्ती नदीको एकिकृत नियन्त्रण प्रयासका लागि छुट्टै परियोजना बनाउनु पर्छ भनेर केन्द्र सरकारसँग पनि पटकपटक अनुरोध गरिरहेको हो’, प्रदेश सभा सदस्य नमूनाले भनिन्, ‘राजनीतिक नेतृत्व गम्भीर नहुँदा सिङ्गो बस्ती नदीको चपेटोमा आउने खतरा देखिएको छ ।’


नमूनाका अनुसार, अनुगमनका लागि पत्रकार, अधिकारकर्मीको टोली स्थलगत रुपमा पुग्दा तिव्र रुपमा नदीले जग्गा कटान गरिरहेको थियो । ‘करिब १५ विगाह जग्गा यो सातामात्रै कटानमा परेको गुनासो गाउँलेहरुले गरेका छन्’, आफु जाँदा स्थानीयबासीलाई निकै पीडामा देखेको सुनाउँदै प्रदेश सभा सदस्य नमूनाले भनिन्, ‘हालै मात्र सिंचाई मन्त्री बर्षमान पुनलाई ल्याएर त्यो क्षेत्रमा अनुगमन गराइएको हो ।’ कुनै उपाय नलागेपछि नदी नियन्त्रणका तत्कालीन पहलका लागि सिक्टा सिंचाई आयोजनासँग समेत अनुरोध गरी आएको जानकारी दिंदै उनले भनिन्, ‘तत्काल यसबारे ठोस पहल भएन भने ठूलो नोक्सानी व्यहोर्नु पर्ने अवस्था देखिएको छ ।’

 
शुक्रबारसम्म १२ जनाले आफ्नो सम्पूर्ण जग्गा गुमाएको गुनासो प्रदेश सभा सदस्य नमूनासँग गरेका छन् । ‘बस्तीदेखि ५० मिटरको दुरीमा नदी आइसकेको छ’, नमूनाले समयमै नियन्त्रण गर्न नसके आउने समस्या औंल्याउँदै भनिन्, ‘तिव्र गतिमा कटान गर्दै आएको नदीले कतिबेला बस्ती भेट्छ यसै भन्न सक्ने अवस्था छैन ।’ उनले स्थानीयबासी सन्त्रस्त अवस्थामा रहेको बताइन् ।

 
‘किसानको अवस्था साँच्चिकै चिन्ताजनक छ’, स्थलगत अनुगमनमा पुगेका फियान नेपालका क्षेत्रीय प्रमुख सुरेश गौतमले भने, ‘किसानहरु आफुले रोपेको धान काटेर गाई, वस्तुका लागि घाँस बनाउँदै गरेको दृश्यले जो कसैलाई पनि भाव विव्हल बनाउँछ ।’ हरियो गाँज लागेको धान धमाधम खेत कटानमा परेर बग्ने भएपछि किसानले काट्दै गाई वस्तुलाई खुवाउन संकलन गरेको दृश्य देखिएको जानकारी दिंदै अधिकारकर्मी गौतमले भने, ‘राप्तीनदीको विनाश लिला कचनापुरमा प्रष्ट देखिएको छ ।’

 
पत्रकार सहित स्थलगत अनुगमनमा पुगेका प्रदेश सभा सदस्य, खाद्य अधिकारकर्मी लगायतको टोलीले सिक्टा सिंचाई आयोजना क्षेत्रको पनि अनुगमन गरेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया