विकासमा युवा

भर्खरै १९ औ अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरेर नेपालमा पनि मनाइयो । देशीभर युवा दिवस भनेर विविध कार्यक्रम भइरहँदा दिवस मनाउनेमा पाँच प्रतिशत युवाको सहभागिता रह्यो होला । हामी र हाम्रो समाजले युवाको स्थान र परिचय सधै अन्य विशेषण लगाएर मात्रै दिने गरिन्छ । त्यसैले पनि युवा आफैलाई विश्वभर विविध कार्यक्रम गरेर मनाउने गरिएको युवा दिवसमा युवाको सहभागिता न्यून हुनेगर्छ । अर्को कुरा कार्यक्रमहरुमा भद्दा भाषण, लामो र दिक्क लाग्ने उपदेश, सपना बाँडिन्छ त्यसैले पनि युवाको सहभागिता पनि कम हुनेगर्छ ।

 
लामो समयदेखि चलेको बहसलाई हेर्ने हो भने युवाको ‘परिचय’, युवाको ‘सहभागिता’, ‘नेतृत्व’मा युवा का विषयमै अल्झेको पाउछौ । नेपाली समाजको चरित्र, राजनीति नेतृत्व, परम्परागत सोच, पुस्ता हतान्तरणमा आनाकानीले गर्दा युवा आफ्ना रचनात्मक र सृजनात्मक क्रियाकलाप, समूदाय बिकासका विभिन्न क्षेत्रहरुमा संलग्न हुन पाएका छैनन् । आफूभन्दा माथिल्लाले गरेको आदेश, अरुले गरेको नेतृत्वमा पछाडी लाग्न बाध्य छन् ।

 
केही वर्ष अगाडिको डाटालाइ हेर्ने हो भनेपनि २८.३ प्रतिशत (सरकारी आकडा) युवा उमेर समुहका मानिस नेपालमा बेरोजगार छन् । यो सरकारी आँकडा रिपोर्ट गर्ने युवा समुहको मात्रै अथवा अध्ययन गर्दा भेटिएका मात्रै होलान, अहिले पनि जम्मा युवा उमेर समुहको आधा त बेरोजगार नै छन् । राज्यको बहस जहिल्यै रोजगारसँग मात्रै जोडियो जसले गर्दा यो आँकडा दिनदिने बढ्ने पक्का छ । बेरोजगार युवालाई स्वरोजगार हुन, समूदाय विकासमा सहभागिता गराउन, राजनीतिमा सहभागिता गराउन, खेलकुद क्षेत्रमा लगाउन, पर्यटन क्षेत्रमा लगाउन, स्वयम सेवामा लगाउनका लागि प्रष्ट नीति, क्रियाकलाप तथा कार्यक्रम नहुँदा युवाको परिचय जहिल्यै नकारात्मक रुपामा व्याख्या गरियो । अहिले पनि युवाहरुको परिचय लागु पदार्थ लिने, आपराधिक क्रियाकलापमा संलग्न हुने, राजनीतिमा पनि हिसामा जोड दिनेमा आउने गर्छ । यो स्वाभाविक पनि हो, युवा आफैमा जुझारु, बलियो र रचनात्मक हुन्छन् उनीहरुको जुझारुपन, रचनात्मक क्रियाकलापलाई राम्रो तर्फ लाने कि नराम्रो हुन छाड्ने राज्यको नीति, समाजको दायित्व हो ।

 
युवा परिचालन र बिकाशमा सहभागिता
युवाका देश, समय र परिस्थिति अनुसार उनीहरुको हुर्काई, सोचाई र सिकाई पनि फरक फरक हुन्छ, हाम्रै समुदायमा पनि सुगममा बस्ने युवाको इच्छा, आकांक्षा र क्रियाकलाप फरक पाउँछौ । यति भनिरहँदा सबै युवा वर्ग, भूगोल जहाँ रहेपनि रचनात्मक, सृजनात्मक, जुझारु, छिट्टो संचार गर्न सक्ने हुन्छन । त्यसैले विश्व परिवेशलाई हेरेर विभिन्न क्षेत्रमा युवालाई अगाडि बढाउन आवश्यक छ । सबैभन्दा महत्वपूर्ण युवालाई नेतृत्व हस्तान्तरण गरेर निर्णयको अधिकार, समस्या समाधानको लागु पहलकदमी लिने र त्यसका लागि क्रियाकलाप पनि युवालाई जिम्मेवारी दिनसक्नु पर्छ । हाम्रो समाज र राज्यले युवालाई अझैपनि पत्याउने गरेको छैन त्यसैले पाका मानिसले बनाएका नीति, काममा सहभागी हुन परेको छ । यस्तो अवस्थामा युवामा निराशा बढ्दै जान्छ, त्यसैको प्रतिफल अहिलेपनि दैनिक हजार युवा खाडी लगायतका देशमा सस्तो श्रम रोज्दैछन । स्थानीय, प्रदेश र संघीय सरकारले पहिलो काम युवालाई विकासमा सहभागिता गराउँदा निर्णय अधिकार, समस्या समाधान र क्रियाकलाप गर्न पनि युवालाई नै दिनु पर्दछ ।

 
समुदायका हरेक बिकाशका क्रियाकलापका विभिन्न तहमा युवा सहभागिता हुनुपर्दछ । जस्तो उपभोक्ता समिति, स्वयम सेवा, राजनीतिक समितिहरु संगसंगै प्रबुद्ध ब्यक्तिहरुको समुहमा पनि युवाको सहभागिता आवश्यक छ । जसले गर्दा युवाले बिकासलाई अपनत्वका रुपमा लिनेछन् र त्यसको नवीनतम ढंगमा काम गर्न तयार हुने गर्दछन । अहिले स्थानीय सरकार तथा राज्यले केहि युवाहरुलाई स्वरोजगार र क्षमता अभिवृद्धिका रुपमा केहि युवालाई न्यून सहभागी मात्रै गराएको छ । युवालाई समुदायका बिकासका क्रियाकलापमा सहभागिता बढाउदै लागेमा उनीहरुको समुदायप्रतिको लगाव पनि बढ्ने गर्छ । जसले गर्दा युवा बिकासमा मात्रै हैन समाजका समस्याहरु समाधान गर्ने तर्फपनि अग्रसर हुनासक्छन । यसले युवा गलत बाटोमा लाग्नबाट रोक्छ ।

 

 
सुचना प्रविधिको अहिलेको समयमा युवाहरुलाई त्यसको समुचित प्रयोग र उपयोग गर्न युवाहरुलाई प्रोत्साहित गर्न सके विश्वमा भएका समूदाय विकासका मोडलहरुका बारेमा बहस हुनसक्छ । त्यसका लागि स्थानीय सरकारले सुचना र प्रविधिका बिषयमा युवाहरु माझ अभियानहरु संचालन गर्न आवश्यक छ । युवाहरुका नयाँनयाँ विचार सोचलाई एकीकृत गरि त्यसलाई पनि समूदाय विकासमा लगाउन सके अहिलेको भन्दा छिट्टो र छरितो ढंगबाट नया स्वरुपको समूदाय बन्नसक्छ ।

 

विकासलाई भौतिक संरचनासंग मात्रै नजोडेर चेतनाको विकाससँग जोड्न सके सभ्य समाज निर्माण हुनासक्छ । युवालाई नागरिक समाजका क्रियाकलाप संगै सामाजिक समस्या (विसंगति, कुरीति, हिँसा, अपराध) कम गर्न परिचालन र सहभागिता बढाउन सके अहिले देखिएको बलात्कारका घटना, अपहरण, हत्या जस्ता स्समुदाय कै बदनाम हुने काम रोक्न पनि युवाको हात हुनेछ । यसले भौतिक पूर्वाधार संगसंगै सभ्य समाज निर्माणमा पनि युवाको सहभागिता रहने छ । समृद्ध सहर हुन भौतिक विकास आवश्यक त छदैछ । त्यस सँगै सभ्य समाजको बिकास पनि त्यत्ति नै महत्वपूर्ण छ । त्यसैले युवालाई नीति ल्याइदिएर, दुई चार युवालाई सहभागी गराएर हैन समग्र युवालाई समाहित हुने नीति र क्रियाकलाप गरौ बिकाश र समृद्धि त्यसै आउने छ । (हाल ः ललितपुर)

प्रतिक्रिया

प्रतिक्रिया