बजारमा महंगो बिक्री भैरहेको मल किसानका लागि सहज उपलब्ध हुन नसकेको हो
बाँकेका सर्वसाधारण किसानका लागि सहज र सुविधाको मल अभाव देखिएको छ । धान खेतीका लागि मुख्य आवश्यकताको बेला सहुलियत दरमा प्राप्त हुने युरिया मल अभाव देखिएको हो । ‘दैनिक सय बढी किसान यूरिया मलका लागि आइरहनु भएको छ’, जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदीले आइतबार दैनिक नेपालगन्जसँग भने, ‘हेर्नुस् आज मात्रै १ सय २७ जनाले आफ्नो नाम सूचिकृत गरेर जानुभएको छ ।’ अध्यक्ष सुवेदीले त्यसो भनिरहँदा नेपालगन्ज–२१ पुरैनीका किसान बेचु बर्माले सहकारी संघबाटै बर्षेनी मल आपूर्ति भैरहेकाले आफु आएको सुनाए । ‘ठिक्क मल हाल्ने बेला भएको छ’, बर्माले आफुलाई दुई बोरी मल आवश्यक भएको जानकारी दिंदै भने, ‘ठिक समयमा ठिक मात्राको मल हाल्न पाइयो भने सोंचे जस्तो उब्जनी हुन्छ ।’ उनले एक सातादेखि मलका लागि धाइरहेको गुनासो गरे ।
किसानहरुको भीड बढेपछि जिल्ला सहकारी संघका अध्यक्ष सुवेदीले आइतबार नै प्रदेश ५ का कृषि तथा सहकारी मन्त्री आरती पौडेलसँग मल अभावको गुनासो राखे । ‘मन्त्री पौडेलबाट यसैसाता आपूर्तिको सुनिश्चितता गरिने प्रतिबद्धता आएको छ’, अध्यक्ष सुवेदीले भने । सुवेदीले त्यसलगत्तै कृषि सामाग्री कम्पनीका प्रमुख नवल सिंह बोगटीलाई पनि फोन डायल गरे ।
‘बजारमा मल पर्याप्त छ, तर हामी त्यो दरमा खरिद गरेर प्रयोग गर्न सक्दैनौं’, नेपालगन्ज–२१ कै अर्का किसान राजेन्द्र खटिकले दैनिक नेपालगन्जसँग भने, ‘दुई पटकसम्म हालिसक्नु पर्ने मल एक पटक पनि पाउन सकेको छैन ।’ उनका अनुसार, सहकारी संघमा ८ सय ६० रुपैयाँमा प्राप्त हुने मलका लागि बजारमा २ हजारसम्म तिर्नुपर्छ । ‘हामीले ल्याउने ठाउँमै पनि मल नभएकाले समस्या पर्यो’, यूरिया मल अभाव रहेको स्वीकार गर्दै कृषि सामाग्री कम्पनीका प्रमुख बोगटीले दैनिक नेपालगन्जसँग भने, ‘अघिल्लो सातासम्म मल उपलब्ध गराइरहेका थियौंं ।’
कम्पनीका अनुसार, बाँकेमा ३ हजार मेट्रिक टन सहुलियत मल उपलब्ध गराइँदै आएको छ । ‘तर, यो बर्ष ४ हजार ३ सय टन बिक्री वितरण गरिसकेका छौं’, देशभरी नै ७ लाख मेट्रिक टन आवश्यक भएपनि ३ लाख मेट्रिक टन मात्रै आपूर्ति हुने गरेको बताउँदै बोगटीले भने, ‘अहिले देखिएको अभावलाई सम्बोधन गर्न छिट्टै मल आपूर्तिको व्यवस्था मिलाएका छौं ।’ उनका अनुसार, भारतका कलकत्तामा रोकिएको मल केही दिनमै भैरहवा आइपुग्ने र त्यहाँबाट नेपालगन्ज ल्याइनेछ ।
किसानहरुले भने सहुलियत मल दुरुपयोग हुँदा आफुहरुले अभावको सामना गर्नुपरेको गुनासो गर्ने गरेका छन् ।
‘कतिपय सहकारीहरुले बढी मूल्यमा बेच्ने गरेका छन्’, संघ पुगेका एक किसानले दैनिक नेपालगन्जसँग गुनासो गर्दै भने, ‘भारतबाट पनि अवैध रुपमा निरन्तर तस्करी भैरहेको छ ।’ उनले किसानले आधा बोरी मल ल्याउँदा कुटपिट गर्ने प्रहरीले तस्करहरुले बोराकाबोरा मल ल्याउँदा केही नबोल्ने गरेको गुनासो पनि गरे । ‘हामी अवैध रुपमा आउने भारतीय मलमा विश्वास गर्दैनौं’, अर्का किसान आज्ञाराम राढले नक्कली मल समेत बजारमा पाइने गरेको सम्भावना औंल्याउँदै भने ।
सहकारी संघले आफु अन्तर्गतका सबै सहकारी संघ, संस्थाहरुलाई सहुलियतको मल सुविधापूर्वक किसानलाई वितरण गर्न निरन्तर समन्वय गरिरहेको अध्यक्ष सुवेदीले बताए । उनले बिहिबारसम्म तत्कालको अभाव टर्ने गरी मल आउने आश्वासन पाएको बताए ।