नेपालगन्ज भन्सार कर्मचारीको मिलोमतोमा तस्करी भइरहेको सन्दर्भ पटक–पटक बाहिर आएपछि नेपालगन्ज भन्सार कार्यालयका प्रमुख सहित ७ जना कर्मचारीमाथि राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । राजश्व अनुसन्धान विभागले शुक्रबार नेपालगन्ज भन्सार कार्यालयका प्रमुखसहित २२ जना अन्य भन्सारका कर्मचारीहरु विरुद्ध मुद्दा दायर गरेको छ । जसमा ७ जना नेपालगन्ज भन्सारका कर्मचारी एजेन्टहरु रहेका छन् ।
नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्य सहित ७ जना कर्मचारीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । राजश्व छलीमा कर्मचारीलाई यसरी मुद्दा चलेको पहिलो पटक हो । दुई महिनाअघि काठमाडौबाट नियन्त्रणमा लिइएको ड्रई मिल्क(सुख्खा दूध पाउडर)को ट्रक अनुसन्धान गर्दा कर्मचारीकै मिलोमतोमा नक्कली प्रज्ञापनपत्रका आधारमा छाडिएको खुलेको पछि मुद्दा अघि बढाइएको छ ।
अनुसन्धानको क्रममा कर्मचारीकै मिलोमतोमा तस्करी भएको खुलेपछि कर्मचारीलाई पनि मुद्दा चलाइएको विभागले जनाएको छ । प्रमुख भन्सार अधिकृत आचार्य सहित भन्सार अधिकृत बटुकृष्ण अधिकारी, भन्सार जाँचकी बसन्त कुमार सुवेदी, भन्सार एजेन्ट दिनेश कुमार बाँनिया, कम्यूटर अधिकृत चन्द्र बहादुर क्षेत्री, र भन्सार सहायकद्वय जितबहादुर श्रेष्ठ र रामबहादुर थापा माथि मुद्दा चलाइएको हो ।
प्रमुख भन्सार अधिकृत आचार्यलाई यसअघि नै नेपालगन्जबाट कारवाहीका लागि विभागमा तानिएको छ । विभागले अनुसन्धान अघि बढाएपछि अर्थ मन्त्रालयले छानबिन गर्दा मिलेमतो खुलेपछि आचार्यलाई पदबाट हटाइएको थियो । सबै ७ जनाबाट असूल उपर हुनेगरि १० करोड २० लाख ८० हजार रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरिएको राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली बताएका छन् ।
दुध तथा ध्यूको नक्कली भन्सार प्रज्ञापन पत्र बनाइ चोरी पैठारीमा नक्कली प्रज्ञापनपत्र देखाएर सामान छुटाउने र त्यहाँबाट काठमाडौं ल्याउन नक्कली भ्याट बिल देखाउने गरेको आरोपमा उनीहरु विरुद्ध मुद्दा दायार गरेको मैनालीले बताए ।
विभागले रविन्द्र गुप्ता, वीरेन्द्र गुप्ता, राहुलकुमार गुप्ता, मधु कुमारी चौधरी, विनोद गुप्ता, यमबहादुर विक, अशोककुमार दुवे, घनश्याम शर्मा, मिनबहादुर तामाङ्, मुकेश शर्मा, रोहित अग्रवाल, शिवराज भट्टराई, सफला महत, हरि बयलकोटी र सुनिता न्यौपानेलाई समेत प्रतिवादी बनाएको छ । जसमध्ये विनोद गुप्ता मुख्य नाइके हुन् । उनी भारतीय नागरिक हुन् । उनले श्रीमती मधु कुमारी चौधरीको नाममा हिमालय कार्गाे संचालन गरी तस्करी र आयकर छली गर्दै आएका थिए । उनीविरुद्ध विभागले २ अर्ब ७२ करोड रुपैयाँ बिगो र जरिवाना दाबी गरी अर्काे मुद्दा दायर गरेको छ । जुन विभागले दायर गरेको हालसम्मकै ठूलो रकमको मुद्दा हो । प्रधानमन्त्री कार्यालय मातहत ल्याएपछि विभागले ठूला राजश्व छली गर्ने कम्पनी माथि अनुसन्धान गरी मुद्दा दायर गरिरहेको छ ।
विगतमा भन्सार ऐन अनुसार अनुसन्धान हुनेमा अहिले राजश्व अनुसन्धान नियन्त्रण ऐन अनुसार अनुसन्धान र कारबाही हुन थालेकाले प्रभावकारी हुन थालेको बताइएको छ । कर्मचारी विरुद्ध नै मुद्दा दायर हुन थालेपछि भन्सारमा हुने सेटिङ अब विस्तारै न्युन हुने संकेत छ । नेपालगन्ज भन्सार कार्यालय अहिलेका प्रमुख उमेश श्रेष्ठले तत्कालिन भन्सार प्रमुख सहित ३ जना कर्मचारी विभागमै रहेको र तीन जना नेपालगन्ज भन्सारमा नै कार्यरत रहेको बताएका छन् । ‘मुद्दा दायर भएको सन्दर्भमा हामीलाई पनि सूचना प्राप्त भएको छ’, दैनिक नेपालगन्ज संग कुरा गर्दै प्रमुख श्रेष्ठले भने, ‘कानून बमोजिम प्रक्रियामा सहभागी हुनुको विकल्प छैन ।’