९ स्थानमा सेटिङ, फन्दामा कुखुरा तस्कर,

कुखुरा तस्कर विरुद्ध प्रदेश प्रहरीको अप्रेशन, विभिन्न नाकामा चेकजाँच तीब्र

रुपईडिहाबाट नेपालगन्ज तर्फ कुनै सामाग्री ल्याउँदा एउटै ब्यक्ति ७ फरक–फरक तरिकाले चेकजाँचको सामना गर्नु पर्छ । जमुनाहा नाका प्रवेश गरेपछि नेपाल प्रहरी, भन्सार सुरक्षा गुल्म सशस्त्र प्रहरी, नेपालगन्ज भन्सारका कर्मचारीले चेकजाँच अघि बढाउँछन् । त्यहाँबाट अघि बढेपछि भन्सार अगाडी नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीले चेकजाँच गर्छन् ।

 
भन्सारबाट अघि बढेपछि जयसपुर प्रहरी चौकीले विधिवत चेकजाँच गरि छाडेपछि चौलिक्का चोकमा रहेको सशस्त्र प्रहरीले चेकजाँच अघि बढाउँछ । अर्थात नेपालगन्ज कुनै सामाग्री ल्याउनु पर्यो भने चेकजाँचमा कुनै त्रुटि हुन सक्ने सम्भावना देखिँदैन ।

 

 
सामाग्री यदि पंक्षी, पशु वा सोही बमोजिम माछा मासुजन्य रहेछ भने पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जको भन्सार अघि स्थापित शाखाका कर्मचारीले पनि चेकजाँच गर्छन् । यसरी कुखुरा नेपालगन्ज भित्र्याउनका लागि कम्तिमा ९ स्थानमा चेकजाँच गराउनु पर्छ ।

 
स्वाइन फ्लु (एच वन एन वन) र बर्डफ्लुको संक्रमणको आशंका आधारमा सरकारले भारतीय क्षेत्रबाट पंक्षी र पंक्षीजन्य सामाग्री नेपाल ल्याउन प्रतिबन्ध लगाएको छ । सिमा क्षेत्रमा आवागमन गर्ने ब्यक्तिहरुको स्वास्थ्य अवस्था बारे जाँच थालेको सरकारले जाँच शिविर त हटायो, तर कुखुराको प्रतिबन्ध हटाएन ।

 

 
उक्त प्रतिबन्धको बहानालाई प्रहरीले अहिले नगद गर्दै आएको छ । भारतीय क्षेत्रमा ९० रुपैया भारु प्रतिकेजीको कुखुरा नेपालगन्जमा ४ सय रुपैयाँ प्रति केजी बिक्री हुने गरेको छ । प्रतिकुखुरा करिब २५० रुपैयाँ नाफामा भइरहेको कारोबारमा तस्कर, ब्यवसायी, क्वारेन्टाइन कर्मचारी, र प्रहरी पोषित भइरहेका छन् ।

 

 
नेपालगन्ज क्षेत्रमा दैनिक हुने मासु खपतको यकिन तथ्याँक फेला नपरेपनि अनुमानित ५ हजार बढि कुखुरा विभिन्न नाका हुँदै नेपालगन्ज भित्रिँदै आएको छ । भारतबाट राप्तीपारि, होलिया, बेलहरी र खजुरा क्षेत्र हुँदै भित्रिएको कुखुरा नेपालगन्जमा बिक्री हुने गरेको पाइएको छ ।

 

 
रुपइडिहा नेपालगन्जको मुख्य बाटो भएर ९ स्थानको चेकजाँचलाई छल्दै कुखुरा नेपालगन्जमा पुग्छन् । प्रहरी, भन्सार कर्मचारी र क्वारेन्टाइन कर्मचारीको मिलोमतोमा भइरहेको कारोबारलाई प्रदेश प्रहरीले पछिल्लो दुई पटक धरासयी बनाउने प्रयास गरेको छ । ५ नं. प्रदेश प्रहरी कार्यालय दाङबाट प्रहरी निरीक्षक देवी प्रसाद पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले मंगलवार नेपाल विद्युत प्राधिकरण नेपालगन्ज क्षेत्रबाट ३२० वटा कुखुरा बरामद गरेर सिमा क्षेत्रमा भइरहेको सेटिङको पर्दाफास गरेको छ ।

 

 
‘साइकलमा ल्याएको ३२० वटा बोइलर कुखुरा बरामद गरि ९ वटा साइकल र ५ जना तस्करलाई कारवाही अघि बढाइएको छ,’ प्रहरी निरीक्षक पौडेलले दैनिक नेपालगन्ज संग भने, ‘अहिले सम्मकै यो ठूलो परिमाण हो ।’ पक्राउ परेका तस्कर र बरामद भएको कुखुरा आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन नेपालगन्जमा बुझाइएको उनले बताए ।
पशु क्वारेन्टाइन कार्यालयले जनही १० हजार रुपैयाँका दरले ५० हजार रुपैयाँ जरिवाना असूल गरेको छ । बरामद भएको सबै कुखुरा नष्ट गरिएको पौडेलले जानकारी दिए । ‘एक साता अघि भएको कारबाही पछि शुन्य भएझैं लागेको तस्करी फरक बाटो भएर हुने गरेको सूचनाको आधारमा कारवाही गर्दा सफलता हात लागेको हो’, दैनिक नेपालगन्ज संग कुरा गर्दै प्रहरी निरीक्षक पौडेलले भने, ‘साईंगाउँ क्षेत्रबाट अधिकतम् कुखुरा भित्रिने गरेको सूचनाको आधारमा कारवाही भएको हो ।’
मोटरसाइकल सहित दुई पक्राउ
चोरी गरेर लैजाँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो
मोटरसाइकल चोरी गरि लैजाँदै गरेको अवस्थामा २ जना चोरलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
नेपालगन्ज वडा नं.२ स्थित थापा होटलको अगाडिबाट सुर्खेत विरेन्द्रनगर ९ बस्ने दुर्ग बहादुर खत्रीको भे.७ प.९७७७ नं. मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न नेपालगन्ज १ बस्ने विश्वबन्धु थापा र सुब्दर चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

 

 
‘चोरी गरि कपडाले छोपी डोर्याएर लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको हो’, प्रहरी सहायक निरीक्षक बसन्त केसीले बताए । पक्राउ परेको अभियुक्त र बरामद भएको मोटरसाइकल बारे अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया