भारतीय पूर्व राष्ट्रपति एपीजे अब्दुल कलामले कतै भनेका छन्, ‘सफलताका कथाहरु नपढ, तिनीहरुमा एउटा सन्देश मात्र हुन्छ । असफलताका कथाहरु पढ, तिमीले सफल हुने सुत्र फेला पार्नेछौ ।’ युवा उद्यमी देवानन्द अर्यालसँग पनि प्रारम्भिक यात्रा नियाल्दा असफलताका चाङ मात्र थुप्रिएका छन्, यिनका संघर्षका दर्दनाक कथा पढ्न लायक छन्, सिक्न लायक छन् । यिनलाई पढ्दा कलामले भनेझैं सन्देश हैन, सफल हुने सुत्र अवश्य फेला पर्छ ।
देवानन्द सफल हुनुका पछाडि तीन कारण छन् । पहिलो नेपाली माटोको सुगन्ध, दोस्रो कोरियाली श्रम बजार र तेस्रो फस्टाउँदो बैंकिङ कल्चर । यो भन्दा पनि बढ्ता अस्त्र हो, आत्मविश्वास, मेहनत, लगनशीलता, जवावदेहिता र सँगसँगै अध्ययन अनुसन्धान ।
नेपाली माटोले सपना देख्न सिकायो, कोरियाले आशा जगायो । बैंकले सफलताको खुडकिला चढायो । सगरमाथा चढ्न जति कठिन छ, त्यहाँ टिक्न झन् कठिन । यो देवानन्दले राम्रोसँग बुझेका छन् । सगरमाथाको चुचुरोमा टिकिरहन असम्भवप्राय छ, व्यवसायको शिखरमा टिक्न सम्भव छ, टिक्न सकिन्छ, टिक्नुपर्छ । अन्यथा असफलताको धब्बा लागिरहन्छ । त्यसका लागि मेहनत, कामप्रति इमान्दारिता र जवावदेहिता जरुरी छ । त्यसका साथै प्रविधि र आधुनिक सभ्यतासँग अपडेट भइरहनुपर्ने अर्को अत्यावश्यक पक्ष पनि छ । ‘कामसँग प्रेम गर, कम्पनीसँग हैन’ भन्ने कलामको भनाइलाई सायद देवानन्दले राम्ररी अनुशरण गरेका छन् । र, त उनी आफैं २४ घण्टा होटल परिसरमै खटिएका भेटिन्छन् । लो प्रोफाइलमा बस्न रुचाउने देवानन्द सुचना र ज्ञानका भण्डार झैं लाग्छन् ।
दैनिक नेपालगन्जको महानगर यात्रामा सारथी खोज्नेक्रममा हामी नेपालकै छैठौं पुरानो सहर नेपालगन्जदेखि १६ किलोमिटर उत्तरको उदाउँदो सहर कोहलपुरमा अवस्थित पृथक ढाँचाको निकै आकर्षक चार तारे होटल सेन्ट्रल प्लाजा पुगेका थियौं । जहाँ यसै होटलका सञ्चालक देवानन्द आफ्नो व्यस्त समयलाई थाँती राखेर हाम्रो पर्खाइमा थिए । उनले मृदुमुस्कानका साथ हामीलाई स्वागत गरे । सञ्चालक यसअर्थमा कि देवानन्दकै भनाइमा यो होटल बैंकसँगको साझेदारीमा निर्माण तथा सञ्चालन सम्भव भएको हो । उनी ३५ प्रतिशतका शेयर होल्डर मात्र हुन् यतिबेलासम्म । उनी स्वयं भन्छन्, ‘६५ प्रतिशत लगानी त बैंककै हो ।’ तसर्थ उनी आफुलाई मालिक नभइ सञ्चालक भन्न रुचाउँछन् । बैंकले परियोजना (प्रोजक्ट बेस)मा आधारित लगानी गरेको सम्भवतः यो नै यस क्षेत्रको ठुलो परियोजना हो । अर्थात् होटल सेन्ट्रल प्लाजा । ‘हामीसँग धितोका रुपमा जमिन मात्र थियो र केही थोरै बिउँ पुजी थियो । हामीले विस्तृत परियोजना बनाएर बैंकमा पेश गर्यौं ।’ होटल सेन्ट्रल प्लाजाका प्रबन्ध निर्देशक देवानन्दले मिठो कफी पिइरहेका हामीलाई सुनाए –‘होटल चलाउन सक्ने केही तथ्यगत र तर्कसंगत आधारहरुमा उहाँहरु(बैंक) सहमत हुनुभयो, अनि कर्जा स्वीकृत भयो ।’
निश्चित उद्देश्य र गन्तव्य पहिचानका साथ सुरु गरिने उद्यम तथा व्यवसायका लागि बैंकहरु बरदान सावित हुने उनको बुझाइ छ । ‘कतिपय धन हुनेसँग सीप, दक्षता र क्षमता छैन । अर्कोतर्फ सीप, दक्षता र क्षमता हुनेसँग धन छैन ।’ उनी भन्छन् –‘बैंकले त्यो दुईलाई जोडिदिने काम गर्छ, त्यसैले बैंक ती दुई बीचको पुल हो ।’ साथै बैंक खास व्यवसायीका लागि असल साथी हो । होटल सञ्चालनका तिथिसम्म करिब साढे ५१ करोड रुपैयाँ लगानी भइसकेको छ । जसमा ६५ प्रतिशतको हिस्सेदार बैंक छ । यसहिसाबले होटललाई आफ्नो पूर्ण स्वामित्वमा ल्याउन उनलाई धेरै मेहनत गर्नुपर्नेछ अबका केही बर्ष । यसका लागि उनी मानसिक रुपमा तयार भइसकेका पनि छन् । बाटो पहिल्याइसकेका छन् ।
‘सपना त्यो हैन, जो तपाई निदमा देख्नुहुन्छ । सपना त त्यो हो, जसले तपाईंलाई सुत्न दिंदैन ।’ भारतीय विद्धान कलामको यस भनाइलाई उनले राम्रोसँग आत्मसात गरेका छन्, र अहोरात्र खटिएका छन् । उनको सुत्र नै हो –‘फिल द डिफरेन्स ।’ अर्थात फरक महसुस गर्नुस । वास्तवमा जोकोहीले बेग्लै महसुस हुने शानदार होटल बनाएका छन् उनले । होटल भवनको बनोट ढाँचा र शान्त वातावरण हेर्दा त्यो महसुस जोकोहीलाई हुन्छ ।
व्यवसायमा उनको अर्को बिशेषता पनि छ ‘न उनी अरुबाट कामदार चोर्छन्, न चोरिने माहोल दिन्छन् ।’ उनी भन्छन्, ‘मेशिन बिग्रियो भने मर्मत गर्न सकिन्छ, मानिस बिग्रियो भने मर्मत गर्न गारो छ । तसर्थ समयमै उसलाई दक्ष र ज्ञानी मानिसका रुपमा तयार गर्नुपर्दछ । बिग्रन दिनु नै हुँदैन ।’ हरेक कामदारलाई जागिरे भन्दा पनि जिम्मेवार नागरिक बनाउनेतर्फ उनको सधैं प्रयास रहन्छ । देश विकासका लागि प्राविधिक जनशक्ति मात्र हैन असल मानिस जन्माउनुपर्ने उनको धारणा छ । असल मानिस समाज र देशप्रति जवाफदेही, कर्तव्यनिष्ठ र बफादार रहन्छ । हरेक कामप्रति इमान्दार रहन्छ । सायद यो उनको आफ्नै पनि भोगाइ हो । जीवनमा धेरै हण्डर खाएर मात्र उनले यो तहको यात्रा तय गरेका हुन् । कहिले चितवन त कहिले कोहलपुर गरे एक समय । पुख्र्यौली घर चितवनबाट बसाइसराइ गरेर कोहलपुर आएका थिए २०४० सालमा परिवारका साथ । कोहलपुरमा पाइला टेकेको केही बर्षमा बुवाको ट्रक व्यवसाय सुरु भइसकेको थियो । उनी उच्च शिक्षाका क्रममा फेरि मामाघर चितवन फर्किए । प्रविणता तह उत्तीर्ण गरेपछि स्नातक भर्ना भए । यतिबेला उनी १८ बर्षका थिए । घरको जेठो सन्तान हुनुका कारण उनीमाथि केही पारिवारिक जिम्मेवारी चाँडै थपियो । २०४६ को राजनैतिक व्यवस्था परिवर्तनसँगै बढेको बुवाको राजनैतिक कार्यव्यस्तताका कारण ट्रक व्यवसायलाई आफैं हेर्नुपर्ने स्थिति आयो । उनी आफैं ट्रक ड्राइभर बने १७ बर्षकै उमेरमा । ट्रकको स्टेरिङ समातेपछि बिभिन्न मोड र घुम्तीहरुमा पुगे । गाउँ बस्ती चहारे । फरक स्वभावका मानिसहरुसँग भेटे । धेरै सिक्ने अवसर पाए । ट्रक, बस, जिप यी सबैको अनुभव बटुले । यद्यपी सोचेजस्तो भएन । एकपछि अर्को प्रयत्न गरिरहे ।
अन्ततः कोरिया गएर धेरै पैसा कमाउने र नेपालमा आएर केही गर्ने भन्ने हुटहुटीले मनमा डेरा जमायो । बिश्व श्रम बजारमै आकर्षक मानिने कोरिया जान त्यतिबेला त्यति सहज थिएन । राजनीतिक पृष्ठभुमिका बुवाको पहुँच र सम्बन्ध काम लाग्यो । उनी कोरियाको माटोमा पाइला टेक्न सफल भए २०५८ सालमा । राजा वीरेन्द्रको वंशनाश भएकै भोलिपल्ट उनी कोरिया उडेका थिए । करिब सात बर्ष श्रम बजारको निकै आकर्षक मानिएको कोरिया बसे । कोरियामा पनि निकै इमानदारिताका साथ काम गरे । केही पैसा जम्मा गर्न सके, धेरै अनुभव बटुल्न सफल भए । कामप्रतिको निष्ठा र समर्पणसम्बन्धि ज्ञान हासिल गरे । सफल व्यवसायी बन्ने सुत्र फेला पारे । नेपालमा माओवादी द्वन्द्व चर्किएको थियो । कुनै व्यापार व्यवसाय थाल्ने वातावरण थिएन । उनी थप समय कोरियामै रमाए । शान्ति वार्ता सफल भएपश्चात उनको मन कोरिया अडिएन । अचानक शान्ति सम्झौता हुने भयो । यही खबरले उनलाई देश फर्कने बनायो । शान्ति सम्झौता हुने खबरले मलाई स्वदेश फर्कने आशा दिलायो । त्यसले ५० प्रतिशत तनाव कम गरायो । तत्काल फिर्ता हुने निर्णय लिए । कोरिया गएको दुई बर्षमा बैंकको साढे पाँच लाख ऋण तिरिसकेका थिए । २५ हजार तलब हुँदा उक्त ऋण तिरेपछि उनलाई एउटा अकौ युद्ध जितेको अनुभुति भएको थियो । ऋणमुक्त हुँदा स्वतन्त्र महसुस गरेको उनको भनाइ छ । कमाउनु भन्दा व्यवस्थापन ठुलो कुरा हो भन्ने उनले त्यहीं सिके । त्यतिबेला बुवाआमाले कोहलपुरमा साढे सात लाखमा किनिदिएको जग्गा उनी नेपाल आउँदा साढे तीन करोडमा बिक्री भयो । यसले उनलाई आफैं व्यवासाय थाल्ने उर्जा प्रदान गर्यो । उनको काम गर्ने एउटै सिद्धान्त छ–‘राम्रो काम गर्ने, बफादार भएर काम गर्ने र कर्तव्य पुरा गर्ने ।’
२०६५ मा कोरियाबाट फर्किएपछि २०६६ सालमा उनले पुरानो सेन्ट्रल प्लाजाको भवन निर्माण सुरु गरेका थिए । ६ कोठाबाट सुरु गरेका होटलमा तत्काल १० कोठा थपेर १६ पुराए । दुई बर्ष राम्रो नचलेको होटल तेस्रो बर्षदेखि बिस्तारै उकालो लाग्न थाल्यो । उनलाई होटल चलाउने हुटहुटी जागिसकेको थियो । दुई साता छिमेकी चिनिया शहर अवलोकन भ्रमण गरे । फर्केलगत्तै सात कोठा थपे । २३ कोठा पुराएपछि होटल राम्रोसँग चल्न थाल्यो । अब उक्त चापलाई मध्यनजर गर्दै ४० कोठाको नयाँ होटल खोल्ने तयारीमा जुटे । कन्सल्टेन्सीले सुझाव दिए ४० कोठा र ७० कोठाको होटल चलाउनु खर्चका हिसाबले उस्तै हो । र, निर्णयमा पुगे ८० कोठाको होटल बनाउने ।
तर निर्माणका क्रममा एक सय कोठा क्षमताको होटल तयार भयो होटल न्यु सेन्ट्रल प्लाजा । होटल सेन्ट्रल प्लाजा आज जिल्लाकै शान बनेको छ । यसको श्रेय उनी बैंकलाई दिन्छन् । ‘बैंक नहुँदो हो त मेरो सपना पुरा हुने थिएन ।’ उनी भन्छन्–‘बैंक साथी हो, उसले सघाउने हो । काम त व्यवसायी आफैंले नै गर्ने हो ।’
व्यवसायीकरणको सुरुवात बैंकहरुले नै गरेको उनी बताउँछन् । आर्थिक क्रान्ति नै बैंकहरुले ल्याएको उनको बुझाइ छ । यद्यपी कोइ पनि उद्यमीले समयको मागअनुसार मात्र बैंकसमक्ष कर्जाका लागि प्रस्ताव गर्नुपर्ने उनको धारणा छ । धेरै मानिस बैंकले डुबाएको आक्षेप लगाउँछन् । तर देवानन्द यो मान्न तयार छैनन् । ‘अध्ययन अनुसन्धान र बिश्लेषण नगरी सुरु गरिएको व्यवसाय मात्र धरापमा पर्ने खतरा सधैं रहन्छ, त्यसमा बैंकको दोष हैन ।’ उनी सुझाउँछन् –‘जुन उद्देश्यका लागि ऋण लिइएको हो, त्यसमै लगानी गर्दा डुब्ने खतरा रहँदैन ।’
पछिल्लो समय नेपालमा बैंकिङ प्रणाली सुधार हुँदै गएको हुँदा थप आशा गर्ने ठाउँ रहेको उनको भनाइ छ । एक समय थियो लाहुरे संस्कृतिले नेपालको अर्थतन्त्रमा टेवा पुराएको थियो । अहिले रेमिटान्सले धानेको छ । अब कृषिमा लगानी गर्नैपर्नेछ । उनी पनि यसमा सहमत छ । नेपालको जस्तो प्राकृतिक सौन्दर्यता संसारमा अन्त कतै छैन । कृषि उत्पादनसँगै यहाँको प्रकृतिसँग रमाउन आउने विदेशीहरुलाई लक्षित गरिएका पर्यटन व्यवसायले पनि देशको अर्थतन्त्रमा ठुलो टेवा पुराउने हुँदा राज्यको प्राथमिकता यस बिषयमा हुनुपर्ने देवानन्दको जोड छ । साथैं खाडीको तातोमा १८ घण्टा काम गरी ६ घण्टा सुत्ने नेपाली युवालाई यहाँ पनि सोहीबमोजिम काम गर्ने वातावरण अब सरकारले तयार गर्नुपर्ने उनको सुझाव छ ।
‘कृषि कर्जा तीन प्रतिशत व्याजमा दिनुपर्छ, अन्य व्यवसायमा सात प्रतिशत भन्दा बढ्ता हुनुहुँदैन ।’ उनी भन्छन्, ‘कार्यान्वयन तहलाई कडाइ गरिनुपर्छ, त्यसपछि साँच्चिकै नेपाल बनेको देखिनेछ ।’ देशमा साँच्चिकै आर्थिक क्रान्ति गर्ने हो भने सरकारले भौतिक पूर्वाधारमा बिशेष जोड दिनुपर्नेछ । साथैं असल व्यवसायीलाई पुरस्कृत गर्ने संस्कारको पनि थालनी गर्नुपर्नेछ । ‘राज्यले एक अर्बको लगानीमा सडक निर्माण गरिदिंदा उक्त बीस अर्बको लगानीमा उद्योग धन्दा सञ्चालन भएका छन्,’ उनी भन्छन्, ‘रोजगारी सिर्जना गरेको र कर बुझाएको आधारमा व्यवसायीलाई पुरस्कृत गर्ने संस्कार सुरु गर्नुपर्छ । किनकी व्यवसायीको सामाजिक योगदान र आर्थिक योगदानका बारेमा आम नागरिक जानकार हुन पाउनुपर्छ । सबैलाई एउटै डालोमा हालेर हेर्नुहुँदैन ।’
भारतीय पूर्व राष्ट्रपति कलामको भनाइ छ–‘आत्मबिश्वास र कडा मेहनत नै असफलता नामक रोग निमिट्यान्न पार्नका लागि सबैभन्दा राम्रो औषधी हो । यसले तपाईंलाई एक सफल व्यक्ति बनाइदिन्छ ।’ वास्तवमा त्यही आत्मविश्वास र कडा मेहनतले देवानन्दलाई आम नेपाली युवामाझ अपवाद सफल युवा व्यवसायीका रुपमा स्थापित गराइदिएको छ, उनलाई सपनाको महल यथार्थमा चढाइदिएको छ । अर्थात छोटो समयमै सफल पर्यटन व्यवसायीको परिचय दिलाएको छ ।