सहरमा थुप्रिएको फोहोर नेपालगन्ज एयरपोर्टको मुख्य प्रवेश द्वारमा फालिएको छ
नेपालगन्जमा एयरपोर्टको मुख्य प्रवेशद्वारमा नै नेपालगन्ज उपमहानगरपालिकाले फोहोर फालेपछि त्यसको चौतर्फी आलोचना सुरु भएको छ । नेपालगन्जमा एयरपोर्टको मुख्य प्रवेश द्वार राँझा चोक भन्दा केही मिटर पहिला सडकको पश्चिम छेउमा नेपालगन्ज उपमहानगरपालिकाले फोहोर फालेपछि नेपालगन्ज आवागमन गर्नेहरुले त्यसको आलोचना थालेका छन् ।
हवाई मार्ग भएर नेपालगन्ज प्रवेश गर्ने जो सुकैलाई लाग्न सक्छ नेपालगन्ज फोहोरीहरुको सहर हो । नेपालगन्ज उपमहानगरपालिकाले गरेको हर्कतको असर अचेल सामाजिक सञ्जालमा त्यसै किसिमले पाइएको छ ।
नेपालगन्जबाट अन्य क्षेत्रमा आवागमन गर्नका लागि रहेको मुख्य मार्ग छेउमा फोहोर फालिएपछि नाक थुनेर आवागमन गर्नु पर्ने बाध्यता रहेको यात्रीहरुले बताएका छन् । राँझा चोक भन्दा केही पहिला नै बायाँतर्फ फालिएको फोहोरले स्थानीय बासिन्दालाई सास्ती भएपछि गुनासो बढेको हो ।
‘नेपालगन्ज प्रवेशको मुख्यद्वारमा नै दुर्गन्ध आउने किसिमले काम भएको छ’, स्थानीय बासिन्दा सरोज शर्माले भने, ‘नेपालगन्ज उपमहानगरपालिकाले एयरपोर्ट क्षेत्रलाई डम्पिंग साईटको रुपमा प्रयोग गर्न थालेको छ ।’ ‘विदेश पाहुना आउँदा नेपालगन्जको बारेमा नकारात्मक धारणा बाहिर जाने अवस्था देखियो’, दैनिक नेपालगन्ज संग कुरा गर्दै स्थानीय बिक्रम बर्माले भने, ‘फोहोर यसरी मुख्य राजमार्ग र एयरपोर्ट छेउमा फालिएपछि दुर्गन्धले चुनौती भएको छ ।’
नेपालगन्ज क्षेत्रमा हरेक दिन ३५ टन बढी फोहोर उत्पादन हुन्छ । त्यसलाई ब्यवस्थित तरिकाले फाल्नका लागि हिरमिनियामा निर्माण भइरहेको ल्याण्डफिल साईटको काम अझै पूरा हुन सकेको छैन ।
‘नेपालगन्जमा फोहोर फाल्ने स्थानको निकै समस्या छ’, दैनिक नेपालगन्ज संग कुरा गर्दै नेपालगन्ज नगर प्रमुख डा.धवल समशेर राणाले भने, ‘फोहोरलाई पनि समुचित तरिकाले कसरी प्रयोग गर्ने भन्ने विषयमा विभिन्न अध्ययनको हिसाबले काम अघि बढेको हो ।’
‘नेपालगन्जको राँझा चोकमा अब्यवस्थित रुपमा रहेका ठेला र फुटपाथ पसलबाट आगन्तुकहरु माझ नकारात्मक अवस्था जाने हुँदा त्यसलाई समाधान गर्न खोजिएको छ’, प्रमुख राणाले भने, ‘सडक छेउमा फोहोरले पुरेपछि त्यहाँ भाडाको पसल संचालन गर्ने तयारी रहेको छ ।’ ‘फोहोरबाट खाल्डो पुर्ने र त्यसपछि माटो फिलिंग गरेर त्यहाँ संरचना निर्माणको तयारी छ’, मेयर राणाले भने, ‘फुटपाथमा देखिने पसलहरुलाई ब्यवस्थित रुपमा संचालन गर्नका लागि यो योजना अघि सरेको हो ।’
‘यो कुनै दुर्गन्ध फैलाउने काम होइन’, प्रमुख डा. राणा भन्छन्, ‘चोकमा देखिएको अब्यवस्थाले पर्यटक र आगन्तुकलाई नकारात्मक असर पारेको अवस्थालाई ध्यानाकर्षण गर्दै सो क्षेत्रमा पसल भवन निर्माणका तयारी थालिएको छ ।’ ‘केही समयका लागि देखिएको दुर्गन्धबाट आत्तिनु पर्ने अवस्था छैन’, डा. राणाले भने, ‘त्यसपछि चिटिक्क पसलहरु संचालन भएको अवस्थालाई अहिलेबाटै महसुस गरे हुन्छ । चाँडै सो क्षेत्रमा रहेका ठेला र अब्यवस्थित पसलहरु सुविधा सम्पन्न भवनबाट कारोबार गर्नेछन् ।’