जाँदाजाँदै एसपी तामाङले भने, बाँके सद्भावभित्र संवेदनशील

नेपालगन्जलाई सामाजिक सद्भावको उदाहरणीय सहरको रुपमा चर्चा गरिन्छ । बाँकेमा विविधतायुक्त जिल्ला हो । फरक धर्म समुदायका मानिसहरु यहाँ आपसी भाइचारामा मिलेर बसेको छ । जसलाई उदाहरणको रुपमा पनि प्रस्तुत गरिन्छ । तर, सद्भावको सहर र जिल्लाका रुपमा चर्चा गरिरहँदा संवेदनशील क्षेत्रका रुपमा पनि लिइन्छ । कारण हो, बेलाबखत हुने सामाजिक सद्भाव बगार्ने खालका घटना ।

 

 
जिल्लामा आउने सबै जसो प्रहरी प्रमुखहरु मिलेर बसेको समाज नबिथोलियोस् भनेर चनाखो रहन्छन् । प्रहरी प्रमुखहरु आउँदा होस् वा जाँदा प्राथमिकताका साथ चर्चा गर्ने विषय नै धार्मिक र सामुदायिक संवेदनशीलताको नै हुने गरेको छ । ‘विविधताका भएको कारण सामुदायिक र धार्मिक हिसाबले संवेदनशील जिल्ला हो’, बाँके प्रहरी प्रमुख टेक बहादुर तामाङले गतबर्ष साउन अन्तिम साता जिम्मेवारी सम्हाल्दै गर्दा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘मिलेर बसेको समुदाय हल्लाकै भरमा पनि विथोलिन सक्छ ।’

 

 
प्रहरी प्रमुख तामाङ काठमाडौं सरुवा भएका छन् । उनले जानु अघि बिहिबार पत्रकार सम्मेलन गर्दै भने, ‘मेरो कार्यकालमा धार्मिक, सामाजिक रुपमा कुनै अप्रिय घटना भएनन् ।’ साना–तिना विवाद समाधान भए । प्रहरी प्रमुख तामाङले गतबर्षको दशंै र मोहर्रम एकै दिन परेको संवेदनशील अवस्थालाई सम्झदै भने, ‘हिरमिनियामा भएको दुई समुदायको झडपलाई तत्कालै समाधान गरे, कुनै अप्रिय अवस्था आउनबाट जोगाउन सफल भयौं ।’ उनले मोहम्मद डे, फागु पूर्णिमा जस्ता पर्वमा सुरक्षा अवस्था चुस्त राखी सद्भाव बिगार्ने खालको कुनै घटना हुन नदिएको पत्रकार सम्मेलनमा बताए । प्रहरी प्रमुखले सामाजिक सद्भाव बिग्रन नदिनुलाई पनि कार्यसफलताको रुपमा लिने भएकाले पनि जिल्लाको संवेदनशील अवस्थालाई बुझ्न सकिन्छ । उनले प्रहरीकै पहलमा धार्मिक गुरु र संघ, संस्थाहरुको पहलमा हतियार प्रदर्शनमा रोक लगाउने निर्णय गरिएको जानकारी दिए ।

 

 
बाँकेमा आउनु अघि त्यसअघि प्रहरी प्रमुखसँग जिल्लाको अवस्था बुझेर आएको बताउने प्रहरी प्रमुख तामाङले अब आउने प्रहरी प्रमुखले पनि बाँकेको संवेदनशीलता बुझेर काम गर्नुपर्ने सुझाव दिन्छन् । ‘चाड पर्वमा कसैले अवाञ्छित गतिविधि गरिदिए त्यसले पुरै समुदायलाई भड्काउन सक्छ’, प्रहरी प्रमुख तामाङ भन्छन् । बाँकेमा विगतमा भएका घटनाहरुले प्रहरी प्रमुखले जिल्लालाई संवेदनशील रुपमा बुझ्ने गरेका हुन् । ‘सामाजिक सद्भाव भड्किएमा नियन्त्रण गर्न गाह्रो हुनसक्छ’, पत्रकार सम्मेलनमा तामाङले भने, ‘अप्रिय घटनाको कलंक प्रहरीले पनि बोक्नुपर्छ ।’ उनले आफ्नो कार्यकाललाई सन्तोषजनक रुपमा रहेको प्रतिक्रिया दिएका छन् ।

 

 
सद्भाव बिर्गन सक्ने जोखिमलाई नै मध्यनगर विभिन्न संस्थाहरुले सद्भाव कायम राख्न खालका गतिविधि गर्दै आएका छन् । जिल्लामा सामाजिक सद्भावकै लागि समिति पनि गठन भएको छ ।
‘कानुनले मात्रै लागुऔषध न्यूनीकरण हुँदैन’
समाचारदाता
दैनिक नेपालगन्ज
बाँके प्रहरी प्रमुख टेक बहादुर तामाङले बाँके लागुऔषध नियन्त्रण कानुनी कारवाहीले मात्रै सम्भव नहुने बताएका छन् । सरुवा भई जानु अघि बिहिबार पत्रकार सम्मेलन गर्दै प्रहरी प्रमुख तामाङले भने, ‘प्रहरीले लागुऔषधी नियन्त्रणमा लिने, नष्ट गर्ने र दोषीलाई कारवाही गर्ने हो, यसले मात्रै जिल्लामा लागु औषध नियन्त्रण हुने देखिंदैन ।’ भारतसँग सीमा जोडिएका कारण पनि बाँकेबाट अन्य जिल्लामा पनि लागुऔषधको कारोबार हुने गरेको छ । प्रहरीको तथ्यांक हेर्ने हो भने पनि लागुऔषधका घटनामा पक्राउ पर्नेहरुको तथ्यांक अरु भन्दा अत्याधिक हुने गरेको छ ।
प्रहरी प्रमुख तामाङकै कार्यकालमा मात्रै लागु औषध सम्बन्धी १ सय ४७ मुद्दा दर्ता भएका छन् । जसमा २ सय ४१ जनालाई कारवाही गरिएको प्रहरी प्रमुख तामाङले बताए । प्रहरीले उक्त अवधीमा ३ सय ७६ ग्राम ब्राउनसुगर, ८६ केजी चरेश, ७.३ केजी अफिम, ३ हजार ९ सय ११ ट्याब्लेट नाइट्रोजेपाम बरामद गरेको थियो । प्रहरीले रनियापुरमा ५ बिघा जमिनमा उम्रिएको गाँजाका बोट समेत नष्ट गरेको तामाङले जानकारी दिए ।
प्रहरी प्रमुख तामाङ लागु औषधलाई निमूल गर्न जनचेतना नै प्रभावकारी हुने धारणा राख्छन् । ‘थुुनेर कारवाही गर्दैमा मात्रै सम्भव हुँदैन’, उनी भन्छन्, ‘यसका लागि स्थानीय तह, नागरिक समाज र युवा पनि सचेत हुनुपर्छ ।’ प्रहरीले पनि जनचेतनामूलक कार्यक्रमहरु आयोजना गरिरहेपनि त्यो पर्याप्त नभएको उनको तामाङको भनाइ थियो ।
पत्रकार सम्मेलनमा प्रहरी प्रमुख तामाङले आफ्ना कार्यकालमा भएका प्रहरी गतिविधिको समेत जानकारी दिएका थिए । त्यसक्रममा उनले नगर सुरक्षाका लागि विभिन्न संघ, संस्थाको समन्वयमा नगरका १४ वटा चोकमा ५६ क्यामेरा जडान गरेको, ध्वनि प्रदुषण नियन्त्रणका लागि राती ११ बजेपछि धार्मिक तथा सांस्कृतिक कार्यक्रममा चर्को बाजा निषेध गरेको, १ सय ५० बढी अपराध विरुद्ध जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको बताएका थिए ।
तामाङको नेतृत्वमा रहेको बाँके प्रहरीले एक बर्षमा हातहतियारका १९ वटा मुद्दामा १७ हतियार बरामद र २७ जनालाई कानुनी कारवाही गरेको थियो । उक्त कारवाही अघिल्लो बर्षको तुलनामा ३ गुणा बढी रहेको प्रहरी प्रमुख तामाङले बताए । उनले ४ सय ६ जना महिला तथा बालबालिकालाई नेपाल, भारत सीमाबाट उद्दार गरेको, मानव बेचबिखन विपरुद्धका २५ वटा मुद्दामा ४२ जनालाई कारवाही गरिएको, जुवा तासका १९ वटा मुद्दामा ९२ जनालाई कारवाही गरिएको जानकारी दिए ।
गत फागुनमा उद्योगी, व्यवसायीलाई धम्क्याएर रकम असुल गर्ने ८ जनालाई हतियार सहित पक्राउ गरी कारवाही गरेपछि उद्योगी, व्यवसायीलाई राहत भएको प्रहरी प्रमुखले तामाङले बताए । १६ जना फरार अपराधीलाई खोजी गरी अदालतमा पेश गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया