विहे गर्ने बहानामा युवतीलाई भारतीय क्षेत्रमा लैजाँदै गर्दा मानव तस्करको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो
विहे गर्ने बहाना भारत तिर लैजाँदै गरेको अवस्थामा चेकजाँचका क्रममा एक युवती सहित २ जना महिला तस्करलाई रुपईडिहा एसएसबीले पक्राउ गरेको छ । बुधवार साँझ लगभग ४ बजेको समयमा एसएसबी रूपईडीहाले विशेष सूचनाको आधारमा सोधपूछ गर्दा एक युवती सहित २ जना नेपाली युवकलाई पक्राउ गरेको हो । रूपईडीहा बीओपीका इन्चार्ज जगजीत सिंह जगुवारका अनुसार सुराकीको सूचनाको आधारमा चेकजाँच गर्दा प्रष्ट जवाफ नपाइएकोले पक्राउ गरिएको हो ।
‘बाबागन्जबाट पक्राउ परेका युवकहरु युवतीलाई झुक्याएर दिल्ली लैजान लागेको पाइएको छ’, दैनिक नेपालगन्ज संग कुरा गर्दै इन्चार्ज जगुवारले भने, ‘सूचना प्राप्त भएपछि इन्सपेक्टर संतोष कुमार, महिला एसआई संगीता, जवान लाल बहादुर वर्मा, पवन कुमार यादव, पिंकी देवी सहितको टोलीलाई खटाइएको थियो ।’
बाबागन्जमा पुगेर उनीहरु संग सोधपूछ गर्दा फरक फरक कुराकानी आएपछि मिलोमतोमा महिलाको तस्करी गर्न लागिएकोले कारवाही अघि बढाइएको जगुवारले बताए । ‘बाबागन्जबाट पक्राउ गरि रुपईडिहा कैम्प ल्याइएका तीनै जना संग फरक फरक सोधपूछ गर्दा विवरणहरु संदिग्ध पाइयो’, उनले भने, ‘महिला तस्करी गर्ने गिरोहमा युवाहरु संलग्न हुन सक्ने आशंका पक्राउ गरिएको छ ।’ फन्दामा परेका युवक शेलटेन जैसी र मुकुल लखेर नेपालगन्जकै बासिन्दा रहेको खुलेको छ । नेपालगन्जकै बासिन्दा युवती समेत रहेको एसएसबीले जनाएको छ । विवाहित युवतीलाई विहे गरेको आधारमा दिल्ली तर्फ लैजाँदै गर्दा पक्राउ गरिएको हो ।
तलासी गर्दा दुबै युवकहरुबाट नागरिकता र विवाह दर्ता प्रमाण पत्र बरामद भएको एसएसबीले जनाएको छ । दुबै कागजातहरुको जाँच गर्दा नक्कली पाइएपछि कारवाही सुरु गरिएको एसएसबी भनाई छ । पक्राउ परेका दुई जना तस्कर सहित युवतीलाई पनि जमुनाहा प्रहरीको जिम्मा लगाइएको एसएसबीले जनाएको छ । सिमाक्षेत्रमा निगरानी बढाउँदै लगेको भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले हालै मात्र जोखिमपूर्ण रुपमा भारतका विभिन्न ठाउँमा लग्न थालिका १६ जना बालकको उद्दार गरेको थियो ।
त्यसक्रममा एसएसबीले ६ जनालाई मानव तस्करको आरोपमा पक्राउ गरेको थियो । १६ जना बालकलाई रोजगारीका लागि उत्तराखण्ड लगिरहेको दाबी गरेका तस्करलाई एसएसबीले आवश्यक कारवाहीका लागि बाँके प्रहरीको जिम्मा लगाएको थियो ।
यसअघिको सिमा सुरक्षा बैठकमा उठेका एजेण्डामा एसएसबीले काम गर्न सक्रियता देखाएको बताउँदै मानव तस्करी र लागुऔषध सिमाक्षेत्रको गम्भीर समस्या रहेको बताइएको छ । भारतीय बाटो हुँदै खाडी देशहरुमा पठाउने गिरोह सक्रिय रहेको बताउँदै एसएसबीले महिला र बालबालिका विरुद्ध चेकजाँच र निगरानी तिब्र बनाएको छ ।
यससंगै लागुऔषध विरुद्ध सक्रिय देखिएको एसएसबीले हालै ५० ग्राम ब्राउन सुगर सहित तस्करलाई फन्दामा लिएको हो । पछिल्लो समय बाँके जिल्लामा महिलामाथि हुने विभिन्न प्रकारका हिंसाहरुमा बृद्धि भएको छ । महिला विरुद्ध हुने हिंसा विरुद्ध बाँकेमा दिनदिनै बिभिन्न कार्यक्रमहरु भैरहेपनि हिंसाका घट्ना बढी रहेको पाइएको छ ।
महिलाहरुलाई शारीरिक यातना, मानसिक यातना, यौनजन्य यातना, आर्थिक यातना र अन्य विभिन्न यातना दिने कार्य पछिल्लो समयमा बाँकेमा बढेको हो । बाँकेमा महिला हिंसाका घटना डरलाग्दो रुपमा बढेको पछिलो तथ्यांङ्कले देखाउँदै आएको छ ।
खासगरि अवैध बाटो हुँदै खाडी देशमा बेचिने महिलाको संख्या भारतीय सरकारले गत वर्ष नै ८० हजार रहेको जानकारी दिएको छ । भारतीय बाटो हुँदै खाडीमा रोजगारीका लागि गएका महिलाहरुको तथ्यांकमा केन्द्र सरकारले ध्यानाकर्षण भएको जनाएपनि ती महिलाहरु फर्किएको सम्बन्धी विवरणहरु नरहेको बताइएको छ ।