नेपाल टेलिभिजन कोहलपुर केन्द्रमा प्रदेश सरकारका मन्त्रीको अनुगमन
नेपाल टेलिभिजन प्रादेशिक प्रसारण केन्द्र कोहलपुरमा प्रदेश सरकारले आफ्नो स्वामित्व खोज्न थालेको छ । प्रदेश नं.५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसी मंगलवार नेपाल टेलिभिजन प्रादेशिक प्रशारण केन्द्र कोहलपुरको अनुगमन गरि टेलिभिजनमा प्रदेश सरकारको स्वामित्व बारे टेलिभिजन अधिकारीहरुका संग कुराकानी गरेका छन् ।
नेपाल टेलिभिजनको प्रादेशिक प्रशारण केन्द्रमा प्रदेश सरकारको अधिकार क्षेत्र र औचित्य बारे छलफल गरिएको केन्द्र प्रमुख विजय बर्माले बताए । अहिलेसम्म केन्द्रीय नेतृत्वबाट संचालित रहेको क्षेत्रीय प्रशारणलाई प्रदेश सरकारले कसरी स्वामित्व र दायित्व बोध गर्ने बारे मन्त्री केसीले छलफल गरेको प्रमुख बर्माले जानकारी दिए ।
खासगरि संघीयता आएपछि प्रदेश सरकारको स्वामित्व टेलिभिजनको हकमा के हुने भन्ने सन्दर्भमा भएको छलफलमा अहिले सम्म केन्द्रीय रुपमा संचालन हुँदै आएको टेलिभिजनलाई प्रदेश सरकारले नेतृत्व गर्न खोजीरहेको छ ।
प्रदेश सभा तथा प्रदेश सरकारको गतिविधिहरुलाई टेलिभिजन मार्फत प्रशारणका लागि एक करोड रुपैया बजेट छुट्याइएको बताउँदे मन्त्री केसीले तत्काल सहकार्य गरी सो रकम सदुपयोग गर्न आग्रह गरे । अनुगमन तथा छलफल कार्यक्रममा प्रदेश सभा सांसद कृष्णा केसी, प्रदेश सचिव मानबहादुर बिक, कानून सचिव भरत रिसाल र बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल लगायत प्रदेश सरकारका अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो ।