बाँके राष्ट्रिय निकुन्ज र नेपालगन्ज उपमहानगरपालिका बीच विवाद, कर्मचारी माथि हातपात
नेपालगन्ज सहित बाँकेको विभिन्न ग्रामीण क्षेत्रमा देखिएको चौपाया समस्या समाधान गर्ने पहल सुरु भएकै बेला बाँके राष्ट्रिय निकुन्जले एक महिला सहित १३ जनालाई थुनामा राखेको छ । नेपालगन्ज स्थित फुल्ट्रेक्रा काँजी हाउसबाट ५ वटा ट्रकमा चौपाया जंगलमा छाड्न गएको टोलीलाई बाँके राष्ट्रिय निकुन्जले अभद्र ब्यवहार गर्दै रातभरि थुनामा राखेर पशु सहित ट्रक फिर्ता गरेको हो ।
नेपालगन्जमा छाडा चौपायाका कारण ट्राफिक अस्तव्यस्त हुनुका साथै दुर्घटनाको जोखिम बढ्दै गएपछि उपमहानगरपालिकाले पशु जंगलमा छाड्न लग्दै थियो । निकुञ्जले यसअघि पनि पशुलाई जंगलमा छाड्ने कार्यप्रति आपत्ति जनाउँदै त्यसो नगर्न ध्यानाकर्षण गराउँदै आएको थियो । पशु चौपायालाई जंगलमा छाड्ने अभियानमा यसअघिदेखि नै अवरोध गर्दै आएको बाँके राष्ट्रिय निकुन्ज यसपटक कारवाहीमै उत्रिएको हो ।
मंगलवार उपमहानगरपालिका कर्मचारी विरुद्ध स्थानीय युवाहरुले समेत अवरोध गर्दै हातपात समेत गरेको कर्मचारीहरुले जानकारी दिए । ‘गाली गलौज सहित अभद्र ब्यवहार भयो’, नेपालगन्ज उपमहानगरपालिका निरीक्षण शाखा इन्चार्ज पवन कनोजियाले भने, ‘निकुन्जले हाम्रा कर्मचारीलाई खाना र पानी समेत नदिएर रातभरी अँध्यारो कोठामा थुनामा राख्यो ।’
‘स्थानीयले चालक, सहचालक, उपमहानगरपालिकाका हवल्दार, प्रहरी जवान समेतलाई हातपात गरे’, दैनिक नेपालगन्जसँग कुरा गर्दै कनोजियाले भने, ‘उपमहानगरपालिकाको पत्र सहित रहेको ट्रक र कर्मचारीहरुलाई रातभरी अमानवीय तरिकाले थुनामा राखियो ।’ निकुन्जले उपमहानगरपालिकाको एक जना हवल्दार, २ जना प्रहरी, वडा प्रहरी कार्यालय नेपालगन्जको एक जना हवल्दारको, ५ जना ट्रक चालक, सहचालक र एक जना चालकको श्रीमती समेत गरि १३ जनालाई थुनामा राखेर बुधवार विहान छाडेको छ ।
निकुञ्जले भने कर्मचारीहरुमाथि कुनै किसिमको दुव्र्यवहार नभएको प्रतिक्रिया दिएको छ । ‘पशु, चौपायालाई बाँके निकुञ्ज क्षेत्रमा नछाडेर दाङ क्षेत्रमा छाड्ने सहमति भए अनुसार काम नगरेका कारण नियन्त्रणमा लिइएको हो’, बाँके राष्ट्रिय निकुन्जका संरक्षण अधिकृत लाल बहादुर भण्डारीले भने, ‘उनीहरुलाई ल्याएपछि सुरक्षाका साथ राखिएको हो, थुनिएको होइन ।’
नेपालगन्ज नजिकै हो ट्रक सहित फिर्ता गरिनु पर्नेमा किन राख्नु भो ? भन्ने प्रश्नमा संरक्षण अधिकृत भण्डारीले भने, ‘उनीहरुको बस्ने मनशाय थियो त्यही भएर यहाँ बसेका हुन्, थुनामा राखिएको होइन ।’ ‘यद्यपि थुन्न सक्ने खालको काम गरेका थिए’, उनले दैनिक नेपालगन्जसँग भने, ‘जंगलमा चौपाया नछाड्न यसअघि नै निर्देशन दिइएको थियो ।’
‘स्थानीय ब्यक्तिहरुले चौपाया नछाड्न अनुरोध गरिरहँदा उपमहानगरपालिका कर्मचारी सहितको टोलीले जबरजस्ती गर्न खोजेपछि स्थानीय ब्यक्तिहरुले केही अवरोध गरेको सूचनाको आधारमा हाम्रो टोली अगैया नजिक खैरी खोला पुगेर उनीहरुलाई नियन्त्रणमा लिएको हो’, संरक्षण अधिकृत भण्डारीले भने, ‘हामीले ल्याएपछि कुनै सरोकारवाला ब्यक्ति नआएका कारण विहान आएपछि छाडिएको हो ।’
५ वटा ट्रकमा १२५ बढी चौपाया रहेका ट्रक सहित निकुन्जले पशु चौपाया नेपालगन्ज फिर्ता पठाएको छ । ‘यसबारे उच्चस्तरीय ब्यवस्था गर्न आवश्यक देखिन्छ’, निकुञ्जका संरक्षण अधिकृत भण्डारीले भने, ‘एक स्थानको समस्या अर्को स्थानमा सारेर समाधान हुँदैन ।’
‘पशुको लागि ब्यवस्थित गोठ, गौशाला वा सोही अनुसार कुनै विकल्पमा उपमहानगरपालिकाले काम गर्न जरुरी छ’, भण्डारी भन्छन्, ‘सहरी चौपायाका कारण वन्यजन्तु प्रभावित हुने र विभिन्न रोगहरु सर्ने जोखिम भएकोले निकुन्जले यसअघि नै पत्राचार गरि निकुन्ज क्षेत्रमा चौपाया छाड्न निषेध गरिसकेको छ ।’ पछिल्लो १५ दिन भित्र ११ ट्रक चौपाया जंगलमा छाडिएको छ । ३ सय बढी गाई गोरुलाई जंगलमा छाडिएपनि सहरमा अझै धेरै चौपाया रहेको अनुमान छ । चौपायालाई काँजी हाउसमा राख्दा पनि कुनै ब्यक्ति सोधपुछ गर्न आउँदैनन् । मंगलबार फुल्टेक्रा काँजीहाउसबाट एकसय बढी चौपाया ५ ट्रक जंगल तर्फ लगिएको थियो । नेपालगन्ज क्षेत्र सहित गाउँमा पनि क्षति पुर्याउँदै आएकोले चौपाया नियन्त्रण अभियान सक्रिय बनाइएकै बेला निकुन्जले कर्मचारी थुनेको हो ।
भारत उत्तर प्रदेशबाट, महाराष्ट्र, पश्चिम बंगाल, दक्षिण भारत लगायत क्षेत्रमा मासुजन्य प्रयोजनका लागि गाई बिक्री कारोबार हुँदै आएकोमा २ वर्ष अघि उत्तर प्रदेश सरकारले अन्य प्रदेशमा गाई गोरु बिक्री गर्न प्रतिबन्ध लगाएपछि यत्रतत्र छाडिएका चौपाया नेपाल भित्रिँदै आएका छन् । गाउँ गाउँमा चौपायाबाट भएको क्षतिको अनुमान गर्न गार्हो छ । यसअघि हालै मात्र इन्द्रपुर गाउँमा मकै ध्वस्त बनाएका चौपायाले बसुदेवपुर, पुरैना, पुरैनी, बेतहनी, कम्दी, कोहलपुर, खजुरा सहित राप्तीपारि क्षेत्रमा समेत कृषिबाली क्षति पुर्याउँदै आएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँके, वडा प्रहरी कार्यालय नेपालगन्ज, जिल्ला ट्राफिक प्रहरी कार्यालय र नेपालगन्ज उपमहानगरपालिकाको संयुक्त प्रयासमा चौपाया नियन्त्रणको अभियान अघि सरेको हो । जंगलमा लगेर छाड्दा पनि चुनौती हुँदै आएको अभियानकर्ताहरुले बताएका छन् । चौपायालाई कुनै गाउँ नजिक स्थानीयहरुले छाड्नै दिँदैनन् । जंगलमा समेत निकुन्जले अवरोध उत्पन्न गरिरहेको छ । राजमार्ग क्षेत्रमा लगेर चौपाया छोडिंदा पूर्व–पश्चिम राजमार्गमा दुर्घटना समेत भैरहेको भन्दै ट्राफिक प्रहरीले यसअघि आपत्ति जनाएको थियो ।