दैनिक नेपालगन्ज/देबेन्द्र राज पौडेल
झण्डै डेढ दशक मुलुकको आर्थिक क्षेत्र आक्रान्त रह्यो । व्यवसाय सुरु गर्न नै १० पटक सोच्नु पर्ने अवस्था थियो । सशस्त्र द्वन्द्व, राजनीतिक आन्दोलन, बन्द, चन्दा आतंक, संक्रमणकाल जस्ता व्यवसायलाई नकारात्मक प्रभाव पार्ने गतिविधि चरममा हुँदा स्थापित उद्योग, व्यवसाय पनि धराशयी भएका थिए भने नयाँ लगानीका लागि पनि सहजै कोही तयार थिएनन् । समग्रमा व्यवसायिक क्षेत्रका लागि कहालीलाग्दो वातावरण बन्यो मुलुकमा डेढ दशक ।
तर, अहिले अवस्था फेरिएको छ । राजनीतिक स्थायित्वसँगै व्यवसायिक वातावरण बन्दै गएको सम्बद्ध क्षेत्रका अगुवाहरुले बताएका छन् । सशस्त्र द्वन्द्व र आन्दोलनले आक्रान्त आर्थिक क्षेत्र पछिल्ला बर्षमा स्थायित्व सँगै फष्टाउँदै गएको व्यवसायीहरु बताउँछन् । ‘बन्द, हड्ताल, चन्दा आतंक जस्तो गतिविधिबाट छुटकरा मिलेको छ’, व्यवसायीहरु भन्छन्, ‘संक्रमणकालमा ठप्प मुलुकको विकास सुरु भएसँगै नयाँ आर्थिक एकाइ खुल्ने क्रम जारी छ ।’ भएका उद्योग, कलकारखाना पनि फष्टाउँदै गैरहेका छन् ।
उद्योग, व्यवसाय क्षेत्र फष्टाउन शान्ति, राजनीतिक स्थायित्व र सरकारको सही नीति आवश्यक हुन्छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ भन्छन्, ‘हिजोका दिन फेरिएको छ’ । उनी व्यवसायिक कारोबार गर्न, उद्योग, व्यवसाय सञ्चालन गर्न अब कुनै समस्या नरहेको बताउँछन् । ‘अस्थिर अवस्थाले व्यवसाय सञ्चालन गर्न सकिएन भन्ने अवस्था अन्त्य भयो’, उनले भने ।
मुलुकमा तीन वटै सरकार गठन भएर समृद्धिको नारा सहित अगाडि बढेको छ । ‘सरकारले चाहेको समृद्धिका लागि आर्थिक क्षेत्र फष्टाउनु पर्छ’, महासंघका केन्द्रीय सदस्य श्रेष्ठ भन्छन्, ‘त्यसका लागि अहिले उत्साहपूर्ण वातावरण बनेको छ ।’
साना–देखि ठूला पूँजीका उद्योग, व्यवसाय बढिरहेको उल्लेख गर्दै केन्द्रीय सदस्य श्रेष्ठले भने, ‘दक्षता भएमा स–सानो व्यवसायबाट पनि आत्मनिर्भर बन्न अब समस्या छैन ।’ उनले स–साना उद्योग प्रवद्र्धन हुने किसिमको सरकारको नीति रहेकाले अवस्था सहज बनेको बताउँछन् । पछिल्ला दिन रोजगारीको सिर्जना र स्वरोजगार बन्न प्रेरित गर्ने वातावरण बन्दै गएको श्रेष्ठ बताउँछन् ।
बाँकेमा नौबस्तामा औद्योगिक क्षेत्र स्थापना भैरहेको उल्लेख गर्दै केन्द्रीय सदस्य श्रेष्ठले यसले उद्योग स्थापनाका लागि जग्गा अभाव हुने स्थितिको अन्त्य हुने बताए । ‘मध्यम र ठूलो दुवै उद्योगलाई औद्योगिक क्षेत्र स्थापनाले धेरै सहज हुनेछ’, उनले भने, ‘यसले बाँकेमा उद्योग क्षेत्रका लागि सम्झावना थपेको छ ।’
आन्तरिक राजश्व कार्यालय नेपालगन्ज प्रमुख कर अधिकृत जनकराज शर्मा पनि पछिल्ला बर्ष आर्थिक गतिविधि बढ्दै गएको बताउँछन् । उनी भन्छन्, ‘नयाँ आर्थिक इकाइ खुल्ने र करको दायरामा आउने क्रम जारी छ ।’ ‘व्यवसायिक वातावरण बन्दै गएको छ’, कर अधिकृत शर्मा भन्छन्, ‘यसले करको दायरामा आउने व्यवसायिक प्रतिष्ठानहरु पनि ह्वात्तै बढेको देखिन्छ ।’ उनले गत आ.व. २०७४÷०७५ आन्तरिक राजश्व कार्यालयमा अन्तर्गत १४ हजार ४ सय ९८ नयाँ व्यवसायी दर्ता भएको जानकारी दिंदै भने, ‘स्थायी सरकारसँगै कानुन पालनाको स्थिति, अनुमगन र आर्थिक इकाइ बढ्दै जाँदा करको दायरामा आउने संख्या पनि वृद्धि भैरहेको छ ।’
कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारी लगानीका लागि डरमान्नु पर्ने अवस्था नरहने पनि सरकारले साना जस्तै ठूलो उद्योग फष्टाउने नीति लिनु पर्ने धारणा राख्छन् । ‘निकासमूलक उद्योगहरु फष्टाउने खालको सरकारी नीति हुने हो भने यसले मुलुकलाई समृद्धि तर्फ लैजान थप बल पुग्छ’, उनी भन्छन्, ‘बाँकेमा औद्योगिक क्षेत्र स्थापनाको सरकारको निर्णयले उद्योगहरुमा उत्साह थपेको छ ।’
महासंघका केन्द्रीय सदस्य श्रेष्ठ अब तीन वटै तहको सरकार र निजी क्षेत्रले सहकार्य गरेर देशलाई अगाडि बढाउनु पर्ने धारणा राख्छन् । ‘देश बदल्ने समय यही हो’, उनी भन्छन्, ‘सरकार र निजी क्षेत्रको सहकार्यले समृद्धि हासिल गर्ने उपयुक्त अवसर छ अहिले ।’
१४ हजार बढी करदाता थपिए
करको दायरामा आएर व्यवसाय गर्ने करदाताहरुको संख्या ह्वात्तै बढेको छ । मुलुकमा शान्ति र स्थिरता आएसँगै नयाँ आर्थिक इकाइ खुल्ने र भएका व्यवसायिक प्रतिष्ठानहरुमा करको दायरामा आउने क्रम पछिल्ला बर्ष बढ्दै गएको देखिन्छ ।
आन्तरिक राजश्व कार्यालय नेपालगन्जका अनुसार आ.व. २०७४/७५ मात्रै १४ हजार ४ सय ९८ करदाता थपिएका छन् । जुन अघिल्लो आ.व. २०७३÷०७४ को तुलनामा २ हजार ७ सय ६२ ले बढी भएको प्रमुख कर अधिकृत जनकराज शर्माले जानकारी दिएका छन् । उनका अनुसार, आ.व. ०७३÷०७४ मा ११ हजार ७ सय २७ करको दायरामा आएका थिए । आन्तरिक राजश्व कार्यालयमा आ.व. २०७२÷०७३ मा ९ हजार ९ सय ८ करदाता दर्ता भएका थिए ।
१० जिल्ला कार्यक्षेत्र रहेको आन्तरिक राजश्व कार्यालयमा आ.व. २०७४÷७५ मा कुल करदाता दर्ता ९४ हजार ५ सय ६२ पुगको छ । जसमध्ये ८ हजार १ सय ९७ मुअकर र ९ हजार ६ सय ७८ अन्तशुल्क दर्ता रहेको छ । प्रभावकारी अनुगमन, बढ्दै गएको आर्थिक इकाइसँगै करमा आउने व्यवसायीहरु बढिरहेको प्रमुख कर अधिकृत शर्माले बताए । आन्तरिक राजश्व कार्यालय नेपालगन्जले चालु आ.व. २०७५÷०७६ का लागि ४ अर्ब ५७ करोड बढी राजश्व संकलनको लक्ष्य पाएको छ । कार्यालयले आ.व. ०७४÷०७५ मा ३ अर्ब ६७ करोड ३४ लाख ५७ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । ३ अर्ब ३२ करोड १० लाख ७७ हजार रुपैयाँ राजश्व संकलन लक्ष्य प्राप्त गरेको कार्यालयले लक्ष्यको १ सय १० प्रतिशत राजश्व संकलन गर्न सफल भएको थियो ।
यी व्यवसाय अब अनिवार्य मुअकरमा
यसैबीच, चालु आ.व.देखि विभिन्न व्यवसायिक कारोबारहरु अनिवार्य रुपमा मूल्यअभिवृद्धि करमा दर्ता हुनुपर्ने भएको छ । पहिले निश्चित सीमा भन्दा बढी कारोबार गर्ने व्यवसाय मात्रै मुअकर दर्ता हुनुपर्ने व्यवस्था भएपनि अबदेखि मुअकर दर्ता अनिवार्य गरिएको हो ।
आन्तरिक राजश्व कार्यालय नेपालगन्जका अनुसार, ईटा उत्पादन, मदिरा डिष्ट्रिव्युटर, वाइन सप, सफ्टवेयर, ट्रेकिङ, र्याफ्टिङ, अल्ट्रालाइट फ्लाइट, प्याराग्लाइडिङ, पर्यटक सवारी, क्रसर, वालुवा खानी, स्लेट र ढुंगा उद्योग सम्बन्धी व्यवसाय सञ्चालन गर्ने ब्यक्तीलाई अनिवार्य मुअकरमा दर्ता हुनुपर्ने व्यवस्था भएको हो ।
महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका वा विभागले तोकेको क्षेत्रभित्र हार्डवेयर, सेनिटरी, फर्निचर, फिक्स्चर, फर्निसिङ्ग, अटोमोवाइल्स, मोटर पार्ट्स, इलेक्ट्रोनिक्स, मार्बल, शैक्षिक परामर्श, डिस्को थेक, हेल्थ क्लब, मसाज थेरापी, ब्यूटीपार्लरले पनि चालु आवबाट मुअकरमा दर्ता गरेर कारोबार गर्नुपर्ने भएको छ ।
क्याटरिङ्ग सेवा, पार्टी प्यालेस व्यवसाय, पार्किङ सेवा, मेशिनरी उपकरण प्रयोग भएको ड्राईक्लिनर्स, बार सहितको रेष्टुरेण्ट, आइसक्रिम उद्योग, कलरल्याब, बुटिक, सुटिङ्ग सर्टिङ्गको सामान सहितको टेलरिङ्ग व्यवसाय, शिक्षण संस्था वा स्वास्थ्य संस्था वा अन्य निकायमा युनिफर्म आपूर्ति गर्ने ब्यक्तीलाई अनिवार्य मूल्य अभिवृद्धि करमा दर्ता गराउने व्यवस्था ऐनले गरेको प्रमुख कर अधिकृत शर्माले जानकारी दिए ।
वाणिज्यद्वारा २ करोड बढी राजश्व संकलन
वाणिज्य कार्यालय नेपालगन्जले आ.व. २०७४/०७५ मा २ करोड बढी राजश्व संकलन गरेको छ । कार्यालयले फर्म दर्ता, नविकरणबाट करोड २ लाख २६ हजार ५ सय ५० रुपैयाँ राजश्व संकलन गरेको कार्यालयका नायब सुब्बा तिर्थ बहादुर कठायतले जानकारी दिए ।
वाणिज्यले प्राइभेट फर्म, साझेदारी फर्म दर्ता, नविकरण, खारेजी तथा अनुगमनको काम गर्दै आइरहेको छ ।
नासु कठायतका अनुसार, वाणिज्य कार्यालयमा आ.व. २०७४÷०७५ मा १ हजार ५ सय २७ फर्म दर्ता, १ हजार ३ सय ५८ नविकरण र २ सय ९८ प्राइभेट फर्म खारेज भएका छन् । त्यस्तै १० साझेदारी फर्म दर्ता, ४४ नविकरण र ८ वटा फर्म खारेज भएको नासु कठायतले बताए ।
कार्यालयले आ.व. २०७४÷०७५ मा सुर्ती आयातका लागि ४ वटा फर्मलाई इजाजत दिएको छ । २० हजार ४ सय राजश्व असुली भएको कार्यालयले बताएको छ । वाणिज्य कार्यालयले आ.व. २०७४\०७५ मा ७१ पटक संयुक्त अनुगमन मार्फत १ हजार ३ सय ५९ वटा फर्मको अनुगमन गरेको नासु कठायतले जानकारी दिए ।