कुखुराको अवैध कारोबार, फन्दामा प्रहरी, प्रहरी सेटिङमा रुपैडिहा नाकाबाटै भित्रिन्छन् कुखुरा

भारतबाट कुखुरा भित्र्याउन प्रतिबन्ध रहेपनि प्रहरीकै मिलेमतोमा अवैध कारोबार हुँदै आएको खुलासा भएको छ । नेपालगन्जमा एक प्रहरी जवान कुखुरा अवैध रुपमा भित्र्याउन तस्करसँग सेटिङका लागि घुस रकम लिंदै गर्दा अख्तियारको फन्दामा परेपछि उक्त खुलासा भएको हो ।

 
कुखुरा तस्करसँग घुस लिँदै गर्दा बाँकेका एक प्रहरी जवानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुर कार्यालयको टोलीले नियन्त्रणमा लिएको छ । जयसपुरका एक कुखुरा तस्करसँग सेटिङ गरे वापत घुस रकम असूल गर्ने क्रममा अख्तियारले प्रहरी जवानलाई फन्दामा पारेको हो ।

 
अस्थायी प्रहरी पोष्ट बसपार्कमा कार्यरत प्रहरी जवान गोविन्द नेपालीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरको टोलीले १० हजार रुपैयाँ घूस रकम सहित पक्राउ गरेको हो । प्रहरी जवान नेपालीले भारतबाट घरायसी सामान ओसार पसार गर्न सजिलो बनाई दिने र कुखुरा तस्करीमा उच्च अधिकारीहरुसँग सेटिङ मिलाए वापत रकम असूल गर्दै आएका थिए ।

 
प्रहरी जवानले १० हजार रुपैयाँ घुस लिँदै गर्दा नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुर कार्यालयका सूचना अधिकारी निराजन शर्माले जानकारी दिए । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र नेपालगन्ज नजिकै रहेको एक कोठामा प्रहरी जवान नेपालीले घूस लेनदेन गरिरहेको सूचनाको आधारमा कारवाही गर्दा उनलाई फन्दामा पारिएको सूचना अधिकारी शर्माले बताए ।

 
विहान ५ देखि ७ बजेको समयमा रुपईडिहा नाका हुँदै पाँच स्थानको सुरक्षा चेकजाँच पछि नेपालगन्जमा भारतीय प्रतिबन्धित कुखुरा सप्लाई हुँदै आएको तस्करको भनाइ छ । ‘प्रहरीको योजना र सेटिङ विना एक दिन पनि कारोबार चल्न सक्दैन’, तस्करले भने, ‘हामीले एक स्थानमा मात्र रुपैयाँ बुझाउने गरेका छौं ।’ गणेशमान चोक स्थित प्रहरी कार्यालयका केही अधिकारीले रकम एकमुष्ट बुझ्दै आएको तस्करको दावी छ ।

 
भारतीय कुखुरामा वर्डफ्लु, एवन, एनवनको संक्रमण देखिएपछि पंक्षी र पंक्षीजन्य सामाग्री भित्र्याउनमा सरकारले प्रतिबन्ध लगाएको छ । सो प्रतिबन्धको फाइदा लिँदै प्रहरी र तस्करले आपसी मिलोमतो गरि कारोबार गर्दै आएको सूचनाको आधारमा अख्तियारले कारवाही थालेको हो ।

 
विहिवार वडा प्रहरी कार्यालय नेपालगन्जले बरामद गरेको ५० बढी कुखुरा भित्र भित्रै छोडिएको तथ्य बाहिर आएको छ । औद्योगिक क्षेत्र सामुन्नेबाट साइकलमा राखिएको कुखुरा बरामद गरि लगेपनि मीडियालाई सो विषयमा कुनै सूचना प्रवाह नगरी छाडिएको श्रोतको दावी छ ।

 
बाँके राप्तीपारि क्षेत्रबाट पनि कुखुरा करोबार भइरहेको पाइएको छ । राप्तीपारिको सिमावर्ती क्षेत्र श्रावस्ती र बहराईचबाट लुकीछिपी भित्र्याइएको कुखुरा कम्दीमा संकलन गर्ने र त्यहाँबाट नेपाली कुखुरा ब्यवसायीको बिलमा नेपालगन्ज सम्म लाउने गरिएको श्रोतको दावी छ ।

 
‘नेपालगन्जमा सप्लाई हुने अधिकांस कुखुरा प्रतिबन्धित नै हो’, तस्करहरु भन्छन्, ‘प्रहरी संगको मिलोमतोमा कारोबार चलिरहेको छ ।’ भारतीय क्षेत्रमा ९० रुपैयाँ भारु प्रति केजी पाउने कुखुरा नेपाली क्षेत्रमा ३५० रुपैयाँ प्रतिकेजी बिक्री हुँदै आएको छ । हालै मात्र इलाका प्रहरी कार्यालय भगवानपुरले २१ वटा कुखुरा बरामद गरी नष्ट गरेको छ । भारतीय क्षेत्रबाट नेपालगन्ज तर्फ ल्याउँदै गरेको कुखुरा प्रहरीले बरामद गरि नष्ट गरेको हो ।

 
सिमा क्षेत्रमा प्रहरीबाट असूली भइरहेको सन्दर्भमा समाचारहरु बाहिर आउन थालेपछि अख्तियारले निगरानी बढाएको छ । प्रहरीले भन्सार र जमुनाहा नाका क्षेत्रबाट सेवाग्राहीबाट तस्करीको नाममा रकम असूल गर्दै आएको गुनासोको आधारमा कारवाही गरिएको बताइएको छ ।
ओभरलोडबाटै मालामाल
कृषि प्रयोजनका लागि अनुदानमा भित्रिएका ट्याक्टरबाट ढुवानी सेवा, प्रहरी असूली
समाचारदाता
दैनिक नेपालगन्ज
यातायात ब्यवस्था ऐन अनुसार कृषि प्रयोजनका लागि भित्रिएका ट्याक्टरबाट ढुवानी सेवा संचालन हुन पाउँदैन । सडकमा सहजै ट्रालीमा ढुवानी कार्य गरिरहेका ट्याक्टर त्यसै गुडेका होइनन्, गुड्नका लागि मासिक रकम बुझाउने गरेको खुलासा भएको छ ।
नेपालगन्ज क्षेत्रमा १ हजार ५ सय ट्याक्टर ढुवानी सेवामा संलग्न रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको अभिलेख छ । यसरी ओभरलोड गरि हिंडिरहेका ट्याक्टरबाट प्रहरीले असूल गरिरहेको रकम र सो विवरणलाई ब्यवस्थापन गर्न खडा गरिएको अभिलेख प्राप्त भएको छ ।
पछिल्लो ८ महिना देखि धम्बोझी स्थित विशालनगर विटमा तैनाथ रहेका प्रहरी हवल्दार पुरुशोत्तम पुनले ओभरलोड ट्याक्टरबाट असूल गरेको रकमको अभिलेख नै दैनिक नेपालगन्जलाई प्राप्त भएपछि उनको सरुवा प्रहरी ब्यायामशालामा गरिएको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको निगरानीमा रहेको विटमा खटिएको हवल्दारले असूली गरिरहेको तथ्य बारे सूचना पाउने वित्तिकै जिल्ला प्रहरी कार्यालय बाँकेले गत साता हवल्दार पुनलाई प्रहरी ब्यायामशालामा सारेको छ ।
दैनिक नेपालगन्ज संग कुरा गर्दै हवल्दार पुनले आफुले कुनैपनि रकम असूल नगरेको बताएका छन् । उनले यसअघि प्रहरी जवान गणेशचन्द रहेको र निजले रकम असूल गरेको विषयमा विभागीय कारवाही भई सरुवा समेत भएको खुलाए ।
हवल्दार पुनको सट्टामा जिल्ला प्रहरी कार्यालय बाँकेबाट हवल्दार भुप बहादुर बोहोरा अहिले विशाल नगर विटमा तैनाथ छन् । प्रहरीले संकलन गर्ने गरेको रकम उच्च अधिकारी सम्म बाँडफाँड हुने गरेको श्रोतको दावी छ ।

प्रतिक्रिया

प्रतिक्रिया