सभामुख कृष्ण बहादुर महराले श्रावण ८ गते महेन्द्र बहमुखी क्याम्पस प्राङ्गगणमा नयाँ भवनको शिलान्यास गरे । नेपाल सरकारले बजेट छुट्याएर तयार गर्न लागिएको भवनमा २८ देखि ३० वटा कक्षाकोठा बन्ने छन् । यसको कुल लागत (सम्भाव्य) ६ करोड बराबरको हुनेछ भनिएको छ । एक बर्षमा नै तयार गरिसक्ने भनिएको यो भवन क्याम्पस परिसरको पश्चिमोत्तर दिशामा शिलान्यास गरिएको छ । समयमा भवन तयार होस्, अग्रिम शुभकामना ।
हाल क्याम्पसमा विद्यमान भवनका विषयमा चर्चा गर्दा क्याम्पस स्थापना (२०१९ साल माघ १ गते) समयमा बनाइएको भवन पूर्ण रुपमा जीर्ण भएको छ । त्यहाँ पठनपाठन गर्दा र परीक्षा सञ्चालन गर्दा कसको टाउकोमा छानाबाट ईंटा र सिमेन्टका चपेरा÷टुक्रा खस्ने हुन् र शिक्षक÷विद्यार्थी कर्मचारी को घाइते हुने हो ? भयावह अवस्था विद्यमान छ ।
एम.ए. तहको व्यवस्थापन तथा अन्य कक्षा सञ्चालन भैरहेको १२ बर्ष अगाडि बनेको ५ कोठे भवन, कक्षा सञ्चालनका लागि उपयुक्त छ । विज्ञान तर्फको भवन (नयाँ शिक्षा लागु पूर्व र पछि बनेको विज्ञान प्रयोगशाला समेत भएको) पूर्णतः पठन–पाठन र प्रयोगशालाका लागि अनुपयुक्त छ । राम्रो प्रयोगशाला सहित नयाँ भवन आवश्यक छ ।
वि.सं. २०६१÷०६२ तिर भारत सरकारले नगरपालिकाका माध्यमबाट बनाइ दिने भनि निर्माणाधीन भवन अधुरो छ । छाना टालेर बी.बी.ए. कक्षाहरु सञ्चालन भएका छन् । क्याम्पस प्रमुखको कार्यालय प्रशासन फाँट, शैक्षिक÷परीक्षा फाँट, लेखा फाँट सञ्चालनलाई उपयुक्त भवन छैनन् । विरालाले पाठा सारेझैं सारेर दैनिक गुजारा चलेको छ । पछि (२०५६÷०५८) तयार गरिदिएको पुस्तकालय भवन ठिकै छ । ८ श्रावणमा शिलान्यास गरेको भवन के कस्तो बन्छ ? प्रयोगमा आएपछि कुरा गरौंला ।
शिलान्यास गरिएको भवन निर्माण स्थल, स्थानका दृष्टिले उपयुक्त ठाउँमा शिलान्यास भने गरिएको छैन । यो दृष्टिकोण केवल पंक्तिकारको मात्र बनोस् यस विषयमा यति मात्र । समग्रमा पुग नपुग १७ विगाहको क्षेत्रफलमा बनेका पुराना दुई भवन (मानविकी र विज्ञानका लागि बनेका) बाहेक सबै भवन वस्तुगत ढंगले अध्ययनगरी बनाइएका छैनन् । संयोग ! नयाँ शिलान्यास भवन पनि ठिक ठाउँमा निर्माण हुने देखिएको छैन । भोलि नै जग खन्दा कसैको बुद्धि (क्याम्पस प्रमुख र प्रशासन संरचना संयन्त्रको) पलाएछ भने पंक्तिकार दोषी बनोस् । विषय प्रवेश प्रसङ्ग यति मात्र ।
२. महेन्द्र बहुमुखी क्याम्पस स्थापना र वर्तमान अवस्था
नेपालगन्जका शिक्षाप्रेमी, शिक्षाको ज्योति बाल्ने अभियानमा हिडेका व्यक्ति मध्येका प्रमुखको नाम लिंदा पनि कम्तिमा एक हातका सबै औंला भाँच्दा अलि पुग्दैन । ती मध्येका पछिल्ला व्यक्ति÷शिक्षा प्रेमी– लक्ष्मीनारायाण चौधरी (कसौंधन)को चिन्तन अन्यको तुलनामा तीव्र गतिमा अगाडि बढेको कारण गर्दा उनको देहावसान पश्चात उनकी धर्मपत्नी औतार देई चौधराइनले पतिको नाम राखेर ‘शिक्षा प्रचार योजना’ प्रारम्भ गर्ने सदिच्छा राखेको पाइन्छ । यो पुनित कार्य सञ्चालन गर्ने शुभ अवसरमा पाएका शिक्षाप्रेमी, समाजसेवी, नेपालगन्जका त्यस बेलाका प्रखर बौद्धिक, चतुर, वाकपटु व्यक्तिले गोलमटोल तरिकाले ‘नारायण शिक्षा प्रसार योजना’ प्रारम्भ गराए । पश्चिम धनगढी पूर्व वुटवलसम्म सञ्चालन भएको ‘नारायण शिक्षा प्रसार योजना प्राथमिक, निम्न माध्यमिक, माध्यमिक, इन्टरकलेज हुँदै ‘नारायण डिग्री कलेज’ (जहाँ आज नारायण माध्यमिक विद्यालय छ) को नाम परिवर्तन (तत्कालीन श्री ५ को सरकार अन्तर्गत शिक्षा विभागका प्रमुख व्यक्तिले मुआब्जा दिंदै परिवर्तन) गरी महेन्द्र डिग्री कलेज बनाइयो । यो नाम परिवर्तन र मुआब्जाको विषय आज पनि ‘यो हो र होइन’ मा नै केन्द्रित छ । विधिवत मञ्जुरी लिई नाम परिवर्तन भएको हो वा चलाकीपूर्ण तरिकाले तत्कालीन राजाको नाममा परिवर्तन गरिएको हो ? यो खोज होस् र सही तथ्यपूर्ण कुरा अगाडि आओस् । आजका दिनमा पनि पंक्तिकार प्रतिक्षामा छ । पंक्तिकार आज पनि सत्य र तथ्यको पक्षमा छ कसैलाई भ्रम नहोस् ।
स्थापनाको केही बर्षपछि ‘नारायण डिग्री कलेज’को नाम परिवर्तन भई महेन्द्र डिग्री कलेज र २०२८ देखि प्रारम्भ भएको नयाँ शिक्षामा ‘कलेज’, ‘क्याम्पस’ शब्दमा परिवर्तन भई हालसम्म महेन्द्र बहुमुखी क्याम्पस नामले चर्चित र स्थापित संस्था आफ्नो स्थापनाकालदेखि नै आजसम्म शिक्षाको क्षेत्रमा अग्रस्थानमा रहेको छ । मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रको प्रमुख केन्द्रका रुपमा स्थापित यो क्याम्पस एक समयमा हपहपी लाग्ने (लोभलाग्दो) संस्थाका रुपमा सञ्चालित थियो । सं. २०१८ देखि २०२८ सम्मको अवधी होस् वा २०२८ पछि ०३२, ०३६, २०४६ हुँदै २०६२÷०६३ सालसम्म होस् दुवै क्षेत्रको अगुवाई गर्ने आँखाको नानी थियो । २०४९ सालदेखि एमए तहको पठनपाठन प्रारम्भ गर्न÷गराउन सफल महेन्द्र क्याम्पस, २०७२ सम्म आइपुग्दा यस संस्थामा एमए तहका (डिग्री प्रोग्राम) बाह्र विषयभन्दा माथिका कक्षाहरु सञ्चालन भएका थिए । यता केही विषयका स्नातकोत्तर तहमा पढ्ने विद्यार्थी संख्या घट्दै गएका छन् । आज संस्थाले संख्याबाट गुणात्मक फड्को हाल्दैछ ।
नेपालगन्जमा सञ्चालित त्रिविको एक मात्र आङ्गिक महेन्द्र बहुमुखी क्याम्पस २०२८ सालदेखि नयाँ शिक्षाको ज्योति फिजाउँदै हजारौं विद्यार्थीहरुको चेतनालाई उजिल्याउँदै, टल्काउँदै परिपक्वता तर्फ लैजाने क्रममा २०३४ सालमा रोल्पाबाट ज्ञानको ज्योति खोज्दै एउटटा ठिटो महेन्द्र क्याम्पसको प्राङ्गणमा पाइला टेक्यो । उसको भोक सामान्य प्रकारको थिएन, उ वस्तुगत चिन्तनमा आधारित विज्ञान विषय पढेर आफ्नो भोक पूरा गर्न चाहन्थ्यो । वर्तमान क्याम्पस प्रमुख गणेश रेग्मी, क्याम्पसमा विज्ञानको भौतिक शास्त्रका ल्याब प्रमुख किशोर जंग राणा आदी उनका सहपाठी थिए । त्यतिखेर रोल नं. ३ का छात्र, अरु कोही नभएर हाम्रा सभामुख कृष्ण बहादुर महरा नै थिए । उनी अर्थमन्त्री भएकै समयमा यस क्याम्पसका प्रमुख, प्रतिभाशाली प्राध्यापकहरुको टोली काठमाडौं गई महरासँग भेट गर्ने वातावरण मिलाउन लगाएर (तत्कालीन प्रधानमन्त्री प्रचण्डकी स्वकीय सचिव कृष्ण केसी नमुनाबाट) अर्थमन्त्रीले गत बर्षको बजेटको रातो किताबमा तीन करोड रुपैयाँ छुट्याइ दिएको कारणले गर्दा (सम्भवत नेपाल सरकारले यस क्याम्पसलाई प्राथमिकतामा राखेर छुट्याएको बजेट यो पहिलो नै होला) त्यसैले टेकेर २०७५ साल साउन ८ गते नयाँ भवनको शिलान्यास कार्य सुसम्पन्न भएको छ । यो राम्रो कार्य हुनुमा सभामुख सम्माननीय कृष्ण बहादुर महराको आफु पढेको क्याम्पसप्रति बनेको वर्तमानमा समेत रहेको भित्री हृदयदेखिकै श्रद्धा र सम्मानको कारणले गर्दा नै हो भन्दा बढी भनेको अर्थ नलाग्ला ।
३. शिलान्यास भएको क्याम्पस भवन उद्घाटन समारोह
२०७५ साल श्रावण ५ गते भवन शिलान्यास कार्यक्रम सुसम्पन्न हुने र उक्त कार्यक्रम त्रिविको ५९ आंै बार्षिक समारोहलाई केन्द्रमा राखेर गर्ने निर्णय भई तयारी कार्य समेत पूरा भएको अवस्थामा डा. केसीको अनसन प्रसङ्गले ल्याएको तरंगले यो क्याम्पस पनि तरंगित भयो । फलतः विद्यार्थीहरुका ‘…मुर्दावाद’ गो ब्याक …’ नाराले त्यसदिन कार्यक्रम भएन । यस क्याम्पसका प्राध्यापकहरुलाई त्रि.वि.को ५९ औं वार्षिक दिवसका अवसरमा सम्मान गर्ने भनिएको कार्यक्रम पनि स्थगित भयो । श्रावण ५ गते त्रिवि दिवसको झन्डोलोत्तन कार्यक्रममा मात्र सीमित भयो । विशेष कार्यक्रम केही भएन ।
श्रावण ८ गतेको भवन शिलान्यास उद्घाटन समारोहमा आफ्नो मन्तव्य दिने विशेष अतिथिहरुमा बाँके १ नं. क्षेत्रका संघीय सभाका सांसद महेश्वर गहतराज र बाँके क्षेत्र नं. ३ का सांसद नन्दलाल रोकाय पनि थिए । संघीय सभाका सांसदहरुले मूलतः राजनीतिक परिवर्तनले सही दिशा र स्थिरता प्राप्त गर्न यो क्याम्पस अझ बलियो भएर अगाडि आउनु पर्यो । यसको बाह्य भौतिक सरसफाईमा विद्यार्थीहरुका संगठन भोलिबाट नै जुट्नु पर्यो । रचनात्मक काममा अगाडि बढ्नु पर्यो भने । गहतराजले त सभामुखतर्फ दृष्टि घुमाउँदै नेपालगन्ज विश्वविद्यालयको फाइल अगाडि बढाएर नयाँ जनशक्ति उत्पादन गर्ने टेक्निकल विश्वविद्यालय स्थापना गर्नका लागि विशेष पहल गरिदिन आग्रह समेत गरे ।
४. निष्कर्ष
लामो समयको अन्तरालपछि महेन्द्र बहुमुखी क्याम्पसमा एउटा नयाँ तरंग आएको छ । यस्ता तरंग पटकपटक आएका छन् । यो नयाँ तरंगले विशेष तरंगको सन्देश प्रदान गरोस् । सम्माननीय सभामुखको आगमन, नयाँ शैक्षिक भवनको शिलान्यास भोलिको नयाँ नेपालगन्जको प्रदेश नं. ५ को एउटा कोसेढुंगा बन्न सकोस् । शिलान्यास कार्यक्रममा जसरी भएपछि ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई समेत उपस्थित गराउन सकेको भए अझ राम्रो हुने थियो । नेपालगन्जबासीलाई अब प्रदेश र केन्द्रले आश्वासन मात्र नदेओस्, प्रतिबद्धता व्यक्त गरोस् । उक्त प्रतिबद्धतालाई हामी पनि पूरा गर्दछौं भनि यो क्षेत्र जुरुक्क उठोस् । पूर्व प्रधानमन्त्री सुशिल कोइराला जस्ता व्यक्ति पावर र पदमा बस्दा पनि नेपालगन्जले केही पाएन । नेपालगन्जको चौतर्फी विकास भई नयाँ रुपमा आउनु पथ्र्यो, नेपालगन्जले मात्र भनिन्छ । पंक्तिकार क्याम्पस प्रमुख भएको समयमा सुशिलजीलाई निजी खर्चमा सञ्चालित बि एस्सी कार्यक्रम निजी स्रोतबाट चल्न सक्दैन । जनताका छोराछोरीले महंगो शुल्क तिरेर विज्ञान पढ्न सक्दैनन् । यहाँले विज्ञान भवन, कक्षाकोठा र ल्याब पनि निरिक्षण गरिदिनुपर्यो भनि अनुरोध गरी सुशिलजीलाई क्याम्पस प्राङ्गणमा ल्याएर सबै विषयको वस्तुगत कुरा अवलोकन गराइएको थियो । त्रि.वि.का तत्कालीन उपकुलपति नविन प्रकाश जंग शाहलाई समेत अनुरोध गरी २०५७ सालदेखि बी.एस्सी. त्रि.वि.को साविक कार्यक्रम समावेश गर्न सफल भएको थियो ।
केही मात्रामा सुशिलजीको आफ्नै तरिकाले सोंच्ने र मनन गर्ने कार्यशैली, फकिर प्रवृत्ति, नेपालगन्जलाई मात्र मैले हेर्ने होइन, सबैलाई हेर्नुपर्छ भन्ने अवधारणा, नेपालगन्जले फड्को मार्न नसकेको एउटा कारण हो । भने, दोस्रो प्रमुख कारण नेपालगन्जका अन्य राजनीतिक व्यक्ति, सामाजिक, बौद्धिक नागरिक एक ढिक्का भएर अगाडि बढ्न नसकेको अवस्था हो । नेपालगन्जको बाटो, ढलको व्यवस्था, विश्वविद्यालयको स्थापना अन्तर्राष्ट्रियस्तरको सुन्दर कभर्ड हल निर्माण लगायत विकास निर्माणका कार्य मुखले भनेर मात्र हुँदैन । विश्वविद्यालय स्थापनाका सन्दर्भमा स्पष्ट अडानका साथ पंक्तिकार अच्युत प्रसाई, पशुपति दयाल मिश्र आदिसँग कुममा कुम जोडेर जमुना नाका बन्द गर्न अग्रपंक्तिमा उभिएको हो । त्यतिखेर पनि पंक्तिकार महेन्द्र बहुमुखी क्याम्पस भित्र विश्वविद्यालय बन्नुपर्छ । यसैलाई विश्वविद्यालय बनाउने भन्नेको विपक्षमा थियो । साधारण विषयको पढाइको लागि नयाँ विश्वविद्यालय आवश्यक छैन । विश्वविद्यालय ल्याउने हो भने, प्राविधिक विश्वविद्यालय चाहिन्छ भनेको थिएँ । आजका दिनमा पनि पंक्तिकारसँग कसैले केही लिन चाहन्छ भने तयार छ । अन्तमा एक वाक्यमा पठनपाठनका लागि विद्यार्थीहरु बस्नका लागि नयाँ भवनहरुको नितान्त खाँचो छ । तर, सँगसँगै गुणात्मक शिक्षाका विषयमा स्वावलम्बी शिक्षाका विषयमा सोंच्नु त्यो भन्दा पनि महत्वपूर्ण विषय बनेको छ । अन्तमा साधुवाद छ, महरालाई सभामुख बन्दा पनि बिसिएनन् महेन्द्र क्याम्पसलाई ! (नेपाली साहित्यका समालोचक प्रा.डा. अधिकारी मब क्याम्पस नेपालगन्जका पूर्व क्याम्पस प्रमुख हुन् ।)