नियात्रा : मरुभूमिमा बसाइएको कृत्रिम स्वर्ग, दुबईको यात्रा

सागर गैरे

म आफैलाई यस अर्थमा भाग्यमानी ठान्दछु कि मैले आफ्नो इस्तानबुल यात्राको महिना दिन नबित्दै विश्वकै उदाउँदो सहरको रुपमा परिचित दुबई यात्राको अवसर पाएको थिएँ । यात्रा गर्न भनेपछि सदैव हुरुक्क हुने मेरा लागि दुबई घुम्ने अवसर आफैमा स्वर्णीम थियो नै संगै चिन्ता पनि । गर्मीले आक्रान्त कोहलपुरको बासिन्दा म खाडीको एउटा शहर जुन पुरै कंक्रिट, शिशा र मेटलले ढाकिएको छ, त्यहाँ गर्मीको हालत झन कस्तो होला ? फेरि पनि नयाँ ठाउँ नयाँ परिवेश हेर्ने घुम्ने लालसाले यात्राको दिनलाई बेचैनीका साथ कुरिरहेको थिएँ ।


असार १० गते बिहान हामी २९ जनाको टोली एयर अरेवीयाको विमानबाट यू. ए.ई. को सारजाहाँ विमान स्थलको लागि उडेका थियौं । सारजाहा त्यही स्थल हो जहाँ भारत र पाकिस्तान बीच बेला बेलामा क्रिकेट म्याच हुने गर्दथ्यो । जिन्दगीको कुनै मोडमा सारजाहाँ विमानस्थललाई आफ्नो पाइतालाहरुले टेकुला, सायद कहिल्यै साचेको थिइन तर यस पटक टेक्दै थिए । एयर अरेबीयाको विमान आकर्षक भए पनि यस अघि उडान गरेका विमानहरुमा झैँ नास्ता, पानी तथा फिल्म या संगीत हेर्ने सुन्ने कुनै पनि सुविधा रहेनछन् । विमानमा यात्रारत कतिपय नेपालीहरुले फुकै वाईवाई चाउचाउ बुक्याइरहेको देख्दा आफूले झोलामा बिस्कुट वा चाउचाउ नराखेकोमा पश्चाताप पनि भैरहेको थियो ।
यद्यपि विमान भित्रै पसल रहेछ जहाँ पानी कोल्डड्रिङ्सदेखि बिस्कुट, चाउचाउ, चिप्स लगाएतका चिजविजहरु किन्न पाइँदो रहेछ । मैले पनि आधा लिटर पानीको एक सय र एक कप कालो चियाको तीन सय पचास रुपियाँ तिरेर आफ्नो तलतल मेटाएँ । झण्डै चार घण्टाको एकोहोरो उडानमा जीऊ पाट्टिइसकेको थियो । गन्तव्य छिटो आइदिए हुन्थ्यो भनेर छटपटाइरहेको बेला पाइलटले अबको केहि समयपछि विमान सारजाहाँ विमानस्थनमा अवतरण गर्ने बताएपछि भने मन केही हलुङ्गो भयो । झ्याल बाहिर नीलो समुद्र, समुद्र किनारबाट लमतन्न सुतेको बालुवाको बगर आँँखाले देखिने भन्दा पनि पर–पर सम्म फैलिएको थियो । कता–कति हरिया झाडीहरु, स–साना बुट्यानहरु, पर्खालभित्र बनेका घरहरु, जताततै तन्किएका सडकहरु, सडकमा खेलौना जस्तै गुडी रहेका गाडीहरु । अचम्म लागिरहेको थियो । कहाँको हाम्रो धरती, कहाँको यो खाडीको बगर ।


हाम्रो विमान सकुशल सारजहाँ एयरपोर्टमा अवतरण गर्यो । एयरपोर्ट तातेको कराही जस्तै थियो । यस्तो घाममा पनि मानिसहरु आ–आफ्नो काममा व्यस्त थिए । यात्राको थकान ले हो कि या गर्मीको प्रभावले म पुरै शिथिल थिएँ । यस्तो बेला ममा सहर हेर्ने, समुद्र हेर्ने कुनै उत्साह बचेको थिएन । म चुपचाप होटेलसम्म पुगेर आरामसँग सुत्न चाहन्थें । मैले यस अघि देखेका एयरपोर्टहरुभन्दा यहाँको दृश्य फरक थियो । सारजहाँ एयरपोर्टको अध्यागमन पूरै स्मार्ट अनलाइन सिस्टममा थियो । मैले पूर्व अनुमान गरेझैँ त्यहाँ पासपोर्टमा छाप लगाउन बसेका अफिसरहरुको ताँती थिएन । अलग अलग काउण्टरमा दुईजना महिला थिए मुस्लिम पहिरनमा । एकाध पुरुष सहयोगी थिए । आफ्नो पालो आएपछि मैले एकजना महिलालाई आफ्नो पासपोर्ट दिएँ । उनले मलाई क्यामरा तर्फ हेर्न भनिन् । मेरा आँखाहरु मेसिनमा स्क्यान भए । त्यहाँबाट पासपोर्ट लिएपछि अर्को लाइनमा राखिएको मेसिनमा पासपोर्ट राखेँ । ढोका आफै खुलेपछि भित्र प्रवेश गरें । फेरि दोस्रो पटक आँखाहरु स्क्यानिङ्ग गरिए । र म बाहिरिन पाएँ । पासपोर्टमा कुनै स्टयाम्प हानिएन बरु बाहिरी पृष्ठमा सानो स्टीकर टाँसीदिएका थिए कर्मचारीले ।
विमानस्थल पुरै वातानुकुलित थियो । जसै हामीहरु एयरपोर्टबाट बाहिरियौँ एकदमै ‘सक्ड’ भएँ म । बाहिरी दृष्य नाङ्गो आँखाले हेर्न सम्भव नै थिएन । प्रायः मानिसले आँखामा कालो चश्मा लगाएका थिए । सरसर्ती हेरेँ बाहिरी दृश्यहरु विशाल पार्किङ्ग स्थल, जहाँ खासै भिड थिएन । जताततै पार्किङ्ग शुल्क तिर्ने स्थल लेखिएका बोर्डहरु हरिया गार्डेनहरु जो चिटिक्क थिए । रिजालको ग्रुप लेखिएको बोर्ड समातेर उभिएका थिए सफी हामीलाई कुरेर । सफी हाम्रा पथपर्दशकको नाम रहेछन् । उनी पाकिस्तानी नागरिक हुन् पक्कै पनि । हामीलाई पर्खिएको गाडीमा गएर बसियो । एसी नभई त यहाँको दैनिकी नै चल्दैन जस्तो लाग्यो । झ्यालबाट बाहिरी दृश्यहरु नियालिरहेको थिएँ । दाँया–बाँया खजुराका बोटहरु । थोपा सिचाई प्रविधि बाट सिचाइ गरिएका । मरुभूमिमा यत्तिको हरियाली ठूलै उपलब्धि मान्नु पर्ने हुन्छ ।
आधा घण्टा बढी समयको अन्तरालमा हामी होटेल एडमिरल प्लाजा पुग्यौं । यो थ्री स्टार सेवा सुविधाको होटेल रहेछ । काउन्टरबाट रुमको कार्ड लिए पछि जयराम र म कोठातिर लाग्यौं । दुई वटा अलग–अलग बेड, लकर, टि.भि, बाथटबसहितको वाथरुम, चिया कफी बनाउने सुविधा, टेलिभिजन सेट, स्नीग्ध सेतो रंगका भित्ता, स्नीग्धै बेड सीट र भुँईमा विछ्याइएको टायल पनि सेतै थियो । वाइफाई सुविधा पनि रहेछ रुममा । फ्रेस भएपछि धेरै बेर मोवाइलमै झुण्डिइरहेँ ।
दुबई बसाइमा हामी सोही साँझ दुबई मरीना गयौं जहाँ हामीले क्रुजमा बसेर डिनर लियौं र अरेबीक तन्दुरा नृत्य पनि हे¥यौं । र अर्को एक साँझ हामीले मरुभूमिको बीचमा अवस्थित एक क्याम्पमा साधारण खानपिन सहित तन्दुरा नृत्य अनि बेली डान्स र फायर डान्स पनि हेरेका थियौं । ऊँट चढेर र फोटो खिच्ने, हात र टाउको मा बाज राखेर फोटो खिच्ने सबै खाले रहर दिउँसो पुरा भएका थिए । जीपमा डेर्जट सफारी भने रोमान्चक थियो र सँगसँगै ब्रास पनि । एक्कासी तल झर्ने र माथि उक्लने व्रmममा शरीरले असहजता महसुश गरेको थियो । शरीरबाट निक्लिएका खल्खली पसिना डर÷त्राले नुहाइदिएको थियो । गाडी रोकिएपछि हामीले वालुवाको टाकुरामा उभिएर थुप्रै तस्विर खीच्यौं । लमतन्न फैलिएको वालुवाको पहाड सबैतिर रातैरातो देखिने न कतै वुट्यान छन् न त खोलानाला नै छन् । जिन्दगीमा नदीनाला, पहाड, पर्वत, तराई र वनजंगल अनि समुद्र पनि देखिएको थियो तर बालुवाको वगर भने यहीं आएरै देख्न पाइयो । गाडीमा डेर्जट सफारीले मेरो मनमा अलिकति बोझ थोपारी दियो । दोस्रो पटक डेर्जट सफारी गर्ने भनेर त सायदै म कहिल्यै फर्किउला ।
कुनै पनि ठाउँको बारेमा पढेर या सुनेर भन्दा पनि प्रत्यक्ष त्यहीं गएर आफ्ना आँखाहरुले नियाल्नुको मज्जा पो मज्जा हो त ? दुबईमा गएर मात्रै थाहा भयो थाइल्याण्ड र सींगापुरभन्दा अघि बढी सकेको रहेछ दुवई । दुवई प्राचीन संस्कृति र ऐतिहासिक धरोहरहरु प्रति निकै सचेत रहेछ । आधुनिकताको त कुरै नगरौं । ऊ विज्ञानले आविष्कार गरेको कुनै पनि पहिलो श्रृजनालाई आफू कहाँ ‘एडप्ट’ गर्न चाहन्छ । विश्वको सबैभन्दा अग्लो, सबैभन्दा ठूलो, सवैभन्दा फराकिलो मानौं कि हर एक कुरामा ऊ विश्वलाई पछि छोड्न चाहन्छ र ऊ आफ्नो नम्बर एकको चाहनालाई हर ठाउँमा तन मनदेखि नै कार्यान्वयन गर्न चाहन्छ ।
हामीले दुवईमा अवस्थित विश्वकै सवैभन्दा अग्लो भवन बुर्जखलिफा हेर्ने मात्र होइन १२५ तला माथि चढ्यौ. पनि । ओहो, त्यो लिफ्ट, केही सेकेण्डहरुमै हामी त्यत्तिका उचाइमा थियौँ त्यहाँबाट जमिनतिर हेर्दा सडकमा गुडिरहेका सवारी साधनहरु खेलौना जस्तै लागिरहेका थिए । मान्छेहरु त्यत्तिको उचाइमा तँछाडमछाड गर्दै थिए । तस्विर खिच्न । कस्तो जमाना ल्याइदियो है स्मार्टफा्ेनले जति फोटो खिचे पनि नअघाइने । सुविधा नै यस्तै छ । पहिले धमाधम तस्विर खिच्यो, फुर्सदमा तस्विर केलाउँदै बस्यो, मन नलागेका फ्याँकिदियो राम्रा फ्ेसबुकमा अपलोड ग¥यो । तस्बिरको पारखी म धीत नमरुन्जेल आफ्ना तस्विर खिचें र अरुका पनि खिचिदिएँ ।
दुबई मल जो विश्वकै ठूलो सपिङ्ग मल मध्येको एक हो, निकै भव्य र आकर्षक थियो । सपिङ्ग मल भित्र अण्डर वाटर जु छ । जहाँ सामुद्रिक जिवजन्तुहरुको प्राकृतिक बास स्थान निकै आकर्षक देखिन्छ । यो विश्वकै ठूलो एक्वेरीयम हो । मलभित्र विश्वभरिका मानिसहरुको जमघट देखिन्छ । अनेक जात, अनेक रुपरंग, फरक पहिरन, भाषा फरक । हामी ‘पामजुबेराह’ आइल्याण्डमा पनि गयौं । आकाशबाट हेर्दा यो टापुको आकार ठ्याक्कै पाम (ताड)को रुख जस्तै देखिन्छ । यो मानव निर्मित कृत्रिम टापु हो । करोडौं मेट्रिक टन बालुवा र माटोले ५ किमि हाराहारी समुद्र पुरेर यो टापु बनाइएको हो । यहाँ विश्व भरका मानिसहरु जो खेलाडी, उद्योगपति, राजनीतिज्ञ, कलाकारहरु छन् उनीहरुको आवास यहाँ रहेछ । टापुमा बसदेखि रेलसम्म र्निवध कुदिरहेका छन् । यहाँका जुन घर हे¥यो त्यतै लोभलाग्दा समुद्री किनारहरु पनि सटेका रहेछन् घर पछाडि ।
गाइडले हामीलाई विश्वकै एकमात्र सेभेन स्टार होटेल भनेर देखाएको बुर्ज अलअरब होटललाई गेटबाट नियाल्यौं । कति भव्य र आकर्षक हो बाहिरबाट हेर्दा पनिभित्र छिर्न मात्रै पनि नेपालको ६ हजार रुपियाँको त टिकट नै काट्नु पर्दछ रे । समुद्र मुनि नै चार वटा तला छन् रे । छतमा हेलिकप्टर ल्याण्ड गर्ने ठाउँ पनि छ रे । गाइड सफीले आफूले होटलको बारेमाजाने सम्मका सुचना हरु हामीलाई बाँडे । दुबई शहरमा अग्ला घरहरु त कति छन् कति । सबै अलग अलग डिजाइन र बनोटका । यस्तो लाग्छ सबैलाई आकाश छुने हतारो छ । बितेका केही वर्ष यता दुबइले ठूलो फड्को मारेको हो । विकास निर्माणमा । १९६६ मा दुबईमा तेलखानी पत्ता लागेको हो । त्यस यता त्यही तेल बेचेर आएको पैसाले आफूलाई अत्यावश्यक भौतिक पूर्वाधारहरु बनाउँदै गयो र अझ बनाउँदै दुवई । अहिले ऊ खाडी मुलुकको प्रमुख सपिङ्ग सिटी बनेको छ । विश्वकै हवाई रुटको ट्रान्जिट प्वाइन्ट बनेको छ । अब ऊ आफूलाई विश्वको सबैभन्दा महत्वपूर्ण पर्यटकीय गन्तव्य बनाउन चाहान्छ । अहिल्यै पनि दुवई को कुल अर्थतन्त्र मा ८५% हिस्सा पर्यटन क्षेत्रले ओगटेको रहेछ ।
हामीले दुवईका शासकका केही दरबारहरु पनि हे¥यौं । राष्ट्रको सम्पत्तिको ९९% स्वामीत्व राज परिवार कै हुँदोरहेछ । जमिन पब्लिकलाई ९९ वर्षको लागि लिजमा दिंइदो रहेछ । बाहिरका मानिसले दुवईमा बसेर कुनै पनि कारोबार गर्न पाउँछन् तर ५१ प्रतिशत स्वामित्व त्यहाँको स्थानीय नागरिकको हुनुपर्दछ । स्थानीय मानिसलाई राज्यले शिक्षा र स्वास्थ्य निःशुल्क व्यवस्था गरिदिएको छ । सडकमा जताततै ट्राफिक लाइटहरु, सिनित्त पारेर सफा गरिए जस्ता सडक, कहीं कतै कागजको टुक्रा देखिदैन, हुर्काइएका हरेक बिरुवामा राज्यले ठूलो रकम खर्चिएको छ । दिनको उज्यालोमाभन्दा पनि रातिमा दुवई निकै राम्रो देखिइदो रहेछ । खजुरको रुखहरुमा बिजुलीका तारहरु बेरेर बालिएका एउटा जिउँदो जाग्दो शहर । देशको जनसंख्याभन्दा पनि आप्रवासीहरुको संख्या बढी छ । बोलीचालीको लागि अंग्रेजी जान्नै पर्छ भन्ने केही छैन, हिन्दी भाषा जान्नेलाई दुवईमा केही कठिनाई हुँदैन । नेपालीहरुकै पनि ठूलो वाहुल्यता छ ।

 
४००० वर्ग कि.मि.मा फैलिएको दुवई कुनै समय मात्र मरुभूमि थियो । सानो गाऊँमा केही माझीहरु बस्दथे । न रुख थिए न त पिउने पानी नै थियो । अंतहिन नुनिलो समुद्र अर्कोतिर लमतन्न फैलिएको मरुभूमि । आज त्यही मरुभूमि विश्वको चकाचौध शहरको रुपमा उभिइरहेको छ । कट्टरतालाई कुनै छुट छैन दुबईमा । अपराध जिरो बराबर छ । नियम कानुन जो बनेका छन् तिनलाई कडिकडाउ रुपमा पालना गरिन्छ गराइन्छ । शासकको दुरदर्शी सोच अनि तेलबाट प्राप्त अकुत सम्पत्तिबाटै दुवईले काँचुली फे¥यो र फेरिरहेछ ।

 
आज दुवइलाई मध्य पूर्वको पेरिस पनि भन्दा रहेछन् मानिसहरु । सडकमा कसैले अनावश्यक हर्न बजाइरहेका थिएनन् । धुलो, धुँवा र फोहर जिरो बराबर छ । सडकमाथिको आकाशे बाटोमा मेट्रो रेल गुडिरहेका छन् । यी रेलहरु सबै स्वचालित हुन, रेल चलाउने ड्राइभर हुँदैनन् । मेरै करबलमा केही साथीहरु सित दुवई मेट्रो पनि चढियो । विकासका यस्ता संरचनाहरु हाम्रो देशमा कहिले बन्ने हुन खै ? यहाँका बस, रेल स्टेशनहरु सबै एयर कण्डिसन्ड छन् । सडकमा गाडीहरु बढी स्पीडमा कुदाउन पनि पाइदैन गति लिमिटभन्दा कम गर्न पनि पाइदैन । सबै कुराको सीमा तोकिएको छ । यात्रुलाई सडक पार गर्न प्राथमिकता दिइदो रहेछ । कसैले पनि कुनै गल्ति गर्दछ भने ठूलो मुल्य चुकाउनु पर्ने हुन्छ । दुबईमा कसैले पनि पानी पिउन देला या सोध्ला भनेर नसोच्दा हुन्छ । हाम्रो तिर भन्दा ठिक विपरित त्यहाँ लेफ्टहेण्ड ड्राइभ छ । २५÷३० रुपिँया लिटर पेट्रोल पाइदा पानीको मूल्य भने दोब्बर तिर्नु पर्ने रहेछ ।

 
दुवईको ओमान र साउदी जस्ता मुस्लिम देशहरुसँग सीमा जोडिए पनि उनीहरु भन्दा धेरै उदार छ । यसले मध्यपूर्व र युरोपलाई जोड्ने काम गरेको छ, दक्षिण एशियाको लागि त रोजगारको गन्तव्य नै ठहरिएको छ दुवई । जुन देश समुद्रसँग जोडिएको छ त्यो आफैंमा बरदान पनि हो । दुवईको सवालमा पनि यही भन्न सकिन्छ । पैसामा शक्ति हुन्छ भन्ने कुरा दुवईले साबित गरेर देखाइदिएको छ । युएईको राजधानी आबुधाबी जाने क्रममा हाम्रो बाहन चलाएका पाकिस्तानी चालकको आक्रोशलाई आधार मान्ने हो भने दुवईको रीयल स्टेट र अग्ला भवनहरुमा ठूलो मात्रामा ब्ल्याक मनि (कालो धन) को प्रवेश भएको छ । यो कालो धनको नम्बर एक मार्केट पनि भन्दा रहेछन् । इण्डिएनहरुका लागि दुवई जानु दिल्ली आउनुभन्दा पनि सुगम छ । करांची पोर्ट र मुम्बई पोर्टबाट दुवईको दुरी समान भएकाले पनि यो क्षेत्र दुबै देशका लागि उत्तिकै महत्वपूर्ण भएको हुनसक्छ । हुन पनि दुवईको व्यापार रीयल स्टेट र अग्ला भवनमा धेरै जसो भारतीय र पाकिस्तानी कै लगानी रहेको छ ।

 
दुवईको व्रmाइम रेट शुन्य दरमा हुनुको एक मात्र कारण कडा कानुन र त्यसको कडिकडाउ पालना नै हो । बजारमा हिँड्दै गर्दा हामीले थुुप्रै पटक प्रहरी भ्यानहरु हिड्दै गरेको देख्ने गर्दथ्यौं । प्रहरीको अर्कै डे«स हाम्रोभन्दा । प्रहरीलाई जनताले सम्मानपूर्ण नजरले हेर्दछन् । गल्ती गरेपछि माफीको कुनै चान्स हुँदो रहेनछ । गाइडले एयरपोर्टमै कतिपय कुरामा सचेत हुन कडा उर्दी जारी गरेका थिए । त्यसैले पनि जहीँतहीँबाट सडक पार गर्न, सडकमा फोहोर फ्याँक्न वा अरु कुनै गल्तीले सजायको भागिदार भइने हो कि भन्ने डरले मनमा ठूलै डेरा जमाएको थियो । एक दुई दिनमै धेरै कुरा बुझियो दुवईका ।
दुवईका सडकमा मोटर साइकल अत्यन्त कम अझ भनौं शुन्य बराबर नै रहेछन् । जीप ट्याक्सीको संख्या भने उल्लेख्य देखियो । राम्रो जीवन जिउने आशमा भारत पाकिस्तान, श्रीलंका, नेपाल लगायत कैयौं देशका मानिसहरु दुवईमा ओइरिएका छन् । दुवईमा त्यहाँका स्थानीयहरुको जीवन जति सहज र व्यवस्थित छ, त्यत्तिकै हाराहारिमा यहाँ बस्ने ठूल–ठूला सीइओ, कम्पनी डिरेक्टर, व्यापारी, नेता, राजदुत र कर्मचारीहरुको जीवनशैली छ । मजदुरको अवस्था भने बेहाल छ । दुवई प्रवेश गर्नासाथ उनीहरुका पासपोर्टहरु जफत गरिन्छन् र भोक प्यास नभनी चर्को घाममा काम गर्न विवश पारिन्छन् । उनीहरुको जीवन वास्तवमै नारकीय छ । काम यिनै गरिब मजदुरले गरेका हुन् तर ठूलाठूला भवनमा शेखका तस्विरहरु टाँगिएका छन् । मजदुरहरुको योगदानको कदर गर्ने त कतै नाम निसान नै छैन । कता–कता दुवईका अग्ला भवनहरुले शासकहरुको विभेद र ज्यादती विरुद्धमा व्यङ्गय गरिरहेजस्तै पनि लाग्यो ।

 
दुबईको चकाचौधसंग यी मजदुरहरु बेखवर रहे पनि एउटा स्मार्ट सीटी कस्तो हुँदोरहेछ भनेर हेर्न बुझ्न विश्वभरका मानिसहरु यहाँ आईरिई रहेका छन् । हुन पनि दुवईले पश्चिमी सभ्यताको युरोप अमेरिकी विकासको झल्को मेटाई दिन्छ भन्दा अन्यथा नन्र्हला । यहाँ विश्वको जुनसुकै कुनाका मानिस भटिन्छन् वल्र्ड वाइड खानाका परिकारहरु खान पाइन्छन् । दुवईमा रीयल स्टेट विजनेस चरम गतिमा छ । अन्तराष्ट्रिय ब्राण्डका कुनै पनि सामानहरु किन्न पाइन्छ । राम्रा होटेल र आधुनिक मलहरुको कुनै कमी छैन किनमेलमा रमाउनेहरुका लागि । दुवईमा सार्वजनिक स्थलमा मदिरा सेवन, प्रोनोग्राफी, लागुऔषध, र इस्लाम विरोधी कुनै पनि सामाग्री लैजान वर्जित छ ।

 
कतिपय देशका नागरिकका लागि भिसा अन एराइभल सुविधा रहेछ दुवईमा । जति सकिन्छ बढीभन्दा बढी भौतिक पूर्वाधार निर्माण गर्न दुवई कम्मर कसेर लागेको भान हुन्छ । विश्वकै सबैभन्दा छिटो विकास भएको दुवईका गतिविधिहरु कतिपय अवस्थामा प्रकृति र पर्यावरण विपरित छन् । जस्तो कि दुवईमा धमाधम समुद्र पुरेर कृत्रिम टापुहरु बनाइएको छ । फरक देखिने नाममा बालुवाका वगरमा गगनचुम्वी घरहरु ठड्याउने क्रम तिब्र छ । समुद्रको पानीको दोहन यही गतिमा भइरहे कुनै दिन समुन्द्र पनि नसकुला भनने के ग्यारेन्टी छ र ? पैसाको धाकमा गरीव देशको श्रमिकमाथि अमानवीय श्रम शोषण भइरहेको कुराहरु त बार बार मीडीयामा छाइरहेका हुन्छन् । प्राकृतिक श्रोत र साधनको अत्याधिक दोहन स्वयं दुवईको लागि कुनै दिन अभिशाप पो हुने हो कि ?

 
खैर, ३÷४ दिनको छोटो यात्रामै दुवईलाई कति नै बुझ्न सकिन्थ्यो र ? दुवईमा रहेका कतिपय साथीहरुसँग चाहेर पनि भेट गर्न सकिएन । दुवईको गोल्ड शुक बजार, फीस मार्केट (माछा बजार) दुवई मिराकल पार्क, दुवई जु, दुवई म्युजियम जस्ता महत्वपूर्ण पर्यटकीय स्थलहरु हेर्न जान भ्याइएन । स्थानीय मानिसहरुसँग कुराकानी गर्न उनीहरुको जीवन शैली नियाल्ने अवसर पनि जुटेन । यद्यपि दुबईको मात्र सेडयूल भएर पनि हामीले आवुधावी घुम्ने मौका पार्यौं । आवुधावीको रोयल प्यालेस, ग्राण्ड मस्क र फरारी वल्र्ड हेर्ने जुन मौका जु¥यो त्यो आफैंमा मिठो अनुभूति थियो । दिनको उज्यालोमाभन्दा पनि रातिको उज्यालोमा दुवई निकै जगमगाउँदो रहेछ । दुवई वसाईमा अधिकाँश त हामीले गाऊँ घरतिर झैं खानेकुराहरु खान पायौं । त्यसैले पनि हामीलाई खानपिनमा कुनै कठिनाई भएन ।

 
दुवईको एक दिनार बराबर हामीहरुको ३० रुपियाँ जति हुने रहेछ । ठूला–ठूला सपिङ्ग मल चाहारे पनि खासै सपिङ्ग गर्न जाँगर चलेन । व्रmुज जहाजमा खुला आकाश मुनिको डिनर यादगार रहने भो । वुर्जखलीफा टावरबाट नियालेको दुवई मनमस्तिष्कमा उत्तिकै ताजा छ । दुवईको चालक रहित चुच्चे मेट्रो रेल नचढेको भए मलाई निकै पछुतो महसुस हुने रहेछ । सडक किनारामा खजुर टिपेर खाएको दृश्य सधंै ताजा रहनेछ यी आँखाहरुमा । बलौटे बगरहरु सायदै भुलुँला ।
यु. ए. इ. को एउटा सहर जो पुरै पश्चिमी ढाँचामा ढलेको छ । विश्वकै समुद्र सहर दुवई हेर्ने र घुम्ने जुन अवसर पाएँ त्यो मेरो लागि अनमोल अवसर थियो । सबै जातका, सबै धर्मका सबै नश्लका मानिसलाई एउटै भूमिमा भेट्न पाउनु मेरा लागि ऐतिहासिक मौका थियो । पुरै दुवई घुम्न नपाई म दुवईबाट विदा हुने समय आइसकेको थियो । रात गहिरिंदै गएको बेला जति बेला हामी बेडमा निदाइसकेको हुनुपर्दथ्यो, त्यो समयमा हामी होटलबाट आउट हुँदै थियौं । फरि त्यही बस (जसले हामीलाई यतिका दिन दुवई घुमायो)मा बसेर एयरपोर्ट फर्किएका थियौं । दुवईको अध्यागमन पार गरेर प्लेनमा बसिसक्दा पनि दुवईको विस्तृत अवलोकन गर्न नपाएको अवसाद थियो मनमा । पानीभन्दा सस्तो कोल्ड ड्रिङक्स् पाइने दुवई रातिको समयमा आकाश मार्गबाट कतिविधि राम्रो देखिएको हो । सीटसंगै बसेकी एक जना फिलीपिनो युवतीसंग यात्रा र देशविदेशका कुरागर्दा गर्दै रात कतिवेला सद्धिएछ विमान उडेको केही घण्टामै आकाश पुरै उज्यालो भइसकेको थियो ।
दुई तीन सय जना मान्छे बोकेको एयर अरेवीयाको विमान चराजस्तै स्वच्छन्द गतिमा आकाशमा उडिरहेको थियो । म सोच्दै थिएं साशकीय महत्वाकाँक्षा र मानवीय इच्छाशक्तिले चमत्कार पूर्ण किसिमले मरुभूमिमा उभ्याइएको कृत्रिम शहर जस्तो लाग्ने दुवईको भविष्य पर्यटन र इन्धनको व्यापारको बलमा आगामी कति दशक वा शताब्दीसम्म आफ्नो गरिमा र महिमा जोगाउन समर्थ रहिरहला ? प्रकृति र मान्छे बीचको संघर्ष धेरै पुरानो र सधैं रहिरहने एउटा नियमित प्रकृया पनि भएकोले अत्यन्त प्रतिकूल वातावरणमा बसाइएको यो सहरले आगामी दिनमा प्रकृतिले लिने अनेक परीक्षाहरुमा आफूलाई अव्वल सावित गरिरहन सक्ला ? हुन त जापान, जुन देश ज्वालामुखीको कारण र भूकम्पको सदैव जोखिममा आफूलाई शताब्दीयौंदेखि जोगाउदै आइरहेको सुनिन्छ यस अर्थमा दुवईले पनि आफ्नो मान र सान जोगाउन सफल रहोस् शुभकामना ।

प्रतिक्रिया

प्रतिक्रिया