भदौबाटै चौमासिक योजना
नयाँ आर्थिक बर्षको पहिलो साता सकिन लाग्दा अघिल्लो आर्थिक बर्षका योजना फस्र्यौट गरिरहेका नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधिहरु आगामी बर्षदेखि यो अवस्था दोहोरिन नदिनेमा प्रतिबद्ध देखिएका छन् । ‘आज (शनिबार) सबै योजना फस्र्यौट गरेर कोष तथा लेखा नियन्त्रण कार्यालय पठाउन नसकेको भए सबै चौपट हुन्थ्यो’, विहानैदेखि बोर्ड बैठकमा सक्रिय एक वडाध्यक्षले भने, ‘आज (शनिबार)मात्रै झण्डै ६० वटा योजना फस्र्यौट गरिएको छ ।’
उक्त कुराको पुष्टयाईं गर्दै उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले भनिन्, ‘यो बर्ष सबै काम ढिलो गरी सुरु भएकाले समस्या आएको हो ।’ उनले कर्मचारीको अभाव, ठेकेदार चयन प्रक्रिया सबै कुराले पछिल्लो चार महिनामात्र विकास निर्माणका काम पाइएको औंल्याउँदै भनिन्, ‘चालु आर्थिक बर्षका लागि साउन महिनाभित्रै योजना बनाएर सक्ने कुरामा सबै प्रतिबद्ध छौं ।’
शनिबार पनि दिनभर उपमहानगरपालिकाको कार्यालयमा भेटिएका नगर प्रमुख डा. धवल समशेर राणा प्रमुख प्रशासकीय अधिकृतसँग छलफलमा व्यस्त देखिन्थ्ये । विहान ८ बजेदेखि नै बोर्ड बैठक डाकेका नगरप्रमुख राणाले झण्डै ४ घण्टा लगाएर बैठक सकेपछि ‘तनावमुक्त मुड’मा भने, ‘नगरी नहुने कामहरु सकियो ।’ कार्यालयमा अधिकांस कर्मचारीहरु पनि कामकाजमै देखिन्थ्ये । ‘शनिबार भन्नु पनि छैन’, सूचना अधिकृत शरद पौडेलले व्यस्तताको अवस्था देखाउँदै भने ।
आर्थिक बर्ष २०७५÷०७६ का लागि समयमै नगरसभा सकेको नेपालगन्ज उपमहानगरपालिकाले साउन भित्रै योजना छनोट गरी चौमासिक ढाँचामा लैजाने जनाएको छ । ‘नगरसभाले पास गरेका योजनालाई प्रत्येक वडाले कामको प्राथमिकताका आधारमा चौमासिक ढाँचामा लैजाने छन्’, उपप्रमुख थापाले दैनिक नेपालगन्जसँग भनिन्, ‘त्यसका आधारमा भदौदेखि नै विकास निर्माणका कामले गति लिनेछन् ।’
यसैबीच नेपालगन्ज उपमहानगरपालिकाले मंगलबार आफ्नो राजपत्र जारी गर्ने भएको छ । न्यायिक समितिका संयोजक समेत रहेकी उपप्रमुख उमा थापामगरले राजपत्र जारी गर्ने तयारी भैरहेको जानकारी दिइन् । ‘३० भन्दा बढी कानुन, ऐन, नियम, नियमावली तयार भएका छन्’, राजपत्र जारी गर्नुपर्ने जानकारी दिंदै उपप्रमुख थापाले भनिन्, ‘बृहत उपस्थितिमा राजपत्र जारी गर्ने तयारी गरिएको छ ।’
कर सचेतना अभियानमा खजुरा
पाँच बर्षभित्र देशकै नमूना गाउँपालिका बनाउने योजना अघि सारेको खजुराले कर सचेतना अभियान थाल्ने भएको छ । पछिल्लो गाउँ कार्यपालिका बैठकले प्रत्येक टोल, बस्तीमा पुगेर कर सचेतना अभियान चलाउने निर्णय गरेको हो ।
‘गाउँपालिकाको विकासका लागि आर्थिक स्रोत अपरिहार्य छ’, कर सचेतना अभियानबारे जानकारी दिंदै गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले दैनिक नेपालगन्जसँग भने, ‘त्यसका लागि एकीकृत सम्पत्ति करलाई प्रभावकारी रुपमा लागु गर्न खोजिएको छ ।’ कर तिरेका जनताले विकास निर्माणको अपनत्व पनि लिने विश्वास गाउँपालिका प्रमुख कक्षपतिको छ ।
कर सचेतनाका क्रममा बिहिबारदेखि गाउँपालिकाका प्रतिनिधिमूलक अगुवा, वडा सदस्य लगायत कम्तीमा ५० जनालाई तीन दिनसम्म एकीकृत सम्पत्ति करबारे प्रशिक्षित गरिंदैछ । ‘५० जनाले प्रत्येक गाउँबस्तीमा पुगेर अभिमूखिकरण गर्नेछन्’, गाउँपालिका प्रमुख कक्षपतिले प्रत्येक करदाताको सहमति र समझदारीमा करको दायरा बिस्तार गर्न खोजिएको योजना सुनाउँदै भने, ‘जनताले खजुराको विकासको लागि आफ्नो तर्फबाट कर तिर्ने कुरामा सहमति जनाउने छन् भन्ने कुरामा हामी विश्वस्त छौं ।’
बुधबार बसेको कार्यपालिका बैठकले विभिन्न कार्यविधिहरु पास गर्दै एकीकृत सम्पत्ति करबारे आम जनतालाई सुसूचित गराउने निर्णय गरेको थियो । ‘त्यसबाहेक शिक्षा, स्वास्थ्य, कृषि र पशुका क्षेत्रमा लगानी गर्ने बजेट ब्रेक डाउन पनि गरेका छौं’, गाउँपालिका प्रमुख कक्षपतिले दैनिक नेपालगन्जसँग भने ।