भारतीय एजेन्सीलाई यात्री सुम्पे वापत रकम असूल गरिरहेका हवल्दार माथि कारवाही सुन्य
दैनिक नेपालगन्ज/विनय दीक्षित
बाँके जमुनाहा नाकामा यात्रीलाई भारतीय सवारी साधनमा सेट गरे वापत रकम असुल गर्र्दै आएका प्रहरी हवल्दार मानबहादुर अधिकारी बारे जारी अनुसन्धान प्रकरणमा जिल्ला प्रहरी कार्यालय बाँकेले मौनता कायम राखेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक टेक बहादुर तामा«ले प्रहरी निरीक्षक रञ्जन स्वारको संयोजकत्वमा छानविन समिति नै गठन गरि अनुसन्धान अघि बढाएको १५ दिन पूरा हुँदा प्रहरीले कुनै प्रकारको प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन ।
घटनाको अनुसन्धानमा खटिएका भनिएका प्रहरी निरीक्षक स्वारले उक्त घटनामा रकम लेनदेन नभई भारतीय रुपैयाँ सटहीको विषय भएको प्रतिक्रिया दिएका छन् । रुपईडिहा थाना सामुन्ने रहेको एउटा ट्राभल एजेन्सीबाट रकम असुल गरेको र रुपईडिहा एसएसबी अगाडिबाट सेवाग्राहीबाट रकम लिएको दुईवटा भिडियो सार्वजनिक भएपछि अघि बढेको अनुसन्धान बीचमा रोकिएको छ ।
इलाका प्रहरी कार्यालय जमुनाहा खटिएका प्रहरी हवल्दार अधिकारी बारे जाँच गर्न गठन भएको समितिले रुपईडिहामा रुपैयाँ सटही गर्ने ब्यक्तिको नाम खाली राखेर एउटा कागज तयारी गरि पछि नाम थपेको श्रोतले जनाएको छ । ‘हवल्दारलाई बचाउनका लागि जिल्ला प्रहरी कार्यालय बाँके समेत प्रयासरत रहेको पाइयो’, श्रोतले भन्यो । थपिएको सटही गर्ने ब्यक्ति नाम तिवारी थरको रहेको श्रोतको दावी छ । दैनिक नेपालगन्जलाई सटही गर्ने ब्यक्तिको नाम थर थपिएको भन्दा अघि नै नाम खाली राखिएको अवस्थाको कागजात प्राप्त भएको हो । अहिले जाँच समितिको संयोजकमा रहेका प्रहरी निरीक्षक स्वारले रकम सटही गरेको पाइएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेमा सरुवा भइ आएका जाँच समितिका संयोजक भनिएका प्रहरी निरीक्षक रन्जन स्वाँर यसअघि इलाका प्रहरी कार्यालय भगवानपुर बाँकेमा इन्चार्जको नेतृत्वमा तैनाथ थिए ।
स्वार भगवानपुरमा २०७४ माघ २३ गतेदेखि २०७५ साल बैशाख २१ गते सम्म जिम्मेवारी निर्वाह गरे । सो दौरानमा स्थानीय क्षेत्रमा भइरहेका ढुंगा तस्करी बारे उनले भरमग्दुर कारवाही गरेको टिप्पणी छ । इलाका वन कार्यालय नरैनापुरले सो दौरान बरामद गरेको ३ ट्राली करिब ३३० घन मिटर ढुंडा स्वारकै नेतृत्वमा इलाका प्रहरी कार्यालय भगवानपुरमा सुरक्षाका लागि जिम्मामा दिइएको थियो ।
‘ढुंगाको मुचुल्का गरेर पत्र सहित स्वार इन्चार्ज रहेका बेला सुरक्षा गर्न जिम्मा दिइएको थियो’, इलाका वन कार्यालय नरैनापुरका सहायक बनअधिकृत दिप नारायण यादवले भन्छन्, ‘अहिले हामी आफै ढुंगा खोजी रहेका छौं तर ढुंगा पाइएको छैन । जिल्ला वन कार्यालय बाँकेमा मुद्दा कारवाहीमा रहेको छ । विचाराधीन रहेको मुद्दाको ढुंगा नै गायब भएपछि कारवाही कुन हिसाबले अघि बढाउने भन्ने विषय गम्भीर बन्दै गएको यादवले बताए ।
हामीले उक्त ढुंगा बारे पत्राचार गरि इलाका प्रहरी कार्यालय भगवानपुर संग जानकारी माग्दा ढुंगा नरहेको बारे जानकारी आएपछि मुद्दा चलिरहेका ब्यक्तिहरु बारे के गर्ने भन्ने गम्भीर प्रश्न उब्जिएको यादवले बताए । श्रोतका अनुसार, स्वारले उक्त ढुंगा ४० हजार रुपैयाँमा स्थानीय एक जना काठ ठेकेदारलाई बिक्री गरेको बताइएको छ । बनश्रोतका अनुसार, ठेकेदारले ढुंगा खरिद गरेकोसम्म सूचना प्राप्त भएको छ, तर प्रमाण नभएका कारण कारवाही गर्न सकिएको छैन ।
इलाका प्रहरी कार्यालय भगवानपुरको हाल इन्चार्ज रहेको प्रहरी निरीक्षक विरेन्द्र विर विश्वकर्माले प्रहरी हाता भित्र कुनै प्रकारको ढुंगा नरहेको बताएका छन् । ‘हाता भित्र कुनै ढुंगा छैन’, उनले भने, ‘ढुंगा बारे विस्तृत विवरण थाहा हुन सकेको छैन ।’
दाङ, सल्यान, जाजरकोट, रुकुम, रोल्पा, हुम्ला, जुम्ला, सुर्खेत लगायतका जिल्लाबाट भारत जाँदा नेपालगन्ज नाका प्रयोग हुने गरेको छ । भारतीय क्षेत्रमा रोजगारीका लागि जाने ब्यक्तिहरु दशैं, तिहार जस्ता चाड पर्वका बेला फर्किन्छन् । तर, सिमा क्षेत्रमा सुरक्षाका लागि तैनाथ रहेका सुरक्षाकर्मीले यस्ता आवागमन गर्ने नागरिकबाट रकम असूली गरिरहेको विषयमा यसअघि नै समाचार प्रकाशित भएको थियो ।
सिमा क्षेत्रबाट भारतीय सहर, देहरादून, हरिद्वार, लखनउ, लुधियाना, अमृतसर जस्ता सहरमा मजदुरीका लागि जाने आम नेपाली नागरिक एक स्थानमा मात्र हैन, नेपालगन्जकै होटल, यातायातका साधन, जमुनाहा नाका देखि रुपईडिहा प्रहरीसम्म लेटिन्छन् । ५ सय रुपैयाँ मात्र भाडा पर्ने कोठाको १७ सयसम्म तिर्नु परेको सल्यानका सुरेन्द्र बहादुर खड्काले बताएका छन् । होटलदेखि यातायातका साधनसम्म बढी रकम लिने गरेको थाहा भएपनि कारबाही गर्ने निकाय नदेखेर मौन बस्नु परेको उनको आरोप छ ।
यातायात ब्यवसायीबाटै सेटिङ गरेर यात्रीलाई होटलमा लैजाने र त्यहाँबाट भारतीय यातायात ब्यवसायी संग साँठगाँठ गरी मोटो कमिशनको खेलमा दलाल फेला पर्नु ठूलो कुरो होइन । तर, चिन्ताको विषय तब हुन्छ, जब आम नागरिकको सुरक्षाका लागि जिम्मेवारी लिएको प्रहरी अधिकारीले सर्बसाधारण माथि लुटपाट मच्याउँछन् ।
तीन महिना अघि इलाका प्रहरी कार्यालय जमुनाहामा नागरिक सुरक्षाको जिम्मेवारी सम्हाल्न खटिएका प्रहरी हवल्दार मान बहादुर अधिकारी अधिकारीले नै नेपाली लुट्न सक्रिय रहेको पाइएपछि सो विषयमा जिल्ला प्रहरी कार्यालय बाँकेले जाँच अघि बढाएको थियो । सिमा क्षेत्रमा रहेको यातायात एजेन्सीबाट दिनहुँ १५ हजारदेखि ३० हजार भारतीय रुपैयाँ कमिसन बुझ्न हवल्दार अधिकारी रुपईडिहा पुग्छन् । रुपैयाँ असूल गरि इलाका प्रहरी कार्यालय जमुनाहा पुग्ने गरेका हवल्दार मान बहादुर अधिकारीको दरबन्दी रुपईडिहा नाका स्थित इलाका प्रहरी कार्यालय जमुनाहामा छ ।
कथित जाँचको प्रसंगमा अहिले अधिकारी जिल्ला प्रहरी कार्यालय बाँकेमा तानिएका छन् । नेपालीलाई लुट्दै आएका अधिकारी यसअघि वडा प्रहरी कार्यालय नेपालगन्जमा गाडी चालकको रुपमा तैनाथ थिए । प्रहरी कार्यालय बाहिर नै सादा पोसाकमा जिम्मेवारी निर्वाह गर्ने हवल्दार अधिकारी सादा पोसाकको प्रहरी नरहेको इलाका प्रहरी कार्यालय जमुनाहाले पुष्टि गरेको छ । अधिकारीका साथमा नाम खुल्न नसकेका एक प्रहरी जवान र जयसपुरका ३ जना तस्कर बारे प्रहरी जाँच अन्योलमा छ ।
होटलमा बसेका नेपालीलाई रुपईडिहामा लगी यातायात एजेन्सीलाई सुम्पे वापत यात्रीबाट भाडा भन्दा बढी रकम असुली गरेर ७ स्थानमा बाँडफाँड गर्दा एक जनाको भागमा प्रतिदिन करिब १५ हजार देखि ३० हजार रुपैयाँसम्म पर्छ । सोही रकम हवल्दार अधिकारीले बुझ्दै आएको तथ्य बाहिर आएको थियो । इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार अहिले प्रतिदिन करिब ४ सय नेपाली रोजगारीका लागि भारत जाने गरेका छन् । उनीहरु भारतीय सवारी साधन आफै प्रयोग गरेपनि प्रहरी हवल्दार अधिकारी र ६ जना एजेन्टहरुको कमिशन समयसुविधा अनुसार उनीहरु संग पुग्ने गरेको छ ।
जमुनाहामा स्थापित पब्लिक मेट्रो सर्भिस प्रालि र स्वर्गद्वारी यातायात सेवा प्रालिले भारतीय क्षेत्रमा यातायात संचालन गर्दै आएको खुलेपछि भाडा दरबारे सोधपुछ गर्दा एजेन्सीका प्रतिनिधिले भने, ‘आफै टिकट काटेर यात्रा गरेको खण्डमा बढी रकम तिर्नु पर्दैन ।’ यात्रीहरु भन्छन्, ‘भारतीय क्षेत्रमा मात्र हैन नेपाली क्षेत्रमा पनि चर्को भाडा र प्रहरीलाई रकम तिर्नु परेको छ ।’ दाङका हरिनारायण चौधरीले भने रुपईडिहामा ३ सय, नेपाली एजेन्टलाई २२ सय र होटललाई १५ सय तिरेर चन्दीगढ पुग्ने गरिएको छ । प्रहरी हवल्दारको हर्कत बारे सूचना पाउने वित्तिकै जिल्ला प्रहरी कार्यालय बाँकेले उनलाई कारवाहीका लागि झिकाएपनि के र कस्तो कारवाही भइरहेको सम्बन्धमा सबै तथ्य प्रहरीले गोप्य राखेको छ ।