क्षयरोग (टि.बि.) नियन्त्रण आजको चुनौती

ख्याति प्राप्त भारतीय सिनेकर्मी एवं सामाजिक अभियन्ता नाना पाटेकरले कतै भन्नु भएको छ “कसाइ जुन कुखुरा काट्नको लागि पिंजराबाट बाहिर निकाल्छ त्यो मात्र चिच्याइ कराइ गर्छ बाँकी सारा आफ्नो पालो नआउन्जेल दाना खानमा मस्त देखिन्छ”। हाम्रो जीवनको अवस्था पनि ठीक त्यस्तै छ । समाजको हरेक पक्ष मध्य स्वास्थ्य प्राथमिकतामा परेको विधा हो र पनि यसको अवस्था सन्तोषजनक छैन । स्वास्थ्य सवाल भित्र यहाँ उठान गर्न खोजिएको विषय चाहिं क्षयरोग बारे हो । जुन नेपाल सरकार स्वास्थ्य मन्त्रालयले समस्या न्युनीकरण गर्नको लागि पहिलो प्राथमिकतमा राखेको स्वास्थ्य कार्यक्रमहरु मध्य पर्छ ।

 

 

अहिलेको सन्दर्भमा क्षयरोगको अवस्था नानापाटेकरको भनाइ भन्दा भिन्न छैन । जो पीडित हो ऊ चिच्याइरहेछ उसको विचल्ली छ र बाँकी अरुलाइ चासो नभए जस्तो देखिन्छ । यो पनि अवश्यभावी छ क्षयरोगले कसैलाइ छोड्ने छैन । फरक यति मात्र हो आज एक जनालाइ र भोलि अर्कोलाई । त्यसैले त क्षयरोगको एक व्यक्तिमा संक्रमण भइ अर्को व्यक्तिमा सर्ने दरले डरलाग्दो रुप लिइरहेको छ । एकातिर नयाँ रोगी पत्ता लगाउन आफैंमा चुनौती छँदैछ र यो भन्दा विकराल समस्या भनेको बहु–औषधि प्रतिरोधात्मक र क्षयरोग विरुद्ध दिइने सम्पूर्ण औषधि प्रतिरोधात्मक रोगीहरुको खोजपडताल र उपचार व्यवस्थापन चुनौतीपूर्ण रहेको छ ।

 
आज भन्दा करीव १३६ वर्ष अघि रोवर्ट ककले क्षयरोगको कारण माइक्रोव्याक्टेरिया ट््युवरकुलोसिस हो भनेर एकिन गरिसकेपछि पनि त्यसको १११ वर्ष पश्चात् अर्थात् सन् १९९३ मा मात्र करोडौं मानिसहरुको मृत्यु पछि विश्व स्वास्थ्य संगठनले आपत्कालीन अवस्था घोषण गरेको हो र यो प्रति ध्यानाकर्षण भएको छ । टि.बि. मानिस मृत्युको प्रमुख १० कारक रोग भित्र पर्छ । विश्व स्वास्थ्य संगठनको अनुसार सन् २०१६ मात्र १०.४ मिलियन मानिसहरुलाइ संक्रमण भएको थियो र त्यस मध्य १.७ मिलियन मानिसहरुले ज्यान गुमाए । क्षयरोगबाट करीव १ करोडको हाराहारीमा बालबालिकाहरु संक्रमित भए र २५०,००० ले ज्यान गुमाए । १.७ मिलियन मृत्यु मध्य ०.४ मिलियन एच.आइ.भि संक्रमित थिए । एच.आइ.भि संक्रमितहरु मध्य ४०% मृत्यु क्षयरोगबाट भइरहेको छ र यसले क्षयरोगको भयावह रुप देखाउँछ । आम मृत्यु हुने ९५% मानिसहरु भनेका गरीव र निम्न आय भएका देशका नागरिकहरु हुन् । यसमा हाम्रो जस्तो विकासको अँधेरोमा परेको देश अग्रणी स्थानमा पर्छ ।

 
नेपालको सन्दर्भमा सरकारी तथ्याङ्क अनुसार वार्षिक करीव ४४,००० नयाँ विरामीहरु थपिइरहेका छन् र त्यस मध्य ३२,००० जति मात्र उपचारमा आएका छन् र बाँकी हराइरहेका छन् भन्ने विश्वास गरिएको छ । क्षयरोग कै कारणले वर्षेनि ५००० देखि ७००० को हाराहारीमा मृत्यु भइरहेको छ र अझै सन् २०१६ को तथ्याङ्क हेर्ने हो भने दैनिक १२० नयाँ विरामीहरु थपिइरहँदा २० जनाको मृत्यु भइरहेको छ र २५ जना हराइरहेका छन् अर्थात उपचारमा आएका छैनन् । जनस्वास्थ्यको दृष्टिकोणले मर्ने भन्दा हराउने अवस्था खतरनाक हो किनकि यसले स्वस्थ मानिसहरुलाइ सारिरहेको हुन्छ ।

 
नयाँ क्षयरोगी पत्तालगाएर त्यसको व्यवस्थापन गर्नु भन्दा पनि बहु औषधि प्रतिरोधात्मक विरामीहरुको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । नेपालमा करीव १००० को हाराहारीमा बहु–औषधि प्रतिरोधात्मक विरामीहरु छन् भनेर विश्वास गरिएको छ तर २०० जना (नेपाल सरकार राष्ट्रिय क्षयरोग केन्द्र) मात्र उपचारमा आएका छन् यसो हुँदा बाँकी विरामीहरुले रोग सारिरहेका छन् भन्ने बुझाउँछ । यस्ता विरामीहरुले सारेको नयाँ विरामी पनि शुरु देखि नै बहु–औषधि प्रतिरोधात्मक नै हुन्छन् र उपचार अवधि २ वर्ष भन्दा माथि जाने र खर्च पनि लाखौं हुने गर्छ । हाम्रो जस्तो निम्न आय भएका सर्वसाधारण र सरकारलाइ नै पनि त्यस्तो उपचार गर्नु कठिन हुन जान्छ ।

 
क्षयरोगीहरु कहाँ हराइरहेका छन् ?

क्षयरोगीहरु कहीं गएका छैनन् । यसलाइ खालि बुझ्ने र ग्रहण गर्ने तरीकामा फरक परेको छ । हालको अवस्थामा फोक्सोमा लाग्ने क्षयरोगलाइ लक्षित गरिएको छ किनकि यसले अरुलाइ सार्छ र मार्छ । फोक्सोको क्षयरोगको शुरुको लक्षण भनेकै खोकी हो किनभने माइक्रोब्याक्टेरिया ट्युबरकुलोसिसहरु स्वास प्रश्वासको माध्यमबाट फोक्सोमा प्रवेश गरे पश्चात् यसले घाँटीमा बेस्सरी खसखस गराउँछ तर हाम्रो त्यसप्रति ध्यान नपुग्नाले खकारमा रगत नआउन्जेल खास चिन्ता लिइंदैन । अर्को घाँटी चिलाउँदा र खोकी लाग्दा हत्त न पत्त मेडिकलमा जाने र केही खोकी कम गराउने औषधि खाने गरिन्छ, त्यसले केही दिन राहत दिन्छ नै । साथमा केही एन्टिबायोटिक दिइहाल्छन् नै औषधि विक्रेताहरुले किनभने विरामी देख्ने वित्तिकै गोजी रित्तिने गरी औषधि भिराउनु औषधि पसलको धर्म नै हो । ग्राहक पनि कम छैनन् स्थानीय औषधि प्रतिको विश्वास हुने नै भो याने चिलाउने र कन्याउने उस्तै । यो क्रम निक्कै लामो समय चलिरहन्छ ।

 

 

रोगले च्याप्दै जाँदा मेडिकलहरुबाट खाइरहेको खोकीको औषधिले काम गरेन भने थप उपचार खोज्नुको साटो अर्को मेडिकलमा खोकीकै नयाँ नयाँ र कडा खालको औषधि खोजी हिंड्ने चेतनाले गर्दा रोगले निकै च्यापिसकेको हुन्छ । अन्तमा गोजी रित्तो भएर केही नलागे पछि स्वास्थ्य संस्था/अस्पताल तिर धाउन शुरु हुन्छ त्यहाँ पनि कथा मेडिकल कै दोहोरिन्छ । क्षयरोग प्रति अज्ञानता÷संवेदनशीलताको कमी, विरामीको चाप, डाक्टर/स्वास्थ्यकर्मी नभेटिने लगायत विभिन्न समस्याहरुले गर्दा खास निदान हुन सक्दैन । विरामी समस्याग्रस्त भए पनि कतिपय स्वास्थ्यकर्मीहरुमा गाम्भीर्यताको कमीले क्षयरोगको लाइनमा जाँचपडताल कमै हुने गरेको छ । यो समस्या अनुभवी मेडिकल अधिकृत र विशषज्ञ डाक्टरहरुकोमा पुग्दा पनि हल भइरहेको हुँदैन । उनीहरुले पनि क्षयरोग भन्दा अन्य समस्या उपर उपचार गरिरहेका हुन्छन् र अन्तमा अन्य रोगहरु माथि गरिएको उपचार प्रभावकारी नभए पछि मात्र क्षयरोगको शंका गरी त्यो लाइनमा जाँचपड्ताल हुने हुँदा निदान हुन निक्कै ढिलो हुन जान्छ र उपचार शुरु हुन्छ ।

 

 

त्यो वेला सम्म कति जनालाइ रोग सारिसकेको हुन्छ जुन भयानक स्थिति हो । कुनै पनि खोकी विशेष गरी २ हप्ता, आजकाल एक हप्ताकोलाइ पनि सामान्य रुपमा लिनुहुन्न । खोकीलाइ सामान्य रुपमा लिर्इँदा रोग ढिलो निदान हुन्छ । यो समस्या मोफसल, दुर्गम वस्ती, सेवाको पहुँच नपुगेको र पछाडि पारिएका, शहर बाहिरको गरीव वस्तीका समुदायहरुमा व्याप्त छ । कतिपय उपचार मै आउन नपाइ मृत्यु वरण गरिरहेका छन् । सभ्य शहरकै दायाँ वायाँ र अलि कति भित्र पट्टि गएर हेर्ने हो भने हामी तमाम स्वास्थ्यकर्मीहरुलाइ र यस प्रति जिम्मेवार निकायलाइ निकै गिज्याउने खालको दृश्यहरु देख्न पाइन्छ जुन क्षयरोग सर्ने केन्द्रकै रुपमा विकास भैरहेको छ र त्यतापट्टि ध्यान गएको छैन । क्षयरोगीहरु उपचार गर्न आइहाल्छ भनेर पसल थापेर बसिरहँदा दिनानुदिन समस्या गम्भीर हुँदै गैरहेको छ । क्षयरोगलाइ भौतिक आँखाले हेरेर मात्र बुझ्नु भन्दा यसले समाजलाइ नै विकलाङ्ग बनाउने गम्भीर समस्या प्रति सचेत हुन ढिलो भैसकेको छ ।

 
हाम्रो परिवेशमा क्षयरोग “जगदम्वा” समूह अथवा जनजाति, गरीव, दलित, महिला र बाहिर परेका समूह÷पछाडि पारिएको समूहलाइ अलि बढी छ भन्ने विश्वास गरिएको छ । क्षयरोग सबैलाइ हुन्छ र हुनसक्छ भन्ने धारणलाइ आत्मसात् गरिरहँदा हामी सबैलाइ थाहा छ क्षयरोग अभाव, गरीवी, चरम खानाको अभाव÷कुपोषण, सामूहिक रुपमा एउटै कोठामा सुत्नुपर्ने र पर्याप्त मात्रामा कोठामा हावा आवत जावतमा नहुने , अत्यन्त भीडभाडमा काम गर्नुपर्ने, थकान, मानसिक अवस्था क्षयीकरण वर्गहरुमा विद्यमान रहेको छ । त्यस्तै क्षयरोगले एच.आइ.भि.संक्रमित, क्यान्सर, मधुमेह,दीर्घरोगीहरु र शरीरसँग रोगहरुका साथ लड्न सक्ने क्षमताको क्षय भएका व्यक्तिहरुलाइ सजिलै आक्रमण गर्छ । किनकि यो अवसरवादी रोग पनि हो । त्यसैले पनि अत्यधिक कामको भार, अत्यन्त फोहोरी, गाह्रो र खतरनाक काम गर्ने वर्गहरुमा यसले घर नै बनाएको छ र ती समुदाय उपचारमा नआउने आए पनि ढिलो आइपुग्ने हुनाले यसको नियन्त्रणमा चुनौती बनेको छ । मुस्किलले जीविका चलाइरहेका समूह जो क्षयरोगका पहिलो निशाना पनि हुन् । ६ महिना चामल खान पुग्ने पैसा एक पटक जँचाउन जाँदा सकिने हुनाले समस्यालाइ वालमतलव गरी बसिरहेका छन् र संक्रमणको केन्द्रविन्दु नै बनिरहेको छ । गरीवी हाम्रो लागि अभिशाप बनेको छ । यस प्रति कुनै निकायको ध्यानाकर्षण हुन सकेको छैन । क्षयरोग र गरीवी एक सिक्काका दुई पाटो बन्न पुगेको छ ।

 

 

नेपालमा स्वास्थ्य मन्त्रालय अन्र्तग क्षयरोग नियन्त्रण केन्द्र नै छ । रोग नियन्त्रण गर्नको लागि अनेकौं प्रकारका नियम नीतिहरु बनेकाछन् । सन् २००० यता प्रत्यक्ष निगरानीमा औषधि खुवाउने कार्यक्रमले रोग नियन्त्रणमा सकारात्मक भूमिका खेलेको हो तर आम नेपालीहरुको सामाजिक स्तर माथि उठ्न नसकेको कारणले रोग नियन्त्रणमा आजको दिनसम्म आइपुग्दा आशातीत परिणाम निस्कन सकेको छैन । अहिले समस्याको भयावहतालाइ हेर्ने हो भने नेपाल सरकारको सन् २०५० मा क्षयरोगलाइ जनस्वास्थ्य समस्या विहीन गराउने अथवा प्रति १००००० जनसंख्यामा १ जना भन्दा कम क्षयरोगी बनाउने लक्ष्य निक्कै कठिन देखिन्छ । माथि उल्लेखित गरीवीसँग जोडिएका समस्या बाहेक नेपाल सरकार स्वास्थ्य प्रणाली भित्र आवश्यकता अनुसार र दक्ष प्राविधिकहरुको कमी, न्युन माइक्रोस्कोपी सेन्टर त्यहाँ पुग्न लामो दुरी तय गर्नुपर्ने, भौगोलिक जटिलता र यातायातको कमी, दरवन्दीमा भएका स्वास्थ्यकर्मीहरु कार्यालयमा नभेटिने, विशेष गरी ल्याव टेक्निसियनहरुको कमी र उनीहरुको अनुस्पथिति, पटक पटक खकार जाँच्नको लागि अत्यावश्यक केमिकलहरु अभाव भैरहनु, ल्यावोरेटरी सेन्टर सम्म आइपुगेको खकार नमूना स्मेयर बनाउन नमिल्ने खालको हुनु र कार्य बोझ र सेवाग्राही प्रति हेर्ने दृष्टिकोण सकारात्मक नहुने आदि समस्याहरु विद्यमान रहेका छन् ।

 
आम जनमानस, यस क्षेत्रमा कार्यरत व्यत्ति, संघ संस्था र नीति निर्माताहरुको लागि क्षयरोग नयाँ समस्या होइन । सतही बुझाइमा यसलाइ सबैले आत्मसात् गरिसकेको छ र सबै सचेत छन् तर व्यवहारमा यस्तो छैन । जो पीडित छ ऊ एक्लिएको छ । यस्तो एक्लाइ समाजबाट मात्र होइन घरपरिबाटै विभेदमा परेकोे छ । रोग लागेपछि यसलाइ सहज रुपमा लिइएको छैन । वास्तविक सेवाग्राही, समुदाय र पीडित वर्गमा पुग्दा मात्र यसको यथार्थता थाहा लाग्छ । हामीले अहिले सम्म गरी आएको काम भनेको व्यक्ति विरामी भएपछि आफै उपचारमा आउने, उसलाइ निदान गर्ने र औषधि दिने । यो अत्यन्त हल्काफुल्का काम भैरहेको छ । घर घरै पुगेर सम्झाइ बुझाइ गर्दा समेत उपचारमा ल्याउन गा¥हो छ । जाँच गर्नको लागि नमूना खकार दिन सम्म आनाकानी र शंका गर्ने जनसमुदायलाइ निदान गरी उपचारमा ल्याउन फलामको च्युरा चपाए जत्तिकै छ । मानिसमा संकोच यति सम्म छ कि पल्लोघरको छिमेकीलाइ टि.बि. लागेको थाहा पाए पछि आफूलाइ पनि मिल्दो जुल्दो लक्षण छ भने जँचाउन अर्कै इलाकाको स्वास्थ्य संस्थामा जाने र औषधि पनि उतैबाट खाने दृश्यहरु प्रशस्त देख्न पाइन्छ । अर्को, गाउँमा २,४ जनाले औषधि खान थालेपछि बल्ल आफूलाइ पनि जँचाउनुपर्ने महशुस गरी उपचारमा जान थालेको र नियमित औषधि सेवन गर्न थालेको अवस्था विद्यमान छ । जति धेरै क्षयरोगीहरु औषधि खान थाल्छन् उति नै धेरै विरामीहरु देखापर्न थाल्छन् किनकि क्षयरोगी म एक्लो होइन रहेछ भन्ने मनोविज्ञानले काम गरिरहेको छ । जस्लाइ पनि आफू जस्तै जमात चाहिने रहेछ । यी कुराहरुले क्षयरोग प्रति हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन ल्याउन जरुरी छ ।

 

 

क्षयरोग निदान पश्चात् यसको विरुद्ध धेरैवटा औषधिहरु एकै पटक खानुपर्दा शरीरमा प्रतिकारात्मक असरहरु देखिने र केही समय कमजोरी महशुस हुने कारणले विचमै औषधि सेवन गर्न छोड्नेहरुको संख्या पनि उल्लेखनीय रुपमा बढिरहेको छ । यसको प्रमुख कारण भनेको उचित पौष्टिक खानाको अभाव हो । विरामीहरुको अवस्था यस्तो सम्म छ कि परिवारको संख्या ९ जना तर सबै जनालाइ एकै पटक खाना भाग लगाउन पुग्ने भाँडाकुँडा छैन पौष्टिकताको कुरा धेरै पर । क्षयरोग लागेपछि यसको पहिलो क्षति शरीरलाइ हुन्छ र क्षयरोग भएको प्रमाणित भएपछि विरामीहरुमा मनोवैज्ञानिक रुपमा विचलन आउँछ । एकातिर रोगले च्यापेपछि आर्थिक उपार्जन गरिरहेको व्यक्ति असक्षम बन्न जान्छ यसले उसलाइ निकै हतोत्साही बनाउँछ भने कमाउन नसक्ने भएपछि परिवारले पनि अपहेलना गर्न थाल्छ यसो हुँदा व्यक्ति उपचारमा आउने भन्दा पनि छिटो मृत्यु भैदिए हुन्थ्यो भन्ने मानसिकतामा बाँच्न थाल्छ र लुकेर बस्ने गरेको पाइन्छ । अनि नाम मात्रको वास, खानाको ठेगान छैन, सबैले एक्लै छोडिदिएका छन्, खोक्दै रगत वान्ता गरिरहनु, झुत्रो पहिरन, एक्लिएको वस्ती, कुपोषणले ग्रस्त उत्रै उत्रा केटाकेटीहरु अनि आफन्तजनले भेट्दा यसरी बाँचिरहनु भन्दा त बरु हुरुक्क भइदिए हुन्थ्यो भन्ने दारुण चित्र क्षयरोग ग्रस्त विरामीहरुको पहिचान हुन् ।

 
क्षयरोग नियन्त्रणको एक मात्र विकल्प उनीहरु भएको वस्तीहरुमा पुग्नु हो । क्षयरोगीलाइ रोग निको हुन्छ भनेर आड भरोसा दिनु, उनीहरुको परिवारजनलाइ सहयोगी बन्न प्रेरित गर्नु जरुरी छ । रोगीहरुलाइ पायक पर्ने ठाउँ सम्म जानको लागि सहज वातावरण बनाउन आवश्यक छ । उपचार केन्द्र सम्म आइपुगेका रोगी र आफन्तजनहरुलाइ मैत्रीपूर्ण व्यवहार गरिनुपर्ने विषय पहिलो शर्त हो । एक पटक मुस्किलले स्वास्थ्य संस्थामा पुगेको सेवाग्राहीलाइ फेरि आउन मन लाग्ने वातावरण तयार गर्नु ढिलो भैसकेको छ । नेपालको सन्दर्भमा धेरै जिल्लाहरुको सेवाग्राही स्वास्थ्य संस्था सम्म आउनु नै ठुलो कुरा हो । सेवा प्रदायकले नबुझी नहुने कुरा के हो भने तमाम सेवाग्राहीहरुको भिडमा वास्तविक सेवाग्राही आएका छैनन् अथवा अत्यन्त न्युन मात्र उपस्थित छन् भन्ने विषयलाइ मनन गर्नु अत्यन्त जरुरी छ । किनभने यथार्थ के हो भन्ने जो आइपुग्नुपर्ने हो उनीहरुको पहुँच नगन्य छ भन्ने यथार्थ तमाम स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता र योजनाकारहरुले मनन गर्नुपर्छ । उपचारमा आएका सेवाग्राहीलाइ संरचनागत, आर्थिक, सेवा प्रवाह, मानवीय, सामाजिक मैत्री व्यवहार गरे मात्र वास्तविक विरामीहरुले सेवा लिन्छन् र क्षयरोग लगायत भयानक समस्याहरु हल गर्न टेवा मिल्ला । सैद्धान्तिक रुपमा भनिदै आएको क्षयरोगका लक्षणहरु र त्यसको निदानको लागि अपनाइने विधि र चरणहरु मात्र काफी छैन । शंकास्पद व्यक्तिहरुलाइ निरन्तर अनुगमन गरिरहनु जरुरी छ । विरामीको घर घरै पुग्दा यस्तो आभास हुन्छ कि हरेक घरमा क्षयरोगीहरुले वास गरिरहेको छ भन्ने भान परिरहेको छ । यो सानो प्रयासले हुने वाला छैन । विरामी जँचाउन आउँछ र निको पारौंला भन्ने सोचले रोग बढाइ मात्र रहेको छ । नेपाल सरकारले पनि घर घरै शंकास्पद क्षयरोगीहरु खोज्न जाने रणनीति लागू गरिसकेको छ । साँच्चै व्यवहारमा लागू गर्न जरुरी छ र यसमा आवद्ध हुने सहयोगी निकाय र गैरसरकारी संस्थाहरुलाइ परिणाम देखिने गरी काम गर्न निर्देशन गर्नु जरुरी छ ।

 

 
हाम्रो परिवेशमा क्षयरोग नियन्त्रण निक्कै चुनौतीको रुपमा खडा भएको छ । धेरै हिसाबले भारत हाम्रो छिमेकी हुनु पीडा भए जस्तै क्षयरोगको लागि त अभिसाप नै बनेको छ । गरीवी, अध्ययन अवसरबाट वञ्चित र सहजताको कारणले रोजगारीको पहिलो गन्तव्य भारत भइदिंदा क्षयरोग, एच.आइ.भि.र एड्स आयातको मुहान नै बनेको छ । एच.आइ.भि र क्षयरोग सह संक्रमणको रुपमा देखापर्छ । खुल्ला सिमाना दुइ किसिमले जटिल बनेको छ । पहिलो जीविकोपार्जन खालको कामको लागि अत्यन्त धेरै मानवस्रोत त्यहाँ जान्छन् र भए भरको संक्रमण बोकेर फर्कन्छन् त्यस्तोमा क्षयरोग प्रमुख हुने गरेको छ । त्यहाँ जाने मानिसहरु त्यो वेला सम्म जान्छन् जव सम्म हिंड्न र उभिन सक्ने अवस्थाका हुन्छन् । जव असक्त हुन्छ अनि आफ्नै गाउँ वस्तीमा फर्कने र सके उपचार खोज्ने नसके घरैमा रोग सार्दै बस्ने । यस्तो अवस्था हुँदा सम्म मानिसहरु आउने जाने क्रम रोकिएको छैन र देश भित्रै उनीहरुलाइ आयआर्जनको वैकल्पिक व्यवस्था पनि गर्न सकिएको छैन त्यसैले मध्यपश्चिम र सुदुरपश्चिमका धेरै घरहरुमा क्षयरोगका विरामी भेटिने गरेका छन् । दोश्रो विशेष गरी भारतसँग सिधा सिमाना भएका तराइका जिल्लाहरु क्षयरोय हिसाबले निक्कै उच्च जोखिममा छन् । ती जिल्लाहरुका सेवाग्राहीहरु उल्लेखनीय मात्रामा भारतीय हुने गरेका छन् । भारतीय विरामीहरु जँचाउन आउँदा र निदान हुने वेला सम्म नेपालको ठेगाना लेखाउने गर्छन । एक दुइ महिना औषधि सेवन पछि निको भएको महशुस गर्ने अनि वेपत्ता हुने हुँदा सबै भन्दा धेरै बहु औषधि प्रतिरोधात्मक विरामीहरु यही समूहका छन् । तर नेपाल आवत जावत गर्न छोडेका छैनन् र नेपालीहरुको लागि डरलाग्दो हिसाबले संक्रमण फैलाइरहेका छन् । त्यसैले सरकारी पहलमै क्रस वोर्डर उपचार गर्ने पद्धति ल्याउनु अत्यन्त अपरिहार्य भएको छ ।

 
क्षयरोगले सबभन्दा धेरै क्षति गर्ने भनेको आर्थिक रुपमा हो किनकि जति पनि यस रोगका पीडितहरु भनेका आर्थिक हिसाबले सक्रिय अथवा कमाउन सक्ने उमेर समूहका व्यक्तिहरुलाइ शिकार बनाइरहेको छ । रोगी र मृतकहरु प्रायः २० वर्षदेखि ४५ वर्ष भित्रका छन् । सम्पूर्ण शंकास्पद व्यक्तिहरुको खकार जाँच गरी सर्व सुलभ हिसाबले उपचारको व्यवस्था गर्नु पहिलो कर्तव्य हो भने विरामी र ऊ सँग आश्रित परिवारलाइ आर्थिक रुपले सक्षम बनाउनु रोग पुनः नबल्झियोस् भन्ने रणनीति भित्र पर्छ र व्यक्तिको रोगसँग लड्न सक्ने क्षमता विकास गर्न उसलाइ मनोवैज्ञानकि रुपले सक्षम बनाउन आर्थिक रुपमा बलियो बनाउन जरुरी छ । क्षयरोग उपचार गर्दा आर्थिक आय आर्जन र विविध क्षेत्रहरुमा संरक्षण गर्न ढिलो भैसकेको छ । क्षयरोग सरुवा र उच्च मृत्यु निम्त्याउने समस्या भएकोले यस नियन्त्रणमा सबैको साझा प्रतिवद्धताको आवश्यकता परेको छ । (मल्ल विराट नेपाल मेडिकल ट्रष्ट टि.बि.रिच परियोजना क्षेत्रीय कार्यालय नेपालगन्जमा प्रोजेक्ट म्यानेजर पदमा कार्यरत छन् )

प्रतिक्रिया

प्रतिक्रिया