जहाँ नागरिक चेतनाको अभाव हुन्छ, त्यो ठाउँमा शिक्षा, संस्कृति र साहित्यको विकास हुन गाह्रो हुन्छ । नेपालगन्जको सन्दर्भमा हेर्दा नागरिक चेतनाको अभाव आज पनि प्रष्ट देखिन्छ । एउटा मन्दिरको वरण्डा भत्काउन कसले रोकेको ? बाटो बिस्तार गर्दा मापदण्ड नै नबनाइ जथाभावी निर्माण र हतारमा साउनको भेलमा निर्माण कार्य जारी राख्न खोज्नु, सडकको माझमंै मन्दिरहरु रहिरहनु, सहरको फोहोर व्यवस्थापन हुन नसक्नु, मठ मन्दिरहरुको व्यवस्थापन नहुनु, छाडा गाई वस्तु, घोडा, गधा, खच्चड बीच सडकमा घुमिरहनुको परिदृश्यले बताइरहेको छ –यस सहरमा नागरिकता चेतना शुन्य छ ।
शुन्य नागरिक चेतना भएका मानिसहरुका प्रतिनिधिहरु व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्न सक्दैन । यस सहरको अर्को विशेषता के देखियो भने यहाँ व्यक्ति सत्ता नै महत्वपूर्ण रहेको पाइयो । सामूहिकताको भावनाको विकासै भएन । त्यसैले यस सहरको नेतृत्वमा रैथानेहरु असफल भए । बाहिरबाट आएकाहरुको नेतृत्व छ समाजको सबै क्षेत्रमा । एक दुई जना कहिंकतै स्थापित देखिए पनि उनीहरुमा भिजनको अभाव छ । नयाँ दृष्टिकोणले हेर्ने क्षमताको अभाव छ । यही कारण हो कि नेपालगन्जले राष्ट्रिय परिप्रेक्षमा आफ्नो उपस्थिति जनाउन सकेन । स्वभाविक प्रतिनिधित्व औंलामा गन्न सकिने मात्र छन् ।
सुशिल कोइराला प्रधानमन्त्रीसम्म हुनुभयो । जिल्लाको नेता उहाँपनि व्यक्तिगत भन्दा समष्टिगत हुन सक्नु भएन । उहाँको अवसानपछि अर्को क्षमतावान नेता दिन सक्नु भएको रहेनछ उहाँले पनि । ललितचन्द ठकुरी लामो समयसम्म जिल्लाको नेता हुनुभयो । तत्कालीन राष्ट्रिय पंचायतको अध्यक्षसम्म हुनुभयो । तर, नेपालगन्जका लागि केही गर्ने उहाँको सोंच भएन । नेपालगन्ज टाक्सिएको टाक्सिएकै रहेको थियो । फत्तेसिंह थारु, शान्ति समशेर राणा, प्रेम बहादुर भण्डारीहरु मन्त्री नै भएर पनि के गर्न सके छ ? नेपालगन्ज त उस्ताको उस्तै छ ।
नेपालगन्जबाट नेपालगन्जलाई हेर्ने दुर दृष्टिभएको नेताहरु जन्मन नसक्नुको मूल कारण हो, शिक्षा, संस्कृति र साहित्य प्रति यहाँको नागरिकहरुको अरुचि । २००७ सालसम्ममा नेपालगन्जमा इन्टर पास गरेका मानिसहरु दुई चार जनामात्र थिए । शिक्षकहरु भारतबाट मगाउनु पथ्र्यो ।
२०२० सालपछि मात्र शिक्षाका क्षेत्रमा नेपालगन्जका मानिसहरुको वर्चश्व बढेको हो । तर, पनि आजको परिस्थितिमा यसो दृष्टिपात गरियो भने यहाँका अधिकांस निजी विद्यालय र कलेज क्याम्पसको व्यवस्थापनमा नेतृत्वदायी भूमिका अन्य स्थानबाट आएकाहरुकै छ । नेपालगन्जका शिक्षक, सामाजिक जीवन शिक्षामै बिताएका मानिसहरुले शिक्षामा लगानी गर्न रुचाएनन् । तर जे भएपनि शिक्षाको क्षेत्रमा नेपालगन्ज आफ्नै गतिमा भएपनि फड्को मारेकै छ ।
नेपालगन्जको सांस्कृतिक परम्परा भने चित्त बुझ्दो रहेन । अवधी संस्कृतिको विकासका लागि अवधी भाषीहरुमै उदासिनता छ । यहाँका अवधीभाषी नागरिकहरुमा सांस्कृतिक चेतना शुन्य भने पनि हुन्छ । १९२० को आसपास हुनुपर्छ बलदेव प्रसाद हलवाईको सक्रियतामा नेपालगन्जमा रामलिलाको प्रारम्भ भएको हो । उनको सक्रियतामा तत्कालीन अवधी समाजका युवाहरुले रामलिला मण्डली सञ्चालन गरेका थिए । समयको अन्तरालमा त्यो मण्डली टुट्यो ।
भारतबाट रामलिला मण्डली झिकाई रामलिला देखाउने परम्परा मात्र बाँकी छ । मोहनलाल वैश्य, पाटनदीन लखेर, छोटेलाल लखेरहरु धार्मिक संकिर्णता र रामलिलामा सक्रिय रहिरहे । पाटनदीन गुप्ता (लखेर) र मोहनलाल वैश्यमा यस्ता रासलिला प्रदर्शन र संकीर्तनहरुमा प्रतिस्पर्धा हुने गर्दथ्यो । २०२० साल तिर प्रेम पुस्तकालयका पुस्तकाध्यक्ष छोटेलाल गुप्तले पुरानो रामलिला मण्डलीलाई पुनःजीवित गरेर हिउँदमा विवाह पञ्चमीका अवसरमा ५ दिनसम्म रामजन्मदेखि सीता विवाहसम्मका रामकथा भएको रामलिला प्रदर्शन गराइन्थ्यो । २०२१, २२, २३ सालसम्म तीन बर्षसम्म मर्यादा पुरुषोत्तम रामको अभिनय गरेर रामलिलाको अभिनेता हुने सौभाग्य मंैले पनि पाएको थिएँ । पाटनदिन गुप्तासँगको प्रतिस्पर्धामा खेलिने त्यस रामलिलालाई मोहनलाल वैश्यको पूर्ण समर्थन र सहयोग थियो । राम चरित्र मानस पाठ, आल्हा गान र अखण्ड किर्तन बाहेक अवधी भाषा, साहित्य र संस्कृतिका लागि यहाँको अवधी समाजले केही पनि गरेन । साँच्चिकै भन्ने हो भने यहाँको अवधी समाज रुढिवादी र धर्मभीरु थियो । व्यापार बाहेक अन्य क्षेत्रमा उसको दृष्टि विष्तीर्ण हुन सक्दैन थियो । अवधी संस्कृतिको नाममा कहरवा नृत्य भनेर महेन्द्र बहादुर हमालले जुन नृत्य शैलीलाई र जीत संगीतलाई लोकप्रिय बनाउनु भएको थियो । त्यो अवधी संस्कृतिको मूल कहरवा भन्दा टाढाको थियो । तरपनि कहरवा भन्ना साथ नेपालगन्जको नृत्य भन्ने सम्म लोकप्रिय बनाउनमा महेन्द्र बहादुर हमाल, माया शाह, सुष्मा शाह, गीता क्षेत्री, रचना बस्नेतहरुको योगदान रहेको थियो ।
नेपालगन्जमा खस संस्कृतिको प्रभाव त्यति परेन । गाउँ घरमा पनि विवाह आदी कार्यमा नाटक, नौटंकी र भारतीय वाइजीहरुको नाच र मुजरा नै देखाइन्थ्यो । यी सामन्ती प्रवृत्तिका प्रदर्शन थियो । त्यहाँ संस्कृतिको कुनै स्थान थिएन ।
२००४ सालदेखि नै नेपालगन्जमा धार्मिक परम्परा अनुसार विहान बेलुका संकीर्तन हुने गरेको थियो । त्यही संकीर्तनले नेपालगन्जले ताज खाँ पछि दोस्रो पुस्ताका संगीतज्ञहरु जन्माएको हो । शीतलकाजीको तबला, लक्ष्मीराजको हारमोनियम, गोपाल शर्मा रेग्मीको सितार वादनले महारथ हासिल त्यहींबाट गरेको हो । ढोलक बजाउनमा कामता बैंक माष्टर (बसखोर) निपुण थिए । बाँसुरीवादनमा ललित सिंह सिजापति र वायलिनमा वभ्रुवाहन सिंह पनि बेजोड थिए । तर यिनीहरुको संगीतलाई संस्थागत स्वरुप दिन सकेन नेपालगन्जले । वभ्रुवाहन बस्नेत, प्रेम प्रकाश मल्ल, ललित सिंह सिजापति, महेन्द्र बहादुर हमाल, कृष्ण राज श्रेष्ठ (पंत्ते), मैकुलाल वाल्मिकी, हुवलाल नेपालीहरु नेपालगन्जका सांस्कृतिक क्षेत्रका हस्तीहरु मानिन्थ्ये । तर, उनीहरु पनि संस्थागत रुपमा संगठित हुन सकेनन् । २०३४ सालतिर हुनुपर्छ संस्थागत रुपमा सञ्चालनमा आएको पहिलो संगठित संगीतालय, सरस्वती संगीतालयको जन्म भएको । तर, सो संगीतालय पनि हाल बन्द भएको छ । नेपालगन्जको गीत, संगीतको चर्चा गर्दा डा. कृष्णजंग राणालाई बिर्सन सकिंदैन । व्यक्तिगत अभिरुचि भएपनि गीत र संगीतको महफिल जमाउन सधैं उत्सुक रहन्थे । उनी विशेषगरी गजल गायनमा उत्कृष्ण थिए उनी । आज पनि काठमाडौंका महफिलहरुमा गीत, गजल, गाएर स्रोताहरुलाई मन्त्र मुग्ध पार्दैछन् उनी । मा. सुरेश प्रसाद शर्माको निधनपछि सरस्वती संगीतालय पनि बन्द रहेको छ ।
नेपालगन्जमा रंगमञ्चको विकासको थालनी नभएको होइन । गगनगन्जमा एउटा सांस्कृतिक नाटक मण्डली खोलियो, जसमा राजनीतिक नेतृत्वको वर्चश्व थियो । ललितचन्द ठकुरी, सर्वज्ञमान श्रेष्ठ, पूर्णमान आजाद, वि.विकास श्रेष्ठ, गगनगन्जको जनताका विद्यालयका तत्कलीन हेडमाष्टर, अमृतलाल, गोपाल शर्मा रेग्मी आदी त्यस संस्थामा थिए । त्यस संस्थाले अमृतलाल श्रेष्ठ लिखित एक नाटक र वीर अभिमन्यु नाटक गरी दुई नाटक देखाएर बन्द भयो । रंगमञ्चको विकासमा कोही रुचि राख्दैन थिए । सक्रिय युवाहरुको जाँगर सेलाउँदै गयो ।
त्यतिबेला घरबारी टोलमा नवयुवा सांस्कृतिक मण्डली खोलिएको थियो । त्यसमा मदन कुमार श्रेष्ठ, मोहनलाल श्रेष्ठ, प्रभाकर, महेन्द्र बहादुर हमाल, शंखर शर्मा, तीर्थमान पटवारी आदी थिए । उनीहरुसँग नाटक खेलाउने पर्दा र लुगा फाटो थियो । गगनगन्जको टिमसँग कलाकार मात्र थिए । त्यसो हुनाले दुवै संस्थाले मिलिजुली नाटक र सांस्कृतिक कार्यक्रमहरु देखाउँथे । दुवै संस्था प्रोत्साहनको अभावमा बन्द भएका थिए । राजाको जन्मोत्सव पुस १ गते र फागुन ७ गते, सांस्कृतिक कार्यक्रम देखाउने प्रचलन थियो । सो कार्यक्रमहरुका निम्ति सक्रिय भएर लाग्नेमा वभ्रुवाहन सिंह, प्रेम प्रकाश मल्ल, महेन्द्र बहादुर हमाल, तीर्थमान श्रेष्ठ पटवारी आदी थिए । उनीहरुको प्रयासमा नृत्य, गीत, संगीत र प्रहसनको मिश्रित कार्यक्रमहरु हुन्थ्ये । यीनै कार्यक्रमहरुमा नेपालगन्जको संस्कृति सीमित भएको थियो । पछि आएर नेपालगन्जले कन्हैया सिंह, कमल विके निर्मोही जस्ता राष्ट्रिय स्तरको पुस्ता जन्माउन सकेको हो । तर, उनीहरु आफ्नो अभिरुचि र साधनाले स्थापित भएका कलाकार हुन् । नेपालगन्जका नागरिकहरुले यिनीहरुलाई चिन्छन् कि चिन्दैनन् कुन्नी !