विकास खर्च ८१.७२ प्रतिशत
बाँकेमा आ.व. ०७४÷०७५ को असार महिनामा मात्रै विकास बजेट २ अर्ब ५३ करोड ३८ लाख खर्च भएको छ । यसले विकासका कामलाई सक्न वा तिव्र पार्न असार नै कुर्ने गरेको स्पष्ट देखिन्छ । कोष तथा लेखा नियन्त्रण कार्यालय नेपालगन्जले दिएको तथ्यांक अनुसार कुल पूँजीगत बजेटको २४ प्रतिशत भन्दा बढी असार मात्रै खर्च भएको छ । यसरी हेर्दा असार महिनामा सरदर दैनिक झण्डै ८ करोड भुक्तानी भएको छ ।
मुलुकमा शासन व्यवस्था फेरिएपनि विकासका काममा पुरानै निरन्तरता पाइएको छ । यसबर्ष पनि अघिल्ला बर्ष जस्तै जिल्लाको विकासका लागि आएको करोडौं रकम फर्किएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय नेपालगन्जका अनुसार, यसबर्ष १८ प्रतिशत भन्दा बढी पूँजीगत बजेट खर्च हुन नसकेर फर्कियो । यस बर्षको जेठ महिनासम्म पूँजीगत खर्च ५६.९४ प्रतिशत मात्र भएको थियो । जेठ मसान्तसम्म जम्मा ४ अर्ब ३ करोड २१ लाख रुपैयाँ मात्र खर्च भएको हो । असारमा गरिएका हतारका कामले खर्च ह्वात्तै बढेर कुल पूँजीगत बजेटको ८१.७२ प्रतिशत खर्च भएको छ । ‘काम गर्न र भुक्तानीका लागि आर्थिक बर्षको अन्त्य नै कुर्ने प्रवृत्ति यसपटक पनि दोहोरियो’, सरकारी अधिकारीहरु भन्छन् ।
कोलेनिका बा“केका प्रमुख कोष नियन्त्रक ठाकुरप्रसाद पौडेलका अनुसार, आ.व. ०७४÷०७५ मा बाँकेका लागि पूँजीगत खर्च तर्फ ८ अर्ब ३ करोड ४३ लाख रुपैयाँ बजेट प्राप्त भएकोमा असार मसान्तसम्म ६ अर्ब ५६ करोड ५९ लाख मात्रै खर्च भयो । बाँकी १ अर्ब ४६ करोड ८४ लाख रुपैयाँ खर्च नभई फ्रिज भएको छ ।
चालु खर्च तर्फ भने पूँजीगत भन्दा खर्च प्रतिशत बढी भएको छ । चालु खर्चका लागि १० अर्ब १७ करोड ४७ लाख रुपैयाँ प्राप्त भएकोमा आ.व. ०७४÷०७५ मा कुल ८ अर्ब ९२ करोड ७० लाख रुपैयाँ खर्च भएको प्रमुख पौडेलले जानकारी दिए । बाँकेका लागि चालु र पूँजीगत गरी १८ अर्ब २० करोड ९० लाख बजेट प्राप्त भएकोमा जेठ मसान्तसम्म दुवै तर्फ गरी १५ अर्ब ४९ करोड २९ लाख रुपैयाँ खर्च भैसकेको छ ।
बढ्यो राजश्व संकलन
बाँकेमा आ.व. ०७३\०७४ भन्दा आ.व. ०७४÷०७५ मा राजश्व संकलन ह्वात्तै बढेको छ । अघिल्लो आ.व. ०७३÷०७४ मा भन्दा आ.व. ०७४\०७५ मा ३६.२९ प्रतिशतले राजश्व संकलन वृद्धि भएको हो । आ.व. ०७३\०७४ मा १० अर्ब १७ करोड ५६ लाख राजश्व संकलन भएको थियो । कोलेनिका प्रमुख पौडेलका अनुसार त्यो बढेर आ.व. ०७४\०७५ मा १३ अर्ब ८६ करोड ७९ लाख पुगेको छ ।