कनाडा र भूटानबाट भित्रिएको सस्तो दरको केराउ भारत तिर तस्करी हुने गरेको छ
नेपाल केराउमा आत्म निर्भर छैन । भारतीय क्षेत्रबाट ६५ रुपैयाँ प्रति केजी आयात हुने केराउ भारत तर्फ नै ५० रुपैयाँमा तस्करी हुने गरेको तथ्य बाहिर आएको छ । नेपालगन्ज नाका र बाँकेका ग्रामीण बाटो भएर साइकलदेखि ट्रालीमै बोकेर भारतीय बजारसम्म केराउ पुग्ने गरेको खुलेको हो । विरगन्ज भएर नेपाल भित्रिएको केराउ देशका विभिन्न नाका हुँदै भारतीय क्षेत्रमा ५० रुपैयाँ प्रति केजी बिक्री हुँदै आएको छ । नेपालगन्जमा खुद्रा मुल्य ७० रुपैयाँ प्रतिकेजी रहेको केराउ भारतीय क्षेत्रबाट ६५ रुपैयाँमा आयात हुन्छ ।
रुपईडिहा नाकाबाट दर्जन बढि तस्करले जयसपुर क्षेत्रमा स्टोर गरिएको विदेशी केराउ भारतीय क्षेत्र तर्फ तस्करी गर्दै आएको रुपईडिहा एसएसबीले खुलाएको छ । ‘चेकजाँचका क्रममा केराउ फेला पर्छ’, श्रोतले भन्यो, ‘मुख्य नाकामा बरामद हुन नसकेका कारण कारवाही हुन सकेको छैन ।’ ‘भन्सार नाकाबाट भारतीय क्षेत्रमा केराउ निर्यात भएको विवरण अत्यन्तै न्यून छ’, नेपालगन्ज भन्सार कार्यालयका निमित्त प्रमुख माधव आचार्य भन्छन्, ‘गणना गर्न नहुने खालको निर्यात देखिएको छ ।’
भन्सार क्षेत्र भएर निकासी वा तस्करी भइरहेको सूचनाको आधारमा अनुगमन तीब्र पारिएको सुरक्षा अधिकारीहरुको दावी छ । तर, दिउँसै साइकलमा भन्सार नाका हुँदै भारतीय क्षेत्र तर्फ गइरहेको केराउ प्रहरीको हात लाग्न सकेको छैन । रुपईडिहा नाका भएर १४ जना तस्कर दिउँसोदेखि रातीसम्म भारतीय क्षेत्र तर्फ केराउ ओसार्ने गरेको पाइएको छ । खाद्य पदार्थ र वस्तु अधिकाँश भारतीय क्षेत्रबाट नेपाल तर्फ आयात हुने गरेपनि केराउ भारतीय क्षेत्रतर्फ तस्करी भइरहेको सूचनाको आधारमा प्रहरीले अनुसन्धान बढाएको जनाएको छ ।
बाँकेको ग्रामीण बाटो भएर भारतीय क्षेत्रमा केराउ र अरहरको दाल तस्करी भइरहेको बारे प्रहरीले कारवाही गर्दा यसअघि २२ हजार केजी दाल बरामद भएको थियो । राप्तीपारिको सुईया नाका भएर भारत जान थालेको दाललाई प्रहरीले सुईयाबाट बरामद गरि कारवाही चलाएको एक महिना पछि केराउ तस्करीको तथ्य आउन थालेको हो ।
इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज प्रहरी निरीक्षक विरेन्द्र विर विश्वकर्माले नाकाहरु आवतजावत गर्ने सवारी साधन, मालबाहक ट्याक्टर र सामाग्री बोकेको अन्य सवारी साधन चेकजाँच अघि बढाइएको बताएका छन् । केराउ भारतीय क्षेत्र तर्फ गइरहेको सूचनाको आधारमा प्रहरीले बाँकेको अन्य नाका क्षेत्रमा पनि गस्ती बढाएको छ । केराउ जयसपुर स्थित एउटा घरमा स्टोर रहेको श्रोतको दावी छ । जयसपुरबाट भारतीय क्षेत्र तर्फ गइरहेको केराउबारे भन्सार कर्मचारी पनि बेखबर छन् ।
बाँकेका प्रहरी प्रमुख एसपी टेक बहादुर तामाङले केराउ तस्करी बारे अनुसन्धान सुरु गरिएको बताएका छन् । ‘हामीले यसमा के कसरी कहाँबाट केराउ आएको हो र किन भारतीय क्षेत्रमा तस्करी भइरहेको छ, सो विषयमा जाँच गर्दैछौं’, दैनिक नेपालगन्ज संग उनले भने, ‘भारतीय क्षेत्रबाट आयात हुने केराउ भारतीय क्षेत्रमा तस्करी हुनु अनौठो रहेको छ ।’