क्रियटिभ भ्वाइस

 

फ्रान्सेली लिजेन्ड जिनेदाने जिदानेले कतै भनेका छन् –‘यो खेलले बल हान्न त सिकाउँछ नै, जीवनबारे पनि सिकाउँछ ।’
श्रमबजारको आकर्षक गन्तव्य कतारमा चार बर्षपछि भेट्ने वाचाका साथ विश्वकपको राप ताप शनिवार रातिदेखि सकिंदा यसले आम मानिसलाई फुटबलले जीवनका बहुआयामिक पक्षसँग जोड्ने सन्देश पनि दिएको छ ।

 
विश्व फुटबलको महासंग्राममा २० बर्षपछि पुनः दोस्रो पटक फ्रान्स बिश्व च्याम्पियन हुँदा लामो समय गृहयुद्ध भोगेर तंग्रिएको मुलुक क्रोसिया उपविजेतामै पनि खुशी देखियो । देशलाई खुशी बाँड्न नसकेपछि मन थाम्न नसकेका क्रोसियाली हिरो लुका मड्रिकको आँशु पुछेर राष्ट्रपति कोलिन्दा ग्राबरले आत्मियता प्रकट गरिन्, उनले आफु सच्चा अभिभावकको दृष्टान्त पेश गरिन् । उता फ्रान्सेली राष्ट्रपति इमानुल म्याक्रोनले पनि स्वयं मैदानमा उपस्थित भइ १८ बर्षे किशोरको उन्मत्त बैंश झैं आफ्ना खेलाडीको हौसला बढाउन कुनै कन्जुस्याईं गरेनन् । यो सभ्य र संस्कारयुक्त समाजबाट फुटबलकै बहानामा हामी र हाम्रा नेताजीहरुले सिक्ने अवसर पनि बनेको हो कि ?

 

अब फेरि विश्वकप फाइनलकै कुरा । बिभिन्न चरण पार गरी एक महिने यात्रा बिट मार्ने क्रममा शनिवार रुसको राजधानी मस्कोस्थित ८१ हजार दर्शक क्षमताको लुजनिकी स्टेडियम सारा संसारका लागि बहुप्रतिक्षित बनिरहेको थियो । सबैलाई कौतहुलता त्यत्तिकै थियो । वास्तवमा उपाधि कसले जित्ला ? किनकी हरेक बीस बर्षमा नयाँ च्याम्पियन जन्मने परम्परा जस्तै थियो विश्वकप इतिहासमा । यस हिसाबले क्रोसिया पनि यसपटक विश्वकप विजेता हुन सक्ने अनुमान पनि त्यत्तिकै थियो । अन्ततः सन् १९९८ को विश्व कप विजेता फ्रान्स सामु क्रोसियाको केही उपाय लागेन । ४–२ को नतिजा स्वीकार्न बाध्य भयो । तैपनि क्रोसियाले खेल मात्र नजितेको हो, सबैको मन चाहिं जित्यो । सामाजिक सञ्जालभरि क्रोसियामाथि सहानुभुति, माया र प्रेमका शब्दहरु छरपस्टिएका छन् । प्राय सबैले भनेका छन् –‘फ्रान्सले खेल जित्यो, क्रोसियाले मन ।’
साँच्चिकै अब सर्वाधिक लोकप्रिय फुटबल भनेको खेल मात्र रहेन, मन जित्ने साधन पनि हो । जिदानेले भनेजस्तै समग्रमा जीवनबारे सिकाउने कला । यो त जीवन जिउने कला हो, प्रतिस्पर्धा गर्न सिकाउने माध्यम हो, अनुशासन हो, भातृत्वको भावना हो, मैत्री सम्बन्ध कायम गर्ने विधा हो । त्यसैले त खेल भनेकै एकता, अनुशासन, प्रतिस्पर्धा, परिणाम, मनोरञ्जन र व्यायामको स्रोत पनि हो । मानव समाजलाई छोटो समय बिभिन्न टिमका नाममा बिभाजित बनाएपनि यसले मित्रता र उर्जा बढाउने काम पनि सँगसँगै गरिरहेकै हुन्छ ।
फुटबल मात्र हैन, समग्र खेलकुदले एकता, भातृत्व र प्रतिस्पर्धाको भावनालाई बढाइदिन्छ । जीवनलाई जीवनजस्तै राख्न खेलको ठुलो भुमिका छ । खेलहरुले मैत्रीपुर्ण भावनाको विकास गराउँछ । आपसमा सहयोग र आदानप्रदान गर्न सिकाउँछ । हामीले फुटबल मात्र नभएर अन्य सारा खेलहरुबाट सिक्न सक्ने कुरा पनि सायद यही हो । तर, खेलभन्दा पनि खेलाडी, क्लब र देशहरुलाई केन्द्रमा राखेर फुटबल भएका देखिन्छन् सामाजिक सञ्जाल वा आम भेटघाटमा ।
मेस्सीकै कारण अर्जेन्टिना प्यारो, क्रिस्टियानो रोनाल्डो भएकै कारण कतिपयलाई पोर्चुगल प्रीय, नेयमारकै कारण ब्राजिल । अझ त्यो भन्दा पनि टेलिभिजन युग सुरु हुँदाताका ब्राजिलले विश्वकप जितेका कारण कतिपयलाई ब्राजिलको खेल अझैपनि मन परिरहेको छ । म्यारोडोनाको पुरानो छापकै कारण कतिलाइ अर्जेन्टिना गज्जब लाग्छ । नेपालका सन्दर्भमा ब्राजिल र अर्जेन्टिनाका समर्थकको बाहुल्यता नसोचेकै छ । ब्राजिल र अर्जेन्टिना आम नेपालीको मनमस्तिष्कमा गढेको छ । विश्वकप नजितेरै पनि संसारको मन जितेका डेभिड बेकह्यामको देश भएकाले इङ्ल्याण्ड पनि धेरैको रोजाइ बनिरहेको छ । बिशेषतः फुटबल बुझेकाहरु धेरै इङ्ल्याण्ड मन पराउँछन् । समष्टिमा भन्ने हो भने नेपालमा फुटबलको क्रेजलाई बिश्वकपले पुष्टि गरिदिएको छ ।
तर, विश्वकपका कारण आउने यस्तै क्रेजले नेपाली माटोमा भोलिका दिनमा थुपै्रै स्टार नजन्मेलान् भन्न सकिन्न । हामीले दिनुपर्ने चाहि खेल संस्कार खास बिषय हो । खेल संस्कृतिको प्रवद्र्धन मुख्य कुरा हो । हारजित भन्दा पनि खेलकुदको मर्म र भावनालाई आत्मसात गर्न सिकाइ आपसी भाइचाराको सन्देशलाई प्रवाह गर्नु हरेक अभिभावकको कर्तब्य हो । विद्यालयको जिम्मेवारी हो । स्पेनी पुर्व स्टार जाभी अलोन्सो भन्थे, –‘फुटबलमा परिणामले मात्रै सबै कुरा भन्दैन । तपाई अति राम्रो खेल्नुहोला, तर जित सधैं तपाईंको पोल्टामा पर्दैन ।’ बिश्वकप फाइनलमा क्रोसियाले राम्रो खेल्यो, तर जित आफ्नो पक्षमा पार्न सकेन । त्यसैले त भनियो, –‘फ्रान्सले खेल जित्यो, क्रोसियाले मन ।’

 

वास्तवमा जीवनलाई फुटबलसँग तुलना गर्नु सान्दर्भिक देखिन्छ । जति नै मेहेनत र परिश्रम गर्दा पनि सदृष्य परिणाम हात नपर्न सक्छ मान्छेको जीवनमा । क्रोसिया मात्र हैन, रसियाको मैदानमा मेहनत गर्नेहरु र राम्रो खेल्नेहरु धेरै थिए । उनीहरु अन्तिम दिनसम्म टिक्न सकेनन्, रहन सम्भव पनि थिएन । किनकी उपाधि भिडन्तमा उत्रने त दुई टिम मात्र हो । यसहिसाबले भाग्यमानी क्रोसिया र फ्रान्स नै रहे यसपटक ।

 

जीवनमा वर्तमान जति महत्वपुर्ण छ, विगत पनि उत्तिकै । हामी विगतमा टेकेर या विगत सम्झेर आज र भोलिका निर्णय गर्छौं । र, विगतका दिनमा फुटबलका महानहस्तीहरुले फुटबलबारे दिएका भनाइले फुटबल र जीवनलाई झनै निकट देखाउँछ । ब्राजिलका महान खेलाडी पेले भन्थे –‘ब्राजिल फुटबल खान्छ, फुटबल पिउँछ र फुटबलमै सुत्छ ।’ त्यसैले त संसारकै आँखा परेको महाउत्सवमा ब्राजिल जहिल्यै आम मानिसको रोजाइमा पर्छ । जितको हकदार बनिरहन्छ ।
अर्जेन्टिना छाडेर ठुला क्लबहरुका लागि फुटबल खेल्न जाँदा लियोनन मेस्सीले भावुक हुँदै कुनै समय भनेका थिए –‘मैले फुटबलका लागि देश छाडें, साथी र परिवार छाडें । मैले मेरा साथी र आफन्त बदलें, केवल त्यही फुटबलका लागि सबै त्याग गरें, आफ्नो सपना साकार पार्न मैले यो सब गरें ।’ मेस्सीको यो सब त्यागका कारण नै आज सर्वत्र मेस्सीका फ्यान जन्मिएका हुन् । उनी रोलमोडलका रुपमा स्थापित भएका हुन् । आम आमाबाबुको सपना आफ्नो छोरा वा छोरीलाई मेस्सी जस्तै बनाउनु रहेको छ ।

 

आइभोरी कोस्टका फुटबल स्टार डिडियर डोग्वा भन्छन् –‘फुटबलले मान्छेमा उत्साह र उमंग जगाउँछ र सबैलाई एक ठाउँमा ल्याउँछ ।’ हो नि जीवनमा मान्छे खुशीका साथ जिउन चाहन्छ । फुटबलले साँच्चिकै खुशी दिएको छ । संसारलाई बिश्वकपका नाउँमा एक ठाउँ ल्याइदिएको छ ।

 

फुटबल स्टारहरुका खेलसम्बन्धी यस्ता अनेकौं विचार छन्, जसको कुरा सुन्दा हामी भावुक बन्न सक्छौं । सन् २०१६ को कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाका लागि विजय निकाल्न नसकेपछि लियोनन मेस्सीले आफुले फुटबलबाट सन्यास लिने घोषणा गरे । मेस्सीले पछि सो घोषणा फिर्ता लिए । यही बिषयलाई लिएर ब्राजिलका स्टार नेयमारले उतिखेर दुःखी हुँदै भनेका थिए –‘मेस्सीले आफ्नो घोषणा त गरे, तर मेस्सीबिनाको फुटबल त फुटबल नै हुन सक्दैन । उनीबिना फुटबल परिकल्पनै गर्न सकिन्न ।’ मेस्सी जस्तो सुपरस्टारका कारण फुटबलको आकर्षण थपिएको र दिनानुदिन बढ्दै गएको नेयमारले राम्रोसँग बुझेका छन् । मेस्सीका कारण हरेक अभिभावकले आफ्नो सन्तानलाई रोलमोडल बनाउने सपना देख्छन् । हुनपनि नेयमारको देश त्यही देश हो, जहाँका प्रत्येक बुवाहरु आफ्ना सन्तानलाई फुटबल स्टार बनाउने सपना देख्छन्, र सानैमा छोराछोरीलाई फुटबल किनिदिन्छन् ।

प्रतिक्रिया

प्रतिक्रिया